कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राजधानीमा शास्त्रीय संगीत सप्ताह सम्पन्‍न

काठमाडौँ — राजधानीमा जारी साताव्यापी शास्त्रीय संगीत सम्मेलन-२०७७ बुधबार सम्पन्न भएको छ । सप्ताहको अन्तिम दिन प्रसिद्ध नृत्यांगना सुविमा श्रेष्ठको कत्थक नृत्य र युवा नृत्यकार स्वजन रघुवंशीको भरतनाट्यम प्रस्तुति दिएका थिए ।

राजधानीमा शास्त्रीय संगीत सप्ताह सम्पन्‍न

कार्यक्रमको समापनमा प्रतिष्ठानका उपकुलपति हरिहर शर्मा, वरिष्ठ संगीतज्ञ प्रा.डा. ध्रुवेशचन्द्र रेग्मी र नेपाल शास्त्रीय संगीत समाजका महासचिव गोकुल लिम्बूले शास्त्रीय संगीतको सुदृढीकरणमा यस कार्यक्रमले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको विचार व्यक्त गरे ।

संगीत प्रवीण नरराज ढकालको शतवार्षिकीका सन्दर्भमा उनीप्रति समर्पित गरी नेपाल संगीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानले आयोजना गरेको सो सम्मेलनमा प्रभुराज ढकाल, प्रतीक ढकाल, शिवराज पौडेल, विष्णुप्रसाद आचार्य, डा. सीता थापा, मनमोहन थपलिया, लावनी चक्रवर्तीको गायन, मोहनप्रसाद जोशी (जलतरंग), रामकुमार अर्याल (सितार), सन्तोषभक्त श्रेष्ठ (इसराज), नगेन्द्र विक्रम राई (बाँसुरी), धनबहादुर गुरुङ (शहनाइ) को वादन र डंकन दास चौधरी तथा बदन मण्डलको तबलावादन प्रस्तुत भएको थियो ।

नेपाल शास्त्रीय संगीत समाजसँगको सहकार्यमा मिथिला नेपाल टेलिभिजनका साथै विविध सामाजिक सञ्जालहरूबाट प्रत्यक्ष प्रसारणमार्फत भएको साताव्यापी शास्त्रीय संगीत सम्मेलनका क्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ 'रायन', वरिष्ठ शास्त्रीय संगीतज्ञ प्रा. श्रीराम आचार्य, त्रिवि ललितकला केन्द्रीय विभाग प्रमुख संगिता राना प्रधान, नेपाल शास्त्रीय संगीत समाजका अध्यक्ष धनबहादुर गोपाली, ललितकला क्याम्पसका क्याम्पस प्रमुख डा. रमेश पोखरेल, मिथिला नेपाल टेलिभिजनका प्रबन्ध निर्देशक हिराबहादुर थापालगायतका व्यक्तित्वले शास्त्रीय संगीत र कार्यक्रमको उपादेयताबारे धारणा प्रस्तुत गरेका थिए ।

परम्परागत तथा शास्त्रीय संगीत विभाग प्रमुख प्राज्ञ धीरेन्द्र प्रेमर्षिले शास्त्रीय संगीत समग्र संगीतको मात्र संस्कार नभई मानव जीवनलाई सुसंस्कृत तुल्याउने अनुष्ठान भएको उल्लेख गर्दै जनजीवनलाई सिर्जनशीलता तथा सकारात्मकतातर्फ डोर्‍याउने यस संगीतको सम्बर्द्धनका निमित्त प्रतिष्ठान दत्तचित्त भई जुटेको विचार व्यक्त गरे ।

प्रकाशित : पुस १६, २०७७ १९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?