कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

चैनपुर सेती जलविद्युतको 'अडिट टनेल' निर्माण सुरु 

बझाङ — सुदूरपश्चिम प्रदेशको गेम चेन्जर आयोजनाको रुपमा हेरिएको चैनपुर सेती जलविद्युत परियोजना मुख्य सुरुङ मार्गतर्फ जाने बाटो (अडिट टनेल) को निर्माणको काम सुरु भएको छ । नेपाल विद्युत प्राधिकरणले निर्माण गर्ने २ सय १० मेगावाट क्षमताको यो आयोजनाको मुख्य सुरुङमा जान निर्माण हुने तीन वटा अडिट टनेल मध्ये तलकोट गाउँपालिका–३ रुमाली गाडमा एउटा र बस्टीमा २ वटा रहनेछन् ।

चैनपुर सेती जलविद्युतको 'अडिट टनेल' निर्माण सुरु 

अहिले रुमाली गाड र बस्टीको दुई वटा टनेल निर्माणको काम एकसाथ सुरु भएको हो । बझाङका प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइकेलले टनेल निर्माणको उद्घाटन गरेका हुन् ।

तीन मध्ये बस्टीगाउँको बस्तीनजिक रहेको अर्को सुरुङ भने स्थानीयले सिँचाई र रोजगारीको माग गर्दै विवाद गरेका कारण निर्माण गर्न ढिलाई भएको हो । स्थानीयको माग सम्बोधन हुने चरणमा रहेको र एक साताभित्र तीनै टनेलको काम सुरु भइसक्ने आयोजना प्रमुख अनिलभक्त श्रेष्ठले बताए ।

‘अर्को हप्ताबाट बस्टीको टनेलको पनि काम सुरु हुन्छ । पााच महिनाभित्र अडिट टनेलको सबै काम सम्पन्न गर्न पूर्ण क्षमतामा काम भैरहेको छ,’ उनले भने । विस्फोटक पदार्थ ढिलो उपलब्ध भएकोले बल्ल काम सुरु भए पनि समयमै सम्पन्न हुने दाबी गर्दैउनले तीनै टनेलको लम्बाई एक किलोमिटर हुने बताए ।

यो आयोजना निर्माणका लागि प्राधिकरणले एक सय ३२ रोपनी जग्गा अधिकरण गरेको छ भने थप १५ रोपनी अधिकरणको प्रक्रियामा रहेको आयोजनाले जनाएको छ । यसअघि नै विद्युतगृह जाने बाटो २.४ किलोमिटर पहुँचमार्ग निर्माण सम्पन्न भइसकेको छ । यही महिनाभित्र कार्यालय तथा आवासीय भवनहरु निर्माणका लागि बोलपत्र आव्हान गर्ने तयारी भइरहेको आयोजना कार्यालयको भनाइ छ ।

करिब ४५ अर्ब लागत अनुमान गरिएको यो आयोजनाका लागि लगानी जुटाउन प्राधिकरण अहिले जलविद्युत लगानी तथा विकास कम्पनी र अन्य वित्तिय संस्थाहरुसँग क्रृण सम्झौताका लागि पनि छलफल गरिरहेको छ । आयोजना निर्माणका लागि प्रारम्भिक वातावरीणय अध्ययन स्वीकृत भइसकेको छ भने भौर्गभिक अवस्थाको विश्लेष्ण (जियो टेक्निकल एनालाइसिस) पनि सम्पन्न भइसकेको छ ।

आगामी चार वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको यो आयोजना अर्ध जलायशययुक्त हुने छ । आयोजनाको जलाशय साइपाल गाउँपालिकाको काँडागाउँनजिक पर्ने सेती र घाटगंगा नदीको दोभाननजिक निर्माण हुने छ । जलाशयको पानी १३ किलोमिटर लामो सुरुङमामार्फत तलकोट गाउँपालिकाको बस्टीमा खसालिने छ ।

तलकोटको बस्टीगाउँनजिक आयोजनाको विद्युतगृह रहने छ । आयोजनाको बाँध र विद्युत गृह निर्माण क्षेत्रमा मानवबस्ती नभएका कारण बस्ती पुर्नस्थापनालगायतका झन्झट नहुने भएकोले आयोजना तोकिएकै समयमा सम्पन्न हुने प्राधिकरणको दाबी छ । ‘नेपालको पानी, जनताको लगानी’ कार्यक्रम अन्तरगत निर्माण हुन लागेको यो आयोजनामा संघीय, प्रदेश, स्थानीय सरकारसँगै प्रभावित क्षेत्रका बासिन्दा र मुलुकभरका सर्वसाधारणको लगानी रहने प्राधिकरणले जनाएको छ ।

आयोजनाको वित्तिय व्यवस्थापनका लागि कर्मचारी सञ्चयकोष, नागरिक लगानी कोष, नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक, जलविद्युत् लगानी तथा विकास कम्पनीसहित स्थानीय र प्रदेश सरकारको समेत लगानी हुने गरी वित्तीय व्यवस्थापनको मोडालिटीमा छलफल भइरहेको प्राधिकरणले जानकारी दिएको छ ।

अन्य आयोजनाका तुलनामा यो आयोजना कम लागतमा निर्माण हुने र उच्च प्रतिफल दिने खालको रहेको प्राधिकरणले जनाएको छ । सुक्खायाममा समेत दैनिक कम्तीमा ६ घण्टा २ सय १० मेगावाट विद्युत् उत्पादन गर्न सक्ने आकर्षक आयोजनाका रुपमा रहने बताइएको छ ।

चैनपुर सेती जलविद्युत आयोजना निर्माणको लागि काम सुरु भएसँगै स्थानीयले रोजगारीका अवसर सिर्जना हुने र आर्थिक गतिविधि बढ्ने भन्दै भन्दै खुशी व्यक्त गरेका छन् । ‘यो आयोजना समयमै सम्पन्न गर्न स्थानीय सरकार र बासिन्दाका तर्फबाट गर्नुपर्ने सबै खालको सहयोग गर्न हामी तयार छौं,’ साइपाल गाउँपालिकाका अध्यक्ष मानबीर बोहराले भने, ‘यो प्रोजेक्टले सबैभन्दा बढी हाम्रो पालिकाको मुहार फेर्नेमा आशावादी छौं ।’

उनले आयोजना निर्माणका क्रममा जिल्लाकै विकट मानिएको साइपालमा सडक यातायातलगायतका पूर्वाधार निर्माण हुने र स्थानीयले रोजगारीको अवसर पाउने बताए । यो आयोजनाले देशकै उर्जा क्षेत्रमा ठूलो योगदान दिने भएकोले छिटो र प्रभावकारी रुपमा सम्पन्न गर्न स्थानीय प्रशाशनले पनि सहजीकरण गर्ने प्रजिअ विश्वामित्र कुइकेलले बताए । उनले स्थानीयले राखेका जायज मागको सम्बोधन गर्नका लागि प्रशासनले समन्वयकारी भूमिका निर्वाह गर्ने बताए ।

प्रकाशित : फाल्गुन ७, २०८० १७:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×