प्रयोग गर्न नजाने औषधि पनि विष बन्न सक्छ- विविधा - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
‘विश्व फार्मासिस्ट डे २०२२’

प्रयोग गर्न नजाने औषधि पनि विष बन्न सक्छ

औषधिहरू कहिल्यै पनि दूध, कोल्ड ड्रिंक्ससित खानु हुँदैन। दूध, कोल्डड्रिंक्सले औषधिको सार तत्व नष्ट हुन् जान्छ र औषधि प्रभावहीन बन्न सक्दछ।
मानबहादुर महरा

औषधि मानिसको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको वस्तु हो र यो बिरामी व्यक्तिका लागि अमृत हो। यदि सही औषधि उपयुक्त बिरामीलाई प्रिस्क्राइब गरियो र बिरामीले पनि सही तरिकाले सेवन गरे भने औषधिले  अमृतको काम गर्दछ ।

अन्यथा त्यही सेवन गरिएको औषधि विष बन्न सक्दछ। सानो गल्तीले मात्र बिरामी वा सेवनकर्ताको रोग निको नहुने, अर्को रोग लाग्न सक्ने, औषधिको नराम्रो असर देखिने साथै सेवनकर्ताको ज्यानै जान सक्ने हुन सक्छ ।

प्रसिद्ध वैज्ञानिक 'पारासेलसास' का अनुसार औषधि अमृत हुने कि विष हुने भन्ने कुरा औषधिको सेवन मात्राले निर्धारण गर्दछ ।रोगको प्रकृतिअनुसार औषधि प्रयोग गरिनु तथा सही तरिकाले सेवन गर्नु हरेक बिरामीका लागि अपरिहार्य छ । औषधि सेवन तरिका सिकाउनका लागि औषधि विज्ञको प्रमुख भूमिका हुन्छ ।

त्यस्तै औषधि सेवनकर्ताले मैले के औषधि खाँदैछु, किन खाँदैछु, औषधिको राम्रो तथा नराम्रो असर के-के हुन सक्छन, औषधिको एक्सपायरी मिति कति छ आदि जानकारी लिनु सेवनकर्ताको अधिकार हो र सम्पूर्ण जानकारी दिनु फर्मासिस्ट वा सम्बन्धित चिकित्सकको कर्तव्य हो । कुनै पनि औषधि तथा औषधि जन्य सामग्री सकभर आफूखुसी प्रयोग गर्नु हुँदैन सिवाय केही सामान्य औषधिबाहेक जुन विरामीले आफ्नो अनुभव र आवश्यकताअनुसार प्रयोग गर्न सक्दछन् जस्तै सिटामोल, जीवनजल, आदि । यसरी औषधि प्रयोग गर्दा फर्मासिस्ट वा सम्बन्धित चिकित्सकको सल्लाह लिनु पर्दछ ।

किटाणुदिरुद्ध प्रयोग गरिने एन्टीमैक्रोबियल औषधि दुरुपयोगले विकराल समस्या सिर्जना हुन पुगेको छ। यसमा बच्चा अवस्थामा हाइडोज प्रिस्क्राइब गरिनु, निश्चित डोज र समय अवधि सम्ममा एन्टिबायोटिक प्रयोग नगरिनु साथै एन्टिबायोटिक सेन्सिटिभिटी वा परीक्षणबिना नै एन्टिबायोटिक औषधि प्रयोग गरिनुले एन्टिबायोटिक रेसिसट्यान्स (स्लो मुभिङ सुनामी) जस्तो विकराल समसा खडा हुन पुगेको छ। पहिले करिब सन् १९४७ तिर मानिसले औषधि (एन्टिबायोटिक) नभएर वा कम भएर अकालमा ज्यान गुमाउनु परेको थियो भने अहिले आएर औषधिको उचित प्रयोग/उपयोग नगरिनाले अकालमै ज्यान गुमाउनुपर्ने भएको छ।

एन्टिबायोटिक औषधि प्रयोग नगरिकन रोग निको नहुने अवस्था पनि आउन सक्छ । बजारमा उपलब्ध औषधि काम नलाग्ने हुनु र समयमै नयाँ औषधिको खोज नहुनुले यस्तो परिस्थितिमा बिरामीको मृत्यु हुने सम्भावना अधिक हुन्छ । अहिले औषधि सोधकर्ताहरु पनि एन्टिबायोटिकभन्दा अरु समूहको औषधिको खोजमा व्यस्त छन् किनभने एक नयाँ औषधि बजारमा आउन करिब २०-२५ वर्ष लाग्छ र खरबौं डलर खर्च गरेर जन्माएको एन्टिबायोटिक बजारमा आएको ५-१० वर्षमै काम नलाग्ने भएर गएको देखिन्छ।

त्यसैले यस्तो परिस्थितिबाट बच्न एन्टिबायोटिक औषधिको सही सदुपयोग गरौं, एन्टिबायोटिक खाएको २-३ दिनमै रोग निको भएमा पनि उक्त औषधि (कम्तीमा पाँच-सात दिन) वा फर्मासिस्ट वा सम्बन्धित चिकित्सकको सल्लाहबमोजिम पूरा मात्रामा खानु पर्दछ। त्यस्तै धुलो औषधिलाई पानीमा घोलेर बनाइएको झोल एन्टिबायोटिक औषधि झोल बनाइएको अवधिदेखि बढीमा सात दिनसम्म मात्र प्रयोग गर्नु पर्दछ र सकेसम्म त्यस्तो पाउडरलाई झोल बनाइएको औषधि चिसो ठाउँमा (रेफ्रिजिरेटरमा) भण्डारण गर्नु पर्दछ र प्रयोग गर्नुपूर्व राम्रोसित औषधि हल्लाएर मात्र प्रयोग गर्नु पर्दछ।

कुनै पनि चक्की औषधि (ट्याब्लेट) भाँचेर प्रयोग गर्नु हुँदैन । यदि आधा चक्की प्रयोग गर्नु पर्ने भए आधा भाँचिएको औषधि खाएर बाँकी औषधि टुक्रा फ्यालिदिनु पर्दछ। त्यस्तै चपाएर, चुसेर खानुहोस् भन्ने औषधिबाहेक नयाँ प्रविधिबाट फर्मुलेट गरिएको औषधि जस्तै इन्टेरिक्कोटेट औषधि, एस. आर., पी. आर., एक्स. एल. आदि लेखिएको औषधि कहिल्यै पनि चपाएर वा चक्की औषधि (ट्याब्लेट) भाँचेर खानु हुँदैन र जसरी प्रयोग गर्न भनिएको छ त्यसरी नै प्रयोग गर्नु पर्दछ । कुनै पनि चक्की औषधि (ट्याब्लेट) र क्याप्सुल औषधि खाँदाखेरि सकभर २५० मि. लि. अर्थात् १ ठूलो गिलास मनतातो पानी पिउनु पर्दछ । यी औषधिहरू कहिल्यै पनि दूध, कोल्ड ड्रिंक्ससित खानु हुँदैन। दूध, कोल्डड्रिंक्सले औषधिको सार तत्व नष्ट हुन् जान्छ र औषधि प्रभावहीन बन्न सक्दछ।

श्वासप्रश्वास प्रणालीसँग सम्बन्धित रोग (दम) हरूमा प्रयोग गरिने औषधिहरुको प्रयोग विधि औषधिविज्ञले भने जस्तै प्रयोग गर्नु पर्दछ। विभिन्न समयमा गरिएका शोधहरूबाट करिब ९० प्रतिशत दम तथा 'सीओपीडी'का बिरामीलाई मुखबाट तानेर लिनु पर्ने डीपीआई र एमडीआई औषधिको सेवन विधि थाहा नभएको पत्ता लागेको छ । त्यसैले यस किसिमका बिरामीले फर्मासिस्ट वा चिकित्सकले सिकाएअनुसार औषधि लिनु पर्दछ। प्रयोग गरिसके पछि मन तातो पानीले मुख कुल्ला गर्न नभुल्नु होला।

त्यस्तै आँखा, कान, नाकमा राखिने थोपा औषधि बिर्को खोलिएको एक महिनाभित्र मात्र प्रयोग गर्नु पर्दछ र घरमा भण्डारण गर्दा सीधै घाम नलाने, ओस नआउने तथा सकभर सानो केटाकेटीले नभेट्ने ठाउँमा राख्नु पर्दछ । सबै प्रकारको औषधि चिसो ठाउँमा राख्नु पर्छ भन्दैमा घरमा भएको फ्रिजमा राख्नु हुँदैन । यसो गर्दा औषधिको प्रभावकारिता नष्ट भएर जान्छ । त्यस्तै गरी मल्हम किसिमका औषधिहरू ट्युबको पछाडि भागबाट थिच्दै प्रयोग गर्नु पर्छ साथै प्रयोग गर्नुपूर्व थोरै औषधि फालिदिनु उचित हुन्छ अनि बाँकी प्रयोग गर्दा सबैभन्दा राम्रो हुन्छ। त्यस्तै यस्तो औषधिको ट्युबको टुप्पोले संक्रमित भागलाई नछोइकन प्रयोग गर्नु पर्दछl

कुनै कुनै औषधि ठीक-ठीक समयमा सेवन गनु पर्दछ जस्तै एन्टिबायोटिक, उच्च रक्तचाप (ब्लड प्रेसर) को औषधि मधुमेहको औषधि आदि। धेरै लामो समयको ग्याप गर्नु हुँदैन।एउटै बिरामीलाइ दुई वा दुईभन्दा बढी रोग लागेको छ र दुईभन्दा बढी औषधि सेवन गर्नु पर्दछ भने कम्तीमा २ घण्टा वा २ घण्टाभन्दा बढी समयको ग्याप गर्नु पर्दछ, गेडागुडी जस्तो सबै सँगै खानु हुँदैन ।खाली पेटमा खानु पर्ने औषधिलाई खाना खानुभन्दा २ घण्टा अगाडि नै खानु पर्दछ ।

खानापछि खानु पर्ने औषधिलाई भुलेर पनि खाली पेटमा खानै हुँदैन किनभने त्यस्ता औषधिले पेटमा इरिटेसन हुने, घाऊ बनाउन सक्छ ।रावीप्रजोल, पेन्टोप्राजोल, इसामीप्राजोललगायतका ग्यास्ट्रिक रोग निको पार्ने पीपीआई समूहका औषधि लामोसम्म (३ महिनाभन्दा बढी) लगातार प्रयोग गर्नु हुँदैन ।यसरी लामो समयसम्म लगातार यी औषधि खाँदा पेटको संक्रमण हुने, भिटामिन बी-१२ को कमी हुने, क्याल्सियम, म्याग्नेसियम जस्ता मिनरलको कमी हुने, हड्डी-मांशपेशी कमजोर हुने हुन् जान्छ ।सधैं खानुपर्ने अवस्था भएमा बीच-बीचमा ग्याप गरेर प्रयोग गर्नु उपयुक्त हुन्छ। त्यसैले हरेक किसिमका बिरामीले फर्मासिस्ट वा चिकित्सकले सिकाएनुसार औषधि लिनु पर्दछ।

-महरा फर्मासिस्ट हुन् ।

प्रकाशित : आश्विन ९, २०७९ १३:०१
प्रतिक्रिया
पठाउनुहोस्

बाउबाजेले जग्गा बाँडे, सन्तान सुकुम्बासी

‘भाग्यको खेला यस्तो पनि हुँदो रहेछ, बिघौंबिघा जमिन दान दिन सक्ने पुस्ताका हामी सन्तानको यस्तो बिजोग छ, खुट्टा टेक्ने जमिनसमेत छैन’
अर्जुन राजवंशी

बिर्तामोड — सामर्थ्य र सार्थकता पुष्टि भएरै होला, उनलाई अभिभावकले नाम नै सम्पत्ति राखिदिएका थिए । तर, जीवनको उत्तरार्धमा उनलाई उनकै नामको अर्थले गिज्याइरहेको महसुस हुन्छ ।  यतिबेला सम्पत्तिको दैनिकी अभावै अभावमा बितिरहेको छ ।

विपन्नताको पनि अन्तिम विन्दुमा पुगेको छ उनको जीवन । ओत लाग्ने एउटा सानो छाप्रो छ । जेनतेन घामपानी थेगेको छ । छाप्रोभित्रको भुइँ कहिल्यै ओभानो भएन । चिसै भुइँमा बस्न बाध्य छिन् ९० वर्षीया सम्पत्ति । उनी जमिनदार डोमालाल राजवंशीकी एक्ली छोरी हुन् ।

समाजसेवी डोमालालले छोराहरूलाई मात्र अंश दिएनन्, विवाह गरेर छोरी अन्माउँदा सम्पत्तिलाई समेत १० बिघा जमिन दाइजो दिएका थिए । २०२१ मा सरकारले भूमि सुधार ऐन लागू गर्दा हदबन्दीभन्दा बढीको जग्गा सरकारले हडप्नुअघि डोमालालले आफन्त र साथीभाइलाई बाँडे । सोही क्रममा डोमालालले स्थानीय ‘अनारमनी दुर्गा गुठी स्थान’ को नाममा १२ बिघाभन्दा बढी जग्गा दान दिए । बिर्तामोड नगरपालिका–३ बिर्ताबजारस्थित सोही जग्गाको एक भागमा ‘डोमालाल राजवंशी रंगशाला’ बनाइएको छ । मोफसलकै उत्कृष्ट रंगशालाको उपाधि पनि पाएको छ, डोमालालले ।

फाइल तस्बिर : बिर्तामोड नगरपालिका–३ बिर्ताबजारस्थित डोमालाल राजवंशी रंगशाला ।

‘झापा गोल्डकप’ को रौनकता र सफलता सायद डोमालाल राजवंशी रंगशालामै हुने भएकाले पनि हो । बजार क्षेत्रको १२ बिघा जमिनको मूल्य आजको दिनमा करोडले हिसाब गर्दा पनि कम हुन्छ । स्थानीय विकास र समुदायका लागि अर्बौंको सम्पत्ति निःशुल्क दान दिने राजवंशी परिवारको अवस्था भने यतिबेला अति दयनीय छ । डोमालाल राजवंशीकी छोरी सम्पत्ति तथा नातिहरू भीमबहादुर, छविलाल र सुकलाल छन् । जमिनदार डोमालालका यी सन्तान यतिबेला अति विपन्न परिवारका रूपमा छन् । भीमबहादुर बिर्ताबजारको एक होटलमा कालिगडको काम गर्छन् । छविलाल र सुकलाल तीनपांग्रे ठेला चलाउँछन् ।

हजुरबुबा डोमालाल जमिनदार भए पनि छोरी र नातिहरू भूमिहीन सुकुम्बासी छन् । उनीहरूसँग एक चपरी माटो खन्ने जमिनसमेत छैन । अर्बौर्कों जमिन दान दिने दाता परिवारकै सन्ततिको बिजोग देखेका बिर्ताबजारवासीले हजुरबुबाले दान दिएको जमिनको एक छेउमा बसोबास गर्ने व्यवस्था मिलाइदिएका छन् । छोरी सम्पत्ति र नातिहरू त्यही जमिनमा सानोसानो टहरा बनाएर बसेका छन् ।

‘भाग्यको खेला यस्तो पनि हुँदो रहेछ, बिघौंबिघा जमिन दान दिन सक्ने पुस्ताका हामी सन्तानको यस्तो बिजोग छ, खुट्टा टेक्ने जमिनसमेत छैन,’ मलिन अनुहारमा सुकलालले भने । उनीहरू हजुरबुबाले दान दिएको जमिनमा बसोबास गरेको अढाई दशक पुग्यो । ‘नेताहरूले हामीलाई यही बस्नु पछि सबैलाई भिट्टा दिन्छौं भनेर भनेका थिए, यहाँ बसेको २५ वर्ष पुग्न लागिसक्यो, अहिलेसम्म लालपुर्जा बनाइदिएका छैनन्, खोइ ! भिट्टा दिन्छन् कि उठेर भाग भन्छन्,’ उनले भने ।

गत भदौ १ मा ७५ वर्षको उमेरमा उजारु राजवंशीको निधन भयो । बिर्तामोड–९ गरामनीस्थित दुर्गा माविलाई करोडौं मूल्य पर्ने जग्गा दाता राजवंशीको निधन हुँदा अन्त्येष्टि गर्ने सामान्य खर्चसमेत परिवारसँग भएन । छिमेकी र आफन्तले तत्काल सहयोग जुटाएर उनको अन्त्येष्टि गरे । कुनै बेला ९ बिघा जमिनका मालिक हुँदा राजवंशीले स्थानीय दुर्गा माविलाई बजार नजिकैको एक बिघा जग्गा निःशुल्क दान दिएका थिए । अहिले उक्त जमिनको मूल्य करोडौंमा पुगेको छ ।

तर, दाता परिवार भने सुकुम्बासीको अवस्थामा पुगेको छ । राजवंशी परिवारसँग अहिले मात्र दुई कट्ठा जमिन छ । दाता उजारुका तीन भाइ छोरा छन् । तीनै भाइ छोरा सामान्य ज्यालादारी काम गरेर जीविकोपार्जन गरिरहेका छन् । ४० को दशकमा गरामनीमा एउटा मात्र स्कुल थियो, दुर्गा मावि । विद्यालयको भौतिक एवं शैक्षिक विकासका लागि उजारुले निःशुल्क जग्गा दान दिए । विडम्बना, उजारुका तीनै भाइ छोराले भने उक्त विद्यालयबाट सामान्य कखरासमेत सिक्न पाएनन् ।

विद्यालयलाई करोडौं मूल्य पर्ने जग्गा दान दिने उजारु राजवंशीको झापा बिर्तामोड नगरपालिका-९ लखीबारीस्थित घर । तस्बिर : अर्जुन/कान्तिपुर

दाता उजारुकी ७२ वर्षीया पत्नी चम्पा राजवंशी भत्किनै लागेको सानो कटेरोमा बस्छिन् । पुराना जस्तापाताले बनाइएको कटेरोले बर्खामा पानी र हिउँदमा चिसो छेक्दैन । चम्पाले एउटै कोठामा चुलो र सुत्ने खाट राखेकी छन् । आम्दानीको स्रोत छैन । दुई छाक खानै मुस्किल रहेको राजवंशी परिवारमा घर बनाउने कुरा अस्वाभाविक जस्तो लाग्छ ।

उजारुको निधनमा दुर्गा माविका शिक्षक, कर्मचारी समवेदना दिन उनको घर पुगे । स्थानीयको आग्रहमा विद्यालय परिवारले किरिया खर्चबापत केही रकम सहयोग गर्‍यो । विद्यालय परिवार र स्थानीयहरू यतिबेला सहयोग जुटाएर चम्पाका लागि एउटा सानो घर बनाइदिने पहलमा जुटेका छन् । ‘हाम्रो त आम्दानी छैन, घर बनाउन सक्ने अवस्थै छैन,’ उजारुका कान्छा छोरा सागु राजवंशीले भने ।

प्रकाशित : आश्विन ९, २०७९ १२:५८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×