१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

प्रदीप गिरी : नयाँ पुस्ताले गर्व गर्ने पुरानो नेता

प्रदीप दाइ सत्ता नै शक्ति हो भन्ने आम बुझाइलाई अस्वीकार गर्ने नेता हो । उहाँमा कुनै पदीय लालसा थिएन । उहाँ विचारको नेता हो, सत्ता शक्तिप्रति कुनै आकांक्षा थिएन ।
प्रदीप पौडेल

हामी विद्यार्थी राजनीतिमा आउँदै गर्दा प्रदीप गिरि प्रखर वक्ताको रुपमा चर्चित हुनुहुन्थ्यो । विस्तारै उहाँलाई पढ्ने र सुन्नेक्रम भयो । उहाँलाई मैले नजिकबाट चिन्ने अवसर चाहिँ २०६२/०६३ को जनआन्दोलनताका मात्रै पाएँ । आन्दोलनप्रति प्रतिबद्ध एउटा नेता, जो आन्दोलनको मुद्दाको वर्तमान र भविष्यबारे चिन्तित छ, र त्यसको नेतृत्व नयाँ पुस्ताले गर्नुपर्छ भनेर प्रोत्साहन गरिरहेको छ । 

प्रदीप गिरी : नयाँ पुस्ताले गर्व गर्ने पुरानो नेता

प्रदीप दाइ त्यही व्यक्ति हो, जसले मैले चिन्दादेखि नै युवालाई अगाडि सार्न सधैँ उत्साहित हुनुभयो । युवा पुस्ताप्रति विश्वास र भरोसा थियो उहाँमा । गणतन्त्रका लागि हामी आन्दोलनमा थियौँ, प्रदीप दाइले पनि कांग्रेसमा युवाहरू को–को छन् भनेर खोजी गरिरहनुभएको रहेछ । त्यहीबेला म उहाँको नजरमा परेको थिएँ । तर, धेरै लामो समय उहाँसँग काम गर्ने मौका मिलेन । उहाँसँग एकपटक भेट भयो, त्यसपछि म केही समय कस्टडीमा परेँ । त्यसपछि आन्दोलनका क्रममा भित्र-बाहिर भइरह्यो । नजिकमा बसेर धेरै कुरा सुन्न पाइएन ।

त्यो बेला उहाँ नेपाली कांग्रेस प्रजातान्त्रिकमा हुनुहुन्थ्यो । उहाँकै कारण नेपाली कांग्रेस प्रजातान्त्रिक पार्टीको नेतृत्वमा समावेशीकरणको मुद्दा लागू भएको कुरादेखि ०६२/०६३ को आन्दोलनमा विभिन्न मुद्दाहरूको उठान, युवालाई प्रोत्साहन र सहभागितासम्मले उहाँ व्यवहारमै समाजवादी र सधैँ भुइमान्छेको पक्षधरता लिने नेता हो भनेर चिनायो । आन्दोलनको अन्तिमतिरबाट म उहाँहरूसँग नजिक भएर काम गर्ने समेत मौका पाएँ ।

पछि पार्टी एकता भयो । हाम्रो पुस्ता पार्टीमा जे जस्ता एजेण्डा उठाउन चाहन्थ्यो, प्रदीप गिरी र नरहरि आचार्यहरूले पार्टीमा त्यो मुद्दालाई नेतृत्व गर्नुहुन्थ्यो । लगत्तै नेपाल विद्यार्थी संघको केन्द्रीय महाधिवेशन नजिकियो । त्यो बेला प्रदीप दाइले मलाई गणतन्त्र, समानुपातिक समावेशीकरण जस्ता मुद्दा उठाएर महाधिवेशनमा जान प्रेरित गर्नुभयो । म नेविसंघको महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएँ । प्रदीप दाइहरुकै कारण मेरो जितलाई गणतन्त्रवादीको जितकोरुपमा अर्थ लगाएर खुसी मनाइयो, देशभरि त्यो सन्देश गएको थियो ।

उहाँ प्रखर समाजवादी चिन्तक, राजनीतिज्ञ, र कुशल वक्ता पनि । विश्वविद्यालय र कलेजहरूमा नेपाली कांग्रेसका विषयमा मात्रै होइन, कम्युनिस्ट राजनीति र मार्क्सवादकै विषयमा पनि वक्ताको खोजी हुने बित्तिकै उहाँको नाम आउँथ्यो । म नेविसंघको अध्यक्ष हुँदा अखिलका साथीहरूले धेरै पटक उहाँलाई कार्यक्रममा बोलाइदिनुस् भनेर आग्रह गर्थे । खास गरी शैक्षिक भनौँ वा साहित्यिक वा खास राजनीतिक विषयहरूमै किन नहोस्, बौद्धिक विलास गर्न, छलफल गर्न रुचि हुनेहरूका लागि उहाँलाई भेटौँ भन्ने हुटहुटी हुने कुरा स्वभाविकै हुन्थ्यो ।

म नेविसंघको अध्यक्ष भइसकेपछि प्रदीप दाइसँग थप निकटता भयो । पहिलेको सम्बन्धमा अझै प्रगाढ बनाउने र वैचारिकरुपमा उहाँबाट प्रशिक्षित हुने रहर पनि थियो । त्यही बेला म उहाँको आश्रममा पनि पुगेको छु । उहाँ विचार व्यक्त गर्ने मात्रै होइन, त्यसलाई व्यवहारमा नै कार्यान्वयन नै गर्ने मान्छे पनि हो । उहाँले आफू कहाँ पुग्ने हरेक मान्छेलाई तिमी कसरी बाँचेका छौ ? कसरी चलेका छौं भनेर सोजीखोजी गर्नुहुन्थ्यो । त्यो बेलादेखि नै उहाँको संरक्षणमा बाचिरहेका थुप्रै मान्छेहरू थिए, तिनीहरू अहिले पनि छन् ।

उहाँले कसैलाई पनि काखा र पाखाको व्यवहार गर्नुहुन्नथ्यो । सबैलाई समान व्यवहार गर्ने, एकै भेटमा जो कोही होस् उसलाई प्रभावित पार्न सक्ने खुबी उहाँमा थियो । अध्ययनमा उहाँको सबैभन्दा ठूलो लगाव हो । उहाँलाई भेट्न जाने जो कोहीसँग पनि पुस्तकका बारेमा कुराकानी हुन्थ्यो ।

हरेक नयाँ मान्छे भेट्न पुग्दा प्रदीप दाइले त्यसको वैचारिक क्षमता कति छ भनेर जाँच गरिहाल्नुहुन्थ्यो । म पहिलो पटक उहाँलाई भेट्न जाँदा उहाँले पाँच वटा पुस्तकको नाम भनेर पढेका छौ भनेर सोध्नुभयो । पुस्तक पढेको छु भन्ने जवाफ आयो भने त्यो फलानो पेजमा के छ भनेर सोध्नुहुन्थ्यो । मैले चाहिँ त्यो बेला उहाँले नाम भनेका कुनै पनि पुस्तक पढेको थिइनँ । मलाई उहाँले गाली पनि गर्नुभयो । उहाँ अध्ययनशील नहुने मान्छे अबको राजनीतिमा नेतृत्वमा पुग्न सक्दैन भन्ने मान्यता राख्नुहुन्थ्यो । तपाईंका अन्य पक्षहरू राम्रा छन्, तर अध्ययनलाई अलि मजबुत बनाउनुस् भनेर उहाँले फर्किने बेला मलाई पुस्तक दिएर पठाउनुभएको थियो ।

अर्कोपटक भेट्न जाँदा उहाँले त्यही पुस्तकका बारेमा सोधीखोजी गर्नुभयो । उहाँले दिएका पुस्तक नपढेर फेरि उहाँलाई भेट्न पाउने सुविधा थिएन । त्यो बेला नपढ्नेहरूले उहाँलाई दोहोर्‍याएर भेट्न सक्दैनथे ।

फेरि उहाँले भेट हुँदा अध्ययनशील हो भन्ने पर्‍यो भने पुस्तक दिएर, पुस्तक पढ्न लगाएर मात्रै होइन, फोन नै गरेर पनि तपाईंले त्यो पुस्तक पढ्नै पर्ने छ है भनेर सम्झाउनुहुन्थ्यो । मैले लेखेका आर्टिकलहरू पढेर उहाँले फोन गर्ने, थपघट गर्नु, सुधार गर्नुपर्ने कुराहरू सुझाव गर्नुहुन्थ्यो । र असहमतिहरू व्यक्त गर्नुहुन्थ्यो ।

१२ औँ महाधिवेशनपछि म पनि उहाँहरूसँगै केन्द्रीय कार्यसमितिमा भएँ । उहाँले बोल्दा खेरि सधैँ हामी ५–७ जनाको नाम लिनुहुन्थ्यो । कांग्रेसको राजनीतिमा उहाँले सम्भावना बोकेको नेतृत्वका रुपमा गगन थापा, विश्वप्रकाश शर्मा, बद्री पाण्डे, गुरुराज घिमिरे, कल्याण गुरुङ र मेरो नाम लिइरहनुहुन्थ्यो । बाहिर भेट्दा, पढ्दा मात्रै होइन, पार्टीभित्र समेत हाम्रो पुस्तालाई राजनीतिमा प्रेरित गरिरहन, उत्साहित गरिरहन उहाँको जोडबल देखिन्थ्यो ।

हामी कतिपय ठाउँमा भाषण गर्न सँगै हुन्थ्यौँ । म जतिपटक उहाँसँग एउटै मञ्चमा परेँ, उहाँले सधैँ मलाई प्रेरित गर्ने गरी, हौसला मिल्ने गरी नै बोल्नुभयो । मेरोबारे एक दुई ठाउँमा भन्नुभएको मलाई याद छ, प्रदीपसँग मेरो नामपनि मिल्छ, मलाई मनपर्छ पनि भनेर मैले राखेका तर्कहरूलाई व्याख्या गरिदिनुहुन्थ्यो । नयाँ पुस्तालाई सधैँ प्रोत्साहन गरिरहने उहाँको स्वभाव थियो । उहाँमा इगो, इर्ष्याभाव वा लोभलालच जस्ता कुराहरू मैले चाँहि कहिल्यै महसुस गरिनँ ।

राजनीतिमा लागेपछि कार्यकर्ताले गैरकानुनी कामहरू समेत नेताले गरिदिनुपर्ने आशा राखेर आउने हुन्छ । कतिपय नेताले त्यस्ता कुरामा भोटको राजनीति गर्न दबाब दिने, मिलाइदिन्छु भनेर आश्वासन दिने गरिरहेका हुन्छन् । तर, प्रदीप दाइ कहाँ कसैले त्यस्तो काम लिएर जाने हिम्मत गर्ने अवस्था थिएन । उहाँले यदि कोहीले त्यस्तो काम लिएर आयो भने पनि उसलाई फेरि राम्रै कामको लागि पनि आउन नसक्ने गरी गाली गरेर पठाइदिनुहुन्थ्यो । तर, जसलाई वास्तवमै आवश्यक सहयोग चाहिएको हुन्छ, त्यस्ता मान्छेहरूलाई पार्टी हेरेर वा आफूलाई मतदान गर्ने मतदाता हो वा होइन भन्ने कुरालाई आधार नबनाएरै सहयोग गरिदिनुहुन्थ्यो ।

म नेविसंघको अध्यक्षको रुपमा उहाँको प्रिय भएँ, उहाँले मलाई एकदमै धेरै माया गर्नुहुन्थ्यो । ०६७ सालको १२ औँ महाधिवेशनको बेलामा म केन्द्रीय सदस्य चुनाव लडेको थिएँ । उहाँ पनि उम्मेदवार हुनुहुन्थ्यो । तर, मैले उहाँले आफ्ना लागि मत माग्नुभएको देखिनँ । भोट माग्ने क्रममा उहाँ पनि लाइनमा आउनुभयो, त्यो बेला छेऊमा मधेसबाट आएका प्रतिनिधिहरू थिए । उहाँले मलाई देखाएर भन्न थाल्नुभयो, ‘इसको पहिचान्ते हो ? ये छोटे प्रदीप हे । ये कंग्रेसका भविष्य हे । यसको मत देना हँ । बरू मेरेको नही देना, यसको देना ।’

उहाँले त्यसै गरी मेरा लागि करिब ४५ मिनेट लाइनमा उभिएर भोट मागिदिनुभएको थियो । खास गरी मधेसबाट आएका प्रतिनिधिहरूसँग भाषाको समस्याको कारण पनि म त्यति धेरैसँग जोडिएको थिइनँ । तर, उहाँले मधेसी लवजमै मेरा लागि भोट मागिदिनुभयो । यद्यपि म त्यो महाधिवेशनमा २९ मतले पराजित भएँ ।

१३ औँ महाधिवेशनमा फेरि त्यस्तै गर्नुभयो । उहाँले पाँचौँ मत ल्याएर विजयी हुनुभयो, म छैठौँ भएको थिएँ । त्यो बेला निर्वाचन समितिले परिणाम सार्वजनिक गर्दा पाँचौँ उसलाई बनाएर मलाई छैटौँ बनाउन मिल्दैन ? भनेर सोध्नुभएको थियो । ती दुवै महाधिवेशनमा उहाँले भोट मागेको देखिनँ । तर उहाँलाई महाधिवेशन प्रतिनिधिहरूले खोजी खोजी भोट हालेको देखेँ ।

उहाँलाई पार्टीको महामन्त्री वा सभापति हुनु थिएन । वास्तवमा उहाँको जीवनशैली नै अत्यन्तै सरल थियो । उहाँको आश्रममा पुग्दा उहाँले खाएको कुराहरू देखेर म अचम्मित भएको थिएँ । प्रदीप गिरीले पनि यस्तो खानेकुरा खालान् र ? भनेजस्तो अवस्था थियो । धेरै शक्ति सञ्चय गर्ने, शक्ति अभ्यासमा मनोरञ्जन गर्ने वा विलासिताको जीवन जिउने कुरामा उहाँलाई कहिल्यै उद्दत भएको देखिएन ।

उहाँ सधैँ भुइ‌ँमान्छेको पक्षमा उभिनुहुन्थ्यो । किसानको, भूमिहीनको, महिला, दलित र सीमान्तकृत समदुायको विषयमा उहाँ प्रष्ट उभिएर बोलिदिनुहुन्थ्यो । ती समुदायले अहिलेको संविधानमा अधिकार पाउने कुरामा उहाँको निकै ठूलो योगदान छ ।

प्रदीप दाइ प्रत्यक्षभन्दा धेरै पुस्तक, पत्रिकाका लेख र सञ्चारमाध्यमहरूमै भेटिने व्यक्ति हो । त्यसरी सञ्चारमाध्यममा आउँदा पनि उहाँको खाली एउटा मसला मात्रै होइन, एकदमै पठनीय, सैद्धान्तिक र गहिरो ज्ञानमुलक सामाग्रीहरू हुन्थे । त्यसैले मैले चाँहि उहाँलाई भेटेर भन्दापनि सञ्चारमाध्यममा पढेर आफूलाई दीक्षित गरेको हुँ ।

पछिल्लो पटक ‘फरकधार’ अनलाइनले मेरो निरन्तर भिडियो सिरिज गरेको थियो । मैले ‘कांग्रेस पुनर्जागरणको बहस’ बारे बोलेको थिएँ । प्रदीप दाइले सामाजिक सञ्जालमा एउटा भिडियो हेर्नुभएछ, त्यसपछि उहाँले मलाई बोलाउनुभयो । र, त्यही भिडियो मलाई देखाएर उहाँले यी कुरा त सबै मसँग मिल्दा जुल्दा छन् । तपाई मसँग धेरै संगत गरेको मान्छे त होइन, तर तपाई त मेरो बाटोमा आउनुभयो, मेरोमा बाटोमा हिड्न लाग्नुभयो, यस्तो किन ? भनेर सोध्नुभयो ।

मैले म तपाईंका कुरा सुन्न तपाईलाई भेट्नै पर्ने अवस्था छैन, पढेर थाहा हुन्छ भनेँ । उहाँले यो बाटो असाध्यै कठिन छ । यो बाटोमा समर्पण र त्याग चाहिन्छ, तपाईंहरू अघि बढ्नुस्, म साथै छु भन्नुभएको थियो ।

त्यसपछि हामीले देशव्यापी प्रशिक्षण कार्यक्रम गर्ने अवधारणा बनाएका थियौँ । उहाँ सहमत पनि हुनुहुन्थ्यो । त्यसकालागि केही लिखित दस्तावेजहरू बनाउने र ती सामाग्रीहरूसहित प्रशिक्षणमा जाने भन्ने तयारी थियो । तर, त्यो काम पूरा हुन सकेन । उहाँ बिरामी भएपछि त्यसको तयारी अघि बढाउन सकिएन ।

प्रदीप दाइ सत्ता नै शक्ति हो भन्ने आम बुझाइलाई अस्वीकार गर्ने नेता हो । उहाँमा कुनै पदीय लालसा थिएन । उहाँ विचारको नेता हो, सत्ता शक्तिप्रति कुनै आकांक्षा थिएन । उहाँ चाहेको भए पटक पटक मन्त्री र उपप्रधानमन्त्री बन्न सक्नुहुन्थ्यो होला । तर, त्यो उहाँ आफैँले चाहनुभएन । उहाँले सधैँ प्रश्न गर्नुभयो, चाहे त्यो पार्टीमा होस् वा चाहिँ सत्तामा होस्, उहाँले सधैँ प्रतिपक्षीको कित्तालाई प्यारो बनाएर बस्नुभयो । यतिसम्म कि नेपालको संविधान २०७२ मा फरक विचार राखेर नेपाली कांग्रेसको हृवीप नमानेर हस्ताक्षर गर्ने नेता उहाँ नै हो । आज निमुखा, गरिब र सर्वसाधारण जनताको पक्षपाती बनेर, कुनै लालसा र स्वार्थ बिनै प्रश्न गरिरहने एउटा नेता नेपाली राजनीतिले गुमाएको छ, नेपाली समाजले गुमाएको छ । हुन त नेतृत्व समयले जन्माउने हो, तर प्रदीप गिरि जस्तो विलक्षण प्रतिभा फेरि कहिले, कसरी जन्माउने हो ? हाम्रो कल्पना क्षेत्रको कुरा होइन ।

उहाँको निधनसँगै नेपाली कांग्रेसमा एउटा वैचारिक धारको व्याख्याताको अभाव भएको छ, रिक्तता सिर्जना गरेको छ । वास्तवमा प्रदीप गिरि नयाँ पुस्ताप्रतिको विश्वास र त्याग भएको नेता हो । पुराना पुस्ताका नेतामध्ये पछिल्लो पुस्ताले उहाँमाथि गर्व गर्छ । म र मेरो पुस्तामात्रै होइन, अहिलेको तन्नेरी पुस्ताले समेत उहाँलाई माया गर्छ, र रुचाउँछ ।

प्रकाशित : भाद्र ९, २०७९ १९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?