२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

‘काठमाडौंमा देउसी-भैलो गाउँबाट भित्रिएको हो’

उपत्यकामा देउसी–भैलोको सट्टा योमरी पूर्णिमामा योःमरि माग्ने चलन थियो । सके दुईमाना नसके एकमाना, त्यो पनि नसके जति सकिन्छ त्यति देऊ भनेर हामी केटाकेटी छँदा घरघरमा माग्न जान्थ्यौँ । घरका मान्छेहरूले पहाडतिर देउसी–भैलोलाई दान दिएजस्तै हामीलाई पनि दान दिन्थे ।
तेजेश्वरबाबु ग्वंगः

काठमाडौँ — अहिले म ८५ वर्षको भएँ । बुझ्ने भएदेखि नै दसैँ, तिहारलगायत धेरै चाड–पर्वहरूमा सहभागी हुँदै आएको छु । हाम्रा चाडबाडका आफ्नै विशेषता छन् । महत्व छन् । चाडबाडले मनोरञ्जनसँगै हामीलाई प्रकृतिसित एकाकार हुने अवसर प्रदान गर्दै आएको छ ।

‘काठमाडौंमा देउसी-भैलो गाउँबाट भित्रिएको हो’

दसैंको आफ्नै महत्व छ, तिहारको आफ्नै महत्व छ, योमरी पुन्हीको महत्ता आफ्नै छ । त्यसैले हाम्रा सबै चाडबाडले हामीलाई समृद्ध बनाएका छन् ।

यतिबेला तपाइँ हामी सबैका घरआँगनमा तिहारको रमझम छ । चाडबाड मनाउने परम्परा मल्लकालदेखि उस्तै छन् । निरन्तर चलिआएका छन् । तर मनाउने शैली भने बदलिएका छन् । ७२ वर्षअघि र अहिले तिहार मनाउने तरिका निकै फरक छ । त्यसबेला हुकुमी राणा शासन थियो । श्री ३ महाराजले जे हुकुम दिन्थे रैतीहरूले त्यसैअनुसार गर्नुपर्थ्यो । तर अहिले न राणा शासन छ न रैती । जनता जनार्दन स्वतन्त्र छन् । यही स्वतन्त्र परिवेशमा हामी हाम्रा चाडबाड स्वतन्त्र भएर मनाउँछौँ ।

तिहार मेरो बाजेको पालमा पनि मनाउँथे, हजूरबाजेको पालमा पनि मनाउँथे, बाबुको पालामा पनि मनाए, मेरो पालामा पनि मनाउँदै आइरहेको छु । मल्लकालदेखि नै चलिआएको छ । धेरै वर्षपछिसम्म यो परम्परा चलिरहने छ ।

परम्परा उही हो तर मनाउने शैली फरक भएको छ । ०७ सालअघि राणा प्रधानमन्त्री जुद्धशमशेरको पालादेखि काठमाडौँको तीन सहर (काठमाडौँ, भक्तपुर र ललितपुर) मा झ्याली पिटेर जुवा फुकाउने चलन थियो । ‘महाराजको हुकुमले आजदेखि जुवा फुक्यो’ भनेर झ्याली फुक्ने चलन थियो । त्यस्तो हुकुम नभई जुवा खेलेमा सजायँ हुन्थ्यो ।

अनि सहरका मुख्यमुख्य स्थानमा जुवाका खेल चल्थ्यो । जस्तैः पाटनको मंगलबजार र त्यसको आसपास जुवाको खाल बस्थ्यो । भक्तपुरको तौमडीमा जुवाको मूल खाल बस्थ्यो । त्यसबाहेक अन्य टोलमा पनि स–साना खालहरू चल्थे । त्यो सबै देखेँ । तर राणा शासनको अन्त्यपछि त्यस्तो चलन हट्दै गयो । र, बीपी कोइरालाको सरकारले त्यसरी जुवा फुक्ने चलनलाई कानुन बनाएर रोकिदियो । अहिले त्यसरी जुवा खेल्ने चलन छैन, कसैले खेल्यो भने पनि सजायँको भागीदार हुनुपर्छ ।

देउसी–भैलो खेल्ने शैलीमा पनि बदलाव आएको छ । पहिले–पहिले काठमाडौँ, भक्तपुर र ललितपुरमा देउसी–भैलो खेल्ने चलन थिएन । यो चलन काठमाडौँ उपत्यकाबाहिरका गाउँघरतिर मात्र थियो । काठमाडौँ उपत्यकामा पछिमात्र आएको हो । पहिले हाम्रो देउसी–भैलो खेल्ने चलन थिएन ।

त्यसको सट्टा योमरी पूर्णिमामा योःमरि माग्ने चलन थियो । यसपालिको सामा (नयाँ बाली) आयो, सके दुईमाना नसके एकमाना झुसे (अटे जति) देऊ, त्यो पनि नसके जति सकिन्छ त्यति देऊ भनेर हामी केटाकेटी छँदा घरघरमा माग्न जान्थ्यौँ । घरका मान्छेहरूले पहाडतिर देउसी–भैलीलाई दान दिएजस्तै हामीलाई पनि दान दिन्थे । कात्तिकको दान भन्छन् नि !

देउसी–भैलोको चलन गाउँबाट भित्रिएको हो उपत्यकामा । पहिले थिएन यहाँ । ‘द्योसी रे भन, द्यौसी रे’ यो नेवारी संस्कृतिको होइन, प्रजातन्त्र आएपछि गाउँघरतिरबाट भित्रिएको चलन हो ।

पहाडी समुदायले भाइ पूजा गर्छन् । नेवार समुदायमा म्हःपूजा हुन्छ । परम्परा त उही छ । तर मनाउने शैलीमा धेरै फरकपन आएको छ । किनकि, आजभोलि प्रविधिको युग हो । योसँगै हाम्रा चाडबाड मनाउने तरिका पनि बदलिएका छन् ।

तिहारको लक्ष्मीपूजामा पहिले–पहिले माटाको पालामा सलेदोमा तेल राखेर दीयो बालिन्थ्यो । म्हःपूजामा पनि यसै गरिन्थ्यो । तर आजकल बिजुलीको झिलिमिली बत्ती बाल्ने चलन छ ।

म्हःपूजा गोबर्धन पूजाको दिन साँझ मनाइन्छ । मीठो–मीठो सेल रोटी पकाएर खाने चलन पहाडतिरजस्तै यहाँ पनि चलिआएकै छ । टीका लगाउने, माला लगाउने सबै चलन छ । यो चलन यथावतै छ ।

प्रकृति, पर्यावरण र हाम्रा चाड–पर्वबीच घनिष्ट सम्बन्ध छ । अहिले यसमा प्रविधि पनि थपिएको छ । जब फलफूल पाक्छ हामी तिहार मनाउँछौँ । लक्ष्मीपूजा, गोबर्धनपूजा, म्हःपूजा, भाइपूजा गर्छौं । नयाँ बाली भित्र्याउने समय भएकोले धनधान्यकी देवी लक्ष्मीको पूजा गर्ने चलन चलेको हो । हाम्रा चाडपर्व मनाउनुको पछाडि मिथक मात्र छैन, प्रकृतिसितको हाम्रो सम्बन्धको पक्ष पनि रहेको छ । त्यसबेला धनको आधार नै धान थियो । त्यसैले कात्तिकमा धनधान्यकी देवीको रूपमा लक्ष्मीको पूजा गर्ने चलन चलेको हो ।

असल चिताउनु सत्चित हो । सत्चित नै सद्गुण हो । सद्गुणले गर्दा नै सबैको कल्याण, सबैको असल चिताउने भावनाहरू मनमा उत्पन्न हुन्छ । यसप्रकारको भावना प्रकृतिले मानवलाई मौसमअनुसार उपयुक्त तरिकाले दिएको छ । तिहारको मौसमले पनि हामीलाई सत्चित हुन प्रभावित गर्छ । त्यही प्रभावले सबैको हित हुन्छ भन्ने मनोविज्ञान छ । त्यसैले हाम्रा हरेक चाडबाड प्रकृतिकै वरदान हो । र, हामी पनि त्यसैभित्रका हौँ । प्रकृतिविना हाम्रो अस्तित्व रहँदैन । तिहारले पनि प्रकृति, पर्यावरण र मानव जातिलाई जोडिराख्छ ।

(ध्रुव सिम्खडासँगको कुराकानीमा आधारित)

प्रकाशित : कार्तिक ८, २०७९ १८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?