‘सबै नागरिक स्वस्थ्य भइदिए म बेरोजगार बनेर बस्न तयार छु’- विविधा - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘सबै नागरिक स्वस्थ्य भइदिए म बेरोजगार बनेर बस्न तयार छु’

डा. भगवान कोइराला

काठमाडौँ — सामाजिक सञ्जालका प्रत्येक प्रयोगकर्ता जिम्मेवार बन्नुपर्छ । यसको दुरुपयोग भए झिनामसिना कुराले ठूलो महत्व पाउने हुन्छ, जसले गर्दा राष्ट्रिय मुद्दा ओझेलमा पर्न सक्छन् । त्यसैले सामाजिक सञ्जालको उचित प्रयोग गर्नेतर्फ हरेक प्रयोगकर्ता सजग हुनुपर्छ ।

पछिल्लो समय सामाजिक सञ्जालमा एकदमै सामान्य विषयमा हल्लाखल्ला मच्चाउने र मुख्य राष्ट्रिय मुद्दा ओझेलमा पर्नु चिन्ताको विषय हो । हाम्रो समाजको एउटा चुनौती यो बनेको छ । सामाजिक सञ्जालको शक्ति खतरनाक पनि छ । तर यसलाई ठीकसँग प्रयोग गरे राम्रो पनि हुन्छ । म सामाजिक सञ्जाल धेरै प्रयोग गर्दिनँ । तर सामाजिक सञ्जालमा लेख्नुअघि दुई चोटि सोचेर मात्रै लेख्छु । तपाईंहरू पनि त्यसै गर्नुस् भन्ने म सुझाउँछु । त्यसको परिणाम के हुन्छ भन्ने सोचेर मात्र लेख्ने गर्नुस् ।

सामान्य विषयलाई ठूलो जस्तो गरी प्रचारप्रसारमा ल्याउन सामाजिक सञ्जालको भूमिका हुन्छ । त्यसैले यसको प्रयोगमा जिम्मेवारीबोध हुनुपर्छ । सामाजिक सञ्जालमा उठेका विषयको पछि मूलधारका सञ्चारमाध्यम लाग्नुपर्ने अवस्था आएको पनि देखिएको छ । यस विषयमा पनि ख्याल गर्नुपर्छ । सामाजिक सञ्जालको शक्तिलाई प्रयोगकर्ताले अनुभव गर्न सकेनन् र व्यक्तिगत धारणा मात्रै भनेर सामाजिक सञ्जालमा राख्दै जाने र त्यसरी राख्नेको संख्या ठूलो भयो भने समस्या हुन्छ । सामाजिक सञ्जालको दुरुपयोग तार्किकभन्दा पनि बदला लिनका लागि पो हुने हो कि भन्ने चिन्ता लाग्न थालेको छ ।


आधा सत्य र आधा झुटलाई समातेर सामाजिक सञ्जालमा अलमल गराइदिएपछि समस्या थपिने गरेको छ । विशेषगरी लफडा गर्नेहरूले प्रयोग गर्ने हतियारका रूपमा अहिले सामाजिक सञ्जाल देखिएको छ । यो देशमा राम्रा कुरा भएका छैनन् र ? तर सञ्जालमा राम्रा विकासका काम हाइलाइट हुँदैनन् । राम्रो गर्नेको कुरा पनि हाइलाइट हुँदैन । थोरै केही नराम्रो थाहा भयो भने त्यसको पृष्ठभूमि नै नबुझी आक्रमण गर्ने प्रवृत्ति छ ।

म डाक्टर भएको २५ वर्षभन्दा बढी भयो । अहिले स्वास्थ्य क्षेत्रमा सकारात्मक परिवर्तन देखिएका छन् । समस्या सुल्झाउने, सल्ट्याउने, समाधानमा लैजाने, नियन्त्रण गर्ने र अनुगमन गर्ने सक्रियता कम भएपछि समस्या धेरै देखिन गएका हुन् । त्यसैले स्वास्थ्यमा प्रगति भएन भन्न मिल्दैन । व्यवसायीकरणको समस्या छँदै छ । सबैभन्दा धेरै पारदर्शिताको समस्या छ । त्यतिखेर मात्र स्वास्थ्य क्षेत्र, अस्पताल, सेवासुविधा र विज्ञताबारे थाहा हुन्छ, जति बेला हामी सत्य बोल्न सक्छौं । सही बोल्ने हिम्मत भएन भने मान्छेले दोधारे भाषा बोलेर उम्किन खोज्छ । अरूलाई पनि दोधारमा पारेर छाडिदिन्छ ।

निजी अस्पताललाई दोष दिँदै गर्दा अनुमति लिएर पार्ट टाइमका रूपमा मैले पनि काम गरें । आफैंले बनाएको संस्थाले गर्दा म प्राइभेट प्राक्टिसमा मौलाउन सक्दिनँ । देशका सबै नागरिक स्वस्थ्य भइदिए म बेरोजगार बनेर बस्न तयार छु ।

(वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा. भगवान कोइरालाले कान्तिपुर कन्क्लेभ-२०२२ को ‘सार्वजनिक संवादको शैली’ सत्रमा व्यक्त गरेको विचारको सम्पादित अंश)

प्रकाशित : आश्विन ४, २०७९ १७:४१
प्रतिक्रिया
पठाउनुहोस्

सम्पदा घरफिर्तीको ‘राजदूत ताकेता’

कान्तिपुर संवाददाता

भक्तपुर — नेपालबाट चोरेर अमेरिका पुर्‍याइएका पूरातात्विक महत्त्वका मूर्तिहरु घरफिर्ती गराउन ताकेता गर्ने तथा कूटनीतिक पहल गर्ने अमेरिकी राजदूत र्‍यान्डी बेरीले आफ्नै घरफिर्तीका बेलामा पनि नसोचेको उपहार पाएका छन्— लक्ष्मी–नारायण मूर्ति ।

‘मैंले नसोचेको र जीवनमैं कहिल्यै नपाएको अमूल्य उपहार पाएको छु,’भक्तपुरको नेपाल भोकेसनल एकेडेमीमा आयोजित सम्मान तथा विदाइ समारोहमा राजदूत बेरीले भने—‘संसारको जहाा पुगेपनि नेपाल मनैमा लिएर हिंड्नेछु ।’ नेपाली सम्पदाको संरक्षण तथा सम्पदा फिर्ता ल्याउन उल्लेख्य सहयोग पुर्‍याएकोमा राजदूत बेरीको सम्मानमा आरपी फाउण्डेसन फर कन्जरभेसन र म्युजियम अफ स्टोलन आर्ट्सले समारोह आयोजना गरेको थियो । यससँगै राजदूत बेरीको कार्यकालमा अमेरिकाबाट १७ वटा पूरातात्विक महत्त्वका मूर्ति तथा अन्य सम्पदा नेपाल फिर्ता गरिएको छ । फाउण्डसेनका प्रमुख सम्पदाविद्‍ रवीन्द्र पुरीले राजदूत बेरीले जस्तै अनुकरणीय काम अन्य कूटनीतिक नियोग र महामहिमले गरिदिएमा चोरिएर वा हराएर विदेश पुगेका नेपाली सम्पदाको घरफिर्तीमा थप बल पुग्ने बताएका थिए । पुरीका अनुसार म्युजियम अफ स्टोलन आर्टमा नेपालबाट चोरिएका र ‘स्टोलन इमेजेज अफ नेपाल’कृति (लैनसिंह वाङदेल)को चिनारीमा रहेका ५० वटा विशिष्ट मूर्ति/सम्पदाको प्रतिरुप निर्माण गरेर म्युजियममा राखिँदै छ । अहिलेसम्म ४० वटा मूर्तिको प्रतिरुप तयार भइसकेको छ । जानकारी दिँदै पुरीले अब एक वर्षमा म्युजियम संचालनमा आउने बताए । चोरिएका मूर्तिको प्रतिरुप निर्माणमा भारत, उडिसा घर भएका कलाकार तिमिर नासन ओझा एक दशकयता आफ्नो टोली लिएर पनौतीमा बसिरहेका छन् । म्युजियम अफ स्टोलन आर्ट पनौतीमा निर्माणाधीन छ ।

प्रकाशित : आश्विन ४, २०७९ १७:३४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×