जाँदै छ कता नेपाली संगीत- कला - कान्तिपुर समाचार

जाँदै छ कता नेपाली संगीत

म्युजिक भिडियो बनाएर युट्युबमा अपलोड गर्न प्रविधिको अधिकतम प्रयोगमा हौसिएको अहिलेको संगीत जगत्को गति सधैं यस्तै कसरी रहला भन्नेमा सर्जकहरु चिन्तन मनन गरिरहेका छन् ।
सुशीला तामा‌ङ

काठमाडौँ — टिकटकमा अपलोड हुने छोटो भिडियोमा नौला गीत देखेर, सुनेर युट्युबमा खोज्नेहरू जसरी बढे, त्यसैगरी म्युजिक भिडियो बनाउनेहरू पनि टिकटक सेलेब्रिटी खोज्छन् ।आफ्नो गीतको प्रचार हुने भिडियो पोस्ट गरिदिन आग्रह गर्छन् । कन्सर्ट हुँदैनन्, न सांगीतिक भेला र जमघट हुन्छन् ।

गीतहरू म्युजिक भिडियो बनाउँदा कति भ्युज पाइन्छ भन्ने हिसाब पहिल्यै गरेर बनाउने गरेजस्तो देखिएका छन् । अब गीतका लागि म्युजिक भिडियो निर्माणमा चलचित्रजत्तिकै तामझाम हुन थालेको छ ।

राम्रा गीतहरू आइरहेका छन्, यही भीडमा थुप्रै गीतहरू राम्रा हुँदाहुँदै पनि चर्चा पाउन पछाडि छन् । महिनैपिच्छे दर्जनौं नेपाली गीत–संगीतका म्युजिक भिडियो अपलोड भइरहँदा दशक अघिसम्म श्रोताका मनमस्तिष्कमा बसेका कलाकर्मी ओझेल परेका छन् । नयाँ पुस्ता प्रयोगपरक प्रस्तुति दिन अघि सरेका छन् । यस्तो स्थितिमा नयाँ शैली आत्मसात् गरेका सर्जक र कलाकर्मी व्यस्त छन् । पुराना शैली पछ्याउनेहरू हराएजस्ता भएका छन् ।

पुराना शैलीका तुलनामा युट्युबमा बराबर भ्युज पाइरहेका नेपाली गीत–संगीत धेरै अगाडि बढेका छन् । दुइ–चार वटा राम्रा गीत ल्याइसकेका दिनेशराज पुरीलाई एउटा सिर्जनाले नमीठो अनुभव दिएको छ । सुगम संगीत प्याटर्नमा कम्पोज गर्न मिल्ने सिर्जना बोकेर उनी धेरैतिर धाए । उनको रचनालाई कसैले न धुन भर्न माने न त गाउनेले गाउन । उनले चाहेको जस्तो गीतका लागि लगानी गर्न पनि कोही अघि सरेनन् । निरन्तर काम गर्दै जाँदा पनि बजारमा चलेका स्रष्टाहरूको एउटै जवाफ आए– ‘अब नारायण गोपालको पालाको गीत लेखेर चल्दैन ।’ संगीतको मर्मलाई नियालेका उनी झट्ट चल्ने र छिट्टै श्रोता–दर्शकले बिर्सने सिर्जनाको पक्षमा छैनन् ।

संगीत क्षेत्रमा नयाँ पुस्ताको प्रतिनिधित्व गर्नेमध्येका पुरीलाई भएको जस्तो द्विविधाले अब यो क्षेत्र नै कतातिर मोडिने हो भन्ने अन्योलता जस्तो देखिएको कवि तथा गीतकार दिनेश अधिकारीको भनाइ छ । डिजिटल प्रविधिसँगै अघि बढेको युट्युबको बजारले गीत–संगीतको दायरालाई अर्कै बाटोमा लगेको उनलाई लाग्छ ।

पछिल्लो समयमा युट्युबमा छाएका गीतहरूलाई हेर्ने हो भने प्रविधिको अधिकतम प्रयोगको बाढी नै छ । गीत–संगीतको सिर्जनालाई कोरोनाको महाव्याधिले छुन सकेन । एकसे एक गीतहरू सातापिच्छे नयाँ–नयाँ च्यानलमार्फत अपलोड भइरहेका छन् । दर्शकले पनि उत्तिकै हेरेका छन् । हौसिएका सर्जकहरू थरीथरीका भिडियोहरू निर्माणमा सक्रिय छन् ।

‘नयाँ–नयाँ गीतहरू सिर्जना हुनु, संगीतका धुनहरू बन्नु, राम्रा गायक–गायिकाहरू आउनु सांगीतिक क्षेत्रका लागि सुखद पक्ष हुन्,’ अधिकारी भन्छन्, ‘सँगै थुप्रै दुविधाहरू पनि छन् ।’ यिनै सिर्जनाहरू र सर्जकहरूमध्ये कसलाई राम्रो मान्ने, राम्रो गीतको आधार के हो, सुर, ताल, स्वर, संगीतमध्ये गीतको मापन के हो, भिडियोमा आएका भ्युजलाई हेर्ने हो भने गीत–संगीतलाई अबका दिनमा सुन्ने हो कि हेर्ने हो, गीतको पहिलो प्राथमिकता भिडियो हो कि होइन भन्ने विचारणीय पक्ष रहेको उनी तर्क गर्छन् । ‘धेरै श्रोतामाझ नपुग्दैमा कुनै गीतलाई नराम्रो भन्न मिल्दैन,’ उनले भने ।

सिर्जना आफैंमा एउटा स्वतन्त्र पाटो हो । गीतले मानवीय भावना, संवेदना र समकालीन समाजको छाया बन्दै तिनैका प्रतिबिम्बहरू दर्शाइरहेको पाइन्छ । रेडियो नेपालको उदयपूर्व नेपालका खास जाति तथा संस्कृतिभित्र रहेका लोकलय झल्काउने भाकाहरू मौलाए पनि आम नागरिकभन्दा धनाढ्य वर्गका घर र दरबारमा बढी सीमित थिए । २००७ सालको प्रजातन्त्रपछि रत्नदास प्रकाश, नातिकाजी, शिवशंकर, रानुदेवी अधिकारीजस्ता स्रष्टाहरूले गीत–संगीतलाई जनसमक्ष पुर्‍याए ।

रानुदेवीको स्वरमा रहेको ‘जागे नेपाली उठे नेपाली’ गीतमा प्रजातन्त्रका पक्षमा राणा शासनविरुद्ध उठेका योद्धाहरू र त्यो बेलाको माहोललाई दर्शाएको छ । गीत–संगीतले अहिलेको समय र समकालीन पक्षलाई उजागर गर्दै जानुपर्ने गीतकार राजेन्द्र थापाको बुझाइ छ । आजको समयलाई लयबद्ध तरिकाले कुराकानीमा ढाल्न सकेमात्र समय र पुस्ताको सम्बोधन हुने उनी बताउँछन् । भन्छन्, ‘सिर्जना आफैंमा जीवित हुनुपर्छ । आजको पुस्ता पुराना रूखका भन्दा पनि नयाँ कलमी गरिएका हाँगामा रमाउन खोज्छन् ।’

बीसको दशकमा गोपाल योञ्जन, अम्बर गुरुङ र नारायण गोपालले नेपाली संगीत क्षेत्रलाई नौलो आयाम दिएर उचाइमा पुर्‍याए । हिन्दुस्तानी शास्त्रीय र पाश्चात्य विधालाई नै नेपाली माटो सुहाउँदो रूपमा ढाले । योञ्जनकै स्वरमा रहेको ‘म तिम्रो घनश्याम’ बोलको गीत यसको ज्वलन्त रूपमा सुन्न सकिन्छ ।

अरुणा लामा, नारायण गोपाल, प्रेमध्वज प्रधानदेखि अहिलेका सुगम पोखरेल, राजनराज सिवाकोटीसम्मका पुस्तामा गीतकारका रूपमा आएका थापा आजका पुस्ता पीडा, जीवनप्रतिको निराशा, लालसा र चिन्तालाई गीत–संगीतका माध्यममा मुक्त हुन खोजेको बताउँछन् । ‘आजको माग गरिबीभित्रको खाना मात्र होइन,’ थापा भन्छन्, ‘मानिसमा क्रोध, लोभ, मोह, द्वन्द्व र प्रेम छ । यही सेरोफेरोमा रहेको प्रविधि र विकासको चिन्तनमा उसले संगीतमा पीडाभन्दा खुसी खोजिरहेको छ ।’ नारायण गोपालले प्रेमका गीत रोएर गाउँदा पनि मन पराउने त्यो समयमा अहिले हाँसेरै गाउने अवस्था आएको उनको धारणा छ । ‘संगीत वा कलाका जुनसुकै विधाको मौलिकता भनेको आजको युगको समकालीन तस्बिर हो,’ उनी भन्छन् ।

पुस्ता र प्रविधिसँगै संगीतले धार परिवर्तन गर्दै जाने हो भने हाम्रो नेपाली मौलिक संगीतको दायरा नै खुम्चिने अधिकारी तर्क गर्छन् । प्रविधिलाई सहज बनाउने एउटा माध्यमका रूपमा अपनाउँदै सिर्जनाका राम्रा पक्षको मर्मलाई मर्न दिन नहुने उनी बताउँछन् । ‘बाटो र अभिव्यक्त गर्नै शैली फरक भएकै छ तर मानवीय संवेदनाका पक्षहरू उही हुन् । मौलिकतालाई समयले परिवर्तन गर्न सक्दैन,’ अधिकारी भन्छन् ।

संगीतमा होहल्लाको माहोलले यसप्रति मानिसको साँघुरो सोच बढ्दै गएकामा गायक रामकृष्ण ढकालले चिन्ता व्यक्त गरे । यसलाई एउटा गहन विषय र विधाका रूपमा यसमा सिक्नुपर्ने धेरै पक्षहरू रहेको उनको भनाइ छ ।

प्रकाशित : भाद्र १९, २०७७ १०:२४
प्रतिक्रिया
पठाउनुहोस्

रथ तान्‍ने क्रममा स्थानीय र प्रहरीबीच दोस्रो पटक झडप

कान्तिपुर संवाददाता

काठमाडौँ — पुल्चोकमा मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा स्थानीय युवाहरु र प्रहरीबीच पुनः झडप भएको छ । रातो मत्स्येन्द्रनाथ रथयात्राबारे सरकार गम्भीर नभएको भन्दै पाटनबासीले बिहीबार दिउँसो पुल्चोकमा भेला भएर विरोध प्रदर्शन गर्ने क्रममा पहिलो झडप भएको थियो । निषेधाज्ञाका बाबजुद रथ तानेको भन्दै प्रहरीले रोकेपछि झडप भएको थियो । प्रहरीले भीडलाई तितरबितर पार्न पानीको फोहोरा र अश्रुग्यास समेत प्रयोग गरेको थियो ।

स्थानीय युवाले रथ तान्‍न अवरोध गरेको भन्दै प्रहरी टोलीमाथि ढुंगामुढा प्रहार गरेका थिए ।युवाहरुले आफैं रथ तानेर पुल्चोकबाट धमाःफल्चा पाटीसम्म पुर्‍याएका थिए । दोस्रो पटक पुनः आक्रोशित युवाहरुले प्रहरीमाथि ढुंगा प्रहार गर्न थालेपछि झडप भएको थियो । झडपमा परी केही प्रहरी,पत्रकार,तथा युवाहरु घाइते भएका छन् ।

प्रकाशित : भाद्र १९, २०७७ १०:२४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×