कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जलविद्युतले नै बनाउँछ नेपाल समृद्ध

बहादुरसिंह लामा

काठमाडौँ — नेपालको विकास कसरी गर्ने भन्ने सन्दर्भमा अनेक तर्क र सिद्धान्तहरू सुन्ने गर्छौँ हामी । कोही कृषिमार्फत देशको मुहार फेर्ने कुरा गर्छन् त कोही देशमा कलकारखाना नखोलिएका कारण देश अधोगतिमा गएको कुरा गर्छन्। कोही भने पर्यटनमार्फत नेपालले समृद्धि हासिल गर्ने कुरा गर्छन् । र, पर्यटनका लागि तत्कालै विशाल एयरपोर्ट र अत्याधुनिक रेललगायतका महंगा पूर्वाधार भन्ने जिरह पनि गर्छन्।

जलविद्युतले नै बनाउँछ नेपाल समृद्ध

तर विकासका बहस गर्नेहरूले आर्थिक स्रोतको व्यवस्थापन या पूँजी निर्माणबारे भने ख्याल दिएको पाइन्न। तर देशको विकासको पहिलो सर्त नै पूँजी निर्माण हो। ‘विकास छिटो चाहियो’ भनेर चिच्याएर विकास हुँदैन, त्यसका लागि स्रोत चाहिन्छ, पूँजी चाहिन्छ।

नेपालको सन्दर्भमा पूँजी निर्माणको सबैभन्दा सहज तरिको हो–जलविद्युत। हामीले जलविद्युतका परियोजनाहरू बनाउन सक्यौँ भने त्यहाँबाट नै पूँजी निर्माणको दरिलो बाटो बन्छ। पर्याप्त बिजुली उत्पादन गरेर भारतलाई बेच्न सकियो भने हाम्रो देशले छिटै आर्थिक समुन्नति हासिल गर्छ। जब राज्यसँग पर्याप्त पूँजी हुन्छ, त्यसपछि शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा र पुर्वाधारमा लगानि गर्न सकिन्छ।

हाइड्रोपावर हाम्रा लागि पूँजी निर्माणको सबैभन्दा राम्रो स्रोत किन पनि हो भने बर्खायाममा पानीको बहाव धेरै हुने भएकाले हाम्रा जलविद्युत प्लान्टहरूले त्यस समयमा धेरै मात्रामा बिजुली उत्पादन गर्न सक्छ। जबकि बर्खायाम/गर्मीयाममै भारतमा बिजुलीको माग अत्याधिक हुन्छ। हामीले बढी बिजुली उत्पादन गर्न सक्ने याममै भारतका अधिकांस स्थानमा चर्को गर्मी हुन्छ। गर्मीबाट बच्न उनीहरूले पंखा, एसी, पानी तान्ने मोटर र फ्रिजलगायत विद्युतीय उपकरणहरू धेरै मात्रामा चलाउने गर्छन्।

अहिले अर्थात् बर्खायाममा नेपालबाट भारतमा लगभग नेपाली रूपैयाँ प्रतियुनिट बिजुली बेच्ने गरी सम्झौता गरिएको छ। अहिले पनि सानै स्केलमा भए पनि बिजुली बेचर नेपालले भारतबाट आम्दानी गरिरहेको छ। तर हिउँदका बेला जब हाम्रा विद्युतीय प्लान्टका रिर्जभायरहरूमा जतिखेर पानी कम हुन्छ, त्यतिखेर भारतमा बिजुलीको माग पनि कम हुन्छ। बर्खायाममा हाम्रा खोलाहरूमा पानी धेरै हुन्छ र हामीले धेरै बिजुली उत्पादन गर्न सक्छौँ। त्यति नै खेर भारतमा विद्युतको माग पनि बढी हुन्छ। र, भारतसँगको व्यापार र नाफाका हिसाबले बिजुली नै त्यो सुन हो, जसबाट हामीले मनग्य पैसा कमाउन सक्छौँ। र, पुँजी निर्माणको यो नै सबैभन्दा राम्रो उपाय हो हाम्रा लागि।

‘कृषिमा यसो गरौँला, फ्याक्ट्री खोलौँला, पशुपालनबाट कमाउँला’ भन्ने कुरा हाम्रा लागि टिकाउ छैन। हाम्रो बजार पनि सानै छ। हामीले ठूलो ईकाइमा सामान र अनाज उत्पादन गरेर सहज ढंगमा अरु देशलाई बेच्न सक्दैनौँ। उत्पादित वस्तुलाई सहजै विश्वबजारमा बेच्न हाम्रो भूगोलले पनि दिएको छैन।

परम्परागत खेतीको कुरा गरौँ, पहिले पहिले एक पाथी धान दिएपछि एक हल गोरु आउँथ्यो। पछि एक पाथी धान तिरेर एउटा लाठे आउने समय आयो। र, अहिले एक पाथी धान दिएर पाइने हल गोरु र लाठेको लागत मूल्य ३ देखि हजारसम्म पर्ने अवस्था आयो। तर आजका दिनमा ३ हजार रुपैयाँ तिर्दा त २६ देखि २७ पाथी धान आउने रहेछ। भनेपछि एक दिनका लागि एक हल गोरुको मूल्य ‘२७ पाथी धान’ हुन गयो। यसो भएपछि धान खेती गर्ने किसानले कसरी नाफा गर्ने? सोही कारण मान्छेहरूले अचेल कृषि कर्म गर्नै छाडे।

पहिले धान, मकै र घैया उब्जने खेतबारीहरू अचेल जताततै बाँझो देखिन छाडे। तर यस्तो अवस्थामा पनि आम नेपालीहरू जसोतसो बाँचेकै छन्, वैदेशिक रोजगारीका कारण। बजारबाट अनाज किनेर ल्याएका छन्। र, त्यसो हुँदाहुँदै पनि कतिपयले परम्परा धान्नकै लागि खेती गरेका छन्। ‘खेतबारी बाँझो राख्दा राम्रो देखिन्न’ भनेर आत्म सन्तुष्टीकै लागि मात्र जर्बजस्ती खेती गरेका छन्।

र, कृषकले आजका दिनमा मल र बिउ पनि पनि समयमा पाउन सकेको छैन। यस्तोमा नेपालमै मल फ्याक्ट्री खोल्ने कुरासमेत उठेको छ। तर विदेशी मेगा कम्पनीहरूसँग प्रतिस्पर्धा गर्न नसकेको अवस्थामा हामीले मल फ्याक्ट्री नै खोलेपनि मलको उत्पादन लागतका कारण हामीले उत्पादन गर्ने मलको मूल्य बढ्छ। थोरै परिमाणमा उत्पादन गरेपछि लागत बढ्नु स्वभाविक पनि हो।

विदेशी मलखाद कम्पनीहरूले एक लटमा एक लाख मेट्रिक मल उत्पादन गर्छन्। मार्केट पनि ठूलो छ उनीहरूको। अत: ठूलो लागत र ठूला मेसिनहरू ल्याएर मल उत्पादन गर्ने कुरा हामीलाई सहज छैन। सानो बजार भएका कारण मल उत्पादन पनि फेरि घाटाको व्यवसाय हुन जान्छ हामीलाई ।

यसर्थ, आजको अति उत्पादनशील र प्रतिस्पर्धात्मक बजारमा बिउ र मलको व्यवस्थाप नै चेपिलो बन्छ हाम्रा लागि। खुला बजार भएका कारण अर्बौँ डलर लगानीमा खुलेका विदेशी कृषि फार्महरूले हामीले उत्पादन गरेभन्दा सस्तोमा अनाज बेच्न थाले। भारतको ठुलो कृषि बजार नजिकै भएका कारण उसँग पनि हाम्रा साना स्केलका कृषिले प्रतिस्पर्धा गर्न सक्ने अवस्था रहेन।

त्यसकारण दिगो विकासको दृष्टिकोणबाट हेर्ने हो अब कृषिले समुन्नती प्राप्त गर्ने कुरा एकदमै कठिन छ हाम्रा लागि। हातमुख जोर्न धौधौ हुने खालको कृषिले अब देशको विकास सम्भव छैन। नगदे बालीबाट हामीले केही गर्न सकिन्छ कि भन्ने हो तर परम्परागत ढंगको नेपाली कृषि अब हामीलाई काम छैन र तत्काललाई चाहिँ जुनसुकै खालको कृषिले पनि तिव्रतर समृद्धि सम्भव छैन।

त्यसो हुँदा, हामीसँग भएको र भारतलाई चाहिएको एउटै वस्तु छ, त्यो हो विद्युत। भारतलाई तत्कालै दस हजार मेगावाट बिजुली चाहिएको छ। दस हजार मेगावाट बिजुली हामीले उत्पादन गर्न सक्यौँ र त्यसलाई बेच्न प्रसारण लाइन निर्माण गर्न सक्यौँ भने हामी त्यसबाट मजबूत राष्ट्रिय पूँजी निर्माण गर्न सक्छौँ।

र, अर्को कुरा, पर्यटनमार्फत पनि हामीले राष्ट्रिय पूँजी निर्माण गर्न सक्छौँ। संसारका दस ठूला हिमालमध्ये नेपालमा नै ८ वटा भएबाट पनि हामीलाई हिमाललाई क्यापिटलाइज गर्न सक्छौँ। किनकि पर्यटन भनेको देखाएर र सेवा गरेर पर्यटकलाई लोभ्याउने कुरा हो। प्रभावित पार्ने कुरा हो। ‘फेरि पनि यो मुलुकमा आउँ आउँ’ पार्ने बनाउने कुरा हो। र, पर्यटनको आम्दानीलाई ‘हरित आम्दानी’ भनिन्छ। भन्नुको अर्थ, पर्यटनमा उति धेरै वातावरणीय क्षति हुन्न। उति धेरै हरित गृह ग्याँस उत्सर्जन हुन्न यो पेशाबाट।

तर पर्यटनका लागि ट्रेकिङ रूटहरूमात्रै बनाएर भएन, व्यववस्थित पर्यटक आवासहरूमा पनि लगानी गर्न पर्यो। आजका दिनमा केही लगानीकर्ताहरूले होटल र गेष्ट हाउसहरूमा लगानी गरिरहेका छन् । तर यदि हामीले पर्यटन क्षेत्रबाट पूँजी निर्माणको लक्ष्य राख्ने हो भने आजको लगानीले मात्रै पुग्दैन। र, हामीले चीन र भारतलाई मात्रै टार्गेट गर्ने हो भने पनि हामीसँग अत्यन्त धेरै कमाई हुन्छ। तर त्यसका लागि हामीले पर्यटकलाई सम्मान र सेवा त गर्नु नै पर्छ, सँगै भुटानले जस्तै ‘देश छिरेपछि यति खर्च गर्नुपर्ने’ भन्ने खालको कुनै दायरा तोक्नु राम्रो हुन्छ।

भुटानले दिनमा कमसेकम २५० डलर तिर्नेलाई मात्र आफ्नो देशमा पर्यटकका रूपमा निम्त्याउँछ। दिनको २५० डलर खर्च नसक्ने विदेशीलाई उनीहरूले पर्यटकका रूपमै स्वीकार्दैनन्। त्यस खालको कुनै मापदण्ड बनाएर पर्यटनलाई लैजान सकियो त्यसबाट पनि पूँजी निर्माण गर्न सकिन्छ। तर प्रतिदिन निश्चित रकम तिरेर ‘घुमुँघुमुँ’ लाग्ने नेपाल पनि बनाउन पनि पर्यो त्यसका लागि।

अहिले काठमाडौंमा एकैचोटी पाँच हजार पर्यटक भित्रिए भने ती सबैलाई व्यवस्थापन गर्न या खाने –बस्नेको व्यवस्थापन मिलाउनै चुनौतीपूर्ण छ। यस्तोमा होटल, गेस्टहाउस र होमस्टेलगायतको पूर्वाधारमा लगानि पर्याप्त छैन भन्ने बुझिन्छ। र, फेरि पनि पूर्वाधारमा लगानी गर्नका लागि त कसै न कसैसँग पर्याप्त पूँजी आवश्यक हुन्छ। राज्यसँग यदि धेरै पूँजी भयो भने पूर्वाधारमा लगानी गर्नेहरूलाई अनुदान दिएर पनि होटल, गेस्ट हाउस र रिक्रिएसन सेन्टरहरूको निर्माणलाई एक्सलरेट गर्न सकिन्छ। र, माथि नै भनियो, हाम्रो सन्दर्भमा पूँजी निर्माणको सबैभन्दा राम्रो स्रोत हाइड्रो नै हो।

र, सुखको कुरो, अहिले हामीले भारतसँग बिजुली बेच्न थालिसकेका छौँ। तर हामीले अहिलेको परिमाणलाई बढाएर बिजुली बेच्न सक्यौँ भने देशको व्यापार घाटा पनि कम हुन्छ। र, तत्काल पूर्वाधार, सामाजिक सुरक्षा र उद्यमसिलतामा राज्यले लगानी गर्न पाउँछ। अत: अहिले राज्यले अर्जुनदृष्टि लगानुउनुपर्ने क्षेत्र भनेको बिजुली नै हो। बनिरहेका हाइड्रो पावर प्लान्टहरूलाई छिटो सक्ने र प्रसारण लाइनहरू छिटो निर्माण गर्ने हो भने हाइड्रोले नेपालीको भविष्य केही वर्षमै बदल्न सक्छ।

जसरी गल्फलाई पेट्रोलियम पदार्थले धनी बनायो, हामी बिजुलीले धनी बन्न सक्छौँ। किनकी देश धनी बन्दा नागरिकसम्म त्यो समृद्धि पक्कै आइपुग्छ। अत : हामीले बिजुली बेचेर देशलाई समृद्ध बनाउने यो अवसरलाई सदुपयोग गर्नैपर्छ।

प्रकाशित : श्रावण १०, २०७९ १६:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?