कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१३

सामाजिक सञ्जाल नै हुन् युवापुस्ताका विचार बिसाउने चौतारी 

सोबिता गाैतम

काठमाडौँ — आजका दिनमा कसैलाई विचार राख्नुपर्‍यो भने बोल्ने, लेख्ने र प्रस्तुत गर्ने ठाउँ धेरै छन् । हामी अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा छौं । यो व्यवस्थामा यति धेरै सार्वजनिक वृत्त हुनु भनेको सहभागितामूलक लोकतन्त्रको सुन्दरता हो । युवा पुस्ताका लागि कुनै ठाउँमा विचार राख्दा त्यो धेरैभन्दा धेरै मानिसमा पुग्छ भने हाम्रा लागि सार्वजनिक वृत्त त्यही भइसकेको छ । चाहे त्यो फेसबुक, ट्विटर अथवा बौद्धिक वर्गले नमानेको एउटा स्पेस टिकटक पनि हुन सक्छ । 

सामाजिक सञ्जाल नै हुन् युवापुस्ताका विचार बिसाउने चौतारी 

युवापुस्ताले राखेको विचारले नीति निर्माण तहसम्म प्रभाव पुर्‍याएको हामीले देखेका छौं । एउटा उदाहरण, कोरोनाको समयतिर हो । एक जना महिलाले सुन्दरी प्रतियोगितामा भाग लिँदा त्यसका आयोजकले समयसमयमा विभिन्न बहानामा आफूलाई बलात्कार गरेको भनेर आठ वर्षपछाडि टिकटकमा भिडियो बनाएर राखेकी थिइन् । भिडियो विभिन्न सञ्चारमाध्यम, सामाजिक सञ्जाल, सडक हुँदै संसद्सम्म पुग्यो । त्यो बेलाको कानुनले अपराध संहिता २२९ नम्बरमा बलात्कार भएको मितिले एक वर्षभित्र उजुरी गरे उजुरी लाग्ने वा त्यसभन्दा पछाडि नलाग्ने व्यवस्था थियो । नाबालिकाको हकमा बालबालिकासम्बन्धी ऐन ०७५ ले १८ वर्ष पुगेको मितिले एक वर्षसम्म उजुरी गर्न मिल्ने भनेको थियो । यसलाई महिलाहरूले अली बढी संवेदनशील रूपमा लिन सक्छन् । १८ वर्षमुनिका नाबालिकाहरू जसलाई एउटा बैंकमा खाता खोल्नुपर्‍यो भने पनि बुबाआमाको अनुमति चाहिन्छ । बलात्कार जस्ता जघन्य अपराध जसमा ‘इमोसन्स’ जोडिएको हुन्छ, १८ वर्ष पुगेको एक वर्षभित्र कसरी उजुरी गर्न जाने ? मलाई बलात्कर भयो भनेर कसरी भन्न जाने ?

यस्तो अवस्थामा ती महिला साथीले ८ वर्षपछि बोलिन् । कानुनले उनलाई न्याय दिन सक्ने अवस्था थिएन । त्यो मुद्दा यति धेरै चर्कियो कि धेरै महिलाले आफूसँग ‘रिलेट’ गर्न सके । सञ्चारमाध्यममा पनि समाचार आइरहे । सडक र संसद्मा यो कुरा पुग्यो, जसले गर्दा कानुन संशोधन भएर आयो । बालबालिकाको हकमा जुनसुकै समयमा यस्ता घटना भए तापनि १८ वर्ष पुगेको मितिले तीन वर्षसम्म उजुरी गर्न मिल्ने व्यवस्था अहिले संशोधित कानुनमा छ । त्यसैले अहिलेको परिप्रेक्ष्यमा युवा पुस्ताका लागि सार्वजनिक वृत्त भनेको सामाजिक सञ्जाल नै बनेको छ । पहिलो विचार राख्ने माध्यम पनि यही बनेको छ ।

नेपाल एउटा सानो भूगोल हो । एउटा कुनै घटना भयो भने त्यो राष्ट्रिय मुद्दा बन्छ । सञ्चारमाध्यमदेखि लिएर सामाजिक सञ्जालमा ती विषय उठान हुन्छन् । युवापुस्ताले तर्कशीलता बढाउन ती विषयमा निरन्तर संवाद गर्न चेतनाको विकास गर्नुपर्छ । त्यसबारे अध्ययनअनुसन्धान गरेर जानकारी राख्नुपर्छ । केही विषयमा बोल्नु छ भने त्यसबारे उसलाई जानकारी हुनुपर्छ ।

युवापुस्ताले अध्ययनअनुसन्धान गर्ने एउटा उपयुक्त स्थान विश्वविद्यालय हो । तर धेरैजसो विश्वविद्यालयमा राम्रो पढाइ हुँदैन । पढाइ नभएपछि राजनीति हाबी धेरै छ । विद्यार्थी नेता कक्षा गएकै देख्न पाइँदैन । तर उनीहरू त्यसै पास भइरहेएका हुन्छन् । पढ्नुपर्ने उमेरमा नपढीकन युवा पुस्ता कुनै पनि विषयमा बहस गर्न आउँछ भने के उसले कस्तो बहस गर्ला ? सहर बजारको कुरा गर्ने हो भने धेरैजसो युवा अंग्रेजीमा बोल्न रुचाउँछन् । नेपालीमा बोल्नुपरे उनीहरूलाई पसिना छुट्छ । कुलीन घरानाका युवापुस्ताको चासोको विषय अलग हुन सक्छ । सहर बजारबाट टाढा भएका युवा पुस्ताको विचार वा मुद्दाको विषय अलग हुन सक्छ ।

जबसम्म युवापुस्ताको विचार वा विमर्शको विषय नै एक हुन सक्दैन, तबसम्म कसरी विचारहरूबारे विमर्श हुन सक्छ ? यही कारणले गर्दा भाषाले एउटा महत्त्वपूर्ण भूमिका खेलेको छ । यहाँ नेपालीपछि सबैभन्दा बढी बोलिने भाषा मैथिली हो भनिन्छ । मैथिली भाषामा छलफल र विचारविमर्श भयो भने हामी कति जनाले बुझ्छौं ? त्यही भएर भाषाले पनि कताकता भूमिका खेले जस्तो लाग्छ । वर्गभेदको कुरा पनि छ । केही घराना एकदमै धनी छन् । सहर बजारबाट टाढा जानेबित्तिकै धेरैजसोको आर्थिक अवस्था भनेको निम्नवर्गीय हो । निम्नवर्गीय र धनाढ्य वर्गका युवाबीचको विषय कसरी एउटै हुन सक्छ ? त्यसैले युवापुस्ताले छलफल र विचार–विमर्श गर्ने विषय नै एक हुन सकेको अवस्था छैन । यस्तो अवस्थामा संवादहरू गहन भएनन्, तर्कशीलता पुगेन भन्नु स्वाभाविक हो ।

-युवा अभियन्ता गाैतमले कान्तिपुर कन्क्लेभ-२०२२ मा व्यक्त गरेको विचारको सम्पादित अंश ।


प्रकाशित : भाद्र ३१, २०७९ २०:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?