चार वर्षमा चीन-नेपाल सम्बन्धमा नयाँ अध्याय थपेँ- विविधा - कान्तिपुर समाचार

चार वर्षमा चीन-नेपाल सम्बन्धमा नयाँ अध्याय थपेँ

हामीले आश्चर्य र हर्षमिश्रित आँखाले सगरमाथाको उचाइ बढेको देख्यौँ; यसबाट हामीले चीन-नेपाल सम्बन्ध पनि पहिले भन्दा बढी उचाइमा पुगेको सोच्न पुग्यौँ ।
भक्तपुरको जुजु धौको त्यो स्वाद, सूर्यास्त बेलाको माछापुच्छ्रे हिमालको दृश्य, दसैंका बेलामा नेपाली सहकर्मीसँग रातो टीका लगाएको त्यो न्यानो क्षण, तीजका दिन नेपाली गीतसंगीतसँगै नाचिने त्यो उल्लासपूर्ण नाच आदि म कहिल्यै पनि भुल्न सक्दिनँ ।
होउ यान्छी

सन् २०१८ डिसेम्बरमा म महान् मिसनका लागि जिम्मेवारी काँधमा बोकी भाव व्याकुल भई भगवान बुद्ध जन्मिनु भएको हिमालयको देश नेपालमा आएँ । एक हजारभन्दा बढी दिनहरूमा म नेपालका धेरै ठाउँ पुगेँ, नेपालका विभिन्न क्षेत्रका धेरै व्यक्तिहरुसँग मेरो परिचय भयो ।

मैले यहाँका हिमाल, पहाड, नदी र तालको सौन्दर्यको रसस्वादन गरेकी छु, यहाँको विशिष्ट संस्कृतिबाट म मन्त्रमुग्ध पनि भएकी छु । अहिले म नेपालका लागि चिनियाँ राजदूत पदको कार्यवधि पूरा गरी यहाँबाट बिदा हुँदैछु । यो ठाउँ छोडेर जान मेरो मन मानिरहेको छैन, तर मलाई कुनै कुराको खेद पनि छैन, किनकि विगत चार वर्षमा चीन र नेपालको सम्बन्ध द्रुत गतिले विकास भएको मैले आफ्नै आँखाले देख्न पाएँ । दुई देशका राष्ट्राध्यक्षहरूको भ्रमण एवं भेटघाटमा म आफैं सम्मिलित हुन पाएँ। आफैले विभिन्न क्षेत्रको सहकार्यलाई अघि बढाउने अवसर पनि पाएँ । मेरा प्रत्येक थोपा पसिनामा स्वाभिमान र आत्मगौरव रहेका छन् ।

विगत ४ वर्षदेखि चीन-नेपालबीच उच्चस्तरमा भ्रमण आदानप्रदान हुँदै आएको छ । आपसी राजनीतिक विश्वास अझ मजबुत हुँदै आएको छ । सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालको ऐतिहासिक राजकीय भ्रमण गर्नु भएको थियो भने नेपालका राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले पनि चीन भ्रमण गरी दोस्रो बीआरआई अन्तर्राष्ट्रिय सहयोगसम्बन्धी शिखर बैठकमा सहभागी हुनु भएको थियो ।

एकै वर्षमा दुई देशका राष्ट्राध्यक्षले एकले अर्को देशको भ्रमण गरेको त्यो पहिलो अवसर थियो । दुवै देशका राजनीतिक नेताहरु चीन नेपाल बीच 'विकास र समृद्धितर्फ अघि बढ्ने पुस्तौँपुस्ताको मैत्रीपूर्ण रणनीतिक सहकार्य सहकर्मी' को सम्बन्ध स्थापना गर्न सहमत भएका थिए र संयुक्त रूपमा हिमालय वारिपारिको बहुआयमिक कनेक्टिभिटी सञ्चालन निर्माण गरी नेपाललाई 'भूपरिवेष्ठित देश' बाट 'भूजडित देश' मा रूपान्तरण गर्न सहयोग पुर्‍याउनेबारे पनि मतैक्य भएको थियो ।

कोभिड–१९ को महामारी फैलिसकेपछि राष्ट्रपति सी चिनफिङले नेपालका राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीलाई दुई पटक टेलिफोनमार्फत सम्पर्क गर्नु भई चीन र नेपालले संयुक्त रूपमा स्वास्थ्य एवं चिकित्सासम्बन्धी समुदायको निर्माण गर्न प्रस्ताव गर्नुभयो। यसबाट चीन र नेपालबीच रहँदै आएको दुःख सुखमा सँधैँ एकसाथ रहने, एक आपसको सुरक्षा गर्ने प्रगाढ मैत्रीपूर्ण सम्बन्धले पुनः ध्यानाकर्षण गर्न सफल भएको छ ।

सन् २०२० डिसेम्बरमा राष्ट्रपति सी चिनफिङ र राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले आपसमा पत्राचार गरी संयुक्त रूपमा सगरमाथाको नयाँ उचाइ ८८४८.८६ मिटर भएको घोषणा गर्नु भएको थियो । हामीले आश्चर्य र हर्षमिश्रित आँखाले सगरमाथाको उचाइ बढेको देख्यौँ; यसबाट हामीले चीन-नेपाल सम्बन्ध पनि पहिले भन्दा बढी उचाइमा पुगेको सोच्न पुग्यौँ ।

दुई देशका प्राविधिक विशेषज्ञहरुले आपसी सहयोगद्वारा सगरमाथाको उचाइ मापन गरेका थिए, यसबाट हामीले बाह्य विश्वलाई हामीबीच शान्तिपूर्ण सुरक्षित साझा सीमा रहेको जानकारी दिन सक्यौँ । केही समय अघि मात्र चीनको राष्ट्रिय जनकांग्रेसका प्रमुख लि चान्शूले नेपलको भ्रमण गर्नु भएको थियो । उहाँको उक्त भ्रमण महामारी फैलिएपछि चीन-नेपालबीचको सबैभन्दा उच्चस्तरको भ्रमण थियो, यसबाट चीनले नेपाललाई उच्च महत्त्व दिएको स्पष्ट पार्दछ । चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीको दुईपटक नेपाल भ्रमण तथा उहाँका समकक्षी नेपालका विदेशमन्त्री डा. नारायण खड्काले एकपटक चीन भ्रमण गर्नु भएको थियो ।उहाँहरूको भ्रमणले पनि चीन र नेपालबीच विभिन्न क्षेत्रको सहकार्य सहयोगलाई अगाडि बढाएको छ ।

चीनका स्टेट काउन्सिलर तथा रक्षामन्त्री वै फङ्हः को नेपाल भ्रमणले चीन र नेपालबीच देश रक्षा क्षेत्रको सहकार्य अझ ठोस एवं प्रगाढ भएको छ । नेपालका धेरैजना राजनीतिक नेताहरूले चीनले आयोजना गरेका द्विपक्षीय तथा बहुपक्षीय कूटनीतिक कार्यक्रममा विभिन्न माध्यमहरूबाट भाग लिनु भएको छ । दुई देशका राजनितिक पार्टीहरु, मन्त्रालय एवं विभागहरूबीच अविच्छिन्न रुपमा आदानप्रदान हुँदै गरेका छन्, त्यसको माध्यमबाट दुवै पक्षले सरोकार राख्ने गरेका विषयहरूमा आफ्ना विचार आदानप्रदान गर्ने, आफ्ना दृष्टिकोणहरुको समन्वयद्वारा सहकार्यलाई अघि बढाउने गर्दै आएका छन् ।

विगत ४ वर्षमा चीन र नेपालले एकले अर्कालाई सहयोग समर्थन गर्दै आपसी हितको रक्षा गर्दै आएका छन् । अन्तर्राष्ट्रिय क्षेत्रीय राजनीतिक परिस्थितिमा जस्तोसुकै परिवर्तन आएपनि हामीले सधैँ शान्तिपूर्ण सहअस्तित्वको पञ्चशीलको सिद्धान्तमा अडिग रहँदै एक अर्काको मूलभूत स्वार्थ र महत्त्वपूर्ण प्रश्नहरुमा आपसी समझदारीको आधारमा समर्थन गर्दै आएका छौँ । चीनले नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको रक्षा गर्न, नेपालले आफ्नो देशको माटो सुहाउँदो विकास निर्माणको बाटोको अन्वेषण गर्न र नेपाली जनताको जीवनस्तर उकास्न र देशको विकास गर्न दृढतापूर्वक समर्थन गर्दै आएको छ । नेपालले पनि 'एक चीन नीति'को दृढतापूर्वक अबलम्बन गर्दै आएको छ । थाइवान, तिब्बत, सिन्चियाङ्, हङकङ, मानव अधिकार आदि चीनको मूलभूत स्वार्थका विषयहरूमा सदैव सत्यको समर्थन गर्दै कुनै पनि बहानाले अरु देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने कार्यको विरोध गरेको छ । यसबाहेक कुनै हालतमा पनि चीनविरोधी गतिविधिका लागि नेपाली भूमि प्रयोग हुन नदिने वचनबद्धता धेरै पटक व्यक्त गरेको छ । चीन र नेपालको मैत्री सम्बन्ध धेरै पटकको परीक्षाबाट उत्तीर्ण भइसकेको छ, यसमा शङ्का गर्ने कुनै ठाउँ छैन ।

विगत ४ वर्षमा चीन र नेपालले संयुक्तरुपमा उच्च गुणस्तरको बीआरआई निर्माणमा धेरै उपलब्धि हासिल गरेका छन् । चीन र नेपाललाई जोड्ने अरनिको राजमार्गको तेस्रो चरणको मर्मतसम्भार कार्य, काठमाडौं चक्रपथको पहिलो चरणको स्तरोन्नति कार्य सफलतापूर्वक सम्पन्न भइसकेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौतम बुद्ध विमानस्थल, पोखरा विमानस्थलको स्तरोन्नति अथवा निर्माण परियोजनाहरु सम्पन्न भई नेपाल पक्षलाई हस्तान्तरण गरिसकिएको छ । माथिल्लो तामाकोसी, माथिल्लो त्रिशूली ३ विद्युत् स्टेसनको विद्युतीय ग्रिडमा जोडी विद्युत् उत्पादन प्रारम्भ भएको छ । चीन नेपाल सीमा पार रेलमार्ग, विद्युतीय ग्रिड सञ्जाल आदिको संभाव्यता अध्ययन प्रारम्भ भइसकेको छ । हिमालय वारिपारिको बहुआयमिक कनेक्टिभिटी सञ्जालको अवधारणामा नयाँ विषयवस्तुहरू थपिँदै गएका छन् । माथि उल्लेखित सम्पूर्ण परियोजनाहरूको कार्यस्थलहरुमा म स्वयं पुगेकी छु र तिनीहरूको कार्य प्रारम्भ र कार्य समापन कार्यक्रमहरुमा सहभागी पनि भएकी छु ।

नेपालका विभिन्न स्थानहरूमा विभिन्न क्षेत्रहरूमा चिनियाँ पक्षले सहयोग दिई अथवा ठेक्का लिई निर्माण गरेका ठूला परियोजनाहरू रहेको देखेर मलाई धेरै खुसीको अनुभव हुन्छ, ती मध्ये कतिपय परियोजनाहरूलाई नेपाल सरकारले राष्ट्रिय गौरवका परियोजना भनेर मानेको छ । चीन नेपालको महाभूकम्पपछिको पुनर्निर्माणमा सहभागी हुँदै आएको छ । अहिलेसम्म १० वटा पुनर्निर्माणका परियोजना पूरा गरी नेपालपक्षलाई हस्तान्तरण गरिसकिएको छ । हजारौँ चिनियाँ प्राविधिक जनशक्तिले भौगोलिक विकटता, महामारी आदिको वास्ता नगरी गर्नु भएको परिश्रमको कारणले मात्र ती परियोजना सफल भएका हुन् । म उहाँहरूको योगदानको कदर गर्न चाहन्छु ।

विगत ४ वर्षमा प्रतिकूल अवस्थाको बाबजुत चीन र नेपालबीचको आर्थिक व्यापारिक सहकार्य बढेको थियो । चीन नेपालको दोस्रो ठूलो व्यापारिक सहकर्मी देश हो, सन् २०२१ मा चीन नेपाल व्यापारको परिमाण १ अर्व ९७ करोड ७० लाख अमेरिकी डलर पुगेको थियो ; नेपालबाट चीनमा भएको निर्यात एक वर्ष पहिलेको सोही समयावधिको भन्दा ६३% ले अभिवृद्धि भएको थियो । चीनले नेपालबाट हुने आयात बढाउनका लागि सक्रिय भूमिका निभाएको छ र नेपालबाट आयात हुने ९८% करयोग्य वस्तुहरुमा 'सून्य भन्सार कर' को सुविधा प्रदान गरेको छ, जसमा अहिले नेपालबाट चीनमा निर्यात हुने सम्पूर्ण वस्तुहरू पर्दछन् ।

चीनले नेपाली उद्योगी व्यापारीहरूलाई चीनमा आयोजित आयात एक्स्पो, चीन दक्षिण एसियाली एक्स्पो आदिमा भाग लिन सुविधा प्रदान गरेको छ । दुई देशबीच नेपालबाट सुन्तला, जुनार तथा पशुआहार घाँस चीनमा निर्यात गर्ने बारेको सन्धीपत्रमा हस्ताक्षर भएको छ । नेपालमा सबैभन्दा बढी आर्थिक लगानी गर्ने देश पनि चीन नै हो । माथिल्लो मर्स्याङ्दी विद्युत स्टेसन, होङ्शी सिमेन्ट, ह्वासिन सिमेन्ट आदि चिनियाँ लगानीका परियोजनाहरूबाट उत्पादन प्रारम्भ भइसके अथवा छिटै हुँदैछन् । चीनले दुई देशबीचको स्थल नाका सुरु राख्न र नाकाहरूको मालसामान पार गर्ने क्षमता वृद्धि गर्न भरमग्दुर प्रयास गरेको छ । अहिले ती नाकाहरुबाट दुवैतिर मालसामान पार गर्ने प्रक्रियाको पुन: सुचारु गर्नका लागि र ट्रान्जिट यातायातसम्बन्धी सन्धिको प्रोटोकल पत्रहरूलाई यथाशीघ्र कार्यान्वयन गरी नेपालको निर्यात बढाउन दुवै पक्ष संवादमा व्यस्त छन् ।

विगत ४ वर्षमा चीन र नेपालको साँस्कृतिक आदानप्रदान पनि उल्लेखनीय रहेको थियो । म नेपालको विभिन्न स्थानहर"मा जाँदा त्यहाँ चिनियाँ भाषा बोल्न जान्ने, अथवा चीनमा भ्रमण, अध्ययन गरी फर्केका नेपाली मित्रहरू भेट्टाउँथे । उहाँहरुले मसँग आत्मीय रूपमा चिनियाँ भाषामा भलाकुसारी गर्नु हुन्थ्यो र आफूले चीनमा सुनेदेखेका कुराहरू सुनाउनु हुन्थ्यो ।

केही दिनअघि मात्र नेपालका वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधन भयो, यसबाट हामी सबै अत्यन्त दुःखी भएका छौँ । मलाई याद छ, उहाँको सय वर्षको जन्मदिनमा म उहाँलाई शुभकामना दिन गएकी थिएँ । उहाँले वयोवृद्ध अवस्थामा पनि लेखन कार्य रोक्नु भएको थिएन । उहाँले मलाई आफूले अनुवाद गर्नुभएको माओ चतुङका कवितासंग्रह देखाउनु भएको थियो र चीनसँग सम्बन्धित अनुभव बताउनु भएको थियो ।

केही वर्ष यतादेखि चीन नेपाल साँस्कृतिक आदानप्रदानको संख्या र स्तरमा क्रमशः अभिवृद्धि हुँदै गइरहेको छ, स्थानीय सरकारस्तरीय आदान–प्रदान पनि धेरै बढेको छ । चीनको तिब्बत स्वशासित क्षेत्र, स्छुवान् प्रान्त, यिन्नान् प्रान्त आदिका राजनीतिक नेताहरुले नेपालको भ्रमण गरी चीन नेपाल बीआरआइको संयुक्त निर्माण र जनताबीचको समझदारी बढाउनका लागि महत्त्वपूर्ण योगदान पुर्‍याउनु भएको छ । चिनियाँ राजदूतावासले 'चिनियाँ वसन्त उत्सव', 'चिनियाँ चलचित्र महोत्सव' आदि कार्यक्रमहरु आयोजना गरेको थियो; त्यस्तै प्रत्येक वर्ष नेपालका प्राथमिक माध्यामिक विद्यालयहरुमा 'राजदूत छात्रवृत्ति', 'मेरो मनमा चीन' चित्रकला प्रतियोगिता, 'पाण्डा पुस्तक' आदि स्थापित भइसकेका कार्यक्रम पनि सञ्चालन गरेको थियो । चीनले प्रत्येक वर्ष एक सयभन्दा बढी नेपाली विद्यार्थीहरूलाई सरकारी छात्रवृत्ति प्रदान गर्दै आएको छ, त्यस्तै चिनियाँ गीत प्रतियोगिता, चिनियाँ भिडियो चयन आदि चिनियाँ भाषाको प्रवर्द्धन गर्ने कार्यक्रम सञ्चालन गरेको थियो । काठमाडौं विश्वविद्यालयमा रहेको कन्फ्युसियस इन्स्टिच्युटका नेपाली विद्यार्थीहरूले गाएका चिनियाँ गीतहरू अझै पनि मेरो कानमा गुञ्जिने गर्दछन् ।

मलाई पनि नेपालको संस्कृति एवं कला अति मनपर्दछ । मैले हाम्रो राजदूतावासका कर्मचारीहरूको नेतृत्व गर्दै नेपाली नृत्य नाचेकी छु, नेपाली गीत गाएकी छु । त्यस्तै नेपालको पर्यटनको केही प्रचारप्रसार होस भनी दरबार स्क्वाएरमा रातो पहिरन लगाएर फोटो खिचाएकी थिएँ । नेपाली सर्वसाधारण जनताको सद्भाव र प्रशंसाले मलाई साँस्कृतिक आदानप्रदानको न्यानोपन र त्यसमा रहेको शक्तिको अनुभव गराएको छ ।

विगत ४ वर्षमा चीन र नेपालबीचको शान्ति सुरक्षा क्षेत्रको सहकार्य पनि बढेको छ । दुई देशका विशेष सेनाको टोलीले 'सगरमाथाको मैत्री' नामक संयुक्त सैन्य अभ्यास गरेका थिए । त्यसको साथसाथै संयुक्त राष्ट्रसंघको शान्ति सुरक्षा कार्य, सैनिक प्रशिक्षण मानवतावादी आकस्मिक सहयोग आदि कार्यक्षेत्रहरूमा सहकार्य गरिएका थिए । चीनको जनसेनाले नेपाली सेनालाई कोभिड–१९ विरुद्धको खोपलगायत संकटकालीन सहयोग प्रदान गरी नेपाली सेनालाई महामारी नियन्त्रण गर्न सहयोग पुर्‍याएको थियो । चीन र नेपालको अपराध नियन्त्रण निकायहरूले सहकार्य गरी अन्तर्राष्ट्रिय प्रहरीले रेड नोटिस जारी गरेका नेपालमा लुकेर बसेका चिनियाँ अपराधीहरूलाई पक्राउ गरी चीन फर्काई उच्चप्रविधिको प्रयोग गरी ठगी आदि आपराधिक गतिविधिलाई नियन्त्रण गरेको थियो ।

विगत ४ वर्षमा चीन र नेपालले आपसी सरसल्लाहद्वारा संयुक्त राष्ट्रसंघलाई केन्द्रीय भूमिकामा राखी बनेको अन्तर्राष्ट्रिय समुदाय र अन्तर्राष्ट्रिय कानुनको आधारमा निर्माण भएको अन्तर्राष्ट्रिय सुरक्षा व्यवस्थाको रक्षाका लागि आवाज उठाई, बहुलवादको सही कार्यान्वयन र आर्थिक भूमण्डलीकरणको समर्थन, एकलवाद, प्रभुत्ववाद र शीतयुद्धकालीन विचार शैलीको विरोध गरी बहुसंख्यक विकासशील देशहरुको साझा हित, क्षेत्रीय एवं सम्पूर्ण विश्वको शान्तिसुरक्षा र विकासका लागि सक्रिय योगदान पुर्‍याएका छन् ।

सन् २०२० को प्रारम्भमा विश्वमा शताब्दीकै सबैभन्दा ठूलो महामारी फैलिन गयो, जसले गर्दा हामीले सञ्चालन गर्न खोजेका माथि उल्लेखित कतिपय सहकार्यहरुमा चुनौती र समस्याहरु देखा परे । तर खुसीको कुरो, त्यस्तो प्रतिकुल परिस्थितिमा चीन र नेपालबीच भएको आपसी सहयोग र सहकार्यले गर्दा दुई देशबीच रहँदै आएको परम्परागत मैत्री सम्बन्ध अझ प्रगाढ हुन गयो । चीनको ऊहानमा सबै भन्दा पहिले कोभिड–१९ को महामारी फैलिँदा नेपाली साथीहरूले अनेक उपायद्वारा मास्क संकलन गरी चीन पुर्‍याएको, नेपालका चीनमैत्री संस्था र विद्यार्थीले चिनियाँ जनताको हौसला बढाउन गरेका प्रयास हामी कहिले पनि बिर्सने छैनौँ ।

एउटा चिनियाँ भनाइ छ–'कसैले एक थोपा पानीको गुन लगाएको छ भने एक मुहानको पानीबाट त्यो गुन तिर्नु पर्दछ ।' नेपालमा पनि सोही महामारी फैलिएपछि चीनले नेपाललाई ठूलो परिमाणमा महामारी नियन्त्रणका सामग्री र करिब २ करोड ४० लाख खोपहरू प्रदान गरेको थियो । विशेष गरी नेपालमा कोभिड–१९ को दोस्रो लहर चल्दा चीनले यथाशीघ्र नेपाललाई अक्सिजन उत्पादक यन्त्र, अक्सिजन सिलिण्डर र तरल अक्सिजन आदि सामग्री सहयोगस्वरूप प्रदान गरी हिमालय वारिपारिको स्वास्थ्य करिडोरको निर्माण गरेको थियो ।

अक्टोबर २२ मा सम्पूर्ण एजेन्डा र उच्च मिसन पूरा गरी चिनियाँ कम्युनिस्ट पार्टीको २० औँ महाधिवेशनको पेइचिङमा मूलभूत आवश्यकता आदि महत्त्वपूर्ण विषयहरुको व्याख्या गरेको थियो ।

महाधिवेशनले समाजवादी आधुनिक देशको सम्पूर्ण रूपमा निर्माण तथा चिनियाँ जातिको महान पुनर्जागरणको रणनीतिक योजना निर्माण गरी नयाँ युग, नयाँ विजययात्रा, पार्टी र देशको विकासका लागि र दोस्रो शतवार्षिक लक्ष्य प्राप्तिका लागि स्पष्ट दिशानिर्देश गरी कार्यनीति पनि निर्धारण गरेको थियो । महासचिव सी चिनफिङले १९ औँ केन्द्रीय समितिको प्रतिनिधित्व गर्दै बैठकमा महत्त्वपूर्ण प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । उक्त प्रतिवेदन पार्टी र जनताको प्रज्ञानको प्रतिफल थियो, पार्टीले देशका सबै जातिका जनतालाई एकताबद्ध गरी उनीहरुको नेतृत्व गरी चिनियाँ विशेषतायुक्त समाजवादी नयाँ विजय प्राप्त गर्ने राजनीतिक घोषणापत्र र कार्यनिर्देश थियो, मार्क्सवादको महत्त्वपूर्ण निर्देशक दस्तावेज थियो ।

महाधिवेशनले पार्टीको विधान संशोधनसम्बन्धी प्रस्तावलाई पारित गरी सर्वसहमतिबाट पार्टीको १९ औँ महाधिवेशनपछि सी चिनफिङ नयाँ युगको चिनियाँ विशेषतायुक्त समाजवादी विचारधाराको नयाँ विकास भन्ने वाक्यांश पार्टीको विधानमा समावेश गरियो । यसबाट पार्टीको १९ औँ महाधिवेशन पछिका सैद्धान्तिक, व्यावहारिक तथा व्यवस्थागत उपलब्धिहरूमा दृष्टिपात हुन्छ । यसले सबै क्षेत्रमा पार्टीको नेतृत्वलाई सशक्त बनाउने, पार्टीभित्र कडाइका साथ अनुशासन कायम गर्ने, पार्टीको निर्माण र सुदृढीकरण गर्दै पार्टीको आन्तरिक आत्मक्रान्तिबारे स्पष्ट उल्लेख पनि गरेको छ ।

महाधिवेशनले निर्वाचनद्वारा कमरेड सी चिनफिङ केन्द्रमा रहने गरी नयाँ केन्द्रीय नेतृत्व समूह गठन गरेको छ, उक्त नेतृत्व समूहले पार्टी केन्द्रीय कमिटी, पार्टी कार्यकर्ता एवं जनताको अपेक्षा अनुसार अवश्य पनि सम्पूर्ण पार्टी, देशका विभिन्न जातिका जनताहरूलाई एकताबद्ध गरी उनीहरुको नेतृत्व गरी समाजवादी आधुनिक देशको सम्पूर्ण रूपमा निर्माण, चिनियाँ जातिको महान पुनर्जागरण, चिनियाँ विशेषतायुक्त समाजवादी नयाँ विजयको ऐतिहासिक जिम्मेवारी वहन गर्न सक्नेछ ।

हामीलाई पूर्ण विश्वास छ, पार्टीको २० औँ महाधिवेशनले गरेका हरेक महत्त्वपूर्ण निर्णयहरु, हासिल गरेका उपलब्धि अवश्य पनि समाजवादी आधुनिक देशको सम्पूर्ण रूपमा निर्माण, चिनियाँ जातिको महान पुनर्जागरण र चिनियाँ विशेषतायुक्त समाजवादी नयाँ विजय प्राप्तिका लागि अत्यन्त महत्त्वपूर्ण निर्देशक बन्न सक्नेछन् ।

अर्को महिना नेपालमा पनि निर्वाचन हुँदैछ, निर्वाचनपछि नयाँ सरकारको गठन हुनेछ । दुवै देश नयाँ ऐतिहासिक घडीमा पुगेका छन् । मलाई दृढ विश्वास छ, दुई देशबीच राजनीतिक विश्वास बढाउने इच्छा, ठोस सहकार्य गर्ने विचार, संयुक्तरुपमा बीआरआई निर्माण गर्ने विश्वास, साँस्कृतिक आदानप्रदान गर्ने अभिलाषा, हातमा हात मिलाई मानवजातिको साझा भाग्यको समष्टि निर्माण गर्ने अटल चाहना भई रहेसम्म चीन र नेपालबीच रहेको विकास र समृद्धितर्फ बढ्ने पुस्तौँपुस्ताको मैत्रीपूर्ण रणनीतिक सहकार्य सहकर्मीको सम्बन्ध अझै नयाँ उचाइमा पुग्नेछ ।

बिदाइको बेलामा म नेपाली साथीहरू, नेपालमा हुनुहुने चिनियाँ नागरिकहरू, चीन नेपालको मैत्रीपूर्ण सम्बन्धप्रति सरोकार राख्नु हुने, मेरो कार्यकालमा मलाई सहयोग पुर्‍याउनुहुने सम्पूर्ण व्यक्तिहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु । पहिलो पटक राजदूत बन्दा मैले मैत्रीपूर्ण सुन्दर छिमेकी देश नेपालमा आउने अवसर पाएँ, यसलाई मैले आफ्नो सौभाग्य सम्झेकी छु । दुई देशबीचका महत्त्वपूर्ण घटनाबाहेक नेपालसँग सम्बन्धित हरेक सानातिना, सामान्य तर न्यानो अनुभव गराउने घटनाहरू पनि मेरो मनमा ताजा स्मृति भएर रहेका छन् ।

भक्तपुरको जुजु धौ दहीको त्यो स्वाद, सूर्यास्त बेलाको माछापुच्छ्रे हिमालको दृश्य, दसैंको बेलामा नेपाली सहकर्मीसँग रातो टीका लगाएको त्यो न्यानो क्षण, तीजका दिन नेपाली गीतसंगीतसँगै नाचिने त्यो उल्लासपूर्ण नाच आदि म कहिले पनि भुल्न सक्दिनँ । एउटा चिनियाँ भनाइ छ–'मैत्री सम्बन्धलाई भौगोलिक दूरीले केही फरक पार्दैन ।' म नेपालमा राजदूत छँदाका विभिन्न क्षेत्रका व्यक्तिहरूसँगको मित्रता सँधै सम्झिरहने छु । यहाँहरूले पनि पहिले जस्तै नेपालस्थित चिनियाँ राजदूतावासको कार्यलाई सहयोग गरी चीन नेपाल सम्बन्धको सुन्दर भविष्यका लागि योगदान पुर्‍याइरहनु हुनेछ भन्ने आशा गर्दछु ।

अन्तमा, चीन र नेपाल दुई देश समृद्धिशाली होउन्, चीन नेपाल मैत्री अमर रहोस् भन्ने कामना गर्दछु ।

प्रकाशित : कार्तिक ७, २०७९ ११:३१
प्रतिक्रिया
पठाउनुहोस्

दललाई चुनौती दिँदै २ हजार स्वतन्त्र उम्मेदवार

गत स्थानीय तह निर्वाचनमा काठमाडौं, धरान, धनगढी, जनकपुरधामजस्ता महत्त्वपूर्ण स्थानीय तहको प्रमुखसहित ३ सय ८४ पदमा विजयी भएसँगै स्वतन्त्र उम्मेदवारीमा आकर्षण बढेको छ, आगामी निर्वाचनमा स्वतन्त्र उम्मेदवारको संख्या उल्लेख्य छ
कलेन्द्र सेजुवाल

काठमाडौँ — प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारको संख्या अघिल्लो निर्वाचनभन्दा एकतिहाइले बढेको छ । यस पटक १ हजार ९ सय ५७ स्वतन्त्र उम्मेदवार छन् । २०७४ को संसदीय निर्वाचनमा यो संख्या १ हजार ३ सय १७ थियो ।


यस पटक प्रतिनिधिसभामा ८ सय ६७ र प्रदेशसभामा १ हजार ९० स्वतन्त्र उम्मेदवार छन् । अघिल्लो पटक प्रतिनिधिसभामा ५ सय २ र प्रदेशसभामा ८ सय १५ स्वतन्त्र उम्मेदवार थिए । तीमध्ये प्रतिनिधिसभामा हुम्लाबाट छक्कबहादुर लामा मात्रै विजयी भएका थिए । उनी पछि माओवादीमा प्रवेश गरेका थिए । अहिले एमालेबाट हुम्लाको प्रदेशसभा (२) मा उम्मेदवार छन् । अन्य कुनै पनि उम्मेदवार निकटतम प्रतिद्वन्द्वीसमेत हुन सकेनन् । कैलाली–४ मा गीता क्षत्री, सल्यानमा उकाकान्त शर्मा, रसुवामा कविराज डंगोल, सर्लाही–३ मा नरेन्द्र साह कलवार, सप्तरी–२ मा जयप्रकाश ठाकुर र महोत्तरी–३ मा चन्द्रेश्वर झा तेस्रो स्थानसम्म पुग्न सफल भएका थिए । निर्वाचन आयोगको विवरणअनुसार अधिकांश उम्मेदवारले सय मत पनि कटाएका थिएन् ।

प्रदेशसभामा भने २०७४ मा ३ जना स्वतन्त्र उम्मेदवार विजयी भएका थिए । मनाङ–१ (२) मा राजीव गुरुङ, उदयपुर–२ (१) मा नारायणबहादुर मगर र रौतहट–४ (२) मा शेख अबुलकलाम आजाद विजयी भएका थिए । यस पटक पनि सोही क्षेत्रमा स्वतन्त्र उम्मेदवारी दिएका गुरुङ निर्विरोध भएका छन् तर आयोगले औपचारिक घोषणा गरिसकेको छैन । अघिल्लो पटक महोत्तरी–३ (२) मा सुरेश साह सोनार निकटतम प्रतिद्वन्द्वी भएका थिए भने अन्य १३ जना तेस्रो स्थानसम्म पुगेका थिए ।

आयोगका अनुसार कपिलवस्तु–३ (२) मा जानकीप्रसाद यादव, कपिलवस्तु–२ (२) मा राजुप्रसाद अर्याल, लमजुङ–१ (२) मा उत्तम गुरुङ, कास्की–२ (२) मा नरेशशंकर पालिखे, सप्तरी–२ (२) मा लक्ष्मण यादव, महोत्तरी–३ (१) मा मोहम्मद मुजिबुल रहमान, बारा–२ (२) मा जलबन्धसिंह जैसवार, रौतहट–४ (१) मा राजु धामी, काठमाडौं–७ (२) मा विदुर धमला, सल्यान–१ (१) मा भीमप्रकाश शर्मा, बाँके–३ (२) मा विजयकुमार पाठक, कञ्चनपुर–१ (२) मा राजेन्द्रप्रसाद जोशी र रसुवा १ (१) मा लीलाबहादुर न्यौपाने तेस्रो स्थानमा पुगेका थिए ।

गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा भने वडा सदस्यदेखि पालिका प्रमुखसम्म ३ सय ८४ जना स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । काठमाडौं महानगरको प्रमुखमा बालेन्द्र शाहसहित १२ स्थानीय तहको प्रमुख स्वतन्त्र (बागीसहित) उम्मेदवारले जितेका छन् । धरान उपमहानगरमा हर्कबहादुर राई, जनकपुरधाम उपमहानगरमा मनोज साह र धनगढी उपमहानगरमा गोपालबहादुर हमाल स्वतन्त्रबाट प्रमुखमा विजयी भएका थिए । निर्वाचन आयोगका अनुसार गत स्थानीय तह निर्वाचनमा १२ प्रमुख, ४ उपप्रमुख, १ सय ३६ वडाध्यक्ष र २ सय ३२ वडा सदस्यमा स्वतन्त्रले जितेका छन् ।

राजनीतिक विश्लेषक कृष्ण खनाल स्थानीय तह निर्वाचनमा हासिल गरेको परिणामले स्वतन्त्र उम्मेदवारीमा आकर्षण बढेको बताउँछन् । राजनीतिक दलहरू असान्दर्भिक हुँदा हरेक निर्वाचनमा स्वतन्त्र र बागीको संख्या बढिरहेको उनको बुझाइ छ । ‘राजनीतिक दलहरूमा पुरानोपन हावी भयो, यसले दलका कार्यकर्ता र मतदातामा व्यापक वितृष्णा जन्माउने काम गर्‍यो,’ उनी भन्छन्, ‘यही मनोविज्ञानमा खेलेर चुनाव जितिहालिन्छ कि भन्ने सम्भावनाका कारण स्वतन्त्र उम्मेदवारको संख्या बढेको छ ।’ पछिल्लो समय स्वतन्त्रहरूले नेटवर्किङ गरेरै चुनावमा जाँदा अवस्था परिणाम पनि पहिलेभन्दा फरक आउन सक्ने उनको भनाइ छ ।

यस पटक केही स्वतन्त्र उम्मेदवारहरू प्रभावशाली उपस्थितिसहित चुनावी मैदानमा छन् । एमालेले टिकट नदिएपछि पार्टी परित्याग गरेका घनश्याम भुसाल रूपन्देही–१ बाट स्वतन्त्र उम्मेदवार छन् । सत्ता गठबन्धनमा माओवादीको भागमा परेको उक्त क्षेत्रमा भुसाललाई गठबन्धनको समर्थन छ । एमालेबाटै प्रभु साह समूहले मधेस प्रदेशका ८ वटा संघीय र करिब एक दर्जन प्रदेशसभा निर्वाचन क्षेत्रमा स्वतन्त्र उम्मेदवारी दिएको छ । साह रौतहट–३ बाट स्वतन्त्र उम्मेदवार छन् । स्वतन्त्र समूहका नेता साह आफ्नो समूहले प्रतिनिधिसभा र प्रदेशसभामा प्रभावशाली उपस्थिति जनाउने गरी विजय हासिल गर्ने दाबी गर्छन् । ‘हामीलाई स्वतन्त्र नागरिक र अन्य विभिन्न दलमा आस्थावान मतदाताको समर्थन छ, त्यसैले स्वतन्त्रबाटै राम्रो नतिजा हासिल गर्छौं,’ उनले भने ।

चितवन–३ मा गठबन्धनका उम्मेदवारविरुद्ध बागी लडेका कांग्रेस केन्द्रीय सदस्य दिनेश कोइराला पनि चर्चित उम्मेदवार हुन् । उनको उम्मेदवारीमा टिकट वितरणक्रममा कांग्रेसभित्र देखिएको असन्तुष्टि प्रकट भएको कांग्रेसका नेताहरू बताउँछन् । उनलाई एमालेले समर्थन गरेको छ । गत स्थानीय तह निर्वाचनमा चितवन–३ मा एमाले पहिलो र कांग्रेस दोस्रो दलका रूपमा छन् । सत्ता गठबन्धनले माओवादीका भोजराज अधिकारीलाई उम्मेदवार बनाएको छ ।

राजनीतिक विश्लेषक खनाल स्वतन्त्र उम्मेदवारको संख्या बढे पनि ती कति सशक्त र गम्भीर खालका छन्, त्यसैमा नतिजा निर्भर हुने बताउँछन् । यस पटक केही स्वतन्त्र उम्मेदवारी नतिजा परिणाम प्रभावित गर्ने खालका रहने उनको बुझाइ छ । ‘संसदीय राजनीतिक प्रणालीमा स्वतन्त्रहरू विकल्प हुन सक्दैनन्, संसद् र सरकार चल्नका लागि दलहरूको विकल्प देखिँदैन,’ उनले भने, ‘तर स्वतन्त्रले चुनावमा चुनौती दिनु र जितेर संसद्मा जाने अवस्था भनेको राजनीतिक दलहरूलाई ठूलो पाठ सिकाइ हो ।’

मधेसमा सबैभन्दा धेरै स्वतन्त्र

यस पटक पनि सबैभन्दा बढी स्वतन्त्र उम्मेदवार मधेस प्रदेशमा छन् । यस पटक प्रदेशसभातर्फ मधेस प्रदेशमा ५ सय ४७ स्वतन्त्र उम्मेदवार छन् । ०७४ मा मधेस प्रदेशमा स्वतन्त्र उम्मेदवारको संख्या ४ सय ८१ थियो । मधेसपछि स्वतन्त्र उम्मेदवारको संख्या वाग्मतीमा १ सय ९२ छ । त्यसैगरी लुम्बिनीमा १ सय ६४, प्रदेश १ मा १ सय ५, गण्डकीमा ३४, सुदूरपश्चिममा ३२ र कर्णालीमा १६ जना स्वतन्त्र उम्मेदवार छन् ।

मधेस मामिलाका विश्लेषक चन्द्रकिशोर मधेसमा मुख्यगरी तीन कारणले स्वतन्त्र उम्मेदवारी अधिक हुने गरेको बताउँछन् । उनका अनुसार पहिलो कारण ०७४ र यस पटक गठबन्धन हुनु हो । ‘वर्षौर्देंखि कांग्रेस र एमालेप्रति प्रतिबद्ध रहेका थुप्रै नेता–कार्यकर्ताले गठबन्धनको कारण टिकट पाउन सकेनन्, यसले गर्दा उनीहरू स्वतन्त्र (बागी) उठ्न बाध्य भए,’ उनले भने, ‘दोस्रो कारण भनेको दल अदलबदलको प्रवृत्ति हो, राजनीतिक लाभ पाउने आसमा अमूक दलबाट नयाँ दलमा प्रवेश गर्दासमेत टिकट नपाएपछि उनीहरू स्वतन्त्र उठ्ने अवस्थामा पुगेका छन् ।’ यस पटक मधेसमा स्वतन्त्र उम्मेदवारी बढ्नुको तेस्रो कारणका रूपमा उनले एमालेभित्र रघुवीर महासेठ र प्रभु साह गुटको अन्तर्द्वन्द्वको कारण साह समूह अलग्गै लड्नु रहेको बताए ।

स्वतन्त्रतर्फ महिलाको संख्या भने न्यून छ । यस पटक प्रतिनिधिसभातर्फ उम्मेदवारी दिएका ८ सय ६७ मध्ये ७७ जना महिला छन् । प्रदेशसभाका १ हजार ९० स्वतन्त्र उम्मेदवारमध्ये महिला ९८ जना छन् । ०७४ को निर्वाचनमा प्रतिनिधिसभातर्फ ५ सय २ जना स्वतन्त्र उम्मेदवारमध्ये ४० र प्रदेशसभातर्फ ८ सय १५ स्वतन्त्र उम्मेदवारमध्ये ५० जना महिला थिए ।

प्रकाशित : कार्तिक ७, २०७९ ११:१३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×