१२ सय ६० विद्युतीय सवारीसाधन आयात
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
सिन्धुपाल्चोक — भूकम्पपछि चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानीबाट व्यापारिक कारोबार सहज हुँदै जाँदा विद्युतीय सवारीसाधनको आयात बढ्दै गएको छ । मुलुकमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्दै गएका कारण चीनबाट हुने आयात पनि बढेको हो । गत वर्षको तुलनामा चालु वर्षमा निजी र सार्वजनिक सवारीसाधनको आयात बढेको छ । सवारीसाधनको आयातले राजस्व संकलनमा सकारात्मक प्रभाव पारेको छ ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900x100-1172024092759.gif)
![१२ सय ६० विद्युतीय सवारीसाधन आयात](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2024/money-finance/tatopani-3-1842024042643-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/comp-900x100-1672024010950.gif)
तातोपानीबाट चालु वर्षको ९ महिनामा साढे ३ अर्ब मूल्य बराबरका १२ सय ६० विद्युतीय सवारीसाधन आयात भएका छन् । गत वर्ष २ सय ६० वटा सवारीसाधन मात्र आयात भएका थिए । तीमध्ये १२ वटा पेट्रोल गाडी र ४ वटा लरी थिए । चालु वर्षको यस अवधिमा गत वर्षको भन्दा १ हजार बढी इलेक्ट्रिक सवारीसाधन आयात भएका छन् । उक्त नाकाबाट विद्युत्बाट सञ्चालन हुने माइक्रोबस, मिनीबस, जिप, भ्यान, कारजस्ता सवारीसाधनको आयात बढेको हो । चालु वर्षको यस अवधिमा इलेक्ट्रिक र पेट्रोल गाडीको आयातबाट १ अर्ब २५ करोड ३१ लाख १६ हजार रुपैयाँ राजस्व संकलन भएको छ । पेट्रोल गाडीबाट करिब २२ लाख राजस्व संकलन भएको छ । चालु वर्षको यस अवधिमा एक थान पेट्रोल गाडीबाहेक सबै गाडी इलेक्ट्रिक रहेका छन् ।
तातोपानी भन्सार अधिकृत तथा सूचना अधिकारी सूर्य काफ्लेका अनुसार चालु वर्षको चैत मसान्तसम्ममा ३ अर्ब ४९ करोड ३७ लाख ६० हजार मूल्य बराबरका सवारीसाधन आयात भएका छन् । खरिद र भन्सारमा ल्याउँदासम्मको मूल्यअनुसार भन्सार दरबन्दी कायम गरिएको छ । गत आवमा १ अर्ब ६७ करोड ४४ लाख मूल्यका सवारीसाधन आयात भएका थिए । त्यसबाट ५ करोड १० लाख राजस्व संकलन भएको थियो । चालु आवमा भने राजस्व संकलन गत वर्षको तुलनामा १ अर्ब नै बढी भएको छ । आयात गरिएका सवारीसाधनको बजार मूल्य ४० देखि ८० लाख रुपैयाँसम्म कायम गरिएको छ । भन्सारका अनुसार एकजी, सेरिज, ओमोडा, डिपाल नामका कार तथा डीएफएसके नामका माइक्रोबस आयात भएका छन् ।
तीन महिनाअगावै लक्ष्य पूरा
सवारीसाधनको आयातले आर्थिक वर्ष अन्त्य हुन तीन महिना बाँकी हुँदै राजस्व संकलन लक्ष्य पूरा भएको छ । चालु वर्षका लागि ८ अर्ब ४२ करोड राजस्व लक्ष्य तोकेकामा उक्त लक्ष्य पूरा भएको भन्सार अधिकृत काफ्लेले बताए । मुलुकभरका भन्सार नाकाबाट राजस्व संकलनको अवस्था निराशाजनक रहेका बेला तातोपानीले भने लक्ष्य नाघ्ने भएको छ ।
भन्सार विभागका अनुसार भन्सार राजस्व हालसम्म वार्षिक लक्ष्यको ४९ प्रतिशत मात्र संकलन भएको छ । भूकम्पपछि लगातर चार वर्ष पूर्ण रूपमा बन्द भएर २०७६ बाट आंशिक रूपमा सञ्चालन भएको हो । रसुवाको तुलनामा तातोपानीबाट आयात गर्दा ढुवानी भाडामा कमी, सीमाबाट काठमाडौं आउजाउको समय बचत, चीनका विभिन्न सहरबाट सीमासम्म सामान ल्याउन लाग्ने कम समयजस्ता कारणले पछिल्लो समय व्यापारीहरू तातोपानीतर्फ आकर्षित हुने गरेका छन् ।
कुनै बेला चौबिसै घण्टा खचाखच हुने उक्त नाका बन्द भएपछि रसुवामा चाप बढेको थियो । तातोपानीबाट पूर्ण रूपमा आयात खुलेपछि झन्डै एक वर्षदेखि व्यापारिक चहलपहल बढेको हो । भूकम्प, बाढीपहिरो, कोभिड र चिनियाँ अवरोधले व्यापारिक कारोबार असहज बनेको उक्त नाकाबाट अहिले व्यापारिक सामानको आयात बढ्दै गएको छ ।
तातोपानी भन्सार प्रमुख दयानन्द केसीका अनुसार चिनियाँ पक्षले नाकाबाट हुने व्यापारलाई पछिल्लो समय सहज बनाउन खोजेको छ । अहिले पनि तिब्बतको खासा क्षेत्रबाट आएका चिनियाँ कन्टेनरले ल्याएका सामान मितेरी पुलपारि नै अनलोड गरिँदै आएको छ । नेपाली कन्टेनर मितेरी पुलपारि गएर सामान ल्याउने गरिएको छ । व्यापारीहरूले नेपाली कन्टेनर सिधै खासा जाने व्यवस्था भएमा बढी सहज हुने बताउँदै आएका छन् ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-x-100-0172024023126.gif)