कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अनुसन्धानबिनाको पढाइले ढोंगी मात्र उत्पादन गर्छ

मैले नेपालका विश्वविद्यालयमा प्राध्यापक देखेकै छैन । यहाँ कांग्रेस, कम्युनिस्टका प्राध्यापक मात्रै छन्, विद्यार्थीलाई पढाउने, अनुसन्धानमा सघाउने प्राध्यापक छैनन् । 
कमल लामिछाने

१२ वर्षको हुँदासम्म मैले पढ्न पाएको थिइनँ । पहिलो पटक पढ्न थालेपछि मैले शिक्षाको शक्ति अनूभूत गर्न थालेँ । जीवनमा केहीले उज्यालो दिन्छ भने, त्यो शिक्षाले दिन्छ भन्ने महसुस भयो । अपांगताको क्षेत्रमा समावेशी विकास, सामाजिक न्याय, समता निर्माणका लागि शिक्षा अपरिहार्य छ ।

अनुसन्धानबिनाको पढाइले ढोंगी मात्र उत्पादन गर्छ

व्यक्तिलाई अवसर दियो भने शारीरिक भिन्नताहरू बाधक बन्दैनन् भन्ने कुरा मैले पढ्न थालेपछि बुझेँ । मैले स्नातक र पीएचडी जापानमा गरेँ । नेपालमा विद्यावारिधि गर्ने कोही पनि दृष्टिविहीन थिएनन् ।

नेपाल र जापानको शिक्षामा आकाश–जमिनको अन्तर पाएँ । ‘पढाउनु’ भनेको वा अनुसन्धानबिनाको पढाइ अधुरो हुँदो रहेछ । हामीले अहिले ढोंगीहरू धेरै देखिरहेका छौं । अनुसन्धानबिनाको पढाइले ढाँेगीहरूमात्रै उत्पादन गर्दो रहेछ । अध्ययन र अनुसन्धानलाई सँगै अघि बढाउन र ‘एभिडेन्स बेस्ड एड्भोकेसी’ गर्ने गरी काम गर्न सकियो भने त्यसले समाजमा पछि परेकालाई अगाडि ल्याउन मद्दत गर्छ ।

नेपालमा पीएचडी गरेका दृष्टिविहीनहरू नभएकाले म स्वदेश फर्केँ ताकि मबाट अरूलाई प्रेरणा मिलोस् । अवसर दियो भने वा विभेद गरिएन भने सबैले गर्न सक्छन् भन्ने कुरा मैले जापानमा पढेपछि बुझेँ । पछाडि परेका कुराहरूलाई अनुसन्धान गरेर अगाडि ल्याऊँ, तथ्यमा रहेर अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित गरौं भन्ने हुटहुटीले मलाई शिक्षण क्षेत्रमा डोहोर्‍यायो ।

मलाई नेपालमा काम गर्न वा यहाँ केही योगदान पुर्‍याउन मन छ । तर, त्यसो गर्ने वातावरण छैन । आफ्नो स्वाभिमानलाई कायम राखेर काम गर्छु भन्नेलाई यहाँ सजिलो छैन । त्रिविमा प्राध्यापक बन्नलाई प्रधानमन्त्री कार्यालयबाट पहल गर्नुपर्छ । यो कस्तो विडम्बना । प्रधानमन्त्री नै विश्वविद्यालयको कुलपति बन्ने व्यवस्था हाम्रोमा । यो व्यवस्थामा फेरबदल नआएसम्म, विश्वविद्यालयलाई स्वायत्त संस्थाका रूपमा विकसित नगरेसम्म विश्वविद्यालयका बेथिति हट्दैनन् ।

वास्तवमा भन्दा, मैले नेपालका विश्वविद्यालयमा प्राध्यापक देखेकै छैन । यहाँ कांग्रेस, कम्युनिस्टका प्राध्यापक मात्रै छन्, विद्यार्थीलाई पढाउने, अनुसन्धानमा सघाउने प्राध्यापक छैनन् । विद्यार्थीले पढ्न र अनुसन्धान गर्न चाहेका प्राध्यापकको अभाव छ । हामीले त्यस्तोलाई विश्वविद्यालयको कुलपति बनाउने गरेका छौं, जसले लहडमा विश्वविद्यालयलाई ब्यारेक बनाइदिनुपर्छ भन्छन् । यस्तो अवस्थामा हाम्रा विश्वविद्यालय आकर्षणका केन्द्र कसरी बन्न सक्छन् ?

मान्छेहरू हाभर्ड विश्वविद्यालय किन जान खोज्छन् ? अर्थशास्त्रका आधार पढ्न त होइन । ती कुरा जहितहिँ पढाइन्छ, यहाँ हामीले पढाउने कुरा र त्यहाँ पढाइ हुने कुरा उस्तै–उस्तै हुन् । विद्यार्थीले हाभर्ड रोज्नुको कारण नेटवर्क, कनेक्सन र अवसरको ठूलो परिधि हो । त्यहाँ पढ्ने विद्यार्थीलाई जागिर दिन कम्पनीहरू क्याम्पसमै आउँछन् । जापानका विश्वविद्यालयमा पनि त्यस्तै हुन्छ । हाम्रो देशमा पनि उत्तिकै कौशल भएका व्यक्तिहरू छन् । तर, तिनले कौशल प्रस्फुटन गर्ने मौका पाएका छन् कि छैनन् ? यहाँभन्दा धेरै अवसर अन्त छ भन्ने थाहा पाएपछि मान्छे किन यहाँ बस्छ ?

अन्तर्राष्ट्रिय विश्वविद्यालयमा प्रकाशित सोधपत्रहरूसँगको पहुँच हामीसँग छैन । यहाँ सिक्ने र सिकाउने परिपाटी बस्न सकेको छैन । सिकाउने मात्रै हुन्छ, सिक्ने छैन । सिक्नका लागि ढोका बन्द छ । अहिले दुई सय दिन भइसक्यो, विश्वविद्यालयमा ताला लागेको छ । यो ठाउँ साँच्चिकै दक्ष मान्छेहरूका लागि कसरी आकर्षणको केन्द्र बन्न सक्छ ?

अर्को कुरा, विदेशमा गएर पढ्नु खराब होइन । तर, हाम्रो समस्या चाहिँ के हो भने हामी विद्यार्थीलाई विदेश धकेल्न क्रियाशील भयौँ । विदेशमा ज्ञान आर्जन गरेकालाई फर्काएर ल्याऊँ भन्नेमा हाम्रो ध्यान कम छ । ‘मेरो साल नाल नेपालमा छ’ भन्ने भावनाले मात्रै विद्यार्थीलाई स्वदेश फर्काउँछ, अवसर र सम्भावनाले होइन । यहाँका संस्था झकिझकाउन भवन मात्रै छन् । संस्था बनाउने भनेको नीतिमा हो, त्यसको निरन्तरतामा हो ।

यहाँका डिपार्टमेन्ट हेडहरू आफ्नो आर्टिकल नेपालकै जर्नलमा नछापिएकोमा फुलेर बसको मैले देखेको छु । ‘मेरो आर्टिकल रिजेक्ट गर्ने ?’ भन्ने दम्भ छ । दक्ष मान्छेले यस्तो गुनासो गर्दैन, सुधार्नतिर लाग्छ । म दस ठाउँमा आर्टिकल पठाउँछु, नौ ठाउँमा रिजेक्ट भएर एक ठाउँमा प्रकाशित हुन्छ । नौ पटक सुझाव पाएर, आर्टिकल सुधार्न पाएको हुन्छु ।

हाम्रोमा अनुसन्धानको वातावरण छैन । मिडियाले पनि ‘त्रिविका प्राध्यापकले हप्तामा चार पिरियड पढाएर अरु केही गर्दैनन्’ भनेर लेख्दिन्छन् । म पनि जापानमा चार पिरियड मात्रै पढाउँछु । बाँकी समय अर्को–अर्को कलेजमा चरेर हिँड्दिनँ । त्यो सयम अध्ययन, अनुसन्धानमा लगाउँछु । कलेजको स्तरोन्नति कसरी गर्ने भनेर मिटिङ गर्छौं, मिटिङमा बसेबापत् भत्ता खाँदैनौं ।

दृष्टिविहीन व्यक्ति वा अतिरिक्त आवश्यकता चाहिने मजस्ता व्यक्तिका लागि यहाँ केही पनि छैन । आरक्षणले गर्दा अहिले बाध्य भएर केही कोटा छुट्याइदिएका छन् । तर, त्यो कोटामा पनि कस्तो मान्छे आउने ? दक्ष मान्छे आउनुपर्ने हो । आरक्षणमा असक्षमलाई ल्याऊ भनेको होइन । विभेद नभएको भए आरक्षण चाहिँदैन थियो । आरक्षणले केही गरेजस्तो देखिए पनि गुणस्तर सुधार भएको छैन ।

विश्वविद्यालयमा राजनीति हाबी भइरह्यो, कालो मोसो दल्ने क्रम चलिरह्यो भने विदेशमा रहेका दक्ष जनशक्ति कहिले पनि नेपाल आउन चाँहदैनन् । केही साथीहरू मलाई ‘तपाईंजस्ता शिक्षकलाई यहाँ ल्याउनै सकिएन, त्यति तलब पनि दिन सकिँदैन’ भन्नु हुन्छ । त्यो गलत बुझाइ हो । यही वातावरण रहिरह्यो भने मलाई तपाईंले महिनाको २० लाख/३० लाख दिनु भयो भने पनि मैले ‘आउने कि नआउने’ भनेर सोच्नुपर्ने हुन्छ । पैसा होइन, यहाँको मेन्टालिटी, एटिच्युड, साइन्टिफिक इन्टिग्रिटी महत्त्वपूर्ण हो ।

हिजोसम्म त्रिविको उपकुलपति रहेको मान्छे भोलिपल्ट पार्टीको चुनावमा लड्छ, त्यसले विश्वविद्यालयलाई कति योगदान गर्ला ?हामी यसरी माइक्रो लेभलमा हेर्नै तयार छैनौं ।हाम्रो विश्वविद्यालयहरू स्वायत्त भए पनि, सुध्रिए भने विदेशमा बसेका दक्ष जनशक्ति नेपाल फर्किन्छन् ।

–जापानको चुकुबा विश्वविद्यालयका सहप्राध्यापक कमल लामिछानेले कान्तिपुर एजुकेसन समिटमा राखेको विचारको सम्पादित अंश

प्रकाशित : चैत्र १२, २०७८ १९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?