कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

घरायसी सामग्री बने क्यानभास

कागज, कपडा, काठ, ढुंगा, भित्ता, मसलाका डब्बा, बक्रम र घरमा जे भेटिन्छन्, त्यसैमा रङ भरिरहेका कलाकार भन्छन्, ‘भावना व्यक्त गर्न क्यानभास नै चाहिँदो रहेनछ ।’
मधु शाही

नेपालगन्ज — चित्र कोर्न बेलैमा नसिकेकी भए १९ वर्षीया आयुष्मा ढकालले कोरोना कहरमा सहजै दिन कटाउन मुस्किल पर्थ्यो । एसईई पास भई नयाँ कक्षामा जानुको उत्साह खुम्च्याएर राख्नुपर्ने बाध्यता एकातिर छ भने अर्कोतिर संक्रमणबाट सुरक्षित रहन घरभित्रै सीमित हुन परेको छ । तर मन भने चञ्चल छ । भावना सलबलाइरहन्छन् । हिजोआज उकुसमुकुस पोख्न उनलाई क्यानभासले साथ दिएको छ ।

घरायसी सामग्री बने क्यानभास

लकडाउनको बीचमा पनि उनी फुर्सदिली भइनन् । हरेक दिन सिर्जनात्मक भावना रङमार्फत उतार्न थालिन् । पछिल्लो समय भने बजार बन्द हुँदा चित्र कोर्ने सामग्रीको अभाव हुन थालेको छ । यस्तोमा घरमा रहेका रङ र क्यानभास सकिएपछि सीमित समय खुलेका एकाध पसलमा सम्पर्क गर्दा छैन भन्ने मात्र जवाफ पाउँछन् ।

तर अभावले सिर्जना मर्दैन, बरू यसलाई पोख्न अरू उपाय खोज्न थालिन्छ । आयुष्माजस्ता कोहलपुरका युवा चित्रकारले चित्र कोर्ने मौलिक जुक्ति अपनाउन थालेका छन् । क्यानभासको विकल्पमा कागज, कपडा, काठ, ढुंगा, भित्ता, मसलाका डब्बा, बक्रम र घरमा जे भेटिन्छन्, त्यसैमा रङ भरिरहेका छन् । ‘भावना व्यक्त गर्न क्यानभास नै चाहिँदो रहेनछ,’ आयुष्माले भनिन्, ‘रङ जेमा मिसिन्छ, त्यही सुन्दर भइदिन्छ ।’

यसका लागि उनलाई ‘युट्युब’ ले साथ दिइरहेको छ । त्यसमा भेटिने भिडियो हेर्दै सिक्दै उतार्ने प्रयास गरिरहेको उनले बताइन् ।

नेपालगन्ज–२० का सागर क्षत्रीले पनि लकडाउनको समय चित्रकलामा सदुपयोग गरे । कोरेर घरमै थन्क्याएनन् । भीडभाड जम्मा गरेर प्रदर्शन गर्ने स्थिति छैन । उनले सामाजिक सञ्जालको भरपुर प्रयोग गरे । हरेक दिन नयाँ चित्र बनाउँदै फेसबुकमा राखे । लाइक, कमेन्ट तुरुन्तै पाउन थालेपछि उनी झनै हौसिए । ‘कतिपयले अर्डरसमेत गरे,’ उनले भने, ‘चित्र मन पराएर वीरगन्ज, इटहरीदेखि पनि डिमान्ड आएको छ ।’ स्नातक तेस्रो वर्ष अध्ययनरत उनी कला पस्किन प्राकृतिक दृश्यावलोकन अत्यन्त महत्त्वपूर्ण मान्छन् । ‘लकडाउनमा एकाग्र भई चित्र कोर्न पाइयो,’ उनले भने ।

कोहलपुर–५ का अश्विन कोइराला कक्षा १२ मा पढ्छन् । चित्रकला उनको सोख हो । यो समयमा उनको साथी नै ब्रस, रङ र क्यानभास छन् । दिनभरि घरमा बसेर चित्र कोर्दै रमाइरहेका छन् । उनले बक्रमको कपडामा केमिकल मिसाएर काठमा झुन्ड्याई आकृति उतारिहेका छन् । ‘भित्रै बसेर सिर्जनात्मक काम गर्न पेन्टिङ गतिलो माध्यम बनेको छ,’ उनले भने । कोहलपुरकी खुस्बु विष्टसँग पनि क्यानभास छैन । एक्रेलिक रङ सकिएको ४ महिना भइसक्यो ।

खरिद गर्न काठमाडौं जानुपर्छ, जुन अहिले सम्भव छैन । उनले विकल्प खोजिन् । कहिले सादा काठमा त कहिले केही चार्ट पेपरमा प्राकृतिक रङहरूको प्रयोग गर्न थालिन् । फेब्रिक कलरले भित्ता रंगाइन्छ । रङको अभावमा उनले त्यसैबाट केही चित्र कोरेकी छन् । खुस्बुले प्रायः हरियाली जंगल, हिमाल, नदीनाला, फूल र बगैंचाका आकृतिलाई रङले क्यानभासमा उतार्ने गर्थिन् । अहिले कोरोना महामारीले मृत्यु र भयसँगै भोकमरीको खतरा बढ्दो छ । यी सम्भावनामाथि उनले चित्र कोरेकी छन् । ‘काठमा रङ पोत्दा बेग्लै टेक्सचर आउँदो रहेछ,’ उनले भनिन्, ‘नवीन अभ्यासमा रमाएकी छु ।’

कोहलपुर–१२ की गृहणी उषा सुवेदीले लकडाउनयता कुची समातेकी छन् । उनका श्रीमान् विक्रम शिशिर चित्रकार हुन् । अरू बेला खासै रङ पोत्न चासो नदिने उषाले लकडाउनमा ब्रस चलाउन सिकिन् । ५ महिनाको अवधिभर चरा र रूखका हाँगा क्यानभासमा उतार्न सिपालु भएकी छन् । ‘कति मोबाइल र टीभी हेर्नु ?,’ उनले भनिन्, ‘मनको बह पोख्न चित्र सजिलो माध्यम रहेछ ।’ यही बीचमा उनले १८ वटा चित्र कोरिसकेकी छन् । प्रदर्शन गर्ने समयको पर्खाइमा रहेको बताउँदै उनले भनिन्, ‘अब त कलामै पहिचान स्थापित गर्ने सोंच बनेको छ, कोरोना कहरले चित्रकार बन्ने धोको जगाइदिएको छ ।’

प्रकाशित : भाद्र १६, २०७७ १०:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?