कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

यो पातको कमाइ हो

नेपालमा अनगिन्ती पहाड छन्, शरद ऋतु आउँछ, मेहनत गर्ने हो भने समृद्धिको सानो पाटो पहिल्याउन सकिन्छ। मैले चिनियाँ साथीसँग विचार बाँडे, ‘फा शान भन्ने ठाउँमा त नेपालको जस्तै पहाड रहेछ। यी मान्छेहरू पनि नेपाली जस्तै मिलनसार रहेछन्।’
लक्ष्मी लम्साल

‘फा शान’ सहरी क्षेत्रमा बसोबास गर्ने चिनियाँ माझ यो शब्द निकै प्रचलित छ। सहरीकरणले अचेल प्राकृतिक सौन्दर्य र जैविकता भेट्न मुश्किल छ, त्यसैले समय निकालेर यस्तो गर्ने चिनियाँको बानी छ। सन् २०१४ सालको कुरा हो, एक चिनियाँले ‘फा शान’ भन्दै सार्वजनिक यातायात चढाएर बेइजिङभित्रै कुनै उत्तरपश्चिम दिशातिर लगे।

यो पातको कमाइ हो

शरद ऋतु नजिकिँदै थियो र तापक्रम चिसो हुँदै गइरहेको थियो। वातावरणमा रंगीन शारदीय दृश्यहरूले उमंग भर्दै थिए। सबैभन्दा राम्रो रातो पातहरू हेर्न पाइन्छ भनेर उनले मलाई यस्तो बसमा हुलेका थिए।

चीनमा अक्टोबर १ अर्थात् राष्ट्रिय दिवसको बिदापछि मध्यशरद पर्वको बिदा र शारदीय परिवर्तनले महिनाभर नै यात्रा पर्यटनको चहलपहल रहन्छ। अक्टोबर २८ मा ‘थुनिउ’ नामक पर्यटकीय निकायले जारी गरेको तथ्याङ्कअनुसार राष्ट्रिय दिवसपछि यात्रा गर्दा ७० प्रतिशत भन्दा बढी प्रयोगकर्ताहरूले स्थानीय भ्रमण र वरपरको घुमघाम रोजेका थिए।

यसपटक बेइजिङको सबैभन्दा रमाइलो र घना पात भएको ‘सियाङ्शान’ पहाडमा यात्रा गर्नका लागि अग्रिम बुकिङको सूचना मोबाइल एपमा आइसकेको थियो। उसो त अधिकांश पर्यटकीय निकायहरूले रातो पात हेर्नका लागि दर्जनौं गन्तव्यहरू सिफारिस गर्दछन्। ती सिफारिस गरिएका ठाउँमा जानका लागि अग्रिम नाम टिपाउन र तयारीको बन्दोबस्ती मिलाउनका लागि पर्यटकीय निकायहरूले सर्वसाधारणलाई अनुरोध गरेका हुन्। यसको अर्थ हो, कोभिड-१९ महामारीविरुद्धको सतर्कता र पर्यटकीय गतिविधिको माहोल।

उर्बर र ऊर्जाशील शरद ऋतुको रंग

बसको अघिल्लो सिटमा बसिरहेका केही मानिससँग मेरा चिनियाँ साथीको संवाद चल्यो। भाषा नबुझ्ने भएकाले मैले संवादमा भाग लिइन्। बसबाट उत्रिएपछि उनीहरूकै पछिपछि लाग्दै गयौं। नजिकै एउटा पसलमा घाम छेक्ने टोप, पानी र एउटा लौरो किनेपछि हामी एउटा हुलमा मिस्सियौं।

सामान्यतया शरद ऋतु भनेको हिउँद ऋतुको पूर्वाह्न नै हो। यी पातहरू पहेँला राता भएर झर्छन् र हिउँद ऋतुको आगमन हुन्छ। हिउँदे ठण्डीका बेला मानिसहरूमा निष्क्रियता बढ्छ, शारीरिक गतिविधि कम भएपछि शरीरमा रोगले भण्डारण हुने मौका पाउँछ। त्यसैले सक्रिय जीवनको माग गरिन्छ। शरद ऋतु लाग्दै गर्दा चीनमा होटेलहरू भरिभराउ हुन थालेका देखिन्छन् भने पर्वतारोहण, हट स्प्रिङ (तातोपानी कुण्ड) को आनन्द लिने जस्ता गतिविधिहरू शरद ऋतु मनाउने सबैभन्दा लोकप्रिय तरिकाहरू बनेका छन्।

आँखा झिम्काउन नपाउँदै रातो शरद बिदा हुने भएकाले यो मौकामा चौका हान्ने सिलसिलामा सहरियाहरू हुन्छन्। यो अल्पकालीन रफ्तारमा राता पातहरूले सुनौलो रस चुहाउँदै हुन्छन्, पहाडको टुप्पोमा राता राता पातहरू वार्षिक सौन्दर्यको लाली पोखिरहेका हुन्छन्। आनन्द र मधुर स्मृतिको रंगीन परी कथाको संसार चलिरहेको छ।

ती मानिससँगै हामी पनि एउटा १५/२० जनाको समूहमा गोलबद्ध भयौं। उनीहरू हरेकले झोला झिरेका थिए, लौरो टेकेका थिए, अगाडिको मानिसले झण्डा बोकेको थियो। कुनै सुदूर यात्रा तय गर्नेजस्तै भावभंगी सहित मानिसहरू एकोहोरो ‘मार्चपास’ गरिरहेका थिए। उकाली ओराली पार्दै एउटा जलाशयनजिकैको समथर मैदानमा सबैले आराम गर्न थाले, झोला फुकाएर खानेकुरा झिके। बाँडचुँड गरे, सायद तिनीहरू एकअर्कासँग परिचित थिए। हामीचाहिँ अलिक पर बसेर आफ्नो झोलाको खानेकुरा झिकेर खाँदै थियौं। तिनीहरूले एउटा खेल खेल्ने बेलामा चाहिँ बोलाए। मेरा साथीले भाग लिए, मैले क्यामेरा चलाएँ।

शरद ऋतुको एउटा छोटो अवधि साहित्यकारहरूले सिर्जना गर्ने उर्बर समय हो। कल्पनाशीलताको अपरिमित आयाम कोर्ने अवधि हो। यो सुन्दर दृष्यलाई साहित्यकार, लेखक, कविहरूले जीवन र जगतलाई शब्दमा सिंगार्ने अवसरको रूपमा लिन सक्छन्।

अहिले संसारमा जति पनि मानिसहरू मोबाइल बोक्न सक्छन्, सबैले फोटोग्राफी जानेर वा नजानेर पनि गरिरहेका हुन्छन्। यो अवधिमा सर्वसाधारणको रचनात्मक फोटोग्राफीले सामाजिक संजालका लागि सौन्दर्य पनि ल्याएको छ। व्यावसायिक फोटोग्राफरहरू त प्राकृतिक दृष्यबाट अछुतो रहने कुरै भएन। तर विभिन्न सञ्चारमाध्यमहरूले रातो पातलाई भावार्थ बनाएर प्रतिस्पर्धात्मक गतिविधि आयोजना गर्दा सर्वसाधारण पनि सिर्जनशील फोटो पत्रकार बन्न प्रेरित हुन्छन्। ट्राभल फोटोग्राफी शरद ऋतुको अर्को एउटा आकर्षण बनेको छ। एक ट्राभल ब्लगरका रूपमा नेटिजनहरू यात्राको हरेक क्षण रेकर्ड गरेर, रोचक अनुभूतिहरू, सुन्दर दृश्यहरू, लेख र भिडियोहरूको स्वाद अरुसमक्ष शेयर गर्न अग्रसर हुन्छन्। यात्राका सकारात्मक ऊर्जा बाँड्न सक्छन् र अरूलाई सुन्दर कल्पना गर्नका लागि झक्झक्याउन सक्छन्।

बाह्य क्याम्पिङ यो शरद ऋतुलाई चिनियाँ सर्वसाधारणले सदुपयोग गर्ने एउटा उत्तम समय भएको छ। वर्षको अन्त्य नजिकिँदै गर्दा विभिन्न कर्मचारीहरूको सञ्चित भएको वार्षिक बिदा यतिखेर प्रयोगमा आउँछ। कोभिड-१९ का कारण टाढाको यात्रा खर्चिलो हुने र विदेश यात्रा पनि झन्झटिलो हुने भएकाले अहिले चिनियाँहरूले रोज्ने यात्रामा कछाड, पहाड र पार्क क्षेत्रहरू नै रहेका छन्। यो शरद ऋतुको कोमल र मुलायम वातावरणले गत बसन्तको चर्को गर्मी र आसन्न हिउँदको ठिर्ठिराहटमा मध्यस्थता गर्दछ।

थु निउ ट्राभल नेटवर्कका अनुसार क्याम्पिङ बिस्तारै आम मानिसहरूको सहभागितामा बाहिरी मनोरञ्जनात्मक गतिविधि बन्न पुगेको छ। अधिक प्रयोगकर्ताहरूले व्यक्तिगत वा सामूहिक क्याम्पिङ अनुभव पछ्याउन थालेका छन्। क्याम्पिङ बेस, बीच (बगर) क्याम्पिङ, स्टार क्याम्पिङ र आरभी क्याम्पिङ जस्ता गतिविधि तीव्र हुन थालेका छन्। ताल, बाहिरी पार्क र प्राकृतिक स्थलहरू क्याम्पिङ उत्साहीहरूका लागि लोकप्रिय विकल्पहरू भएका छन्।

शरद ऋतुको मौका छोपेर पर्यटकीय कम्पनीहरूले विभिन्न स्किम ल्याउँछन्। विगतमा जस्तो सुदूर यात्रा वा समूहको योजना नभएपनि कोरोना महामारीयताका दिनमा सानो सानो परिमाणमा रोमाञ्चक गतिविधिहरू सार्वजनिक गरिन्छन्। शरद ऋतुको नाममा आयोजना गरिने यस्ता पर्यटकीय कार्यक्रमले औपचारिक रूपमा सहभागी नभएका नयाँ पर्यटकहरूलाई प्रथम अनुभवको अवसर दिएका छन्। आन्तरिक पर्यटकका लागि घरेलु पर्यटनमा रहेको शक्ति उपभोग गर्ने अवसर दिएका छन्। यही अवधिमा पर्यटकीय रोजगारीहरू बढेका छन् भने सर्वसाधारणको चहलपहलमा पनि वृद्धि भएको छ।

स्थानीय रोजगारी शरद ऋतुमा एक छोटो अवधिको एउटा महत्त्वपूर्ण पाटो हो। जति मानिसहरूको आउजाउ हुन्छ, उति नै बजारको रौनक बढ्दै जाने हो। केही बिदा, केही प्राकृतिक परिवर्तनको अवसरलाई जीवनको आनन्दको रूपमा लिने परिपाटीले पर्यटन क्षेत्रमा गतिशीलता ल्याएको पाइन्छ। पर्यटकीयस्थल वरपरको बजार तात्तिन्छ भने चीनमा अधिकांश ठूला पार्कहरू सशुल्क हुन्छन्। ती पार्कहरूले यस्ता मौसम विशेष तयारीहरू गरिरहेका हुन्छन्। ती सशुल्क पार्कहरूले आगामी तयारीका लागि पूर्वाधार बनाउने पुँजी एकठ्ठा गर्न पाउँछन्।

लोकप्रिय गन्तव्य, पर्यटन क्षेत्रलाई प्रतिस्पर्धात्मक बनाउनका लागि पर्यटकीय कम्पनीहरू मात्रै नभएर सञ्चार र सञ्जालले पनि विभिन्न भाष्यहरू निर्माण गरेका हुन्छन्। अतिरञ्जित भएपनि समग्रमा तिनको उद्देश्य पर्यटकहरूलाई लोभ्याउनु र आम्दानीको स्रोत बढाउनु नै हो। शरद ऋतु लाग्न नपाउँदै विभिन्न मिडियाहरूमा शारदीय पर्यटनका लागि उत्कृष्ट गन्तव्यहरू धमाधम सार्वजनिक हुन थालेका छन्। पूर्वी चीन, दक्षिण चीन र दक्षिणपश्चिमी चीनमा राता पहेँला पातको दृष्यावलोनका लागि नामी गन्तव्यहरू छन्। सोहीबमोजिम ठूलो मात्रामा बुकिङको लहर चल्दछ। मध्य अक्टोबरदेखि यसको अन्त्यसम्म रंगीन शरद, राता पात, पहाड र मैदान, मनोहर दृष्यावलीलगायतका कारण बेइजिङ, च्याङ्सी, चिनान, छाङ्शा, सुचौ, पातालिङ ग्रेटवाल लगायतका स्थलहरूमा मानवसागर उर्लिन थालेको छ।

शरद ऋतु वर्षमा एकपटक आउने अनिवार्य चक्र हो। तर समयलाई ‘मार्केटिङ’ गर्ने क्षमताले जो कोहीलाई प्रभावित पार्छ। पहाड, पार्कहरू छपक्कै रातो पहेँलो हुनु भनेको एक किसिमको सौन्दर्य पोखिएको भनेर जो कोहीलाई हेक्का वा अनुभूति नहुन सक्छ। शारदीय हावापानीमा रचनागर्भ फैलाउन सकिने कुरामा ध्यान नगएको हुनसक्छ। सञ्चारमाध्यममा रमाइला खुराक दिएर जनमानसलाई सकारात्मकतातिर ढल्काउन सकिन्छ। सबैभन्दा ठूलो कुरा पातको जादूमयी कलालाई बेचेर सम्बन्धित निकायहरूले आयआर्जन गर्नसक्छन्। मानसिक तथा शारीरिक स्फूर्ति जगाएर समाजलाई स्वस्थ र सक्रिय बनाउन सकिन्छ।

सामूहिक फोटो खिचेर हामी आ-आफ्नो गन्तव्यका लागि छुट्टियौं। जाबो पहाडमा के राखेको छ र, यतिका मान्छेहरू धुइरिएका छन्। राता पहेंला पातभित्र त्यस्तो के लुकेको छ र, मान्छेहरू उधिनिधिनीकन रहस्य खोतल्दैछन्। झरिजाने पातमा त्यस्तो के समृद्धि लुकेको छ र ? पातको कमाइका लागि कम्पनीहरू तँछाडमछाड गरिरहेछन्।

नेपालमा अनगिन्ती पहाड छन्, शरद ऋतु आउँछ, मेहनत गर्ने हो भने समृद्धिको सानो पाटो पहिल्याउन सकिन्छ। मैले चिनियाँ साथीसँग विचार बाँडे, ‘फा शान भन्ने ठाउँमा त नेपालको जस्तै पहाड रहेछ। यी मान्छेहरू पनि नेपाली जस्तै मिलनसार रहेछन्।’ मैले आफ्नै तरिकाले अर्थ लगाएँ। उनले भने, ‘शरद ऋतु लागेपछि यो शब्द चिनियाँहरूको जिब्रोमा झुण्डिन्छ। जस्तो कि वरिपरिका पहाडहरूमा मान्छेहरू धुरिन्छन्। फा शान भनेको पहाड होइन, पर्वतारोहण गर्नु हो।’

प्रकाशित : कार्तिक १५, २०७९ १३:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?