सुन्दर ‘एकालाप’- कला - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुन्दर ‘एकालाप’

रोगव्याधि र विभिन्न कालखण्डका समस्याहरुबीच पनि जीवनप्रति मान्छे आशावादी छन् । किन यो क्रम चलिरहेछ भन्ने सुनरद लामाका चित्रले प्रस्ट्याउँछन् ।
सुशीला तामा‌ङ

काठमाडौँ — विभिन्न कालखण्डमा मान्छेले युद्ध र रोगव्याधिका धेरै प्रकारका उतारचढाव भोगेका छन् । यस्ता आरोह अवरोधका बाबजुद जीवन चलेकै छ । सतर्कताका विभिन्न उपायमा बाँधिँदै मान्छेहरू आफ्ना नियमित दिनचर्यामा फर्किएका छन् ।

यस्ता आरोहअवरोहहरू सर्जकहरूका लागि सिर्जनाका खुराक हुन् । मनमा उठेका सवाल र भावलाई सुनरद लामा क्यानभासमा कुचीको सहायताले रंगमा भर्छन् र त्यसैमा जवाफ खोज्छन् ।

जीवनका अनेकौं उत्तरचढाव, भोगाइ, पीडा, कैयौं निराशा, आशा र खुसीका पललाई फेरि उनी शब्दमार्फत कवितामा पनि उतार्छन् । त्यतिले पनि उनको मन सन्तुष्ट नभएपछि उनी पर्फमेन्स आर्टका माध्यममा समेत अनुभूतिहरू व्यक्त गर्छन् । कलाका अनेक विधामा अभिव्यक्तिलाई उतार्ने कलाकार लामाले शीर्षक दिएका छन्,‘एकालाप’ अर्थात् उनकै शब्दमा मनभित्रको वार्तालाप ।

कोरोनाको त्रासका घेरामा रहँदा मनमा उकुसमुकुस भई बसेका अनेकौं भावहरूलाई चित्रमा उतारेर उनले प्रदर्शनीमा राखेका छन् । क्लासिक आर्ट ग्यालरीको युट्युब च्यानलबाट आइतबारदेखि सुरु भएको भर्चुअल प्रदर्शनीमा उनले यो समयमा भइरहेको सामाजिक, मानसिक, सांस्कृतिक, आर्थिक, राजनीतिक, धार्मिक उत्तरचढाव, त्यसबाट उनको हृदयमा परेको प्रभाव, भोगाइ, प्रतिक्रिया र त्यसपछिको यात्रालाई चित्रमा चित्रण गरेका छन् । लामो समयदेखि कलाकारितामा नै निरन्तरता दिँदै आएका लामाको यो पाँचौं एकल प्रदर्शनी हो । जहाँ उनले सिर्जनाबाट नै जीवनका प्रत्येक क्षण, मनको सवाल, जवाफजस्ता पक्षहरूलाई अभिव्यक्त गर्दै आएका छन् ।

विशेषतः उनका समग्र चित्रमा समयक्रमसँगै चल्दै गएका उतारचढावले जीवनमा परेका नकारात्मक प्रभावको वितृष्णा, त्यसमा खोजेका आफ्ना अस्तित्वका भावहरू, सकारात्मक दृष्टिकोणबाट निरन्तर अगाडि बढ्ने सशक्त साहसहरू र स्वतन्त्रताका चाहनाहरूलाई भेटाउन सकिन्छ । ‘म विशेष गरी मेरो संघर्ष र भोगाइलाई कलामा व्यक्त गर्ने गर्छु,’ उनी भन्छन्, ‘कोभिड कालमा म एकै ठाउँमा स्थिर भई बस्दाको अनुभूति, यसले मेरो काममा पारेको प्रभाव, मानसिक तनाव, आर्थिक संकटजस्ता पक्षहरूलाई मैले चित्रमा अभिव्यक्त गरेको छु ।’

‘अप्टिकल इलुजन’, ‘बुद्धज प्यासन्ट’, ‘मेमोरिस अफ डी एन ए (बेल फ्लावर)’, ‘स्याडो अफ फ्रेग्नेन्स’ शीर्षकका उनका कलाकृतिहरूमा आफ्नो संस्कृति, पुर्ख्यौली इतिहास, स्मरण, जीवनका लहर र यी विविध आयामहरूमा उनका प्रतिक्रियाहरू प्रतिबिम्बित भएका छन् । उनले ‘स्याडो अफ फ्रेग्नेन्स’ कला मार्फत हालको राजनीतिक अवस्थालाई झिँगाको बिम्ब बनाई गन्धयुक्त चिजबिचका रूपमा प्रस्तुत गरेका छन् । त्यस्तै ‘बुद्धज प्यासन्ट’ कलामा उनले कोरोना कालमा बुद्धजस्तै मानिस धैर्यवान् भएर बस्दा भएको मानसिक तनावलाई इंगित गर्दै बुद्ध र रोगीलाई पर्यायको रूपमा लिएका छन् ।

लामाका दुई दर्जनभन्दा बढी प्रदर्शित अन्य कलाहरूमा उनले लाखे, झाँक्रीजस्ता सांस्कृतिक बिम्बलाई प्रयोग गर्दै नेवारी र बोन परम्परालाई समेत देखाउने जमर्को गरेका छन् । तामाङ र नेवार दुवै मिश्रित समुदायमा हुर्केका उनको कलामा त्यसको प्रत्यक्ष छाप कुनै न कुनै रूपमा आउने लामा प्रस्ट्याउँछन् ।

उनका अधिकांश कलाकृतिहरूमा घोडा र काग बिम्बका रूपमा प्रयोग गरिएका छन् भने सँगसँगै चरा, फूल, माछा, महिला, झिँगा प्रतिबिम्बकै रूपमा आएका छन् । उनले मानव जीवनका साहस, तीव्र वेग र यात्रालाई घोडाका माध्यमबाट सशक्त रूपमा अर्थ्याउन खोजेका छन् । त्यस्तै कागलाई सन्देशबाहक, फूल, माछालाई सकारात्मक सोच, महिलालाई प्रकृति अनि चरालाई स्वतन्त्रताको प्रतीकका रूपमा चित्रण गरेका छन् ।

महामारीकालमा देखेका र भोगेका अनेकौं विषयवस्तुलाई कलामा जस्ताको तस्तै उतारेको बताउने लामा चित्रका प्रत्येक बिम्बहरूले आफ्नै जीवनका परिधिभित्रकै पक्षलाई उठान गर्ने स्विकार्छन् । लामा अझै थप्छन्, ‘जीवन चलाउने क्रममा नै मैले आफ्नो भन्ने कुराहरू महसुस गर्न पाएँ । राम्रो कुराहरू पनि यही क्रममा देखेँ र नराम्रोहरू पक्षहरूलाई नियाल्ने मौका पाएँ । यही सकारात्मक र नकारात्मक पक्षका बीचमा मैले आफूलाई उभ्याउँदै आएको छु, जुन कुराहरू कलामा देखिएका छन् ।’

कलामार्फत नै नारी र पुरुष हुनुको अस्तित्व खोज्ने लामाले कैयौंपटक आफु र आफ्नो सिंगो शरीर हुनुको आभास फर्ममेन्समा देखाइसकेका छन् । केही समयअघि मात्र उनले पाटनढोकास्थित एमक्यू ग्यालरीमा मानिस र उसको शरीरको महत्त्वलाई फर्ममेन्स कलाका माध्यमका देखाएका थिए । करिब एक वर्षअघि उनले ‘सुसेलिरहेको मान्छे’ शीर्षकमा कवितासंग्रह सार्वजनिक गर्नुका साथै सोही शीर्षकमा चित्र, फर्ममेन्ससमेत प्रस्तुत गरेका थिए । नारी सौन्दर्य र स्वतन्त्रतालाई त झन् उनी उडिहिँड्ने पन्छीका साथै खुला प्रकृतिका रूपमा व्यक्त गर्छन् ।

प्रकृतिमा मानिसलगायत जनावर तथा हर वस्तुको आवाजलाई उनी कलामा नै खोजिरहन्छन् र त्यसलाई फेरि आफ्नै गन्तव्यतिर सकारात्मक आशाका साथ अगाडि बढाउँछन् । ‘हरेक समय र वस्तुहरूबीच गलत हुँदाहुँदै पनि म त्यसैमा थोरै भए पनि पोजिटिभ बाटो बनाइदिन्छु र यात्रा जारी राख्छु । यही क्रममा त जीवन अहिलेसम्म चलिरहेको छ,’ लामा फेरि पनि जीवनकै अनुभूतिलाई कलासँगै दाँजेर अझै अर्थ्याउँछन् । र त उनी कलामा कमलको फूललाई दर्साउँदै मानिसलाई खुसी र आशावादी हुन आग्रह गर्छन् ।

प्रकाशित : पुस १०, २०७७ १३:२६
प्रतिक्रिया
पठाउनुहोस्

प्रधानन्यायाधीशले सोधे- 'जनमतप्राप्त दलले जनतामा जान्छु भन्दा तिमी नै सरकार चलाऊ भन्ने हो ?'

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले जनताबाट निर्वाचित भएको राजनीतिक दलले सरकार नचलाएर फेरि जनतामा जान्छु भन्दा पनि 'तिमी सरकार नै चलाऊ भन्ने हो ?' भनेर प्रश्न गरेका छन् ।

संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनबारे बहसका क्रममा निवेदकका तर्फबाट कानुन व्यवसायी रुद्र शर्माले नेकपाले बहुमत प्राप्त गरेकाले संविधानअनुसार यसरी संसद् विघटन गर्न नमिल्ने धारणा राखेपछि जबराले उक्त प्रश्न सोधेका हुन् ।

'निर्वाचन भएर संविधानको धारा ७६ उपधारा १ अनुसार बहुमत प्राप्त गरेर सरकार गठन भयो । अब म सरकार चलाउँदिनँ, म जनतामा जान्छु भन्यो भने अनिवार्य तिमीले नै सरकार चलाऊ भन्ने हो ?,' प्रधानन्यायाधीश जबराको प्रश्न थियो ।

संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनबारे सुनुवाइ [लाइभ अपडेट]

नेकपाको सरकार बहुमतको भएको र उक्त दलले नै चुनावमा जाने भनेकाले अर्को सरकार गठनको विकल्प नभएको भन्दै प्रधानन्यायाधीशले कानुन व्यवसायीलाई संविधानमा त्यसको विकल्पबारे कस्तो व्यवस्था छ भनेर सोधेका हुन्।

प्रधानमन्त्रीले संसद् छलेको भन्दै शर्माले कुरा उठाएपछि जबराले भने, 'प्रधानमन्त्री अल्पमतमा पर्‍यो भने संसद‌्मा जानुपर्‍यो भन्न खोज्नुभएको हो ?'

संविधानमा संसद् विघटनको सिद्धान्त राखिएको प्रधानन्यायाधीशले बताएका छन् । '२०४७ सालको संविधानले संसद् विघटन गर्ने कुरा अंगीकार गरेको थियो । त्यति बेला प्रधानमन्त्रीले गर्न पाउने भनेको थियो । अहिलेको संविधानले पनि संसद् विघटन हुन्छ भन्ने सिद्धान्त अंगीकार गरेको छ,' जबराले भने ।

प्रधानन्यायाधीशले शर्मालाई भने, 'संविधानमा संसद् विघटनको व्यवस्था हिजो पनि राखेको थियो, अहिले पनि छ । तर, माध्यम के हो भन्ने कुरा राख्नुस् ।'

शर्माले भने विगतका संविधानले प्रधानमन्त्रीलाई संसद् विघटनको स्वविवेकीय अधिकार दिएकोमा अहिलेको संविधानले त्यस्तो अधिकार नदिएको जवाफ दिँदै संसद् विघटन गर्ने सरकारको सिफारिस र राष्ट्रपतिको निर्णय खारेजीका लागि अन्तरिम आदेशको माग गरे ।

प्रकाशित : पुस १०, २०७७ १३:१७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×