यसकारण मैले चलचित्र पुरस्कार बहिष्कार गरें

रीना मोक्तान

काठमाडौँ — यही असार ४ मा चलचित्र पत्रकार संघले दिने ‘चलचित्र पत्रकारिता सम्मान र पुरस्कार’ मैले केही समयअघि फेसबुकमार्फत् नलिने घोषणा गरिसकेकी छु । यसबीचमा धेरै साथी, सहकर्मीले मलाई उक्त घटनाबारे सोध्नुभयो । नजिकका केही साथीलाई सुनाएँ पनि । उक्त घटनाबारे बारम्बार सोध्दा मलाई असहज पनि भयो । सोध्ने जतिलाई सुनाउन पनि सकिनँ । र, त्यसैका आधारमा मेरो चरित्रमाथि नै प्रश्नहरू उठाइए । 

यसकारण मैले चलचित्र पुरस्कार बहिष्कार गरें

मैले पुरस्कार नलिने घोषणा गरेसँगै संघले सुरक्षा भट्टराईको संयोजकत्वमा सदस्यहरू सृष्टि पोखरेल, गोपीकृष्ण चापागाईं, अन्जान दाहाल (मनीष) र आशिष ओली रहने गरी पाँच सदस्यीय छानबिन समिति गठन गर्‍यो । घटनाका बारेमा जानकार आशीष ओली र साथी सुरक्षा भट्टराई (चार वर्षअगाडि रुँदै जसलाई मैले घटना सुनाएकी थिएँ) लाई नै छानबिन समितिमा राखियो । पीडक मेरा दुवै साथीका 'नेता' ।

उनीहरू दुवैलाई समितिमा राखेपछि त्यसमा राजनीतिक रंग मिसिएको गन्ध नआएको होइन । यौन दुर्व्यवहारजस्तो संवेदनशील विषयमा साक्षी बन्नुपर्नेहरूलाई नै छानबिन समितिमा राखेपछि संघले औपचारिकताकै लागि यो समिति गठन गरेको हो भन्ने लागेपछि मैले समितिलाई नाम नखुलाउने निधो गरें । समिति गठन गरेकै दिन संयोजक सुरक्षा भट्टराईसँग भण्डारी, सापकोटालगायत अन्य दुई सहभागी भएको गोप्य बैठकमा ती व्यक्तिले आफ्नो कर्तुत स्विकारेको मसँग प्रमाण नै छ ।

तैपनि समितिले छानबिन गरेपछि सार्वजनिक गरेको विज्ञप्तिमा त्यसबारे कतै उल्लेख गरेको पाइएन । संघले समितिमा अघिल्लो कार्यसमितिका परिपक्व व्यक्तिलाई संलग्न गराउन सक्थ्यो । महिला उपाध्यक्षलाई पनि समितिमा नराख्दा छानबिन समितिबाट केही अपेक्षा थिएन र त्यसैअनुरुपको विज्ञप्ति उनीहरूले सार्वजनिक गरे ।

०००

२०७३, फागुन २५ गते चलचित्र पत्रकार संघको चुनाव थियो । भर्खरै रेडियोबाट युट्युबतिर लागेको थिएँ म । फिल्म क्षेत्रको रिपोर्टिङमा एकदमै नयाँ; त्यसमाथि चुनाव पनि नयाँ । चुनावी माहोलमा घुलमिल हुन त्यतिबेला साथी आशीष ओली र एक जना पत्रकार दाइ (पीडक) ले गाइड गरिरहेका थिए । हामीले समर्थन गरेका व्यक्ति एकै थिए, त्यसैले पनि ती दाइ हामीसँग चुनावको समयदेखि नजिकिएका थिए । त्यस दिन उनी पनि सचिवमा निर्विरोध चुनिए ।

‘चुनावको नतिजा सुनेरै घर फर्कनू । बरु ढिला भए घर पुर्‍याइदिऊँला‚’ उनले यति भनेपछि, म मतपरिणाम कुरेर बसें । चुनाव सकिँदा रातको ९:३० नाघिसकेको थियो । उनले घर पुर्‍याइदिन्छु भन्दै स्कुटर निकाले । सँगैका आशिषले ढुक्कले मलाई बिदाइ गरे । स्कुटर बानेश्वरको अर्याल होटलबाट भक्तपुरतर्फ गुड्यो ।

कोटेश्वरमा पुगेपछि, उनले‚ ‘तिम्रो घर त टाढा रहेछ । स्कुटरको पेट्रोल सकिन लाग्यो । तिमी मेरो घरमा बस्नू, भाउजू सँगै भइहाल्नुहुन्छ‚’ भने । उनको गर्लफ्रेन्डलाई हामी त्यतिबेला भाउजु भन्थ्यौं । निकै राति भइसकेको थियो । मैले पनि 'भाउजू'सँग बस्नु ठीक ठानें । ट्याक्सी चढेर घर जान्छु भनेको थिएँ तर उनले मलाई बारम्बार भाउजुको नाम लिएर कन्भिन्स गर्न खोजे; अरु विकल्प पनि थिएन । स्कुटर फर्काएर बानेश्वर हुँदै अनामनगरतर्फ मोडियो । अनामनगर पुग्दै गर्दा उनले मलाई ‘अबेर भइसकेकाले परिवार सबै सुतिसकेको हुन सक्ने र ढोका बन्द हुने बताउँदै हनुमानस्थान नजिकैको एउटा होटलमा पुर्‍याइदिएर आफू घर फर्किने बताए । अर्काको घर गइरहनुभन्दा होटलमै बस्नु सजिलो लाग्यो; मैले ‘हस्’ भने । हनुमानस्थानको होटलमा कोठा नपाएपछि उनले मलाई पुतलीसडकको एउटा होटलमा लगे ।

उनले चोकैपिच्छे कुरा बनाउँदै हिँडेकाले मनमा शंका नउब्जिएको पनि होइन तर दाइ ठानेकाले पनि सुरक्षित ठाउँमै छाडिदेलान् भन्ने विश्वास भने थियो । उनले मलाई ‘रत्नराज्यलक्ष्मी क्याम्पस’ को पछाडिपट्टिको ‘कान्तिपुर होटल’ लगे । त्यसपछि उनले रिसेप्सनमा गएर दुईवटा चाउचाउ र पानी किनिदिए । रजिस्ट्रेसनमा आफ्नो नाम पनि टिपाएजस्तो लाग्छ । त्यसपछि म ढुक्क भएँ; सुरक्षित महसुस गरें । तर‚ त्यसपछि होटल सञ्चालकसँग चाबी मागेर उनी सरासर ‘बहिनीको रुम कस्तो छ म हेरेर जान्छु’ भनेर उक्लन थाले । अनि मन चिसो भयो ।

एकछिनअघिको सुरक्षाभाव क्षणभरमै अत्यासमा बदलियो । कोठामा प्रवेश गरेपछि एकछिन आराम गरेर ‘फर्कन्छु’ भन्दै उनी पलङमा पल्टिएपछि मन आत्तिन थाल्यो । मैले अवस्थालाई सामान्य बनाउन अनुहारमा डर झल्कन दिइनँ । अर्को पलङमा बसेर चाउचाउ खाने कोसिस गरें तर घाँटी अड्किरहेको थियो । उनी पलङको भित्तामा अडेस लागेर ढल्किए । दिमागमा अनेकथरि कुरा खेल्न थाल्यो; म एकोहोरिएछु । ‘बहिनी मेरो छेउमा बसेर चाउचाउ खाऊ’ भन्दा पो झल्याँस्स भएँ । दिमागले केही सोच्नै सकिरहेको थिएन । ‘दाइसँग डराको ?’ भन्न थालेपछि म छेउमा गएर चाउचाउ खान थालें । म निकै आँत्तिएकी थिएँ । त्यतिकैमा उनले मेरो कम्मर समाए । ‘दाइ मलाई यस्तो मन पर्दैन,’ डरले काँप्दै भनेँ ।

‘केही गर्दिनँ’ भन्दै फेरि कम्मरमा हात लगे; मैले हात झट्कारिदिएँ । रुन थालें; त्यसपछि उनी अलिकति डराए । म जोडले रुन खोज्थें तर आवाज भित्रै दबिन्थ्यो । त्यसपछि म अर्को पलङमा बसेर रुन थालें; शरीर लगलग काँपिरह्यो । आफूले दाइ मानेको व्यक्तिले यस्तो गर्लान् भनेर एक प्रतिशत पनि लागेको थिएन । उनलाई विश्वास गरेर होटलसम्म पुगेकोमा आफैंलाई दोषी ठानिरहेँ; पछुताइरहें; रोइरहें । आमाको याद आयो, साथी आशिषलाई सम्झें । फोन गरुँ; फोनमा चार्ज थिएन । रुनबाहेक गर्न केही सकिनँ । त्यतिन्जेलमा उनी निदाए ।

त्यतिबेलै भाग्ने सोचेको पनि हो तर ढोकाको आवाजले ब्युँझिएर जबरजस्ती नै गर्ने हो कि भन्ने लाग्यो । मलाई कतिखेर उज्यालो होला भन्ने भइरह्यो । त्यतिबेला १२/१ बजेको हुँदो हो । मध्यरातसम्म रोएरै बसें । बिहान ३/४ बजेपछि मानिसहरूको चहलपल बढेसँगै विक्षिप्त मानसिकतामै घर पुगें । त्यो कहालीलाग्दो क्षण सम्झँदा अहिले पनि मुटु काँप्छ ।

त्यो घटनाबारे मैले कसैलाई केही सुनाउन सकिनँ । घटनाले मलाई विक्षिप्त बनाए पनि त्यसलाई बिर्सेर अगाडि बढ्ने सोचें । घटना भएको २/४ दिनमै एउटा कार्यक्रममा ती व्यक्तिसँग मेरो भेट भयो । ती व्यक्तिले ‘बहिनी क्षमा माग्छु; मैले तिमीलाई अरु केटीजस्तै सोचेको थिएँ‚’ भने । तर‚ मैले न उनलाई क्षमा दिन सकें न घटना नै बिर्सन सकें । हरेक पटक फिल्मसम्बन्धी कार्यक्रममा ती व्यक्तिलाई देख्दा मलाई उक्त घटना ताजा हुन्थ्यो । मैले उक्त घटनालाई जति नै बिर्सन खोजे पनि सकिरहेको थिइनँ । म त्यस घटनाबाट अझै बाहिर निस्कन सकेको थिइनँ ।

मैले उक्त व्यक्तिलाई क्षमा दिने प्रयास पनि गरेको हो । विगतका वर्षहरूमा उक्त व्यक्ति र मेरो काम गर्ने क्षेत्र एउटै थियो, छ । एउटै कार्यक्रममा ठोक्किँदा उनीबाट अनुहार लुकाएर म भागिनँ । गल्ती मेरो थिएन भने म किन डराउनु ? रिपोर्टिङ गर्ने क्षेत्र एउटै हुँदा अधिकांश कार्यक्रममा भेट हुन्थ्यो । तर, यी वर्षहरूमा म निडर भएर उनको सामुन्ने प्रस्तुत भएकी छु । कहिलेकाहीँ मेरा साथीहरूको समूहमा उनी कुराकानी गर्न आउँथे । उनी छेउमा पर्नासाथ म उक्त घटना सम्झन्थें ।

०००

म घटनालाई चट्टक्कै बिर्सन चाहन्थें । मैले धेरै पटक यो घटनाबारे लेख्छु भन्ने सोचें तर जति पटक लेख्न बस्थें, मेरा हातहरू काँप्थे ।यौन दुर्व्यवहारबारे परिवारले थाहा पाए के भन्लान् ? आफन्त, साथीहरूले के सोच्लान् ? कतै सबैले मलाई नै दोषी देख्ने त होइन ? यिनै प्रश्नहरुबाट डराइरहें । यौन दुर्व्यवहारलगत्तै नजिकका केही साथीलाई घटनाबारे सुनाएको थिएँ तर सम्पूर्ण रूपमा खुल्न सकिनँ । उक्त घटना सम्झँदा आज पनि म विक्षिप्त हुन्छु ।

जब संघले दिने भनेको पुरस्कारको निर्णयमा ती व्यक्तिको पनि सहमति भएको सुनें तब मन पोल्न थाल्यो । अब त म बोल्नैपर्छ भन्ने भयो; मेरो आत्मविश्वास र आत्मसम्मानका लागि । त्यसैले मैले सामाजिक सञ्जालमा पुरस्कार नलिने सम्बन्धमा आफ्नो धारणा पोस्ट गरेँ ।

यो घटनाबारे बोलिसकेपछि अन्य यौन दुर्व्यवहारबारे बोल्ने महिलाले झैं मैले पनि 'भिक्टिम ब्लेमिङ'को सामना गर्नुपर्‍यो । छोटो स्टाटसकै भरमा धेरैले सुरुमै मेरो गल्ती देखे । पुरस्कार नलिने मेरो निर्णयलाई नियोजित र परिचालित ठाने । मैले आदर गर्ने पत्रकार दाजुहरूले पनि मलाई नै गलत देखाउँदै चारित्रिक प्रमाणपत्र थमाइदिन खोजे । सायद उनीहरूले अझै यौन दुर्व्यवहार के हो र पीडितलाई कस्तो व्यवहार गर्नुपर्छ भन्नेसमेत बुझेका छैनन् । 'अधिकांश पुरुषलाई यौन दुर्व्यवहारको अर्थ थाहा छ तर अधिकांश महिलाले यसलाई भोगेका छन्,' हार्वड बिज्नेस रिभ्युमा लियाना वाटरले भनेकी छन्, 'आफ्नो व्यवहार गलत छ भन्ने कुरा पुरुषले थाहा पाएका हुँदैनन् अनि महिलाले त्यही व्यवहारलाई लिएर तिललाई पहाड बनाइएको कुरा गर्छन् । त्यो एकदमै असत्य हो तर दुर्व्यवहारको खास अनुभव महिलाले गरेकी हुन्छिन् ।'

पत्रकार मार्था गिलले गार्डियनमा प्रकाशित एक लेखमा भनेझैं पछिल्लो समय सार्वजनिक वृत्त र अदालतबाट पीडितहरू (आरोपी) माथि नै झूट बोलेको आरोप लगाइन्छ । दुर्व्यवहार पुष्टि गर्न निकै मुश्किल हुन्छ भन्ने उदाहरण हुन् हलिउड निर्माता हार्भे विन्सटाइन । उनीविरुद्ध सयभन्दा बढी महिला साक्षी उभिएका थिए । एउटा साहसी आवाजले धेरै पीडकहरूको मुखौटो उघारिने मात्र होइन, धेरै महिलाहरू दुर्व्यवहारमा पर्नबाट समेत जोगिन्छन् ।

मलाई उक्त व्यक्तिबारे अरुलाई सचेत गराउनु अनि उनैलाई सुध्रिने मौका दिनु थियो । साथै उनको जस्तो नियत भएकाहरुलाई परिवर्तन हुने मौका दिनु थियो । अर्को कुरा, दुर्व्यवहारको घटना सुनाएर मन हलुका बनाउनु थियो । घटनाबारे बोलिसकेपछि धेरैले त्यो व्यक्तिलाई संघबाट ‘हटाइदिन्छु’ भन्दै नाम लिन उक्साए, जुन मेरो उद्देश्य होइन । यौन दुर्व्यवहार सहेर बसेका अन्य पीडितलाई बोल्ने साहस दिन मैले बोलेकी हुँ । यौन दुर्व्यवहारबारे बोलेपछि उक्त मुद्दामा कसरी अगाडि बढ्ने भन्ने संस्कृति हामीकहाँ अझै विकास भइसकेको छैन ।

प्रकाशित : असार २, २०७९ १७:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?