कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
गिरि स्मृति

समाजवादी लोकपथका अथक चिन्तक

प्रदीप दाइ त्यस समय बनारसको चर्चित स्थान गदौलियामा आनन्देश्वर मुद्रणालय सञ्चालन गरेर बस्नुभएको रहेछ ।
आनन्दप्रसाद आचार्य

भदौ ४ गते राति ९:३० बजे निधन भएपछि नेपाली कांग्रेसका समाजवादी चिन्तक, विचारक प्रदीप गिरिप्रति मेडिसिटी अस्पताल, कांग्रेस पार्टी कार्यालय, सानेपा र अन्त्यमा पशुपति आर्यघाटमा भएको दाहसंस्कार कार्यक्रममा सरकार, पार्टी, प्रबुद्ध वर्ग र जनसमुदायले उहाँप्रति प्रकट गरेको श्रद्धाभाव उल्लेख्य र प्रशंसनीय थियो । उहाँले जीवनपर्यन्त देश, जनता र लोकतन्त्रका निम्ति गर्नुभएको त्याग र बलिदानकाप्रति सरकार र प्रबुद्ध नेपाली समाज, जनसमुदायले न्याय गरेको अनुभूति हुन्थ्यो ।

समाजवादी लोकपथका अथक चिन्तक

उहाँप्रति व्यक्त यो श्रद्धाभाव र माया नेपाली राजनीतिमा वर्तमान न्यूनरूपमा रहेको मूल्य, मान्यता र निष्ठाको राजनीतिप्रतिको सम्मान हो । उहाँ सन्त कविरको दोहा पढेर कण्ठाग्र गर्नुहुन्थ्यो । उहाँको निधनमा सन्त कविरको यो पंक्ति यहाँ उल्लेख गर्नु उपयुक्त हुन्छ । ‘जब मैले यस संसारमा जन्म लिएँ म रोएँ, अरू सब हाँसे तर जब मैले यस संसारबाट बिदा लिएँ, म हाँसे तर सबै रोए ।’ सन्त कविरले व्यक्तिको मृत्यु यस्तो होस् भनेर जुन पंक्ति (दोहा) लेखे प्रदीप गिरिको निधनमा पूरै लागू भएको छ ।

प्रदीप गिरि नेपाली कांग्रेसभित्र आफ्ना समकालीन मित्र र युवा पिँढीबीच एक प्रखर, प्रतिभासम्पन्न, अद्वितीय अभिव्यक्ति क्षमता भएका लोकप्रिय समाजवादी नेता हुनुहुन्थ्यो । साथै, उहाँ आफ्ना समकालीन वा कनिष्ट युवा पिाढीमात्र होइन शीर्ष नेताहरुलाई पनि प्रभावित गर्नसक्ने क्षमता राख्ने प्रबुद्ध राजनीतिज्ञ हुनुहुन्थ्यो । कांग्रेसभित्र र बाहिर पनि आमजनताबीच, अन्य राजनीतिक दलहरुबीच पनि उहाँको स्पष्ट र निर्भिक विचार एवम् समाजवादी चिन्तनका कारण सधैं उहाँ चर्चित र लोकप्रिय रहनुभयो । दलहरुमा तथा राष्ट्रिय राजनीतिमा विचारको खडेरी परेको वर्तमान परिवेशमा उहाँले आजीवन नूतन विचारको प्रवाह गरिरहनुभयो । स्पष्ट र निष्पक्ष विचारका कारण उहाँका समर्थक र अनुयायीहरुको संख्या वृद्धि भइरहेको थियो । उहाँको विचार र चिन्तन राष्ट्रिय हित एवम् जनकल्याणका निम्ति केन्द्रित हुने भएकाले उहाँप्रति जनआकर्षण बढ्दो थियो । प्रदीप गिरिको चुम्बकीय र आकर्षक व्यक्तित्व थियो । त्यसमाथि प्रखर र विद्वतापूर्ण अभिव्यक्तिले उहाँका वरिपरि र नजिक रहेकाहरु उहाँको विचार अभिव्यक्तिबाट मन्त्रमुग्ध हुने गर्थे, प्रभावित भई प्रशंसक हुने गर्थे ।

प्रदीप गिरिको राजनीतिक प्रखरता र बौद्धिकता उहाँलाई सहज प्राप्त भएको होइन बरु उहाँको कुलिन पुर्खा कुलदीप गिरि, पिता मित्रलाल गिरि आदि जस्ता आफ्नो समयका हस्ती राजनीतिज्ञहरुको विरासत र राजनीतिक संस्कार एवम् वातावरण भएको परिवारमा उहाँको जन्म भएको थियो । प्रदीप गिरिको चर्चा गर्दा उहाँका पिता मित्रलाल गिरिको नाम र योगदानलाई पनि स्मरण गर्नुपर्छ । पिताकै राजनीतिक पृष्ठभूमि, त्याग र आर्थिक टेवाका आधारमा प्रदीप दाइको राजनीतिक व्यक्तित्व विकसित भएको हो । उहाँका पिता मित्रलाल २०१२ सालमा वीरगञ्जमा सम्पन्न कांग्रेसको महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको र ०१५ सालको आमनिर्वाचनमा सिरहाबाट निर्वाचित सांसद हुनुहुन्थ्यो । २०१७ सालमा राजा महेन्द्रले सैनिक कार्यवाहीद्वारा संसदीय व्यवस्था विघटन गरेपछि उहाँ आठवर्ष भारत निर्वासित हुनुभएको थियो । प्रदीप गिरिको जन्म सम्पन्न र सम्भ्रान्त परिवारमा भएकाले पनि उहाँलाई लामो अवधिसम्म विद्रोही राजनीति गर्न अनुकूल भएको थियो ।

यो सत्य र यथार्थ हो कि उहाँ आफ्नो समकालीन राजनीतिमा सर्वथा भिन्न राजनीतिज्ञ हुनुहुन्थ्यो । यस अर्थमा उहाँलाई भिन्न राजनीतिज्ञ भनेर विशेषण दिनुको प्रमुख कारण र तात्पर्य वर्तमान राजनीतिमा विद्यमान विकृति, विसंगति, भ्रष्टाचार, आर्थिक अनियमितता, परिवारवाद, व्यक्तिवादी र सिद्धान्तहीन राजनीतिबाट अलग रहेर यी विृकति र दोषहरुमाथि कडा प्रहार गर्दै आफ्नो सक्रिय राजनीतिलाई निरन्तरता दिइरहनुभयो । दोस्रो, उहाँले कांग्रेसभित्र लोकतान्त्रिक समाजवादी विचारको बहस, छलफल र चिन्तन प्रवाह गरिरहनु भयो । बीपी कोइराला, सीके प्रसाईं पछि कांग्रेसभित्र लोकतान्त्रिक समाजवादी विचार र दर्शनको उहाँ नै व्याख्याता र प्रवक्ता हुनुहुन्थ्यो । अब कांग्रेसमा केही समयसम्म विचारको राजनीतिलाई उर्जा दिने, लोकतान्त्रिक समाजवादको व्याख्या गर्ने बौद्धिक व्यक्तित्वको अभाव रहिरहने छ । तेस्रो, उहाँले मन, वचन, कर्म र व्यवहारमा नै सामाजवादी चरित्रलाई अंगिकार गर्नुभएको थियो । चौथो, उहाँले आफ्नो सक्रिय राजनीतिक जीवनमा अनेक पटक अवसर पाउँदा पनि सत्ता वा सरकारमा जाने इच्छा राख्नु भएन । उहाँको आसय थियो– सत्तामा गएपछि जनसमुदाय वा जनसम्पर्कबाट टाढा हुनुपर्छ । सत्ताको सुविधा र शैलीले राजनीतिक व्यक्तिहरुको इमान्दारी र निष्ठा बाधित हुनसक्छ । स्पष्ट एवम् स्वतन्त्र ढङ्गले सत्य र यथार्थ अभिव्यक्ति व्यक्त गर्न पनि सत्ताको राजनीतिले नियन्त्रण गर्छ । पाँचौं, उहाँको राजनीति मानवीय मूल्य र संवेदनामा आधारित थियो । राजनीतिक सिद्धान्त र विचारधाराभन्दा माथि उठेर उहाँले सदैव मानवीय भावनाले राजनीति गर्नुभयो । उहाँको राजनीतिको दायरा फराकिलो थियो । साथै, कांग्रेसको राजनीतिक दायराभन्दा माथि उठी जीवनपर्यन्त राष्ट्रिय दृष्टिकोण राखेर राजनीति गर्नुभयो ।

प्रदीप गिरिसँग मेरो पहिलो भेट २०३० वैशाखमा बनारसमा भएको थियो । म धरानबाट साहित्यिक पत्रिका ‘दौातरी’ प्रकाशित गर्न भारतको बनारस गएको थिएा । त्यसबेला पूर्वबाट स्तरीय प्रकाशनका निम्ति बनारस जाने प्रचलन थियो । प्रदीप दाइ त्यस समय बनारसको चर्चित स्थान गदौलियामा आनन्देश्वर मुद्रणालय सञ्चालन गरेर बस्नुभएको रहेछ । उहाँको जीवनमा प्रेस सञ्चालन, राजनीतिक साहित्यको प्रकाशन अभिन्न भएर रहेको छ । उहाँले प्रेसको त्यो कार्यालयलाई पार्टीको राजनीतिक साहित्य प्रकाशन गर्नु र प्रेसलाई माध्यम बनाएर त्यस समय राजनीतिक निर्वासनमा बसेका तथा नेपालबाट गएका कांग्रेसका कार्यकर्ताहरुसँग भेटघाट, विचार–विमर्श र छलफलको केन्द्र बनाउनुभएको थियो ।

एकजना कांग्रेस मित्रले मलाई त्यो प्रेसमा पुर्‍याउनुभयो र प्रदीप दाइसँग परिचय गराउनुभयो । उहाँको व्यक्तित्वबारे मलाई अगाडिदेखि नै जानकारी थियो । त्यो समय २६ वर्षका मात्र युवा बौद्धिक, तर्कशील प्रदिप गिरिको व्यक्तित्वबाट म तत्कालै अत्यन्त प्रभावित भएँ । २०३० वैशाखमा उहाँको बनारसस्थित प्रेसमा परिचय भएर आरम्भ भएको हाम्रो मित्रता समयसँगै प्रगाढ हुँदै जीवनपर्यन्त कायम रह्यो । म सदैव उहाँको चुम्बकीय बौद्धिक, राजनीतिक व्यक्तित्वबाट प्रभावित र आकर्षित भइरहेँ । हाम्रो मित्रता र सम्बन्धमा उहाँले एक अभिभावक र एक ज्येष्ठ भ्राताका रुपमा मलाई जुन स्नेह र प्रेम दिनुभयो त्यो अतुलनीय र अवर्णातीत छ । ५० वर्ष लामो उहाँ र मेरो राजनीतिक सहयात्राको व्याख्या यो लेखमा सम्भव छैन, त्यसको अलग रोमाञ्चक दस्तावेज वा लिखत हुनेछ ।

बनारसमा निर्वासित जीवनमा बस्दा, रहँदा त्यहाँका भारतीय समाजवादीहरु प्रदीप दाइको डेरामा आइरहन्थे । उनीहरुले उहाँका धाराप्रवाह तर्क र राजनीतिक विश्लेषण मन्त्रमुग्ध भएर सुन्ने गरेको मैले देखेको थिएा । यस्ता भेटघाटमा बनारस हिन्दु विश्वविद्यालय छात्र युनियनका तत्कालीन सभापति देवव्रत मजुमदार, समाजवादी युवानेता आनन्दकुमारलगायत अन्य समाजवादी युवा नेताहरु हुने गर्थे । मार्क्सवाद र समाजवादको उहाँ कुशल अध्येता र व्याख्याकार हुनुहुन्यो । भारतीय समाजवादी नेताहरु विशेषगरी डा. रामनोहर लोहिया, आचार्य नरेन्द्रदेव, जयप्रकाश नारायणबाट उहाँ बढी प्रभावित हुनुहुन्थ्यो । पाश्चात्य समाजवादीहरुमा बढी रोजा लक्जम्बर्गको उहाँले अध्ययन गर्नुभएको थियो ।

उहाँको निधनबाट कांग्रेसभित्र उचाइ भएको बौद्धिक राजनीतिज्ञ र देशकै कुशल राजनीतिक विश्लेषकको अस्त भएको छ । वर्तमान संवेदनशील भूगोलको राजनीतिमा उहाँ पहाड र मधेसको भावनाको सेतु वा पुल हुनुहुन्थ्यो । कांग्रेसभित्र बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुवर्णशमशेर, महेन्द्रनारायण निधि, सीके प्रसाईंले प्रारम्भ गर्नुभएको मूल्य, मान्यता, निष्ठा र त्यागको लोकतान्त्रिक समाजवादी दीपलाई उहाँले निरन्तर जीवनको अन्तिम घडीसम्म प्रज्वलित गरेर आफ्नो चुनौतिपूर्ण दायित्व पूरा गर्नुभयो । अब भविष्यको कांग्रेसभित्र यो लोकतान्त्रिक समाजवादी मूल्य, मान्यता, निष्ठाको राजनीतिक दियोलाई अझ प्रखररुपमा प्रज्वलित गर्दै अगाडि बढाएर लैजानुपर्ने कांग्रेसभित्रका इमान्दार, निष्ठावान युवा नेता र कार्यकर्तालाई यो चुनौतीपूर्ण दायित्व र कर्तव्य आफ्ना सम्मुख उपस्थित भएको छ । अन्त्यमा, भदौ ६ गते कान्तिपुर दैनिकले उहाँप्रति श्रद्धाञ्जली प्रकट गर्दै अतिरिक्त पृष्ठ प्रकाशित गरेर उहाँलाई ‘प्रखर दीप’ को उपयुक्त विशेषण दिएजस्तै नेपाली समसामयिक राजनीतिका प्रखर दीप प्रदीप दाइको आत्मको चीरशान्तिको कामना गर्दै हार्दिक श्रद्धासुमन प्रकट गर्दछु ।

(लेखक राजनीतिशास्त्रका प्राध्यापक हुन् ।)

प्रकाशित : भाद्र १६, २०७९ १४:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?