‘पढाइ र रोजगारीका लागि विदेश जाने विषयलाई ग्ल्यामराइज गरिएको छ, यसमा नभुलिऔं’- विविधा - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘पढाइ र रोजगारीका लागि विदेश जाने विषयलाई ग्ल्यामराइज गरिएको छ, यसमा नभुलिऔं’

श्रुति शर्मा

महिलाको हकमा हामीकहाँ कुनै पनि कार्यक्रम वा नीतिनियम बनाउँदा दोस्रो दर्जा नागरिकका रूपमा व्यवहार गरिन्छ । सबैथोक तय भइसकेपछि अन्तिममा महिलाका लागि पनि नीति बनाइदिऊँ भनेर बनाइन्छन् । यो गलत हो । सहुलियत कर्जा लगायत छन् ।

तर, यसमा पनि पूर्वाग्रह देखिन्छ । महिला भएकै कारण राम्रा व्यवसाय गर्न सकिरहेका छैनन् । ब्युटी पार्लर खोल्न, कुखुरा पालन गर्न कर्जा दिइन्छ । तर ठूलै उद्यम गर्न चाह्यौं भने महिलाले कर्जा पाउन गाह्रो हुन्छ । तिम्रो क्षेत्र होइन भनिन्छ ।

जुन वर्गको लागि कर्जा सुविधा तोकिएको हुन्छ, त्यही वर्ग कर्जा लिन बैंकमा जाँदा यो र त्यो नाममा अनेक प्रश्न तेर्स्याइन्छ । भर्खर व्यवसाय गर्ने सोच बनाएको महिलासँग पाँचवर्षे योजना नहुन सक्छ । ऊ डरले कर्जाका लागि आवेदन नै दिँदैन । सरकारको नीति र सुविधा उसलाई कामै लाग्दैन । यसलाई सहजीकरण गरौं । बैंकका आफ्नै नीति–नियम हुन्छन्, त्यो हामीले बुझेका छौं । तर, त्यसलाई सहजीकरण गर्न के हामीसँग हेल्प डेस्क छ ?

जुन वर्गलाई कर्जा सहुलियत दिन खोजिएको छ, त्यो वर्गले भारी–भारी शब्द र वाक्य भएर आवेदन फारम र सर्तहरूको दस्तावेज बुझ्नु हुन्न । उहाँहरू त्यो सहुलियत लिन जाँदै जानुहुन्न । नीति–नियम बनाउँदा महिलालाई दोस्रो दर्जाको नागरिकका रूपमा नहेरियोस् भन्न चाहन्छु । महिलाहरूलाई ख्याल गरेर नीति बनाउन सरकारलाई आग्रह गर्छु ।

पढाइ र रोजगारीका लागि विदेश जाने कुरालाई ग्ल्यामराइज गरिएको छ, यसमा नभुलिऔं । विदेश गए पनि त्यहाँ सिकेको कौशल आफ्नो देशमा लगाऊँ । बिटक्वाइन, अनलाइन लगानीमा अहिलेको पुस्ता फसिरहेको देखिन्छ । संगीत, नाटक जे सीप छ, त्यसलाई निखारेर आम्दानीको माध्यम बनाउन सकिन्छ ।

अर्गानिक कृषि खेतीतिर अहिले युवा व्यवसायी लागिरहेको देखिन्छ । त्यसमा अवसर पनि छन् । पूर्वी क्षेत्र यो कामका लागि सुहाउँदो छ । इलामको घ्यू, छुर्पी, गुन्द्रुक आदि हामीले काठमाडौंका सुपरमार्केटहरूमा पुर्‍याउन सक्यौं भने त्यसले धेरै परिवारको आयआर्जन बढाउँछ । तर, हाम्रा स्थानीय उत्पादनले बजार पाइरहेका छैनन् ।

हातले बुनेका पहिरन पनि यहाँका विशेषता हुन् । यद्यपि, यसका लागि दक्ष जनशक्तिको कमी देखिन्छ । नाली बनाउने मान्छे भेट्न बहुत गाह्रो हुन्छ ।

प्रदेश १ का महिलाले यहाँ उपलब्ध अवसरहरूको उपयोग गर्नुपर्छ । विदेश जाने लहर जुन हामीले देखिरहेका छौं, विदेशको पढाइ र रोजगारीको ग्लामराइज्ड (फुलबुट्टे) कथनमा हामी आकर्षित हुनुहुँदैन । विदेश जाँदै जानुहुन्न भनेकी होइन । तर, सामाजिक सञ्चालमा देखिने विदेशको ग्ल्यामर पत्याइहाल्नु पनि भएन । विदेशको दुःख त त्यहाँ पुगेपछि मात्रै थाहा हुन्छ । आफूमा भएका सीप स्वदेशमै लगाउन सकिन्छ । बिटक्वाइन, अनलाइन लगानीजस्ता असुरक्षित क्षेत्रमा पनि अहिलेको पुस्ता लागिपरेको देखिन्छ ।

–किन्डर पिलर स्कुलकी अध्यक्ष शर्माले विराटनगरमा आयोजित 'कान्तिपुर उज्यालो पूर्व' कार्यक्रमको तेस्रो सत्र 'युवा उद्यमीका अपेक्षा' मा व्यक्त गरेको विचारको सम्पादित अंश ।

प्रकाशित : आश्विन ११, २०७९ १०:३२
प्रतिक्रिया
पठाउनुहोस्

हराउँदै रातो माटो र कमेरो

परम्परादेखि घर पोत्ने गरिएको कमेरो, रातो र पहेँलो माटो पछिल्ला केही वर्षदेखि उद्योगबाट उत्पादित गेरू चुनाद्वारा विस्थापित
घनश्याम खड्का

म्याग्दी — दसैंमा घर रंगाउने प्रचलन पुरानो हो । मनसुन निष्क्रिय भएसँगै गाउँघरदेखि सहरका घरमा पनि रंगरोगन सुरु भएको छ ।ग्रामीण भेगमा परम्परागत रंगहरू रातो माटो र कमेरोलाई कुचोले पोतेर घर रंग्याउन हतारो भएको छ । ग्रामीण बस्ती मात्र होइन सहरमा पनि विभिन्न ब्रान्डका रंग, इनामेल र चुनाले घर रंगरोगन हुने गरेको छ ।

गाउँमा परम्परादेखि घर रंग्याउन पोत्ने गरिएको कमेरो, रातो र पहेँलो माटोलाई पछिल्ला केही वर्षदेखि उद्योगमा निर्मित गेरु र चुनाले विस्थापित गर्न थालेका छन् । घरका झ्यालढोका रंग्याउन प्रयोग हुने अँगेनाको मोसो र टर्च लाइटमा प्रयोग हुने कालोलाई तोरीको तेलमा मोलेर लगाउने परम्परा अब विरानो भइसक्यो ।

अन्नपूर्ण गाउँपालिका–६ घारकी सरीता बरुवाल रातो माटो र कमेरो जुटाउनेको झन्झटले बजारिया रंगको प्रयोग बढेको बताउँछिन् । ‘जिल्लाभर रत्नेचौरबाहेक अन्यत्र रातो माटो पाइन्न । रत्नेचौर पुगेर रातो माटो ल्याउ त्यो पनि सामुदायिक वनले खन्न दिन्नन । कमेरो खोज्न अर्को हैरानी । त्योभन्दा पसलबाट एक–दुई किलो गेरु किन्यो, पोत्यो,’ उनले भनिन्, ‘माटोको रंग पानी पर्दा पखालिन्छ, मान्छे टाँसिँदा दाग लाग्छ, गेरुमा थोरै फेबिकोल मिसाएर पोत्ने हो भने न पानीले पखाल्छ, न कपडामा लाग्छ । सस्तो पनि ढुक्क पनि ।’

दसैंलगायत चाडपर्वमा घर रंग्याउने संस्कृति उस्तै भए पनि घरमा पोतिएको रंगको प्रकृति फेरिएको छ । सडक विस्तार र अर्थ व्यवस्थामा आएको परिवर्तनले मटकिलो र गृहिणीको सम्बन्ध टुट्दै गएको छ । रत्नेचौरको रातोमाटोलाई विभिन्न ब्राडका रंग, गेरु, चुना र इनामेलले विस्थापित गरेको छ । सदरमुकाम बेनी स्थित एसएनएस कलर हाउसका सन्तोष रावल पछिल्ला केही वर्षदेखि खासगरी दसैंमा घर रंग्याउन गेरुको माग बढेको बताउँछन् । ‘वर्षभरि बिक्री हुने अन्य समयमा भन्दा दसैं अघिका १५ दिनमा गेरुको व्यापार बढी हुन्छ,’ उनले भने, ‘रातो वा कमेरो माटोले घर पोतेजस्तै गेरु रंगले घर छ्याप्ने हो ।’ गाउँमा गेरुसँग झ्याल ढोकामा लगाउन इनामेल पनि बिक्री हुन्छ ।

मोटरबाटो दुर्गम बस्तीसम्म उक्लिएपछि परम्परागत ढुंगेघर भत्काएर कंक्रिट भवन बनाउने र नसक्नेले पनि घर दैनिक लिपपोत गर्न सजिलोका लागि पिंढी र भुँइ ढलान गर्ने चलन बढेको छ । घर रंग्याउन कारखानामा निर्मित रंगको प्रयोग बढे पनि गाउँघरमा अझै रातो माटो, कमेरोले पोतेर घर रंग्याउने चलन हटेको भने छैन ।

लेकाली बस्तीका प्रायः बस्तीमा सदरमुकाम छेउको रत्नेचौरबाट रातो माटो पुर्‍याउन असजिलो भएकोले स्थानीय रूपमा पाइने कमेरोले घर पोत्ने गर्छन् । बेनी नगरपालिका–१ रत्नेचौरका विदुर किसानले सार्वजनिक जग्गाबाट माटो निकाल्न नपाइने भए पनि निजी जग्गाबाटै माटो दिने गरेको बताए ।

‘टाढाबाट दसैंमा घर रंग्याउने माटो लिन आउँदा रित्तै के फर्काउनु भनेर खन्न दिन्छौं,’ उनले भने, ‘टाढाबाट आउनेले माटोको भारी राखेर लैजान्छन् । गाडीको सुविधाले गर्दा पहिला पहिला जस्तो रत्नेचौरमा रातो माटो खन्ने मेला लाग्दैन ।’

घर रंग्याउने रातो माटो खन्ने मात्र होइन, घरको दैलो तथा चुल्हो दैनिक लिपपोत गर्न भने स्थानीय रूपमा पाइने चिम्ट्याइलो कैलो माटो नै प्रयोग गरिन्छ । माटो खन्ने ठाउँलाई मटकिलो भन्ने गरिन्छ । रातो माटो पोतेको घर चिटिक्क परेको राम्रो देखिए पनि माटो खन्न भने सजिलो हुँदैन । गहिरा सुरुङ जस्ता मटकिला भित्र पसेर माटो झिक्दा भत्केर बर्सेनि गृहिणीहरूको मृत्युसमेत हुने गरेको छ ।

प्रकाशित : आश्विन ११, २०७९ १०:१९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×