'डेंगु क्लिनिक' डायरी- ब्लग - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

'डेंगु क्लिनिक' डायरी

डा‍‌‍‌. शेरबहादुर पुन

काठमाडौँ — यो लेखको मुख्य उदेश्य भनेको हाल 'डेंगु महामारी' मा चिकित्सक र बिरामीले डेंगु महामारीको सामना कसरी गर्दैछन् भन्ने 'ग्राउन्ड जिरो' मा देखिएका अनुभवहरूलाई प्रस्तुत गर्नु हो।

तथ्यांकले के देखाउँदछ/देखाइरहेको छ, महामारी घोषणा गर्न आवश्यक सूचकहरू के हुनुपर्छ भन्ने बहस भइरहेको होला । तर लगभग प्रत्येक बिरामीका अधिकांश परिवारका सदस्यहरू डेंगु पुष्टि भएका छन् वा डेंगु जस्तो लक्षणहरूबाट प्रभावित भइरहेकाे देखिन्छ । यसले डेंगु घर घरमा पुगिसकेको स्पष्ट संकेत गर्दछ।

सन् २०१९ मा जस्तो डेंगु काठमाडौं केन्द्रित मात्र नभएर यसपटक ललितपुर र भक्तपुरमा जिल्लामा समेत व्यापक फैलिएको छ । अस्पतालले सन् २०१९ मा 'डेंगु महामारी' सँग जुध्न 'फिबर क्लिनिक' स्थापना गरेको थियो र हजारौं संक्रमितलाई सेवा दिएको थियो ।

हालको डेंगु महामारीसँग जुध्न अस्पतालमा 'डेंगु क्लिनिक' को स्थापना गरेर गत हप्ता दिनदेखि सञ्चालनमा समेत आइसकेको छ। हाल दैनिक लगभग सय हाराहारीको संख्यामा डेंगु वा डेंगु जस्तो लक्षणहरू लिएर आउने बिरामीसँग मेरो भेट र परामर्श दिने काम हुन्छ ।

नियमित 'डेंगु क्लिनिक' जाँदै थिएँ । अस्पताल परिसर प्रवेश गर्ने बित्तिकै एक सहकर्मी हतार हतार गर्दै डाक्टरसाब मेरो बच्चालाई ज्वरोले छाडेन तर, रगतको रिपोर्ट भने (सेतो रगत र प्लेटेलेट्सको संख्या) सामान्य नै छ भन्दै थिए । एकछिनको परामर्शपछि सिधै ' डेंगु क्लिनिक' तिर गए।

'डेंगु क्लिनिक' आकस्मिक कक्ष प्रवेशद्वारको बायाँपट्टि स्थापना गरिएको छ । सन् २०१९ को 'डेंगु महामारी' को बेलामा भने नयाँ बिल्डिङमा 'फिबर क्लिनिक' भनेर डेंगु बिरामीलाई सेवा, उपचार तथा परामर्श दिएका थियौं । सबैलाई व्यवस्थित लाममा राख्न सहयोगीलाई आग्रह गरेर बिरामीसँग समस्याहरू सोध्न सुरु गरें।

पहिलो बिरामीले शरीर र टाउकोमा दुखाइ अत्यन्त पीडादायी हुने गरेको, आँखाको गेडी खस्ला जस्तो भइरहेको, खुट्टाको जोर्नी र मांसपेशीका, पछाडि ढाडको तल्लो भागमा अत्यधिक पीडा हुने जानकारी दिए। खाना देख्यो कि वाकवाक लाग्ने र एकपटक बान्ता समेत भएको जानकारी दिए ।यस्तो समस्या देखिएको ३ दिन भएको रहेछ।

अनि ज्वरो नि ? भन्ने प्रश्नको उत्तर दिँदै बिरामीले आफूलाई अत्यधिक जाडो महसुस हुने भएकोले कम्बल ओड्नुपरेको जवाफ दिए । प्रथम बिरामी भएकोले होला डेंगु परिक्षणको लागि पठाएकोमा क्लिनिक नसकिदै डेंगु पुष्टि भएको रिपोर्ट लिएर आए। सो डेंगु संक्रमित मात्र होइन कतिपय डेंगु पुष्टि भएकाहरूमा उच्च ज्वरो अनिवार्य देखिएको भने छैन। धेरैलाई ज्वरो नभई डेंगु हुँदैन/होइन भन्ने लागेको पाहिन्छ।

अर्को एक जाँचको पर्खाइमा रहेका युवकलाई ज्वरो आउने र बाँकी अधिकांश लक्षणहरू माथि उल्लेखित बिरामीसँग मिल्दो जुल्दो हुने गरेको बताए । अस्पताल आउनुभन्दा अगाडिसम्म लिएका औषधिको बारेमा राखेको चासोमा विभिन्न औषधिहरू लगायत फ्लेकसन भन्ने दुखाइ कम गर्ने औषधि पनि रहेछ। बिरामी ज्वरो र अत्यधिक टाउको दुखाइ पछि औषधि पसल जाँदा सो औषधि (फ्लेकसन) दिएको भनेका थिए। डेंगु संक्रमणमा यो औषधिको प्रयोग गर्न हुन्न भन्ने जानकारीको बारेमा बिरामी र औषधि बिक्रेता दुवै अनविज्ञ देखिए । औषधि पसलमा जाँदा फ्लेकसन वा निम्स जस्ता दुखाइ कम गर्ने औषधिहरू दिने गरेका 'डेंगु क्लिनिक' मा आउने धेरैले भन्ने गरेका छन् । यसबाट डेंगु संक्रमितमा रक्तश्रापको जोखिम झन् बढाई दिएको छ। कतिपयले भने सिटामोलले लामो समय काम नगरेको वा कडा दुखाइबाट छुटकारा पाउन फ्लेकसन खाने गरेको भन्ने गरेका थिए।

एक अर्को युवती डेंगु पुष्टि भएको रिपोर्ट देखाउँदै आफूलाई पेट बटारेको जस्तो हुने र बान्ता होला जस्तो हुने कारणले अस्पताल आइपुगेको भनेका थिए। केही खाएको थियो कि भन्ने प्रश्नको उत्तरमा बिरामीसँगै आएका आफन्त सहयोगीले छिमेकीले दिएको पातको रस (के को पात नाम थाहा नभएको) खाएपछि यस्तो अवस्था भएको भन्ने जानकारी दिएका थिए। यद्यपि बिरामी आफैंले भने यो कुरा भन्न हिच्किचाएका थिए। यसबाट हाल धेरै संक्रमितहरू घरघरमा बिना पूर्ण जानकारी औषधिका विकल्पहरू प्रयोग गरिरहेको हुनसक्ने अनुमान गर्न सकिन्छ । यसबाट फाइदाभन्दा पनि बेफाइदा हुनसक्ने सम्भावना बढी हुने गरेका पनि देखिरहेका छौं।

डेंगु जस्तो लक्षण देखिएकामा दुईपटकसम्म पनि प्रयोगशालामा परिक्षण गर्दा डेंगु नेगेटिभ देखिएका धेरै नमुनाहरू छन् । यसबाट नेपालमा हाल डेंगु बाहेक अरु संक्रमणको उपस्थितिको प्रबल सम्भावना देखिन्छ ।हाल काठमाडौं लामखुट्टेमय भएको छ । र, डेंगु फैलाउने लामखुट्टेले अरु भाइरसहरू पनि फैलाउन सक्छ । एडीस जातको लामखुट्टेले डेंगु बाहेक डेंगु जस्तै लक्षण देखाउने चिकुनगुनिया र जीका भाइरस पनि फैलाउने गर्छ । तर हाल चिकुनगुनिया र जीका भाइरसको परिक्षण भने गर्ने गरिएको छैन । डेंगु जस्तो लक्षण लिएर आउने सबैमा डेंगु हुनैपर्छ भन्ने छैन । एडीस जातको लामखुट्टेले फैलाउन सक्ने अरु भाइरसको पनि परिक्षण हुनसके चिकित्सकलाई सही परामर्श दिन सहज हुने थियो।

डेंगुबाट बच्नु भनेको लामखुट्टेको टोकाइबाट बच्नु हो । क्लिनिकमा आएका एक अर्को व्यक्तिले आफू ओहोरदोहोर गर्ने ठाउँ नजिकै निर्माण कार्य भइरहेको ठाउँमा खाल्टाखुल्टी धेरै देखेको र त्यहाँ पानीको निकास नहुँदा (जम्दा) व्यापक लामखुट्टे देखिने गरेको बताएका थिए । आफू पनि डेंगु संक्रमित भइएला कि भनेर डराइ डराइ हिँड्नु परेकोले केही लक्षण देखिएपछि डेंगु लागेको हुनसक्ने भनेर क्लिनिक आइपुगेका थिए । हाल विकास निर्माणका क्रममा धेरै ठाउँमा खाल्टाखुल्टी देखिने गरेको र त्यस्ता ठाउँमा पानीले निकासा नपाइ जम्ने वातावरण सिर्जना हुँदा लामखुट्टेको वृद्धि सहज भएको र डेंगुले तीव्रता पाएको सहजै अनुमान गर्न सकिन्छ ।

हाल 'डेंगु महामारी' को ग्राफ तीव्र गतिमा उकालो लाग्ने क्रममा छ । शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल यो लडाइँको फ्रन्टलाइनमा छ । 'डेंगु महामारी' लाई नै केन्द्र र ध्यानमा राखी बिरामीलाई दिने सेवा चुस्त र प्रभावकारी होस् भनेर अस्पतालमा 'डेंगु क्लिनिक' को स्थापना गरेको हो । क्लिनिकबाट सेवा मात्र नभइ समग्रमा डेंगुप्रति हाल नागरिकको बुझाइ, भ्रम र समस्याको बारेमा समेत जानकारी हुनेछ।

'डेंगु क्लिनिक' को स्थापना भए यता स्वास्थलाभ गर्ने डेंगु संक्रमितको संख्यामा पनि वृद्धि हुने क्रम देखिएको छ । यो सकारात्मक पक्षको संकेत हो तर डेंगुसँगको लडाइँ भने अझै अरु केही हप्तासम्म जारी रहनेछ।

डा. पुन शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक हुन् ।

प्रकाशित : भाद्र २२, २०७९ १९:४७
प्रतिक्रिया
पठाउनुहोस्

चर्को गर्मीले फ्रान्समा ११ हजारको मृत्यु 

कान्तिपुर संवाददाता

पेरिस — यस वर्षको उच्च गर्मीबाट फ्रान्समा ११ हजार नागरिकको मृत्यु भएको दाबी गरिएको छ । नेसनल इन्स्टिच्युट अफ स्ट्याटिस्टिक्स एण्ड इकोनोमिक स्टडीज (इन्सी) को प्रतिवेदन अनुसार तीन पटकको लहरबाट ११ हजार नागरिकको मृत्यु भएको हो ।

रिपोर्ट अनुसार जुन १५ देखि २२, जुलाई १५ देखि १८ र जुलाई ३१ देखि मध्य अगस्टसम्म गरी फ्रान्समा उच्च गर्मीको तीन लहर आएका थिए । हाल गर्मीयाम कायम नै रहे पनि तापक्रम घटेको छ ।

'सबै कारणबाट भएका मृत्यु जुलाइ १९ मा एकदम उच्च स्तरमा पुगेको छ । र जुलाई महिनाको कुल मृत्यु ५२ हजार चार सय छ । यो २०१९ को जुलाइमा मृत्यु हुने ४६ हजार आठ सय ७७ भन्दा १३ प्रतिशतले बढी हो,' इन्सीको विश्लेषण छ । जुन २०२२ मा मृत्युको संख्या जुन २०१९ को तुलनामा चार प्रतिशतले बढी थियो। जुन १९, २०२२ मा सबै कारणबाट हुने मृत्युको संख्या सबैभन्दा बढी देखियो ।

फ्रान्समा मृत्युदरको विकासलाई मूल्यांकन गर्न इन्सीले कोभिड-१९ को महामारीभन्दा अगडि सन् २०१९ को वर्षसँग तुलना गरेको बताएको छ ।

तर अहिले सार्वजनिक गरिएको मृत्युको आँकडा अझै परिमार्जित हुने र त्यो संख्या अझै बढ्नसक्ने इन्सीले उल्लेख गरेको छ ।

प्रकाशित : भाद्र २२, २०७९ १९:३८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×