हुरडुङ्गा नाच न हरेरी पूजा- कला - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हुरडुङ्गा नाच न हरेरी पूजा

भीड हुन्छ भन्दै परम्परागत नाचगान बन्द गर्दा यसपटक थारु बस्तीमा छैन दसैंको रौनक
ठाकुरसिंह थारु

नेपालगन्ज — भदौको हरेरी पूजापछि थारू गाउँमा साता दिन बिराएर हुरडुङ्गा नाच हुन्थ्यो । गाउँलेलाई पर्वको रन्कोले छोप्थ्यो । चहलपहल बढ्थ्यो । हरेरी पूजाकै दिन नाच गरेर दसैं नजिकिएको सन्देश दिइन्थ्यो । तर, यो वर्ष दसैं दैलोमै आइसक्दा पनि आँगन सुनसान छन् । कोरोना भाइरसका कारण गाउँमा एक दिन पनि नाच भएको छैन ।

एक महिनादेखि चहलपहल हुने थारू बस्तीमा अहिलेसम्म पर्वको कुनै रौनक छैन । ‘हाम्रो समुदायमा एक महिनाअघिदेखि नै दसैंको चहलपहल हुन्छ । तर, यसपल्ट भने अहिलेसम्म एकपल्ट नाच पनि भएको छैन,’ कोहलपुर नगरपालिका–६ का नारायण चौधरीले भने, ‘कोरोनाले दसैं पनि खल्लो हुने भो ।’ हुरडुङ्गा नाच गर्दा भीडभाड हुने भएकाले कोरोना संक्रमण फैलिन सक्ने जोखिम छ । त्यसैले पनि स्थानीयले सजगता अपनाउँदै भीड भेला पार्ने नाचगानको सांस्कृतिक विधिलाई यसपटक थाती राखेका हुन् ।

अहिले मादल घरको कोन्टीमै थन्किएको छ । ‘एक दिन पनि नाचेर रमाइलो गर्न पाइएको छैन । कोरोनाले निकै दुःख दियो,’ कोहलपुर–१६ का राधेश्याम चौधरीले भने । पछिल्लो समय यहाँका थारू युवाहरू पनि आफ्नो संस्कृति र परम्परामा सचेत हुँदै आएका छन् । चाडपर्वका बेलामा उनीहरू पनि परम्परागत गीत गाउने प्रयास गर्छन् । उनीहरू हुरडुङ्वा, सखिया र छोक्रा नाच गरेर परम्परा जोगाउने प्रयासमा छन् । दसैंका सबैजसो गीत रामायणको कथा र देवीदेवताका गाथासँग सम्बधित हुन्छन् । यसपटक तन्नेरी पुस्ताले नै भीड गर्नु हुँदैन भनेर पाका पुस्तालाई सम्झाइरहेका छन् ।

घटस्थापनादेखि जमरा राखेर थारू समुदायले आफ्ना कुलदेउतालाई पूजा गर्छन् । यो क्रम फूलपतिसम्म चल्छ । दसैंको नवमीका दिन (ढिक्रहवा) र फूलपातीसम्म रातदिन नाच गर्ने परम्परा छ । कुलदेवतालाई ढिक्री, जमरा र बाबरी फूलले पूजा गरिन्छ । अर्को दिन महिलाहरू नदी वा ताल छेउमा पितृलाई पिण्ड दिएर मासु र रक्सी खाइपिई गरी नाचगान गर्ने चलन छ । कोरोना भाइरसकै कारण पितृलाई कसरी सम्झिने भन्ने अन्योलमा छ थारू समुदाय । गाउँभरिका महिला नाचगान गर्दै पितृलाई सम्झन नदी, ताल र खोलामा पुग्छन् । ‘यसपालि त पुर्खालाई पिण्ड पनि दिन नपाइने हो कि भन्ने चिन्ता छ,’ थारू अगुवा चन्द्रबहादुर चौधरीले भने ।

प्रकाशित : आश्विन २६, २०७७ ०९:५७
प्रतिक्रिया
पठाउनुहोस्

भर्चुअल प्रदर्शनीमा चित्र

क्लासिक आर्ट ग्यालरीले ‘पृथक्’ शीर्षकमा शनिबारदेखि सुरू गरेको भर्चुअल ग्यालरीमा डेढ दर्जनभन्दा बढी चित्रहरु राखिएका छन्
सुशीला तामा‌ङ

काठमाडौँ — सामान्य अवस्था रहेको भए यतिखेर चित्रकार तीर्थ निरौलाले कोरेका चित्रहरू राजधानीका कुनै ग्यालरीमा सजिएका हुन्थे । कलाकृति अवलोकनकै लागि कलाकार तथा कला पारखीहरूको जमघट, कलाकै बहस तथा छलफलले माहोलको रौनक नै बेग्लै हुने थियो ।

तर परिस्थिति त्यस्तो रहेन । न त निरौलाले चित्रकला प्रदर्शनी नै गर्न पाए, न कला पारखीहरूसँग प्रत्यक्ष साक्षात्कार नै ।

कोरोना महामारीकै कारण लकडाउनसँगै बन्द भएका आर्ट ग्यालरीहरू अझै खुलेका छैनन् । एकातिर चित्रकारले सिर्जना गरेका कलाकृतिहरू घरमै थुप्रिएका छन् भने अर्कोतिर दर्शक तथा कला पारखीहरूले कलाकृति नियाल्न पाएका छैनन् । कला र दर्शकबीच बढ्दै गएको यही दूरीलाई नजिक बनाइराख्न निरौलाले भर्चुअल माध्यमलाई आधार बनाएर प्रदर्शनी गरेका छन् ।

क्लासिक आर्ट ग्यालरीले ‘पृथक्’ शीर्षक दिई शनिबारदेखि सुरु गरेको भर्चुअल ग्यालरीमा प्रदर्शन गरिएका निरौलाका डेढ दर्जनभन्दा बढी चित्रहरूमा धार्मिक, मानवीय भाव, संवेदना, प्रकृति, द्वन्द्व, प्राकृतिक तथा सांस्कृतिक विनाशदेखि कोरोना कालसम्मका मानसिक पीडा र अभावजस्ता विषयवस्तु समेटिएका छन् । कोरोना कालमा नै सिर्जना गरिएका उनका कलाकृतिमा मानव निराशा, छटपटी, नारी संवेदना, स्वतन्त्रताका लयलाई समेत चित्रण गरेको पाइन्छ । अहिलेको निराशाबीच पनि भोलिको आशामा मानिस डगमगाउनु हुन्न, आपसी माया, प्रेम र सद्भावका साथ निरन्तर अघि बढ्नुपर्छ भन्ने भाव निरौलाका ‘लभ’, ‘कोभिड–१९’, ‘सर्च अफ फ्रिडम’ शीर्षकका चित्रले बोल्छन् ।

उनका केही नग्न चित्रमा नारीको कोमलता, प्रेम, माधुर्य र त्यागलाई प्रस्तुत गरिएको छ । नारी र प्रकृतिलाई पर्याय मान्नुपर्ने निरौलाको तर्क छ । अधिकांश चित्रहरूमा हालको समय प्रतिविम्बित छ । केहीमा भने द्वन्द्वकालमा मूर्त र अमूर्त सांस्कृतिक सम्पदामाथि भएको क्षतिलाई दर्साएर यसअघि नै सिर्जित कलाकृतिलाई पनि प्रदर्शनीमा राखिएको निरौलाले बताए ।

सिर्जना भएका कलाकृतिलाई यतिकै थन्क्याउनुभन्दा भर्चुअल माध्यमबाट नै कलाका पारखीहरूका निम्ति प्रदर्शनी गरिएको उनले सुनाए । यसले प्रत्यक्ष रूपमा ग्यालरीमा चित्र अवलोकन गर्ने दर्शकका लागि पूर्ण सन्तुष्टि नदिए पनि कला अवलोकनप्रतिको केही तिर्सना मेट्ने उनको दाबी छ । ‘हाम्रोमा विश्वका अन्य मुलुकमा जस्तो भर्चुअल प्रदर्शनीको लय बसेको छैन,’ उनी भन्छन्, ‘यसले कलाकार र दर्शकको सम्बन्ध अटुट बनाई बजार प्रवर्द्धनमा भने केही सघाउ पुर्‍याउन सक्छ ।’

लकडाउनयता घरमै बसेर सिर्जना गरिएका कलाकृतिलाई बाहिर ल्याउन सबैजसो चित्रकारहरू भर्चुअल प्रदर्शनीहरूमा सामूहिक रूपमा सहभागिता जनाइरहेका छन् । ई आर्ट नेपाल, म्युजियम अफ नेपाली आर्ट (मोना), अन्तर्राष्ट्रिय जल रङ समाज नेपाललगायतले निरन्तर रूपमा कला प्रदर्शनीहरू गरिरहेका छन् । केही चित्रकारहरू तथा कलासम्बन्धी संस्थाको अगुवाइमा भर्चुअल रूपमा नै कलासम्बन्धी कार्यशाला, लाइभ पेन्टिङ, अन्तर्क्रियात्मक कार्यक्रमहरूसमेत भइरहेका छन् ।

सम्भवतः नेपालमा भर्चुअल माध्यममा गरिएको यो नै पहिलो एकल प्रदर्शनी रहेको निरौलाले दाबी गरे । कला प्रदर्शनी चित्रकारका लागि दर्शकसमक्ष पुग्ने महत्त्वपूर्ण अवसरका रूपमा लिन्छन् उनी । ‘चित्रकार तथा चित्रकलाको स्तर, शैली, माध्यमको उन्नतिको मापन, तत्कालीन समयको चेतना, चिन्ता कलामा कसरी प्रतिबिम्बित भएका छन् भन्ने यावत् पक्षहरू थाहा पाउन प्रदर्शनी महत्त्वपूर्ण हुन्छ,’ उनले भने । तीन दशकभन्दा लामो समयको सिर्जना यात्रामा उनी कला पारखीहरूसँगै निरन्तर जोडिइरहेका छन् । अन्य क्षेत्रजस्तै हाल कला क्षेत्र पनि आर्थिक रूपमा शून्यको अवस्थामा पुगेको उनको ठम्याइ छ । यद्यपि कलामा पनि आधुनिकीकरणलाई आत्मसात् गर्दै सबैले भर्चुअल माध्यममा बानी बसाल्नुपर्ने उनको सुझाव छ ।

प्रकाशित : आश्विन २६, २०७७ ०९:५५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×