छोरी ! अटिजम हुनुमा तिम्रो कुनै दोष छैन

छोरी तिमीलाई कष्ट दिने यो अटिजम त हामीले निर्मूल पार्न सक्दैनौं । तर तिम्रो मनोभाव र क्षमतालाई बुझेर तिम्रो जीवन सहज बनाउन भने सक्छौं । 
कल्पना घिमिरे बराल

प्यारी छोरी सिल्भिया । २३ वर्षअघि तिमी नजन्मिदै तिम्रो पापाले यो नाम राखीदिनु भएको थियो । तिम्रो पापा वरिष्ठ पन्छीविद डा. हेमसागर बराल प्रकृतीप्रेमी भएकाले छोरीको नाम पनि चराकै नामबाट सिल्भिया भनेर छान्नुभयो । तिम्रो जन्ममा हामी हर्षित थियौं । तिम्रो जन्मपछि सबथोक राम्रो हुँदै गएको थियो ।

तीन वर्षसम्म तिम्रा सबै शारीरिक विकासक्रम सामान्य नै लागेको थियो । तिमी सारै राम्री अनि शान्त स्वभावकी थियौ । एक्लै एउटा सामानसँग बसेर खेली रहन्थ्यौ । बोलाउँदा फर्केर हेर्दैनथ्यौ । 'यता आऊ' भन्दा मात्र उठेर आउथ्यौ ।

छोरी, तिमी पाँच वर्ष भएपछि हामीले पत्ता पायौं, ‘अटिजम’ भएको रहेछ । यस्तो हुनुमा तिम्रो कुनै दोष छैन् । तर तिमीलाई यस्तो भएको थाह पाएपछि मैले हाम्रो समाजको स्वभाव र व्यवहार थाह पाएँ । कतिपयले भने, 'कुन जन्मको खेल हो ?' कतिपयले अपशब्द नै बोले । सबैको व्यवहार र प्रतिक्रिया सुन्दासुन्दै थाकेपछि मैले पनि भन्न थालें, 'तपाईँ आफू परिवर्तन हुन सक्नुहुन्न भने कृपया चियोचर्चो र अपमान पनि नगरिदिनुहोला । अटिजम भएर जन्मनु कुनै अभिशाप होइन ।'

तिम्रो विकासक्रम फरक भए पनि हामीले हार मान्ने कुरा भएन । बलियो खम्बा बन्नु थियो । तिम्रो हेरचाहमा खटिएका बेला जति थकाई लागे पनि तिम्रो हसिलो अनुहार देखेपछि सबै थकान गायब हुन्छ । तर पनि छोरी तिमीलाई छाडेर कतै जानु पर्दा असाध्यै छट्पटाउँछु ।

तिमीलाई देखेपछि मनमा अनेक भाव आउँछन् । तिमीलाई मनभरिको कुरा भन्न मन लाग्छ होला । तर भन्न सक्दिनौ । तिमी महिनावारी हुँदा पेट दुखेर रातभरि निदाउन सक्दिनौ र छट्पटाउँछौ । तर मम्मी पेट दुख्यो भन्न सक्दिनौं । कसैले हिंसा गर्‍यो, दूर्व्यवहार गर्‍यो भने बताउन सक्दिनौं । तिमीले खाइरहेको खाना अरुले खोसेर खाइदिए पनि चुप बस्छौ । आफू खतरामा छु भन्ने कुरा तिमीलाई थाहै हुँदैन । त्यतिमात्र नभइ घरको ढोका खोलेर बाहिर गयौ भने तिमी फर्केर आउन सक्दिनौ ।

छोरी तिमीलाई कष्ट दिने यो अटिजम त हामीले निर्मूल पार्न सक्दैनौं । तर हामीलाई थाह छ, तिम्रो मनोभाव र क्षमतालाई बुझेर तिम्रो जीवन सहज बनाउन भने सक्छौं । हामी तिमीले गर्ने ससाना कामबाटै खुसी हुन सिकेका छौं । हाम्रो थोरै सहयोगमा तिमी आफ्नो दैनिकी चलाउन सक्ने हुँदै गएकोमा हामी खुसी छौं ।

तिमीले यसबीचमा कति धेरै कुरा सिकिसकेकी छौ । महिनावारी हुँदा गर्नुपर्ने सरसफाई, स्यानीटरी प्याड आफै फेर्नसक्ने भयौ । हामीलाई भान्छामा सघाउन सक्ने भयौ । तिमीलाई तरकारी काट्न साह्रै मनपर्छ, बस् हामीलाई यतिमै खुसी मिल्छ । बेलाबेलामा हामी सपिङ जाँदा तिमी किट क्याट र स्याम्पु बास्केटमा राख्छौं । किनकि तिमीलाई दिनहुँ नुहाउन मनपर्छ । चकलेट भने तिमी बाटोमै खाइसक्छौ ।

तिमीले अटिजम केयर नेपालको सेन्टरमा गएर पनि काम गर्न थाल्दा हामी झनै खुसी भएका थियौं । सबैभन्दा बढी तिमीलाई पोते र माला बनाउन मनपर्छ । संगीत त तिम्रो सबैभन्दा रुचीको विषय बनेको छ । संगीत सुनेर तिमी लामो यात्रामा जान मन पराउँछौ । यी सबैसबै बानी हामीलाई मनपर्छ । अझै तिमी मम्मीसँगै अटिजमको हक हितका लागि वकालतमा हिँड्न थालेकी छौ । त्यो झनै मन पर्छ ।

अटिजम भएका सन्तानलाई अरुले 'बिचरा' भनिदिन्छन् । मेरो मनमा च्वास्स घोच्छ । उनीहरुलाई भन्न मन लाग्छ, शब्दले नघोच्नुहोस् । सक्नुहुन्छ भने सहयोग गरिदिनुहोस् । के मान्छेले आफ्नो परिवारमा पर्दा मात्रै पीडा महसुस गर्नुपर्ने हो र ? अटिजम भएका व्यक्तिहरूले पनि सही वातावरण पाएको खण्डमा समाजका लागि महत्त्वपूर्ण योगदान गर्न सक्छन् भनेर हाम्रो समाजले कहिले बुझ्ला भनेर चिन्ता लाग्छ ।

हामीलाई छोरीमा भएको अटिजमले हामीलाई यसबारे धेरै कुरा सिकाएको छ । अटिजमबारे चेतना सबैलाई आवश्यक छ । जतिसक्दो समयमै अटिजमको पहिचान गर्ने, सुरुका वर्षमा दिइने थेरापी र इन्टर्भेन्सनहरू समयमै लिनु महत्त्वपूर्ण हुन्छ । आफ्नो बच्चाको अभिरुची र क्षमता पहिचान गर्दै अगाडि बढ्नु पर्छ । सबैभन्दा ठूलो कुरा आफ्नो बच्चालाई अटिजम छ भन्ने कुरा स्वीकार्न जरुरी छ । अटिजमलाई निको पार्न होइन, यसलाई स्वीकार्न सक्नुपर्छ ।

यति पढिसकेपछि तपाईँहरुले पनि पक्कै महसुस गर्नुभयो होला, अटिजम वा अपाङ्गता भएका सन्तानका अभिभावकको रेखदेखका जिम्मेवारीबारे । यस्ता प्रकृतिका सन्तान हुर्काउँदा समाजबाट बेहोर्नु पर्ने चोट र पीडाको बारेमा अनुभव गर्नु भएकै होला ।

अटिजम भएका सन्तान हुर्काउनुको मर्म हाम्रो समाजले कहिले बुझ्ला ? समाजको ठूलो तप्कालाई धेरै कुरा थाहै छैन । किनकि छोरीको रेखदेखमा समय बित्छ । रातमा निन्द्रा भन्न पाइँदैन । सामाजिक कार्यहरु, संस्थाकै कति कार्यक्रममा पुग्न सकिँदैन, चाडबाड, भोज, बिहे, ब्रतबन्ध, मठ मन्दिर आदिमा सहभागी हुन सकिन्न । बिरामी पर्दा तुरुन्तै अस्पताल जान पनि निकै सोच्नु पर्छ । थकाइ भन्ने त कस्तो हुन्छ पत्तै हुन छाड्यो । माइत गएर आमासँग एक रात नबसेको पनि वर्षौं भइसक्यो । अब त आफन्तहरूले यो आउँदिन भनेर बोलाउन पनि छाडिसके ।

एक दिन मेरो श्रीमानको बेलायती साथी स्टिभ घरमा आउनुभएको थियो । बिहान ब्रेकफस्ट गर्ने बेलामा हामी सबै जना डाइनिङ टेबलमा थियौं । सिल्भिया यताउता गर्दै, बोलाउँदा पनि नबोल्ने, हेर्दा पनि नहेर्ने, घरी झ्यालमा चढ्ने, घरी टाउको हल्लाएर बस्ने गरिरहेकी थिइन् । सिल्भियाको यस्तो गतिविधि देखेपछि स्टिभले हामीलाई छोरीको फरक व्यवहारबारे सोधे । हाम्रो कुरा सुनेपछि उनैले भने, 'तिमीहरुलाई थाहा छ कि छैन, अटिजम भएका व्यक्तिले यस्तो व्यवहार देखाउने गर्छन् । कतै छोरीलाई पनि अटिजम पो छ कि ?'

उनको कुराले हामीलाई झस्काइदियो । मेरो मनमा लाग्यो, स्टिभले यति राम्री अनि स्वस्थ छोरीलाई किन त्यस्तो भनेका होलान ? हामी दुबैलाई त्यतिबेला अटिजम भनेको के हो भन्ने थाह थिएन । पछि हामीले विदेशी साथीहरुसँग बुझ्दै गयौं । अनि हामी निष्कर्षमा पुग्यौं, पक्कै छोरीलाई अटिजम छ । हामीले अटिजमको समस्या जीवनभर रहन्छ र यो औषधि उपचारले निको हुँदैन भन्ने कुरा प्रष्टसँग थाहा पाएपछि छाँगाबाट खसे जस्तै भयौं ।

त्यसपछि हामी नेपालमा अटिजम सम्बन्धी काम गर्ने संघ संस्था वा व्यक्तिहरूको खोजीमा लाग्यौं । तर कहीं कतैबाट पनि हामीले उचित सहयोग पाएनौं । भौँतारिंदै विभिन्न अस्पताल धायौं । तर अहँ, अटिजमबारे बुझेका व्यक्ति कतै भेटेनौं ।

विदेशमा भएका साथीहरु भन्थे, 'यस्तो अवस्थामा तिमीहरु नेपाल नबस । यतै आऊ ।' भर्खर यूरोपबाट विद्यावारिधी पूरा गरेर फर्किनु भएका मेरा श्रीमानलाई त्यतिबेला विदेशी युनिभर्सिटीबाट जागिरको अफर पनि आएको थियो । बेलायतमा केही साथीहरुले घर पनि खोजिदिएका थिए । नेपालमा छोरीको लागि केही उपचार गर्न नसकेपछि हामी विदेशिने अवस्थामा पुगेका थियौं । छोरीलाई अटिजम भएपछि भौँतारिएर हिँडेका हामी दम्पतीलाई मनभरिका पीडा पोखेर रुने थलो पनि थिएन ।

पछि हामीले सोच्यौं, 'हामी एउटा परिवार त जहाँ गएर भए पनि आफ्नो समस्या सुल्झाउन सक्छौं । तर यस्तै पीडाबाट गुज्रिएका अरु अभिभावकहरु कहाँ जाने ?' हामी त एक्लै भौँतारिएर हिंड्नु पर्‍यो, एक्लै तड्पेर रुनु पर्‍यो, मनभरिका दुःख पोखेर रुने ठाउँसम्म पाइएन । हाम्रो समस्या बुझ्ने कोही थिएन । कमसेकम अबका दिनमा अरु अभिभवकले आफ्नो दुःख बिसाउने सही थलो मात्रै भए पनि चाहिन्छ, भन्ने लाग्यो । नेपालमा एउटा अटिजम सम्बन्धी काम गर्ने संस्थाको निकै जरुरी ठानेर हामीले एउटा संस्था स्थापना गर्ने अठोट गर्‍यौं ।

एक दिन श्रीमानले सन् २००८ को २ अप्रिलमा विश्व अटिजम जनचेतना दिवस घोषणा हुँदैछ भन्ने पत्ता लगाउनु भयो । अनि हामीले सोही दिवसका दिन हाम्रा केही पारिवारिक साथीभाइहरुको अथक सहयोगमा अटिजम केयर नेपाल संस्था दर्ता गर्‍यौं ।

समयक्रममा हामीले हाम्रो परिवारकै जस्तो कथा अन्य धेरै परिवारमा रहेको थाह पायौं । केही समयमा नै एउटै समयसँग गुज्रिरहेका पाँच परिवार भेला भयौं । सबै आमाहरु भर्खरका थिए । सबैका सुन्दर बच्चा थिए । तर पनि सबैको मनमा छटपटी थियो । त्यही भेटपछ हामी संगठित भएर हिँड्न थाल्यौं ।

अहिले संस्थाले १५ वर्ष पार गरिसकेको छ । ५ परिवारबाट सुरु गरिएको सेवा विस्तार भएर अहिले हजारौं परिवारसँग जोडिएको छ । अटिजम शब्द अब धेरैका लागि नौलो हुन छोडिसकेको छ । तर यसबारे गहिरो बुझाइको भने अझै अभाव छ । अटिजम साच्चिकै चूनौतीपूर्ण अपाङ्गता हो । हालका वर्षमा अटिजमबारे गरिएका चेतनामूलक कार्यक्रमहरू निकै महत्त्वपूर्ण र सफल रहेका छन् । तर यसबारे सिंगो समाज र राज्य गम्भीर नभएसम्म यो विषय सार्वजनिक छलफलमा आउन सक्दैन । अनि सरकारले पनि यसबारे नीतिगत पहलहरु लिन सक्दैन ।

प्रकाशित : चैत्र १९, २०७९ ०९:००
प्रतिक्रिया
पठाउनुहोस्

विमोक्ष : एक बहस

केशव दाहाल

काठमाडौंमा भख्खरै शिल्पी थिएटरले ‘विमोक्ष : द साल्भेसन’ नामको नाटक मञ्चन गर्‍यो । नाटकका लेखक घिमिरे युवराज थिए भने निर्देशक प्रवीण खतिवडा । विमोक्षले प्रेम र जातमा उपस्थित हुन आउने प्रश्न, द्विविधा र संकटमाथि बडो सुन्दर बहसको उद्घाटन गर्‍यो ।

यस्तो भयो कि, सहरमा नाटक हुनु र नाटक उम्दा हुनु एक अद्भुत मनोरञ्जन मात्र हैन, बहस पनि हो । नाटकमा सशरीर देखा पर्ने चार जना मुख्य पात्र मुमा हजुर (सगुना शाह), रश्मिदेवी (पवित्रा खड्का), दीप दर्नाल (घिमिरे युवराज) र कमल घिमिरे (सागर खाती) थिए । तर लाग्थ्यो दर्शकहरू स्वयं अनेक पात्रहरूका साथमै बसेर विमोक्षको कथा सुनिरहेका छन् । तीन वटा कारणले नाटक भव्य थियो । पहिलो, नाटकमा निहित विमोक्षको खटपटी । दोस्रो, जीवन्त अभिनय । तेस्रो प्रस्तुति । आजलाई नाटकमा निहित विभेद र विमोक्षको कुरा गरौं ।

नाटकमा के छ ? नाटकमा कर्णेल श्यामकुमार बस्नेतकी अधबैंसे श्रीमती रश्मिदेवी छे । उसका दुई छोरी छन् शीतल र शीला । साथमा छ, त्यही घरमा डेरा बस्ने युवा, कमल घिमिरे । कर्णेल श्यामकुमार रवाफिलो सैनिक र भव्य पुरुष हो । सिकार खेल्छ । पाहुनाहरू ल्याउँछ । पार्टी गर्छ । कामको सिलसिलामा प्रायः ऊ घरबाहिरै हुन्छ । तर घर आउँदा ऊसँगै आउँछन् लोभलाग्दा चहलपहलहरू । त्यसपछि घर आउँछन् नेता, हाकिम र सैनिकहरू । जो सुन्दर र भरिपूर्ण रश्मिदेवीलाई छुन सधैं लालायित हुन्छन् । तर रश्मिदेवी कहिलेकाहीँ प्राप्त हुने आफ्नै पतिको सान्निध्यमा रमाउँछे र मख्ख हुन्छे ।

एक दिन यस्तो हुन्छ कि कर्णेल श्यामकुमारको मृत्युको खबर आउँछ । त्यसको १३ दिनपछि अर्को फोन आउँछ । क्याप्टेन विश्वजँगको फोन । सैनिक क्याम्पबाट आएको त्यो फोनसँगै उसको श्रीमान् श्यामकुमारको एउटा रहस्य खुल्छ । अर्थात् कर्णेल श्यामकुमारको अर्कै एक महिलासँग प्रेम सम्बन्ध हुन्छ र उनीहरूको एक बच्चा पनि हुन्छ । यो खबरले रश्मिदेवीको जीवनमा उलटफेर ल्याइदिन्छ । त्यसपछि रश्मिदेवी पतिप्रेमको भ्रमबाट निस्कन्छे र अर्को प्रेममा प्रवेश गर्छे । उन्मुक्त प्रेममा । उसको जीवनमा नयाँ प्रेमी बनेर आउँछ, भाडामा बस्ने युवक कमल घिमिरे । जो ऊभन्दा उमेरले २५ वर्ष कान्छो हुन्छ ।

कथाको एउटा पक्ष यही हो, जसले पुरुषको यौनिक निष्ठामाथि प्रश्न उठाउँछ । आफूलाई उच्च र सभ्य ठान्ने पुरुष र महिलाहरूको सम्बन्धको भ्रमलाई धूलोमा मिलाइदिन्छ । हाम्रो समाजमा श्यामकुमारहरू कति होलान्, जो आफ्नी पत्नीलाई भ्रममा राखेर अन्यत्र घरजम गरिरहेका छन् । अथवा कति होलान् रश्मिदेवीहरू, जो उन्मुक्त प्रेमको खोजीमा भौतारिंदै होलान् । अथवा, पतिको प्रतिष्ठामा गौरव गरेर आफ्ना रहरलाई भ्रमको पर्दाले छोपिरहने महिलाहरू कति होलान् ? प्रश्न सरल छन् । तर प्रश्नसँगै छन् अनगिन्ती दुविधा, भ्रम र उल्झनहरू । जसबाट ‘विमोक्ष’ नभई लैंगिक तथा यौनिक समानताको साँचो अर्थ प्राप्त हुँदैन ।

रश्मिदेवीलाई जब आफ्नै पतिले घात गरेको अनुभव हुन्छ, ऊ प्रेम र यौनको नयाँ संसारमा प्रवेश गर्छे । ऊ र कमल घिमिरे उन्मुक्त प्रेमको रंगीविरंगी संसारमा पुग्छन् । कुनै गुनासो हुँदैन । तर त्यो संसारमा त्यतिखेर पैरो जान्छ, जब कमल घिमिरेकी बैनी सहर आउँछे र उसको जात खुल्छ । कमल घिमिरे बाहुन हुँदैन, ऊ हुन्छ दीप दर्नाल । अर्थात् एक गरिब र दलित युवक । सहरमा दलित भएको कारण घरभाडा नपाएकाले उसले जात परिवर्तन गरेको हुन्छ । त्यति नै बेला रश्मिदेवीका सासूससुरा पनि सहर आउँछन् । उनीहरूका लागि घरमा कोठा आवश्यक पर्ने हुँदा दीप दर्नालहरू भाडाबाट निकालिन्छन् । घरलाई पुराण लगाई शुद्ध बनाइन्छ । र, एउटा सुमधुर प्रेमको अन्त्य हुन्छ ।

त्यसपछि वर्षौंवर्ष उनीहरूबीचमा भेटघाट हुँदैन । झन्डै २५ वर्ष उनीहरू टाढा हुन्छन् । रश्मिदेवीले बीचमा भेट्न त खोज्छे तर दीप दर्नाल आफैं द्विविधामा हुन्छ । भेट्दैन । समय बित्दै जान्छ । जीवनमा अनेक उथलपुथल आउँछन् । र जब, रश्मिदेवी बूढी, अशक्त र लाचार हुन्छे उसले कमल घिमिरेलाई भेट्न बोलाउँछे । एक अद्भुत क्षण ।

खासमा नाटक पछिल्लो भेटबाट सुरु हुन्छ र विगतका सम्झनाहरू बयान गर्दै अगाडि बढ्छ । रश्मिदेवीको प्रेमी को हो ? दीप दर्नाल हो कि कमल घिमिरे ? के जात थाहा पाएकी भए रश्मिदेवीले दीप दर्नाललाई प्रेम गर्थी ? प्रश्नहरू उठ्छन् । जात ढाँटेर भाडा खोज्नुपर्ने सहरमा के स्वाभाविक प्रेम सम्भव थियो ? उनीहरू कहिले स्मृतिमा जान्छन्, कहिले आफ्नो सम्बन्धको अर्थ खोज्न थाल्छन् । कहिले एकअर्काप्रति गुनासो गर्दछन्, कहिले प्रश्न । बितेका २५ वर्षदेखि दीप दर्नाल आफू कमल घिमिरे बन्न बाध्य भएको कुरामा जलिरहेको हुन्छ । ऊ आफ्नो प्रेमलाई स्वाभाविक र स्वच्छ मान्दैन । त्यसैले ऊ सधैं मनोवैज्ञानिक दबाबमा बाँच्छ । आफ्ना पुर्खाहरूमाथिको अन्यायलाई उसले बोध गर्छ । प्रेममा जातको उल्झन देखेर ऊ जल्छ । यसरी उनीहरू जात, उमेर, प्रेम र सम्बन्धका अनेक प्रश्न, द्विविधा र संकटभित्र पस्छन् र विमोक्ष हुने चाहना बोकेर समयको हिसाबकिताब गरिरहन्छन् । यही नै विमोक्षको कथा हो । भव्य मञ्च, विशिष्ट प्रकाश, उम्दा अभिनय र कथाभित्र जेलिएका प्रश्नहरूले नाटक सानदार छ ।

जगजाहेर छ, आज पनि दलितका लागि स्वतः र प्राकृतिक प्रेम वर्जित छ । आज पनि समाजले दलितलाई पूर्ण मान्छेको रूपमा स्विकार्दैन । न त प्रेममा स्वीकार गर्छ, न त कोठा भाडामा । आज पनि प्रेम, कोठा र सामाजिक हैसियत पाउन दलितहरूले जात ढाँट्नुपर्छ । र, आफूमाथि भएका अपमानहरू बिर्सन दलितले वर्षौंवर्ष आफैंभित्र जल्नुपर्छ । खासमा विमोक्षले खिचेको हाम्रो समाजको चित्र यही हो ।

विमोक्षको अर्थ के हो ? लेखको केन्द्रीय प्रश्न हो यो । विमोक्षको साधारण अर्थ हो सांसारिक माया, मोह र बन्धनबाट मुक्त हुनु । तर यति भनेर मात्र पुग्दैन । यसको अर्थ हो, उल्झनहरूबाट, भ्रमहरूबाट, बन्धनहरूबाट र पापहरूबाट मुक्त हुनु । सामाजिक सन्दर्भबाट हेर्दा, विमोक्षको अर्थ हुन्छ— समाजले बनाएका संकीर्णता, बन्धन र उचनीचको जालोबाट मुक्ति । राजनीतिमा विमोक्षको अर्थ हुन्छ— व्यक्ति, समाज, राज्य र सभ्यतालाई निर्मल गर्नु र मानवीय सौन्दर्यलाई भव्यतम बनाउनु । सामाजिक कलंक र पापलाई अस्वीकार गर्नु र सभ्यतालाई सजाउनु । विमोक्षको अर्थ— सम्पूर्ण मुक्ति र सम्पूर्ण मोक्ष हो । अर्थात्, जात, लिंग र धर्मका सीमाहरू भत्काउनु र त्यसले बनाएका अँध्याराहरूलाई अस्वीकार गर्दै उज्यालो खोज्नु । अथवा, जीवनलाई स्निग्ध, भव्य र शान्त बनाउनु ।

भनिन्छ, नेपालमा लगभग १३ प्रतिशत दलित छन् । दुर्भाग्य के भने बितेको झन्डै एक शताब्दीदेखि दलितहरू मुक्ति खोजिरहेका छन् । अर्थात् विमोक्ष । जातको दलनबाट मुक्ति । आर्थिक दलनबाट मुक्ति । सामाजिक दलनबाट मुक्ति । उनीहरूभित्र निर्माण गरिएको हीनताबोधबाट मुक्ति । समाजले उपहारमा दिएका संशय, द्विविधा र विकारबाट मुक्ति । मुक्तिका लागि पटकपटक आन्दोलन भएका छन् । प्रत्येक राजनीतिक दलले मुक्ति मोर्चा बनाएका छन् । गैसस र अन्तर्राष्ट्रिय संस्थाहरूले अनेक परियोजना ल्याएका छन् । संविधानमा मुक्तिको संकल्प छ । कानुनमा मुक्तिको प्रतिबद्धता छ । नेताहरू भाषण गर्दछन् । तर मुक्ति छैन किन ? जस्तो नाटकले गरेकै प्रश्न गरौं, एउटा युवा जात ढाँटेर डेरा खोज्न बाध्य छ किन ? एउटी अधबैंसे जिन्दगीभर प्रेमको दिग्भ्रममा अल्झन बाध्य छे किन ? यो समाजले एउटा मान्छेलाई लगातार २५ वर्ष आफ्नै प्रेमको पश्चात्तापमा जल्ने बनाउँछ कसरी ? र, प्रेमीहरू आफ्नो प्रेमलाई सगर्व वैध घोषणा गर्न सक्दैनन् किन ? केले हाम्रो सामाजिक मान्यतालाई यति धेरै संकीर्ण, विभेदकारी र अँध्यारो बनाएको छ ?

जब छुवाछुत वा विभेदको कुरा आउँछ, स्वघोषित ज्ञानी मान्छेहरू भन्छन्, ‘समाजको आफ्नै लय हुन्छ । यसलाई बलपूर्वक भत्काउन हुँदैन ।’ परिवर्तनको कुरा गर्नेलाई उनीहरू या त अज्ञानी ठान्छन् या त प्रायोजित । कतिपय स्वनामधन्य बौद्धिक, राजनीतिज्ञ र उच्च ओहोदाधारीहरू ठान्दछन्, समाजको लय बिथोल्न खोज्दा भाँडभैलो हुन्छ । के अन्यायपूर्ण समाजलाई नभत्काई न्याय स्थापना सम्भव छ ? यस्तो ढोंगी समाज रहनै किन पर्‍यो, जसले मान्छेलाई दलित बनाउँछ । अथवा, जसले जातको आधारमा प्रेमका रेखाहरू बंग्याउँछ र मान्छे मान्छेका बीचमा सीमारेखा कोरिदिन्छ । स्पष्ट छ, जात प्रथा समस्त मानव सभ्यताको चहर्‍याउने घाउ हो । यसले मान्छेको मनलाई, मनको समान अस्तित्वलाई र यसको विशालतम सौन्दर्यलाई कलंकित गरेको छ । शरीर, मन, बुद्धि र विवेकलाई जात, ओहोदा, रङ, भाषा र तुच्छ वा विशिष्टको संकीर्णताभित्र विभाजित गर्ने हाम्रो सामाजिक चरित्र आफैंमा सभ्यताको दुर्भाग्य हो । त्यसबाट विमोक्ष आवश्यक छ ।

तर हाम्रो राजनीतिक, सामाजिक र बौद्धिक समाज ढोंगी छ । भन्छ एकथोक, गर्छ अर्कै । जस्तो कि हाम्रो समाजले मुखले जात मान्दिन भन्छ तर आत्मा जातले भरिएको छ । स्वयं नेताहरू भाषण एकथोक गर्छन्, व्यवहार अर्कै । कस्तो विरोधाभास ? अर्थात्, अनुहार र मनको विरोधाभास । यस्ता मान्छेहरूको आत्मा, बुद्धि र विवेकलाई केले सञ्चालन गर्छ होला ? स्वार्थले कि उन्नत मानवीय चेतनाले ? स्वार्थले । अहंकारले । स्वगौरवले । परिणाम, उनीहरू मानव गरिमालाई निहित स्वगौरवको पर्दाले छोप्छन् । त्यसैले देखिन्छन् एकथोक, गर्दछन् अर्कै थोक । भनिन्छ, अनुहार र मनमा विरोधाभास भएको समाज खतरनाक हुन्छ । जतिबेलासम्म हाम्रो समाज स्थापित खराब स्वार्थहरूको नियन्त्रण र निर्देशनभित्र रहन्छ, तबसम्म त्यो उदार र सभ्य किमार्थ बन्दैन । जबसम्म हाम्रो बौद्धिक दृष्टि, सामाजिक भाष्य, राजनीतिक नाराहरू विरोधाभासभित्र रहन्छन्, तबसम्म विमोक्ष एक मृगतृष्णा बन्छ । र, जबसम्म समाजको एक हिस्सालाई आफ्नै अस्तित्व, आफू बाँचेको समाज र समयमाथि ग्लानि हुन्छ, तबसम्म समाज सभ्य, शान्त र मुक्त हुन सक्दैन । यसर्थ विमोक्ष हाम्रो आवश्यकता हो । तर कस्तो विमोक्ष ? कसरी सम्पूर्ण मुक्ति सुनिश्चित होला ? अथवा कसरी हाम्रो समयले मानव गरिमाको नयाँ सौन्दर्य स्थापित गर्ला ? प्रश्नहरू अनेक छन्, जसका लागि निरन्तर बहस गरौं ।

dahal.keshab@gmail.com

प्रकाशित : चैत्र १९, २०७९ ०८:५६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×