१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६५

चट्याङको देशमा नेपालीभाषी आस्थाका बन्दीहरू 

नारद पोख्रेल

सन् ८०को दशकमा सुरू भएको नेपालीभाषी भुटानीहरूको आन्दोलन अझै पनि तात्विक निस्कर्षमा पुगेको छैन । बरू गन्तव्य नभेटेर छिन्नभिन्न अवस्थामा तीन आयाममा रूमलिरहेको भेटिन्छ ।

चट्याङको देशमा नेपालीभाषी आस्थाका बन्दीहरू 

पहिलो आयाम, यसको उद्गम देश भुटानमै छ । अझै पनि त्यहाँका नेपालीभाषी भुटानीहरू आधारभूत मानवअधिकारबाट वञ्चित छन् । उनीहरू दोस्रो दर्जाको नागरिकका रूपमा अनेक विभेद सहरे बाँचिरहेका छन्। उनीहरू रहरको जीवनभन्दा पनि कहरको जीवन बाँचिरहेका छन् ।

यसैबीच, भुटान सरकारले यो समस्या समाधान गर्नेभन्दा पनि दोहोर्‍याउने संकेत देखाएको समाचार बाहिरिएको छ। दक्षिण भुटानका केही नेपालीभाषी परिवारलाई देशबाट निकाल्ने कार्य भएको छ । यो नेपालीभाषी भुटानीलाई देश निकाला गरेर शरणार्थी बनाउने दोस्रो चरणको दुस्चक्रको सुरूवात हो । यसको समयमै सर्वत्र निन्दा र घोर भत्सर्ना हुनुपर्छ ।

नेपालीभाषी भएकै कारण दशकौंदेखि सयौं निर्दोष आस्थाका बन्दीहरू भुटानी जेलमा नारकीय जीवन बिताइरहेका छन्। उनीहरूलाई अनेक झुट्टा मुद्दा लगाएर जेलको चौघेराभित्र कैद गरिएको छ । खुला आकाशमा श्वास फेर्न त पाएका छैनन् नै, जेलभित्र पनि आधारभूत मानवअधिकारबाट वञ्चित छन्। परिवारका सदस्यहरूसँग भेट्न पाउने नैसर्गिक अधिकारसम्म पनि उपभोग गर्न नपाइरहेको ठिटलाग्दो अवस्था छ ।

दोस्रो आयाम, पूर्वी नेपालको झापा र मोरङमा रहेका दुई नाममात्रका शरणार्थी शिविरमा छ । यहाँ अझै पनि हजारौंको संख्यामा तीन खालका भुटानी शरणार्थी छन् । कोही आफ्नै देश भुटान फर्कन चाहन्छन्, कोही तेस्रो मुलुकमा पुनर्स्थापित आफन्तहरूकोमा जान भौंतारिइरहेका छन्, कोही यी दुवै अवस्था नभएमा नेपालमै भएपनि नागरिकताविहीन अवस्थाबाट मुक्त भएर बाँच्न चाहन्छन् । तर, दुर्भाग्य उनीहरू आफ्ना चाहनाबाट त टाढिदै छन् नै, सामान्य गाँस, बास र कपासको जोहो पनि हुन नसकेर कष्टप्रद जीवन बाँचिरहेका छन् ।

देश फर्कने र तेस्रो मुलुकमा जाने दुवै विकल्पको सम्भावना साँघुरिदै जाँदा उनीहरूको कष्टप्रद जीवनमा एक किसिमको निराशा र हतासा चुलिँदै गएको छ । भोक र रोगले मात्र हैन, शोकले पनि उनीहरूको चोला उठिरहेको छ । एक किसिमको सन्नाटा छाइरहेकै यो बेला उनीहरूमध्ये कतिपयको नाममा अन्य व्यक्ति नै तेस्रो मुलुक पुगिसकेको सूचना पनि बाहिरिएको छ । यो आश्चर्यलाग्दो सूचनाले उनीहरूको पीडामा नुन-चुक छर्ने काम गरेको छ ।

तेस्रो आयाम, भुटानी शरणार्थी पुनर्वास गरिएका विश्वका विकसित ८ देश अमेरिका, क्यानाडा, अस्ट्रेलिया, बेलायत, नर्वे, न्युजिल्याण्ड, डेनमार्क र नेदरल्याण्ड्समा फैलिएको छ । भुटान फर्कन नपाइने अनि नेपालमा पनि भविष्य अनिश्चित हुने भएपछि लाखौं भुटानी शरणार्थीहरू तेस्रो मुलुक पुनर्वासको विकल्प रोजेर सन् २००८ देखि पुनर्वासमा आएका हुन् । सबैभन्दा धेरै भुटानी शरणार्थी अमेरिकामा आएका छन्, यो संख्या लाखौंमा छ ।

तेस्रो आयाममा रहेका नेपाली भाषी भुटानीहरू पहिलो दुई आयाममा रहेका भन्दा धेरै सुविधामा छन् । धेरैले प्रारम्भिक चरणको संघर्ष सकेर आफ्नो नागरिकताविहीन अवस्थामाको पनि अन्त्य गरिसकेका छन् । एक किसिमले भन्दा अब उनीहरू पहिला दुई आयाममा रहेका नेपालीभाषी भुटानीका लागि केही गर्न सक्ने अवस्थामा पुगेका छन् । उनीहरू नेपालीभाषी भुटानी आन्दोलनकै एक आयाम भएका प्रतिकुलतामा रहेका दुई आयामका लागि केही गर्नु उनीहरूको नैतिक दायित्व पनि हो ।

तर, दु:खका साथ भन्नुपर्छ भुटानी आन्दोलनकै एक आयामका रूपमा विकसित देशमा पुगेका धेरैजसो भुटानीहरू खोलो तरेर लौरो बिर्सेको अवस्थामा छन् । उनीहरूको ध्यान विलासिताको जीवन बिताउने, तडकभडकमा रमाउने र देखासिकी गर्नेतिरै तानिएको छ । उनीहरूले हिजोको टाटीको शिविरको बसाइ र त्यस बसाइको क्रममा भोगेको कष्टप्रष्ट जीवनको धरातल बिर्सिसकेका छन् । भुटानको कारागारमा रहेका आन्दोलनका आस्थाका बन्दी र नेपालको शरणार्थी शिविरमा छुटेका आन्दोलनका सहकर्मी र उनीहरूको नीलो पीडालाई बिर्सिसकेका छन्। समय अभावको कारण हो वा मन नै नभएर हो कारण जे भए पनि यो नहुनुपर्ने कुरा हो ।

बहुमत भुटानीहरूले आफ्नो धरातल बिर्से पनि कालो बादलभित्र चाँदीको घेरा भने बाँकि नै छ । केही सचेत र मनकारी भुटानी केही व्यक्तिगत र केही संस्थागत योगदान गर्दै आएका छन् । उनीहरूकै योगदान दोस्रो आयामका रूपमा नेपालका शरणार्थी शिविरमा बाँचिरहेका भुटानी शरणार्थीहरूको जीवनयापनको मूलआधार बनेको छ । यस अतिरिक्त यी शरणार्थी शिविरमा रहेका हरेक मानिसका तेस्रो मुलुकमा पुनर्बासमा गएका आफन्त, साथीसँगी, घरगाउँलेको सहयोग उनीहरूको बाँच्ने आधार भएको छ।

यसैबीच पहिलो आयामका लागि पनि केही गर्ने प्रयत्न समुदायका सचेत अगुवाहरूले गर्दै आएका छन् । यसै क्रममा ग्लोबल क्याम्पेन फर द रिलिज अफ पोलिटिकल प्रिजनर्स इन भुटान (सीसीआरपीबी) स्थापना गरेर संस्थागत प्रयास अगाडि बढाइएको छ । यो संस्था तेस्रो मुलुकमा पुनर्बासमा रहेका नेपालीभाषी भुटानीहरूको विश्वव्यापि सञ्जाल हो । यसले सबै देशमा च्याप्टरहरू स्थापना गरेर अभियानलाई अगाडि बढाइरहेको छ ।

सीसीआरपीबी मुलत: पहिलो आयामका राजबन्दीहरूलाई भुटानी कारागारबाट मुक्त बनाउने अभियानमा केन्द्रित छ । यसले सुरूवाती दिनदेखि नै भुटानी कारागारमा रहेका राजवन्दीहरू र उनीहरूको अवस्थाको लगत संकलन गरेर बिनाशर्त रिहाइका लागि पैरवी गर्दैआएको छ ।

यसका दुई पाटा छन्, पहिलो पाटो भुटानी राजा र सरकारलाई उनीहरूलाई बिना सर्त यथाशीघ्र रिहाइका लागि आव्हान गर्ने नै हो । यदि भुटानी राजाले चाहे भने कुनैपनि बेला भुटानका जेलहरू आस्थाका बन्दी बिनाका हुन सक्छन् । त्यसो भयो भने भुटानी राजाले आफ्ना जनतामाथि समान व्यवहार गरेको ठहर्छ। उनी धन्यवादका पात्र हुन्छन् । भुटान मानव अधिकारको प्रत्याभूतिमा खह्रो उत्रिएको ठहर्छ । यसबाट भुटानको अन्तर्रराष्ट्रिय शाख पुन: उठ्न सक्छ । र, एक किसिमले भुटानी आन्दोलनको सानै भए पनि भर्पाइ हुन्छ। र, सबैभन्दा सजिलो र सबै पक्षको जीत हुने तरिका पनि यही नै हो ।

यसको दोस्रो पाटो भनेको संयुक्त राष्ट्र संघ, मानअधिकार आयोग, मानवअधिकारका क्षेत्रमा कार्यरत एम्नेष्टी इन्टरनेशनललगायतका विश्वव्यापी संस्थाहरू, मानवअधिकार र प्रजातन्त्रका लागि विश्वमा नेतृत्वदायी भूमिका खेलेका शक्ति राष्ट्रहरू, नेपालीभाषी भुटानी पुनर्बासित भएका तेस्रो मुलुकका सरकारहरू, भुटानको वाह्य सम्बन्धमा प्रभावकारी भूमिका निर्वाह गर्ने भारत, नेपालीभाषीको मूलथलो र शरणार्थी शिविर रहेको देश नेपालको ध्यानाकर्षण गर्दै कूटनीतिक दबाब सिर्जना गर्ने हो । यो विकल्प भनेको पहिलो विकल्पले काम नगर्दा चालिने दोस्रो विकल्प मात्र हो । यसबाट कसैको पनि हित हुँदैन, त्यसमाथि पनि भुटानी राजा, सरकार र भुटान देशको त किञ्चित पनि हित हुँदैन।

दु:खका साथ भन्नुपर्छ, अझै पनि भुटानी राजा र सरकारको चेत खुलेको छैन । राजबन्दीहरूलाई रिहाइ गर्ने कुनै सुरसार पनि देखिएको छैन। अझै पनि उनीहरूलाई आस्थाका बन्दीका रूपमा मानवोचित व्यवहार गरिएको छैन । फलत: संसारभर छरिएर रहेका नेपालीभाषी भुटानीहरू यो मुद्दालाई अन्तर्रराष्ट्रियकरण गर्न बाध्य भएका छन् । उनीहरू संस्थागत रूपमा सीसीआरपीबी स्थापना गरेरै यसका लागि बहस पैरवीमा जुटेका छन् । यो उनीहरूको नैतिक कर्तव्य पनि हो किनकि उनीहरू यही आन्दोलनका कारण तेस्रो विश्वमा पुनर्स्थापित भएका हुन् ।

डिसेम्बर १७, भुटानको राष्ट्रिय दिवस । भुटानले यही दिन सन् १९०७ देखि आफ्नो राष्ट्रिय दिवस मनाउँदै आएको छ । स्वभावत: राष्ट्रिय दिवस भनेको मुलुक र मुलुकबासीको खुशी मनाउने साझा दिन हो । राष्ट्रिय एकता र सार्वभौमिकताका लागि एक सूत्रमा बाँध्ने देशको साझा उत्सव हो । भुटानको यो साझा उत्सवमा घरदेशमा रहेका हुन् वा परदेशमा, सबै भुटानीहरू खुशी हुन पाउनुपर्छ ।

तर, यतिबेला सयौंको संख्यामा नेपालीभाषी आस्थाका बन्दीहरू भुटानका कारागारभित्र छन्। उनीहरूले कुनै जघन्य फौजदारी अपराध गरेका छैनन् । उनीहरूको अपराध भनेको नेपालीभाषी भएकै कारण उनीहरूको नरसंहार नगरियोस्, उनीहरूको पनि भुटानी भएर बाँच्न पाउँने अधिकारको सम्मान गरियोस् भन्ने आवाज उठाउनु थियो । त्यस क्रममा आयोजित सभामा जानु थियो वा त्यसको पक्षमा एउटा झन्डा उठाउनुसम्म थियो अझ कति त यसरी झण्डा उठाएका आफन्तलाई कारागारमा भेट्न जाँदा पनि पक्राउ परेका छन् । त्यसका लागि उनीहरूले तीन दशकभन्दा बढी समय त कारागारमै बिताइसके ।

भुटानका लागि विशेष दिन भएकोले आजको मूल प्रश्न भनेको उनीहरूको पनि खुशी हो। तर, वर्षौंदेखि कारागारमा कैद गरिरएका उनीहरू कसरी खुशी हुन सक्छन्? अनि, उनीहरूलाई भेट्न तड्पिरहेका आफन्तजन एकआपसमा कसरी खुशी साट्न सक्छन् ? भुटानले एक राष्ट्रका रूपमा कसरी राष्ट्रिय दिवशको उल्लास मनाउन सक्छ ?

नेपाली भाषामा सोधिएका यी यक्ष प्रश्नहरू थिम्पूले सुन्नैपर्छ । र, यिनीहरूको उचित सम्बोधन गर्दै भुटानी कारागरामा रहेका सम्पूर्ण आस्थाका बन्दीहरू तत्कालै बिनाशर्त रिहाइ गरिनुपर्छ । उनीहरूलाई भुटानभित्रै सम्मानपूर्वक बाँच्ने सुनिश्चितता हुनुपर्छ । उनीहरूलाई अनाहकमा कारागारमा राखिएको समयको उचित क्षतिपूर्ति दिनुपर्छ । यति भयो भने मात्र भुटान र सारा भुटानी खशी हुन सक्छन् । अनि मात्र भन्न सकिन्छ, राष्ट्रिय दिवशको शुभकामना। अनि मात्र साट्न सकिन्छ, राष्ट्रिय दिवशको शुभकानमा !

(अमेरिका पुनर्वासित भुटानी शरणार्थी पोख्रेलले भुटानी शरणार्थी समस्यासम्बन्धी शोधपत्र तयार गरेर स्ट्राटेजिक लिडरसीप एण्ड एडमिनिस्ट्रेटिब स्टडिजमा विद्यावारिधि गरेका हुन् । )

प्रकाशित : पुस ३, २०७९ १६:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?