कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गितार बोक्ने प्रिय केटी  

भूपिन

काठमाडौँ — प्यारी गिटार गर्ल
म तिम्रो प्रेममा छु । समयलाई पूर्ण मान्ने कि अपूर्ण ? भन्न गाह्रो छ । तर तिमीलाई युट्युबमा नहेरेका र नसुनेका दिनहरू अचेल अपूर्ण लाग्छन् । यो मेरो लकडाउनको अनिवार्य दैनिकी हो ।

गितार बोक्ने प्रिय केटी  

यसले मलाई लकडाउनका अवसादग्रस्त दिनहरू कटाउन मद्दत गर्छ । कोरोनाको हुरीले निभ्ला कि भन्ने डर भएको जीवनको टुकीमा बाँच्ने उर्जा थपिदिन्छ । म हिलिङ अनुभव गर्छु । तिम्रो अनुहारको निर्दोषपन, गिटारमा चलिरहेका ससाना औँला र प्राकृतिक गायनले मलाई अर्कै दुनियाँमा पुर्‍याउँछ । तिमी डक्टर बन्न चाहन्छौँ होइन? तिमीलाई मेरो हृदयभरिको शुभकामना छ । तर मलाई लाग्छ, तिमी डक्टर बनिसक्यौ । गिटार बोक्ने डाक्टर । तिम्रा गीत र संगीत सुनेपछि दुनियाँका धेरै मानिसलाई झैँ मलाई पनि यस्तै लाग्न थालेको छ । तिमीलाई देखेपछि अचेल मेरा कैयन मानसिक तनावहरू आफसेआफ हटेर गएको अनुभव गर्छु । तिम्रो संगीत मेरा लागि विशेष थेरापी भएको छ ।

गिटार गर्ल, हो म तिम्रो प्रेममा छु। एक पिता छोरीको प्रेममा भएझैँ । मेरो इच्छा छ कि जीवनमा तिमीलाई एकपटक भेटुँ र अङ्गालुँ । तिमीलाई निधारमा चुम्न पाऊँ । तिम्रो पिठ्यूँमा थप्थपाउन पाऊँ । र धन्यवाद भन्न पाऊँ कि तिमीले मलाई अवसादग्रस्त दिनहरूमा मुस्कुराउने अवसर दिएकी छौ ।

‍...

धेरै पहिला मेरो मनमा एक जबर्जस्त सोचको जन्म भएको थियो, हरेक दिन कोही एक सानो बालकलाई अङ्कमाल गर्ने अभियान सुरु गरुँ । मलाई धेरैजसो ठूला मानिसका आलिङ्गनप्रति ठूलो विश्वास छैन । मोह पनि छैन । अहिले पनि मलाई साना आलिङ्गनहरूको कल्पनाले घरीघरी उत्तेजित पारिरहन्छ । म चाहन्छु, जीवनले मलाई साँच्चै यस्तो अवसर देओस् । बालकको पिठ थप्थपाउने र उसको कोमलता स्पर्श गर्ने मौका देओस् । उसको शरीरको गन्ध सुँघेर दिनभरि मग्मगाउने मौका मिलोस् । यसरी हरेक दिन सार्थक बनाउने समय आओस् । यसलाई जीवनभरिकै लागि एक अभियान नै बनाऊँ भन्ने सोचले मलाई प्राय: तरंगित पारिरहन्थ्यो, पारिरहन्छ । अभियानको मोटामोटी नाम सोचेको थिएँ- सानो दिन सानो आलिङ्गन ।

छोरालाई स्कूल पुर्‍याउनु र लिन जाँदा स्कूलमा भेटिने ससाना बाबुनानीहरू र उनीहरूका बालसुलभ क्रिडाहरू हेरेपछि मेरो यस्तो सोचदुगुना हुन्थ्यो । तर मानिसहरूले मलाई पागल सोच्लान् कि भनेर मैले सोचलाई सोचमै सिमित राखिदिन्थेँ । अहिले त झन् कोभिड महामारीको कारण यस्तो सोच्नु नै मुर्खता मानिने पक्कापक्की छ । तर मन हो, यसलाई कल्पना गर्नबाट कसले नै रोक्न सक्छ र ?

...

प्रिय म्युम्यु गर्ल

कुनै सानो बच्चालाई मैले काखमा लिएको देख्यौ भने तिमीलाई मेरो एक विशेष पागलपन थाहा हुने छ । म बच्चासँग मुस्कुराइ रहेको भेटिनेछु, जिस्किरहेको भेटिनेछु, यो त स्वभाविक कुरा भयो । तर अस्वभाविक त्यतिबेला महसुस हुनेछ जब कुकुरले झैँ म त्यो बच्चालाई सुँघिरहेको भेटिने छु । मलाई दुधे बच्चाहरूको गन्ध बेहद मन पर्छ । तिम्रो देश चीनतिर यस्तो हुन्छ कि हुन्न ? यता नेपालका अधिकांश ग्रामीण बच्चाहरू शरीरमा यस्तै दुधे गन्ध टाँसेर हुर्किन्छन् । बढ्छन् । कस्तो असभ्य रहेछ भनि नसोचिदिनू, यति मीठो गन्ध मैले दुनियाँमा कम नै अनुभव गरेको छु ।

म बच्चाहरूलाई समात्न र अङ्गाल्न हुरुक्क हुने मानिस हुँ । त्यो स्पर्शको म कायल छु । यस्तो बेला म अक्सर सोच्ने गर्छु, सानोमा मलाई पनि मेरा गाउँले आफन्तहरूले यसरी नै मायाले समात्थे होलान्, अङ्गाल्थे र म्वाईँ खान्थे होलान् । मेरो अनुहार हेरेर उनीहरू के-के अजीव आवाज र शब्दहरू निकाल्दै, टाउको हल्लाउँदै जिस्किन्थे होलान् । मेरो निर्दोष मुस्कान हेरेर उनीहरूले पलक्षणका लागि मात्र भए पनि जीवनका गहिरा पीडाहरू बिर्सन्थे होलान् । मेरो मनमा अचानक प्रश्न जन्मिन्छ, के जीवन भनेको अङ्गालो गुमाउँदै गुमाउँदै जाने समय यात्रा हो ? जुन समयमा मानिसहरू अङ्गालोसँग सबैभन्दा बढी तर्सिरहेछन्, त्यही समय म अङ्गालोको चिन्तन गरिरहेछु । मलाई धेरै अङ्गालो पाउने बच्चाहरूप्रति मीठो इर्स्याबोध भइरहन्छ । गीत गुन्गुनाउन मन लागिरहन्छ, के माग्छौ भनी कसैले सोधे म माग्थे बालापन ....मलाई बच्चा बन्न मन लागिरहन्छ । ओहो ! अङ्गाल्ने मानिसहरूको सङ्ख्या घट्नु भनेको त जीवनको धड्कन कम हुनु रहेछ ।

...

बच्चाहरूको बीचमा मेरो किशोरकाल र युवाकाल बित्यो । त्यसको गहिरो प्रभाव अझै छ । म सम्झिन्छु, हिउँदका ती घमाइला दिनहरू... । गोबरले सिनित्त लिपेको घरको आँगन । भोगटेको रुखमुनी सधैँ त्यो फराकिलो टेबल चार खुट्टा टेकेर उभिइरहेको हुन्थ्यो। स्कुल पठाउनुअघि पाँचसात चकचके बच्चाहरू निर्मला, विवस, ममता, निलम, सुजाता, किरण, निमेषलाई त्यही टेबलमाथि राखेर मैले पालैपालो खाना खुवाउथेँ, मैले खाना खुवाउँदै गर्दा दीपिनले नानीहरूको कपाल बाटिदिन्थ्यो । अहिले ती बच्चाहरू हुर्किएर भोगटेको रुखबाट उडी गएका बचेराहरूझैँ टाढाटाढा पुगे । कोही अमेरिकी नागरिक भए कोही अष्ट्रेलियन पिआर होल्डर । तर मसँग उनीहरूलाई अङ्गाल्दै बिताएका प्रिय स्मृतिहरू ताजै छन् ।

बाउ भएपछि चौबीसै घण्टा म अस्तित्वको चकचकसँग रमाएँ । त्यस समय सबैभन्दा बढी मैले उसलाई नै पढेँ । प्रेम छोटा दाइको रत्नपुस्तकालयभित्र पहिलोपटक पढेको वाक्य सम्झिन्छु । भित्तामा लेखिएको थियो, 'मैले सबैभन्दा महान् किताब पढेँ भने मेरीआमालाई पढेँ ।' अस्तित्वलाई हुर्काइरहेको बेला म सोच्थेँ, 'म आमाजस्तै अर्को महान् किताब पढिरहेछु ।' कवि मित्रहरूले फोन गरेर के पढ्दैछस् भनेर सोध्दा म भन्थेँ, 'छोरालाई पढिरहेछु ।' जसरी हरेक असल सन्तानलाई उनकी आमा सर्वाधिक प्रिय किताब लाग्छिन्, त्यसरी नै हरेक आमाबाउलाई लाग्छ उनको सबैभन्दा प्रिय किताब आफ्ना सन्तान हुन् । गहिरिएर हेर्दा आमाबाबु र सन्तानप्रेमसँग प्रत्यक्ष जोडिन्छ मानिसले मानिसलाई गर्ने प्रेम । निसन्तानहरूको प्रसंग बेल्लै, आफ्नै सन्तानलाई प्रेम नगर्ने बाउआमा रआफ्नै बाउआमालाई प्रेम नगर्ने सन्तान दुवैले अरूलाई प्रेम गर्न सक्छन् भन्ने कुरामा मलाई शंका लाग्छ । सक्छन् भने ती अपवाद हुन् ।

प्रिय गिटार गर्ल

तिमी सुन्दर किताब हौ । अहिले तिम्रा बाउआमा तिमीलाई पढेर आनन्दित महसुस गरिरहेछन् । मलाई त तिमी यति प्रिय किताब लाग्दैछौ भने उनीहरूका लागि तिमी कति प्रिय किताब हौली ?

के बालक र किताब उस्तै हुन् ? यी दुईमा एक फरक छ, किताब पनि हुर्किन्छ तर सामान्य मानिसहरूलाई उसको हुर्काई थाहा हुन्न । बालक तामाझैँ हुर्किन्छ, उसले लगाउने कपडा छिट्टै छोटा र साना हुन्छन् । बालक हुर्किएको प्रष्ट देखिन्छ । तर किताब हुर्किएको हामी प्रष्ट देख्न सक्दैनौं । बालक आकारमा हुर्किन्छ, किताब अर्थहरूमा । सानोमा पढ्दा किताबको अर्थ सानै निस्कन्छ, ठूलोमा पढ्दा त्यसको अर्थ निकै ठूलो र गहिरो निस्कन्छ । किताब मानिसको हुर्काइसँगै हुर्किरहेको हुन्छ, शब्द र वाक्यहरूको स्पेसमा । बालक हुर्किरहेको हुन्छ, प्रेम र अङ्गालाहरूको स्पेसमा । निर्दोषपनको स्पेसमा ।

छोरालाई पढ्दा पढ्दै ऊ बालकबाट किशोर भयो । उसको शरीरको मुलायमपन बदलिएर कडापन थपिँदै गयो । मसिनो आवाज धोद्रो भयो । अचेल अस्तित्वका पुराना तस्बिरहरू हेरेर सोचिरहन्छु, उसलाई अङ्गाल्दै बिताएका स्मृतिहरू मेरा जीवन सम्पत्ति हुन् । मलाई डर लाग्छ, विस्मृतिको रोग लागेर ती स्मृतिहरू मनबाट कतै हराइ नजाउन् । ती स्मृतिहरू मेटिएको दिन म वास्तवमै कङ्गाल बन्ने छु ।

...

छोरालाई खाना खुवाउन मुस्किल हुँदा ल्यापटपमा उसलाई मन पर्ने कार्टुन वा कुनै राइम लगाइदिनु पर्थ्यो । यो अचुक तरिका थियो ।कर्ली कपाल बटार्दै ल्यापटपको स्क्रिनमा आँखा गाडेर ऊ आनन्दले खाना खान्थ्यो । प्रविधिको विकास यति द्रुत गतिमा भयो कि मजस्तो सामान्य मास्टरको हातमा पनि एक दिन ल्यापटप आयो, स्मार्ट फोन आयो । म रेडियोको संसारबाट युट्युबको संसारमा आएँ । हिसाब गर्दा, मैले कोठामा टिभी नजोडेको आठ वर्ष भएछ र रेडियो सुन्न छोडेको करिब १५ वर्ष । अब सायद प्रिन्टेड पत्रपत्रिकाको इतिहास द्रुततर छोट्टिदै छ ।

बाबु हुर्कदैँ जाँदा वाइफाई आयो । युट्युबमा उसलाई मन पर्ने मिस्टर बिन वा चार्ली च्याप्लिन वा बच्चाका भिडियोहरू देखाउनु पर्ने भयो । बच्चाहरूका भिडियोहरूले मलाई असीम आनन्द दिन्थे । कुकुर, बिरालासँग जिस्किरहेका, जुमा जनावर हेर्दै रमाइरहेका, पहिलो शब्द निकालिरहेका, पहिलो पाइला हिँडिरहेका.... उनीहरूको खुसीले मलाई पनि खुसी बनाउँथ्यो । यहीँबाट सुरू भयो, भर्चुअल दुनियाका प्यारा बच्चाहरूसँगको मेरो एकतर्फी संगत ।

वास्तविक दुनियाँमा बच्चाहरू कम भेट्ने अवसर पाउने मैले भर्चुअल दुनियाँमा असङ्ख्य प्यारा बच्चाहरू भेटेर आनन्दिन बन्न थालेँ ।यो अवसर पनि थियो, तर डरलाग्दो पनि थियो ।

यही दुनियाँमा अचानक एकदिन भेटियो अकिम कमारा । तीन वर्षको सानो बालक, जसले एक भव्य समारोहमा अठार हजार दर्शकसामु भ्वाइलिन बजायो । रमाइलो कुरा के थियो भने कमाराले कमाल देखाइरहेको क्षण उसको उमेरका केही केटाकेटीहरू आमाको छातीमा टाँसिएर स्तनपान गरिरहेका थिए । उसको हातमा बोतल थमाएर पानीको बोतलबाट उसले जानेको जादु गर्न भनियो । उसले कानमा बोतल जोडेर मुखबाट पानीको फोहोरा निकाल्यो । मानिसहरू हाँसे । तर जब उसले भायलिन बजायो, धेरै मानिसहरू उसको संगीत सुनेर रोइरहेका देखिन्थे । त्यो तीन वर्षे फुच्चेले डबल स्टान्डिङ अवेसन पायो । यो देखेर म रोएँ ।

राम्रोसँग बोल्न पनि नसिकेको कमराले सायद डाइपर लगाएर आएको हुँदो हो अर्केष्ट्रामा कमाल देखाउन । मैले उसलाई भर्चुअल दुनियाँमा पछ्याउन थालेँ । मैले जानकारी पाएँ कि साढे दुई वर्षमै उसले अर्केष्ट्राका सबै वाद्ययन्त्रहरूको नाम जान्दथ्यो । उसको द्रुतसिकाइबाट प्रभावित भएर उसका भायोलिन शिक्षक र संगीत पाठशालाका प्रिन्सिपलले प्रसिद्ध डच संगीतकार आन्द्रे रियु समक्षकमाराबारे जानकारी पुर्‍याए । रियुले तुरुन्तै एक क्यामेरा क्रु बर्लिन पठाए अकिमको प्रतीभाको फिल्माङकनका लागि । रियुअकिमको संगीतबाट यति प्रभावित भए कि उनले तुरुन्त अकिमलाई उनका आमाबा र हजुरआमासहित नेदरल्याण्ड बोलाए । ढिलानगरि उनले एक भाइलिन कन्सर्टका लागि मानिसहरूलाई निम्तो गरे । पार्कस्टाड लिम्बोर्ग स्टाडियोमा आफूजस्तै सानो भ्वाइलिन काँधमा चढाएर अकिमले फर्डिनान्ड कुच्लरको 'कन्सर्टिनो इन जि अप इलेभेन' बजायो । यो यति प्रभावकारी थियो कि अर्केष्ट्रा सँस्कृतिमा नहुर्केको मलाई पनि त्यसले उद्धेलित पारिदियो । संगीतलाई विश्वभाषा यसै भनिएको होइन । मानिसहरूले अकिमको सम्मानमा उभिएर ताली बजाए । खुसीले चिच्चाए ।

यो सन् २००४ को घटना थियो । अहिले त त्यो फुच्चे अकिम उन्नाइस वर्षको ठिटो भैसकेको छ, तर म उसलाई अझै सानै छ कि जस्तो सोचिरहँदो रहेछु ।

कुनै असामान्य प्रतिभा नदेखाउँदा पनि बच्चाहरू प्रिय लाग्ने हामीलाई उनीहरूको विशेष प्रतीभाले असीम आनन्द दिँदो रहेछ ।

...

भर्चुअल दुनियामै भेटिए, तीन वर्षिय चिनिया बालक झाङ जुनाओ । हरियो हुडी र खैरो प्यान्ट लगाएर मञ्चमा प्रवेश गरेको उसको एउटा हात दर्शकको सम्मानमा हल्लिरहेको थियो, अर्को हातले म्युजिक बक्स गुडाइरहेको थियो । तक्लु टाउको । निर्दोष अनुहार । रिमोट कन्ट्रोल थिचेपछि म्युजिक बक्समा गीतहरू बज्न थाल्थे र उक्त बालकले र्‍यान्डम डान्स भनेर धेरै प्रकारका नृत्यहरू देखाउँथ्यो । उसले रोबोट डान्स देखायो र मार्सल आर्ट पनि । म झाङप्रति आभारी छु किनकि भाषा नबुझे पनि उसको नृत्य हेरेर मैले कैयनपटक कैयन दुखहरू बिर्सिएको छु ।

नृत्य मात्र होइन, उससँगको जजहरूको वार्ता पनि आनन्ददायक छ ।

'तिमी किन नाँच्छौ ?’ एक जजले सोधे उनलाई ।

पोक्चे गालामा डिम्पल बसाएर उसले जवाफ दिन्छ, 'जब म नाँच्छु, मेरी आमा हाँस्छिन् । आमा भन्छिन् हाँस्नु भनेको खुसी हुनु हो ।'

जज फेरि सोध्छिन्, 'तिम्रो सपना के हो ?'

ऊ जवाफ दिन्छ, 'मानिसलाई खुसी बनाउनु, किनभने म खुसी छु । के तपाईँ खुसी हुनुहुन्छ ?' उसको प्रतिप्रश्न थियो ।

उसको प्रतिप्रश्न सुनेर जजहरू हाँसे, तर म कोठामा एक्लै रोएँ । मेरो रुवाईमा त्यो फुच्चेप्रति असीम सम्मान थियो । उसको उमेरमा सम्भवत: म पनि ऊजस्तै खुसी हुँदो हुँ तर कतिपय खुसीहरू उमेरसँगै बच्चाहरूको आलिङ्गन घटेर गएझैँ मेरो जीवनबाट घटेर गए । सत्य हो, म ऊजस्तै खुसी छैन । हुन सक्दिनँ । मेरा आँसु खुसी र आनन्दका थिए । मलाई त्यो केटाको मुडुलो टाउकोमा उसकी आमाले झैँ चुम्बन गर्न मन लाग्यो । त्यो हलमा भएको भए म उसलाई एकपटक पक्कै अङ्गालोमा बेर्ने थिएँ । यस्तै बच्चाहरूको कारण 'एक दिन एक आलिङ्गन' मेरो सपना बनेको थियो ।

यता नेपालमा बाल गायक अशोक दर्जी 'मर्ने कसैलाई रहर हुँदैन' गीत गाएर भाइरल भैरहेका थिए । 'मन बिनाको धन ठूलो कि धनबिनाको मन' भनेर उनी हामीमाझ छाइरहेका थिए । कमला घिमिरेले दोहोरी गाएर उधुम मच्चाइरेकी थिइन् । उनीहरूलाई पनि म युट्युबमा पछ्याउथेँ र अनुभूत गर्थेँ- मभित्र वात्सल्यको खोला बगिरहेको छ ।

...

हङकङ निवासी फुच्चे साथी सङ सङलाई पनि मैले भर्चुअल दुनियाँमै भेटेको हुँ । उनको चार मिनेटको पियानो वादन सुनेर/हेरेर म स्तब्ध नै भएँ । चार वर्षका ती फुच्चे पियानो यसरी बजाउँथे, मानौँ पियानोका रिडहरूसँग उनले सङ्गत गरेको एक डेढ वर्ष होइन एकजुग बितिसक्यो । लाग्थ्यो, पियानो नै उनको सबैभन्दा प्रिय सखी हो । त्यती ठूलो पियानोका वल्लो छेउदेखि पल्लो छेउसम्मका रिडहरूमा उनका औँलाहरूको नृत्य मेरो कल्पना बाहिर थियो । युट्युबमा उनीबारे धेरै सूचना थिएनन् । म गुगगमा छिर्न बाध्य भएँ ।बाउको आग्रहमा उनले प्रस्तुत गरेको सङ्गीतको नाम 'फ्लाइट अफ् द बम्बल्बी' रहेछ । यसरी संगीतमा भवराको उडान मैले पहिलोपटक सङ सङबाट नै सुने ।

पहिले त मैले प्रेम गरेको उनको बाल प्रतिभालाई नै हो, त्यस संगीत सँस्कृतिबारे त म पूर्वीय सभ्यताको मानिसलाई फुटीकौडी थाहा थिएन । मलाई हाम्रो लोकसंगीत थाहा थियो, सुगम सङ्गीत थाहा थियो, अलिअलि गजल र अलिअलि सुफी थाहा थियो । रविशंकर र उनकी छोरी अनुष्का संकरका केही सितारवादन थाहा थियो । यी सब अवसरका लागि म युट्युबप्रति आभारी छु जसले मलाई सजिलै बिथोविन र मोजार्ट पनि सुन्ने हैसियत दिलायो । तर उनीहरूलाई सुनेर नहुर्किएकाले मलाई त्यसको खास गहिराई थाहा हुने कुरा भएन । बालककाल नै सँस्कृति निर्माणको सबैभन्दा उर्वर काल हो, जुन बेला मैले यस्तो संगीत सुन्न पाइनँ । म त सालैजो, यानीमया र चुड्का सुनेर हुर्किएँ । रत्यौली हेरेर हुर्किएँ ।

पटकपटक सुन्दै जाँदा मैले त्यस ओपेरालाई पनि प्रेम गर्न थालेँ । मलाई त्यस फुच्चे साथीले रुसका निकोलाई रिम्स्कीकोर्साकोभद्वारा १९९० तिर आफ्नो 'द टेल अफ् जार साल्टन' नामक ओपेराका लागि तयार गरेको भँवराको उडानप्रति आकर्षित गरिदियो । पहिलेपहिले भँवराहरू उडेको देख्दा फूलहरू सम्झिने म, अचेल भँवरा देख्दा सङ सङलाई सम्झिने भएको छु ।

...

र अहिले ?

अहिले त म एक सात वर्षिय चीनियाँ नानीको प्रेममा छु । प्यारी गिटार गर्ल, त्यो तिमी हौ । कोभिड महामारीको प्रारम्भिक कालतिर धेरै नेताहरूले चीनलाई गाली गरिरहेको बखत मैले तिमीलाई अचानक भर्चुअल दुनियाँमा भेटेको थिएँ र तिम्रो गितार वादन सुनेरचकित भएको थिएँ । होटल क्यालिफोर्नियामा तिम्रो अद्भूत संगीत र गायन सुनेपछि म विस्मित भएको थिएँ । अचेल म त्यस गीतलाई बारम्बार सुनिरहन्छु । तिमीले चिनियाँमै गाएको 'मा मा दु दु छि' मलाई नबुझिने भाषामा कसैले गाएको प्रिय गीत लाग्छ । तिमीलाई म युट्युबमा पछ्याइरहन्छु । मेरो मनमा तिम्रो प्रभाव यति परेको छ कि तिम्रै कारण मैले छोरालाई गितार किनेर उपहार दिएको छु ।

गितार बोक्ने प्रिय केटी

मेरो मनमा त्यो पागल सपना अझै जीवित छ, एक सानो दिन: एक सानो आलिङ्गन । म चाहन्छु, कुनै दिन तिमीलाई भेटुँ र अङ्गालुँ ।

प्रकाशित : कार्तिक ४, २०७७ १३:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?