‘नेपालका धेरैजसो युवा विदेश गएकाले यहाँ बस्नेलाई धेरै अवसर छ, प्रतिस्पर्धा कम छ’
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
२०५०/५२ तिर निर्वाचन हुँदा सुनसरी क्षेत्र नम्बर ४/५ का उम्मेदवार गिरिजाप्रसाद कोइरालालाई नेपाली कांग्रेसका युवा नेता भनी प्रचार गरिन्थ्यो । त्यो सुनेको भएर मलाई चाहिँ गिरिजाबाबु जस्ता मान्छेलाई युवा भनिँदो रहेछ भन्ने लाग्थ्यो । आज नेपालमा १५ वर्षदेखि ४० वर्ष उमेरका व्यक्तिलाई युवा भन्ने गरिएको छ । यो उमेर समूहको कुल जनसंख्या नेपालमा १ करोड २० लाख हाराहारी छ ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900x100-1172024092759.gif)
![‘नेपालका धेरैजसो युवा विदेश गएकाले यहाँ बस्नेलाई धेरै अवसर छ, प्रतिस्पर्धा कम छ’](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2022/money-finance/ujyaalopurwathirdsession-kabinshrestha3-2792022064426-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/comp-900x100-1672024010950.gif)
त्यसमध्ये ४३ लाख युवा आज बेरोजगार छन् भने ४५ लाख युवा सेल्फ–इम्प्लोयड अर्थात् स्वरोजगारीमा छन्, उनीहरू आफैंले आफ्ना लागि रोजगारी सिर्जना गरेका छन् । दैनिक हजारौं, वर्षको साढे ६ लाख युवा मजदुरी गर्न विदेश गएका छन्, जसमध्ये ९१ प्रतिशत खाडी र मलेसिया जान बाध्य छन् । यो ठूलो समस्या हो हाम्रो लागि । यसलाई नियन्त्रण गर्नुपर्छ ।
तर, हाम्रो समस्या के छ भने हामी कार रेसमा कसरी भाग लिने भन्ने विषयमा अलमलिइरहेका छौं । रेस कसरी जित्ने, कति किलोमिटर दूरी पार गर्नुपर्ने हो, कुन गतिमा कुदाउनुपर्ने हो, कुन मोडमा घुम्नुपर्छ भन्ने विषयमा हामी केन्द्रित छैनौं । पुरानो गाडी लिएर जसरी हुन्छ भाग लिने भन्नेमा हाम्रो ध्याउन्न छ । पुरानो गाडीले अहिलेको रेस जित्न सकिँदैन ।
काठमाडौंमा २० वर्षभन्दा पुरानो गाडीलाई फाल्ने वा रिप्लेस गर्ने चलन छ । हामी युवालाई नेतृत्व गर्ने, हामीले चयन गर्ने नेताहरूलाई फाल्ने चलन वा नीति छैन । जस्तोसुकै नीति बनाए पनि कार्यान्वयन नगरिए केही पनि हुनेवाला छैन । युवा तथा खेलकुद मन्त्रलायले २०१५ अगस्ट १६ मा युवाहरूका लािग ‘भिजन २०२५’ शीर्षकमा १० वर्षे योजना बनाएको थियो । नेपाल सरकारले यसलाई पारित गरेको थियो । तर, आज सात वर्ष भइसक्यो, कार्यान्वयन हुन सकेको छैन । बरु, ६ लाख ३७ हजार युवाले श्रम स्वीकृति पाएको समाचार पत्रपत्रिकामा देखिन्छ । यस्तो किन ?
जुन हिसाबले हाम्रा युवाहरू विदेश गइरहेका छन्, भोलिका दिनमा नेपालको जनसंख्या घट्ने निश्चित छ । नेपाला प्रतिदिन औसतमा १७ सय बच्चा जन्मिन्छन्, ५ सयको हाराहारीमा मृत्यु हुन्छ, करिब अढाइ सय विदेश जान्छन् । हामीले व्यापार कसका लागि गर्ने ? के गर्ने ?
००७ सालदेखि ०७९ को ७२ वर्षमा ५१ वटाभन्दा बढी प्रधानमन्त्री फेरिए । प्रजातन्त्र, राजतन्त्र, गणतन्त्र देखियो । तर, नवउद्यमीले काम गर्ने वातावरण कहिल्यै पाएको देखिएन । राजनीतिक अस्थिरता कायम रहेसम्म यो वातावरण कदापि प्राप्त हुने छैन ।
नेपालका धेरैजसो युवा विदेश गएकाले यहाँ भएकालाई धेरै अवसर छन्, प्रतिस्पर्धा कम छ । तर, केही समस्या छन् । तीमध्ये एउटा हो, बैंकिङ समस्या वा ब्याज आतंक । नेपालको बैंकिङ क्षेत्रको नीति–नियमको कहिले पनि टुंगो लाग्दैन । हिजोसम्म हामीले ७ प्रतिशत ब्याजदरमा ऋण लिएर काम गरिरहेका थियौं, अब निक्षेपमा १५ प्रतिशत ब्याज दिने भनिएको छ । त्यसको अर्थ, कर्जाको पनि ब्याज बढ्यो । हामी कसरी त्यत्रोविधि कर्जा चुक्ता गर्ने ? नेपालमा चाहिनेभन्दा बढी बैंक भएजस्तो लाग्छ । बैंकहरूको लडाइँका कारण सीडी रेसियो कायम गर्नुपर्ने भएकाले हामीजस्ता युवा व्यवसायीहरू बैंकबाट ऋण लिएर काम सक्ने अवस्थामा छैनौं ।
विराटनगरमा हामीले नेपाल बजार भन्ने संस्था खोलेका थियौं । सात वर्षको दौरानमा हामी असफल भयौं । कारण थियो– खुला सीमाना । हामीले अवसर देखेरै लगानी गरेका थियौं । तर, मेरो सात/आठ वर्ष बर्बाद भयो । खुला सीमानालाई नियन्त्रण नगरुन्जेल नेपालमा कुनै पनि हालतमा व्यापार–व्यवसाय फस्टाउँदैन । गत वर्ष १९ खर्ब चानचुन आयात भएको छ, जसमध्ये ६२. ५ प्रतिशत (१२ खर्ब ६२ अर्ब) भारतबाट मात्रै निर्यात भएको थियो ।
त्यो १२ खर्ब ६२ अर्ब वैधानिक तरिकाले आयो, अवैधानिक रूपले कसरी र कति आउँछ म एउटा उदहारण दिन्छु । हामीले नेपाल बजार सञ्चालन गर्दा दैनिक २ देखि ३ लाखको सामान बिक्री गर्थ्यौं, विराटनगर महेन्द्र चोकमा । युवाहरू मिलेर गरेका थियौं । जोगबनी बन्द हुँदा हामी दिनको १२ लाख रुपैयाँ बराबरको सामान बेच्थ्यौं । त्यो भनेको ५ गुणा बढी बेच्थ्यौं । हामीलाई महसुस हुन्थ्यो, हामीले किन बजार बढाउन सकिरहेका छैनौं र हाम्रो पैसा कसरी बाहिर गइरहेको छ भन्ने कुरा । मान्छेले रोजगारी यहाँ होइन, पारी पाइरहेका छन् ।
एक सय रुपैयाँको सामान किन्दा २० रुपैयाँको भ्याट बिल आउँथ्यो, बेच्नुअघि नै ८० रुपैयाँ नाफा हुन्थ्यो । बेच्नुपर्ने १ सय २० रुपैयाँ नाफा खाएर । काम गर्नुभन्दा अगाडी नै म चाहिँ एक सय रुपैयाँ घाटामा गइसकेँ । अनि हामीले कसरी काम गर्ने ? सय रुपैयाँमा किनेको सामानको भ्याट नै २० रुपैयाँ भएपछि १२ खर्ब होइन १२० खर्बको आयात भइरहेको हुन सक्छ ।
सरकारले सीमा नाकामा अलिकति कडाइ गरिदिने हो भने हामीलाई धेरै राहत हुन्थ्यो । कोभिडको समयमा हाम्रो व्यापार सप्रिएको थियो । धेरैजना भाइ–बहिनीहरूले विराटनगरमा थुप्रै वटा रेस्टुरेन्ट खोले । ती सबै रेस्टुरेन्ट चलिरहेकै छन् ।
सबै युवाले केही न केही गर्नैपर्छ, त्यत्तिकै चुप लागेर बस्नु हुँदैन भन्ने सन्देश दिन चाहन्छु । मोबाइलमा बसेर जीवनको अमूल्य समय खेर नफाल्न पनि अनुरोध गर्छु । हामीमध्ये धेरै युवा मोबाइलमा अलमलिएको देख्छु । भारतमा टिकटक, पबजी आदिमा प्रतिबन्ध छ, चीनमा फेसबुक प्रतिबन्ध । त्यहाँका सरकारले केही सोचेरै प्रतिबन्ध लगाएका होलान् । युवाहरू उत्पादनमूलक बाटोमा लाग्नुपर्छ । नेपालमा दक्ष जनशक्तीको अभाव छ । त्यसैले लागिपर्नेलाई यहाँ अवसर नै अवसर छन्, यत्तिको छिट्टै हरेस खानुहुँदैन ।
–लेमन ट्री प्रिमियम होटलका अध्यक्ष श्रेष्ठले विराटनगरमा आयोजित 'उज्यालो पूर्व' कार्यक्रमको तेस्रो सत्र 'युवा उद्यमीका अपेक्षा' मा व्यक्त गरेको विचारको सम्पादित अंश ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-x-100-0172024023126.gif)