कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बन्द भयो पाठशाला

उहाँसँग भइनँ, कहिल्यै उहाँले मलाई आशीर्वाद दिनुभएन तर म उहाँसँग कहिल्यै टाढा भइनँ
किरण यादव

प्रदीप गिरी सच्चा समाजवादी नेता हुनुहुन्थ्यो । सीमित घेराभित्र बस्न नरुचाउने, अहिलेको राजनीतिक लुछाचुँडीबाट माथि उठेका अग्ला नेता हुनुहुन्थ्यो । पद र लाभको ठाउँबाट टाढा रहनुभयो । अरू बोल्छन्, उहाँले आफ्नो जिन्दगीमै सादा जीवन, उच्च विचार अपनाउनुभयो । मनमा लागेको कुरा भित्र नराख्ने, बाहिर निकाल्ने बानी थियो । अघि बसिरहेकाले के सोचिरहेका छन्, त्यता ध्यान जाँदैनथ्यो, मनमा लागेको कुरा गर्नुहुन्थ्यो । पार्टीमा सम्भावना भएका नेताहरूलाई माया देखाउने, अघि बढाउन सिफारिस गर्ने गर्नुहुन्थ्यो । मलाई पनि ‘अघि बढ्नुपर्छ, तिमी गर्न सक्छौ’ भनेर बारम्बार प्रोत्साहन गर्नुहुन्थ्यो । पार्टीमा कसरी युवालाई नेतृत्व हस्तान्तरण गर्ने भन्नेमा उहाँको चिन्ता थियो ।

बन्द भयो पाठशाला

प्रदीप दाइ वास्तविक धरातलमा बस्न सक्ने नेता हो । अग्रज नेताहरूको निधनपछि उहाँ विचार र जीवन जिउने सवालमा एक्लो जस्तो हुनुहुन्थ्यो । समकालीन नेतामा उहाँको जोडी नै कोही छैन जस्तो लाग्थ्यो । बिरामी भएपछि नै हामीले उहाँको अभाव झेल्दै आएका थियौं । मैले ‘तपार्इं समाजवादी स्कुल चलाउनुहोस्, त्यो पाठशालामा हामी सबै पढ्न आउँछौं’ भनेकी थिएँ । पछि गम्भीर ढंगले अघि बढाउने सोच थियो । सोच्दासोच्दै हामीलाई छाडेर जानुभयो । यसले कांग्रेसलाई मात्रै होइन, देशकै लागि ठूलो क्षति पुगेको छ । यति चाँडै बित्नुहुन्छ भन्ने हामी कसैले चिताएका थिएनौं ।

संसद्मा बोल्दा होस् वा पार्टीमा, उहाँ बोल्ने क्रममा शान्त हुन्थ्यो । कांग्रेस, कम्युनिस्ट सबै सांसद मग्न भएर सुन्थे । लबीमा भएका सांसद र नेताहरू पनि प्रदीप दाइले बोल्दा भित्र पस्थे । सम्पूर्ण सांसदको ध्यान खिच्न सक्ने क्षमता थियो । कुनै पनि कम्युनिस्ट नेताभन्दा राम्रो गरी मार्क्सवादको कुरा गर्नुहुन्थ्यो । हामी संसद्मा हुँदा, हाम्रो समय पनि प्रदीप दाइले लिनुहोस्, धाराप्रवाह बोलिरहनुहोस् भन्ने जस्तो लाग्थ्यो । उहाँले पार्टीभित्र समावेशितालाई जोड दिनुभयो । मधेसको मागलाई लिएरै उहाँले संविधानमा हस्ताक्षर गर्नु भएन । पार्टीको ह्विपसमेत मान्नु भएन तैपनि उहाँमाथि कसैले कारबाहीको विषय उठाएन । किनकि उहाँले विवेकको कुरा गर्नुभएको थियो । उहाँको तर्कलाई खण्डन गर्न सक्ने कुनै नेता हुन्थेन । युवालाई अघि बढाउन त्यस्तै प्रोत्साहन दिनुहुन्थ्यो । पार्टीभित्र होस् वा बाहिर बोल्दा, युवालाई अघि बढाउन नेतृत्वलाई बारम्बार दबाब दिनुभयो ।

उहाँ कांग्रेसभित्र पनि पार्टी सभापति प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा हुनुहुन्थ्यो । तर, कहिल्यै गुटको कुरा बोल्नु भएन । नेताको चाकडी र जबर्जस्ती समर्थनको कुरा गर्नु भएन । मलाई सम्झना छ, गिरिजाप्रसाद कोइराला संसदीय दलको नेता हुँदा उहाँले धेरै कुरामा विमति राख्नुभएको थियो । निर्णय भइसकेपछि उहाँ मौन बस्नुभयो । जस्तो, संविधान जारी गर्दा उहाँ उपस्थित हुनु भएन । तर, जारी भइसकेपछि किन अनुपस्थित भए, संविधानले के दिन सकेन भन्ने जस्ता सवालमा उहाँले कहिल्यै बोल्नुभएन । संविधानलाई स्विकारेर नै अघि बढ्नुभयो ।

केन्द्रीय कार्यसमितिमा एकोहोरो कसैलाई साथ दिनुभएन । मनमा लागेको विवेकको कुरा बोल्दै जानुभयो । पार्टीको १३ औं महाधिवेशनको अन्त्यतिर पार्टी केन्द्रीय समितिमै अबको सरकारमा महिलाहरूलाई पठाऔं, महिलालाई अघि बढाऔं भन्नुहुन्थ्यो । महिलालाई पार्टी र सरकारको जिम्मा दिनुपर्छ भनेर उहाँले पटक–पटक बोल्नुभएको छ । समयको गतिलाई चिन्ने, समाजको एजेन्डालाई समात्न सक्ने ‘डाइनामिक’ नेता हुनुहुन्थ्यो । पुरानो नेतृत्वले ‘तिमीहरूलाई अघि जान दिन्न, छेकेर बस्छ’ भनेर नेतृत्व विकासका कुरा गर्नुहुन्थ्यो । आफैं कार्यकारी ठाउँमा जाऊँ भन्ने कहिल्यै रहेन । राजनीतिलाई परिवर्तन गर्ने अभियानमा एक्लो हुनुहुन्थ्यो । राजनीतिलाई वैचारिक रूपमा अब्बल बनाउनुपर्छ र विचारले मात्रै राजनीतिलाई सही मार्गमा डोर्‍याउन सक्छ भन्ने मान्यतामा हुनुहुथ्यो । सिरहाको बस्तीपुरमा आश्रममा जाँदा समाजवादी नेताको चरित्र प्रस्ट देखिन्थ्यो । खाटमा एउटा तन्ना मात्रै ओछ्याएर घण्टौं पढ्ने, लेख्ने काम गर्नुहुन्थ्यो । अहिलेका युवाले प्रदीप दाइबाट यी कुराहरू सिक्नुपर्छ । जनताका लागि काम गर्ने भन्छौं, देशका लागि काम गर्ने भन्छौं तर हामीहरू के गरिरहेका छौं भन्ने थाहा छैन । तर, प्रदीप दाइले बाटो देखाइदिनुभएको छ । पार्टीभित्र विचार निर्माण गर्ने नेता हुनुहुन्थ्यो । उहाँले बोलेका कुराले पार्टीमा तरंग पैदा गर्दथ्यो । देशलाई समृद्धितिर लैजान उहाँले अर्थ नीतिका धेरै चर्चा गर्नुहुन्थ्यो । कांग्रेसभित्रको झगडामा भने उहाँ फस्नु भएन । अन्धभक्त भएर कतै कहिल्यै बस्नु भएन । पार्टीभित्रका सम्भावित नेतालाई जुन गुटमा भए पनि अघि बढाउन उहाँ लाग्नुहुन्थ्यो । त्यो नै उहाँको खुबी थियो । अहिलेका नेताहरूले उहाँबाट सिक्नुपर्छ । पहिला तहका नेताहरू राजनीतिमा रहने अब धेरै समय छैन । दोस्रो र तेस्रो पुस्ताले धेरै कुराहरू सिक्नुपर्छ । अब हामीमा प्रदीप दाइ जस्तै उचाइ भएको नेता छैन । उहाँ एउटा व्यक्ति नै हाम्रा लागि खुला पाठशाला हुनुहुन्थ्यो । अब त्यो पाठशाला बन्द भएको छ । उहाँले देखाएको पाठशालालाई अघि बढाउने जिम्मेवारी अब हामीहरूको काँधमा छ ।

(पूर्वसांसद यादवसँग संवादमा आधारित)

प्रकाशित : भाद्र ६, २०७९ ०९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?