टीका लगाउने साइत ११:५१ कि १२:१९ बजे उपयुक्त ? - ब्लग - कान्तिपुर समाचार
फरक मत

टीका लगाउने साइत ११:५१ कि १२:१९ बजे उपयुक्त ? 

शिव पोखरेल

काठमाडौँ — संसारमा सामाजिक, धार्मिक वा राजनीतिक कुनै पनि कार्य समय हेरेर नै गरिन्छ । उपयुक्त समयमा नै कुनै कार्यको आरम्भ गर्नाले त्यसमा सम्पन्नता र सफलता, अन्यथा विपरीत फल हुन्छ । यसकारण पहिले पहिलेका किसानहरूलाई विभिन्न कृषि उत्पादनका लागि विभिन्न समयहरूको ज्ञानको अपेक्षा रहन्थ्यो - यसैकारण उनीहरू ज्यौतिषिहरूसँग सोध्ने गर्दथे कि सूर्यले आर्द्रा नक्षत्रमा प्रवेश कहिले गर्छ , मघामा  प्रवेश कहिले गर्छ ? इत्यादि ।


पात्रोहरूमा अहिले पनि यो दिन सूर्य फलानो नक्षत्रमा प्रवेश गर्छ भनेर जानकारी गराइएको हुन्छ। सुसमय ( सुलग्न ) मा ब्रतबन्ध, विवाह आदि गर्नाले शुभ अन्यथा अशुभ, अतः शुभ कार्यहरूको लागि पनि सुसमयको ज्ञानको अपेक्षा रहन्छ । तथा औसीं-पूर्णिमा आदि यज्ञ कर्महरूमा तिथ्यन्त तिथ्यादि समय ज्ञानको आवश्यकता पर्दछ। यस प्रकार शुभ-अशुभ समय हेरेर नै मान्छेहरू आफ्नो काम गर्दछन्। कुन समयमा कुन कार्य गर्नाले सफलता र कुन समयमा विफलता हुन्छ भनेर सबै कुराहरू हाम्रा महर्षिहरूले आफ्नो बुद्धि र तपोबलले परीक्षण गरेर हामीहरूको उपकारको लागि आदेश गरेका छन् ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज मध्यान्ह ११:५१ बजे भनेर टीकाको साइत तोकेको छ । ज्योतिषशास्त्रको अध्येता भएको नाताले मेरो अध्ययन अनुसार साइत हेर्ने नै हो भने ११: ५१ भन्दा १२: १९ राम्रो हो। किन त भनेर मैले बुझेको निम्न शास्त्रीय भनाइहरू प्रस्तुत गर्दै छु –

कारण-१

दिनमान अनुसार ११:५१ बजे पुरै दिनको ठीक बीचको समय परेको हुनाले ११:४७ देखि ११: ५५ बजे बीचको समय शुभकार्यमा वर्जित मानिन्छ ।

शुभकार्येषु वर्जितदोषाः

सर्वस्मिन् विधुपापयुक्तनुलवावर्धे निशाह्नोर्घटी

त्र्यंशं वै कुनवांशकं ग्रहणतः पूर्वं दिनानां त्रयम् ।(मुहूर्त संग्रह दर्पण)

अर्थात् सबै शुभ कार्यहरूमा पापग्रहयुक्त चन्द्रमा र लग्न र लग्नको नवांशक नलिनु, मध्याह्न र आधा रात्रिमा २० पल नलिनु, पापग्रहको नवांशक नलिनु, ग्रहण भन्दा पहिलेका ३ दिन वर्जित गर्नु ।

जस्तै टीकाको दिन दिनमान अनुसार ११:५१ बजे दिनको ठीक मध्यभाग पर्छ । अब ८ मिनेट छल्नु भनिएको हुनाले दिनको मध्यभागदेखि कमसेकम ४ मिनेट अगाडि र पछाडि अर्थात् ११:४७ देखि ११: ५५ बजेसम्मको समय वर्जित मानियो । ( श्लोकमा निशान्होर्घटी त्र्यंशं भनेको मध्यरात र मध्यदिनको १ घटी यानी २४ मिनेटलाई ३ भाग लगाउँदा २४÷३ = ८ मिनेट यानी ८×२ = १६+४ = २० यसरी जम्मा २० पला भयो । ) ११:५६ सम्म भनेको भए यो वचनको सम्मान हुन्थ्यो । अर्को कुरा मध्यान्हको सन्ध्याकाल छल्नु पर्छ भन्ने पनि जानकारी रहेनछ।

कारण-२ वर्जित मुहूर्त

विचार गर्दा लगभग दुई घडी यानी ४८ मिनेटको १ मुहूर्त हुन्छ । त्यो दिनको दिनमान अनुसार लगभग ४६ मिनेटको हुन्छ । असोज १९ गते बुधबारको दिन मध्याह्न ११; २१ देखि १२:०७ विचको समयमा अभिजत मुहूर्त हुनुपर्ने समय हो तर बुधवारको दिन कुनै अभिजित मुहूर्त हुन नसक्ने बुझिन्छ । त्यसपछि शुभ नै मानिने विधाता यानी रोहिणी नक्षत्रका स्वामी ब्रह्म देवताको नवौं मुहूर्त पर्दछ जुन १२:५३ सम्म रहन्छ ।

नवौं मुहूर्तको समाप्तीसँगै मध्यान्हको समाप्ति हुन्छ र अर्को ३ मूहुर्तको अपरान्ह कालको आरम्भ हुन्छ । ५०३ वर्षअघि रचना भएको मुहूर्त कल्पद्रुम ग्रन्थको ७ वौं अध्यायको दोस्रो श्लोकमा बुधबारको दिन अभिजित मुहूर्त वर्जित भनेर यस्तो मुहूर्तलाई दुर्मुहूर्त भनिएको छ । बुधबार बाहेकका दिनहरूमा भनेजस्तो लग्न आदि भएको शुभ समय भेटिएन भने अभिजित मुहूर्त सबै शुभ कार्यहरूको लागि स्वीकार्य मानिन्छ । तर बुधबारको दिन भने यो मुहूर्तलाई स्वीकार गर्न सकिँदैन। १२: ०७ पछि भएको भए समितिद्वारा यो नियमको पालना हुन्थ्यो । । तर बुधबारको दिन भने अभिजित मुहूर्त वर्जित मानिन्छ भन्ने कुरा समितिले नबुझेको देखियो । वेदाङ्ग ज्योतिषमा पनि २ घटी मुहूर्तको उल्लेख भएको पाइन्छ ।

कारण-३ अशुभ मानिने शनिको उपग्रह गुलिक काल छल्न नसकेको – के हो गुलिक एवं राहुकाल ? संक्षिप्तमा बुझौं ।

बृहत् पराशर होराशास्त्रमा ऋषि पराशर भन्नुहुन्छ धूम आदि अप्रकाश ग्रह यदि सूर्य-चन्द्र लग्नले युक्त छ भने क्रमले वंश, आयु र ज्ञानको नाश गर्दछ । यस प्रकार दोषकारक अप्रकाश ग्रहहरूको स्थिति ब्रह्माले भनेका छन्।

जुन दिन यसको विचार गर्नुछ त्यस दिनको दिनमानलाई आठले भाग गर्दा जुन समय हुन्छ त्यति नै समय एक खण्डको मान हुन्छ; बारेशबाट जुन दिन विचार गरिन्छ त्यो बारबाट खंडहरू अनुसार आफ्नो इष्टकालसम्म गणना गरिन्छ । अर्थात् आठौं भागको स्वामी कोई हुँदैन र शनिको खंड गुलिक हुन्छ । शनिको अंश गुलिक, गुरुको अंश यमघंट हुन्छ । बुधबार १० बजेर २३ मिनेट २२:३० सेकेन्डदेखि ११:५१:३० सम्म गुलिकको स्थिति छ । ३० सेकेन्डले गर्दा गुलिक पनि छल्न सकेको देखिएन।

फलदीपिका ग्रन्थमा भनिएको छ – जहाँ कहीं पनि गुलिकको संयोग भएमा त्यो फल-विनाशक हुन्छ। यमकण्टकको संयोग सर्वत्र सुखद हुन्छ ।

पाप वा अशुभ फल प्रदान गर्नमा गुलिक बलवान् हुन्छ तथा शुभ फल प्रदान गर्नमा यमकण्टक बलियो हुन्छ। अन्य उपग्रह व्यसन आदि प्रदान गर्नमा गुलिकको अपेक्षा अर्द्धबली हुन्छन् ।

कालस्तु राहुर्गुलिकस्तु मृत्युर्जीवातुकः स्याद्यमकण्टकोऽपि ।

अर्द्धप्रहार: शुभदः शुभाङ्कयुक्तोऽन्यथा चेदशुभं विदध्यात् ।।

अर्थात् काल राहुको समान, गुलिक साक्षात् मृत्युको समान हो र यमकण्टक बृहस्पतिको समान जीवन-प्रदाता हो। स्वामीले युक्त भावमा पनि यदि गुलिकादि उपग्रह स्थित छन् भने त्यो भावफलको विनाशक हुन्छन् । यो ऋषिपराशरको कथन हो ! ।

कारण- ४

आकाशमा बलियो अवस्थामा रहेको लग्नेश बृहस्पतिको धनु लग्न ११: ३४ मा सुरु भएर १३:३७ बजे सकिन्छ । कुनै विकल्प नभेटिए लग्नलाई प्राथमिकतता दिनु पनि भनिएको छ । जस्तै पात्रोमा विहेको वा गृहनिर्माण वा गृहप्रवेश आदिको साइतमा शुद्ध लग्न स्वीकार्य हुन्छ । कतिपयमा पञ्चाङ्गको साइतमा पञ्चाङ्ग शुद्धि लग्न अभाव भनिएको हुन्छ । त्यस्तो अवस्थामा हामी आफ्नो बुद्धीको प्रयोग गरेर कुन राम्रो मुहुर्त छ भनेर हेर्छौं । धनु लग्नको मालिक गुरु अहिले आकाशमा बलियो र लग्नबाट र नवमांसमा पनि केन्द्रमा भएको कारण शुभ मानियो । सानैमा म बुबालाई सोध्ने गर्थे पात्रोको साइतमा लेखिएको लग्नको अवधि लगभग २ घन्टा हुन्छ त्यो बीचको कुन समय छनौट गर्ने भन्दा बुबा भन्नु हुन्थ्यो सन्धी मानिने सुरूको ५ र अन्तिमको ५ अंश त्यागेर बीचको १० देखि २० अंशको लग्न बलियो मानिन्छ भन्नुहुन्थ्यो । कुनैपनि राशिमा १०देखि २० अंशसम्मको ग्रहलाई पूर्ण युवा अवस्थाको शक्तिशाली मानिन्छ । समितिले भनेको समयमा धनु लग्नको ४ अंश पनि कटेको छैन । अर्को कुरा ११:५३ सम्म अशुभ मानिने सूर्यको होरा त्यसपछि १२:५२ सम्म शुभ मानिने शुक्र ग्रहको होरा सुरु हुन्छ ।

बिजया दशमीको विषयकमा बृहज्ज्यौतिषसार ग्रन्थमा एकादशीले युक्त दशमी स्वीकार्नु भनिएको छ। निर्णयसिन्धुमा उल्लेख भए अनुसार हेमाद्रिको व्रतकाण्डमा उद्धृत कश्यपको वचनमा भनिएको छ जुन दिन उदयकालमा केहीमात्र दशमीको योग हुन्छ, बाँकीमा पूरापूर एकादशी उपस्थित हुन्छ र अपराह्नमा श्रवणनक्षत्रको पनि योग हुन्छ भने त्यो तिथि विजयानामबाट सम्बोधित हुन्छ । उदये दशमी. इत्यादि पद्यमा रहेको काले पदको अर्थ अपराह्नकालमा भन्ने हो । अर्को दिन अपराह्नकालमा श्रवण नरहेको अवस्थामा सबै कृत्यहरूमा पूर्वा अर्थात् पहिलो दिनको दशमीतिथि नै लिनुपर्दछ । सबै मतमतान्तरहरूको मन्थन गर्दै ग्रन्थकार भन्दछन् - अत्रायं निर्गलितोऽर्थः अर्थात् अब यहाँ सबैको निचोड अर्थ बताउँछु - आश्विनशुक्लदशमीमा मुख्य कर्मकाल अपराह्न नै हो । किनकि शास्त्रहरूमा नै अपराह्नमा पूजा आदिको विधान गरिएको छ। धर्मसिन्धुमा पनि यै कुराको समर्थन गरिएको देखिन्छ ।

समग्रमा र संक्षिप्तमा भन्नुपर्दा बिहानको समयहरूमा लग्न शुद्धि भएको देखिएन त्यसै कारण काठमाडौंको समय अनुसार छिटोमा धनु लग्नको १० अंश कटेपछि १२: १९ मा मूल नक्षत्रको चौथो चरण सुरु हुन्छ। शास्त्रमा मूल नक्षत्रको सुरुका ३ चरण अशुभ तथा मूलको चौथो चरणको जन्मलाई शुभ भनिएको कारण पनि १२: १९ को साइत उत्तम मान्न सकियो । यसो गर्दा बार्नु भनेको मध्यान्ह सन्ध्याकालको समय पनि छलिन्छ ।

काठमाडौं आउनुअगाडि दोलखा जिल्लाको पहाड वा सर्लाही जिल्लाको तराई क्षेत्रमा रहँदा दशैँको टीका साइत हेरेर वा पर्खेर लगाएको मलाई सम्झना छैन । हुन त बुबाले केहि न केहि त हेरेरै गर्नु हुन्थ्यो होला ।

वास्तवमा भन्ने हो भने काठमाडौंमा ज्योतिषीको सल्लाह अनुसार राजाले जुन समय लगाउँथे त्यही साइत हुन्थ्यो । हुन त एकथरी मान्छेहरूको भनाई टीकाको दिन घाम झुल्केपछि दिनभरि साइतै साइत भन्ने पनि छ ।

अधिकांस विजया दशमीको दिन श्रीराम दैवज्ञको मुहूर्त चिन्तामणि ग्रन्थमा उल्लेख भएको अति शुभ मानिने सबैदोषहरूको नाशगर्ने रवि योग परेको हुन्छ । सूर्य ले भ्रमण गरिरहेको नक्षत्रदेखि चन्द्रमाले भ्रमण गरेको नक्षत्र ४,६,९,१०, १३ र २०वौं नक्षत्र पर्यो भने रवि योगको सृजना हुँदा सबै दोषहरू टाढा पार्दछ भनिएको छ । यसपटक सूर्य बसेको नक्षत्र हस्ताबाट गन्दा आज परेको श्रवण नक्षत्र १०वौं पर्छ र आज राती ९ बजेर ३२ मिनेटसम्म पात्रोमा श्रवण नक्षत्र भएको बुझिन्छ ।

अहिलेका तत्कालीन सम्माननीय प्रधामन्त्री शेरबहादुर देउवाजी प्रधानमन्त्री हुनु भएको दिन सूर्य योग परेको थियो । कसैले चाहेर त्यो योग परेको हैन त्यो त वहाँको जन्म कुण्डलीमा भएको राहु र सूर्य सहयुतीको शुभ प्रभाव हो भनेर बुझ्न सकिन्छ ।

मुहूर्त ज्योतिषको विषयमा एउटा भनाइ प्रख्यात छ । त्यो के भने अनुकूल समयमा माटो छोए पनि सुन हुनसक्छ र प्रतिकूल समयमा सुन छोयो भने पनि माटो हुनसक्छ।

लेखक वास्तु ज्योतिष हुन्

प्रकाशित : आश्विन १९, २०७९ १०:०९
प्रतिक्रिया
पठाउनुहोस्

प्रथम दारिम्बा गोल्डकपको उपाधि चाक्सिबोटेलाई

लक्ष्मी गौतम

काठमाडौँ — पाँचथरको याङवरक– ५, दारिम्बामा सम्पन्न प्रथम दारिम्बा गोल्डकपको उपाधि चाक्सिबोटे स्पोर्टिङ क्लब ताप्लेजुङले जितेको छ । मंगलबार साँझ सम्पन्न फाइनल खेलमा आयोजक दारिम्बा फुटबल क्लबलाई २-१ गोल अन्तरले हराउँदै उपाधि जितेको हो ।

जितसँगै चाक्सिबोटेले ७० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र हात पार्‍यो । उप-विजेता डीएफसी दारिम्बाले ट्रफी र मेडलसँगै प्रमाणपत्र र ३५ हजार रुपैयाँमा चित्त बुझायो ।

त्यस्तै, एनएफसी थर्पू–७(बी)ले महिलातर्फको उपाधि चुमेको छ । सोमबार नै सम्पन्न फाइनल खेलमा एनएफसी थर्पू–७ (बी)ले एनएफसी थर्पू–७(ए) विरुद्ध कठिन जित निकाल्दै उपाधि चुमेको हो ।

निर्धारित समयमा दुवै टिमबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरमा धकेलियो । पेनाल्टी सुटआउटमा 'बी'ले 'ए' लाई पराजित गरेको हो । विजेता एनएफसी (बी)ले नगद १५ हजारका साथै ट्रफी, मेडल र प्रमाणपत्र हात पार्‍यो भने उपविजेता एनएफसी (ए)ले ट्रफी, मेडल, प्रमाणपत्र र नगद ७ हजारमा चित्त बुझायो ।

पुरुषतर्फ बेस्ट डिफेन्डरमा रोशन लिम्बू घोषित भए भने बेस्ट किपिङमा सन्तोष तामाङ, बेस्ट प्लेयरमा दिनेश लिम्बू तथा हाई स्कोररमा सुमन लिम्बू घोषित भए । त्यस्तै महिलातर्फ बेस्ट डिफेन्डरमा सोनी लिम्बू, बेस्ट किपिङमा अस्मिता लिम्बू, बेस्ट प्लेयरमा नुमा लिम्बू, हाइस्कोररमा सोनम राई घोषित भए । २१ टीमको सहभागिता रहेको उक्त प्रतियोगिताको समापन कार्यक्रम याङवरक गाउँपालिकाका अध्यक्ष भीमबहादुर योङया(शुबास)को प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

प्रकाशित : आश्विन १९, २०७९ १०:०७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×