क्यानभासमा कृषि कर्मदेखि खेल मैदानसम्म

अमृता अनमोल

बुटवल — कोरोना भाइरसको सन्त्रास र लकडाउनकैबीच रुपन्देहीका कलाकार चित्र कार्यशालामा सरिक भएका छन् । नेपाल व्यवसायिक कलाकार संघको स्थापना दिवस तथा रजत महोत्सवको अवसर पारेर संघमा आवद्ध कलाकारले कार्यशाला गरेका हुन् ।

क्यानभासमा कृषि कर्मदेखि खेल मैदानसम्म

‘देशभरिका कलाकारहरु एक जुट हौं, गुणस्तरीय कलाको र्सिजना गरी पेशागत मर्यादा माथि उठाऔं’ भन्ने नाराका साथ दुई दिने चित्रकला कार्यशाला गरे । आफूमा भएको कला बाहिर ल्याउन र सामूहिक रुपमा सिक्ने सिकाउने वातावरण सिर्जना गर्न कार्यशाला गरिएको संघका सहसचिव बिक्रम तरामुले बताए । ‘लकडाउनका बीच भेटघाट हुन नपाएका कलाकारको जमघट भयो । आफ्नो कला बाहिर ल्याउन पनि पाइयो,’ उनले भने , ‘कार्यशालाबाट हामी उत्साहित भएका छौं ।’

कुञ्जलापुरमा आयोजित कार्यशालामा रुपन्देहीका २५ जना चित्रकार सहभागी थिए । आइतबार र सोमबार कलाकारले कार्यशालामा २७ वटा चित्र बनाए । ती मूर्त, अमूर्त दुवै खाले चित्र थिए । कृषिकर्मदेखि खेलमैदानसम्म तयार गरे । डाँडापाखा र मौलिक तस्बिर कोरे । कलाकारले थारु, गुरुङ, नेवारी लगायतका जातजातिका विभिन्न भेषभूषा र ऐतिहासिक स्थल तथा मन्दिरहरुको चित्र बनाउने धेरै थिए । पछिल्लो पटक जातिगत र ऐतिहासिक भेषभूषा धेरैले मन पराउन थालेकाले त्यस्ता चित्र बनाएको संघका अध्यक्ष बेनप्रसाद थापाले बताए ।

कार्यशाला आयोजना गर्न तिलोत्तमा नगरपालिका र झरना स्पोर्ट्स क्लबले सहयोग गरे । कलाकारले कार्यशालाबाट तयार गरिएका चित्र पनि नगरपालिकालाई नै हस्तान्तरण गरे ।

नगरपालिकाले उक्त चित्र बन्दै गरेको नयाँ भवनमा सजाएर राख्ने बताएको छ । ‘कला र सीप व्यक्ति मात्र होइन राष्ट्रकै सम्पत्ति हुन्,’ नगरप्रमुख बासुदेव घिमिरेले भने, ‘हामी सम्पतीका रुपमा जोगाएर र सजाएर राख्ने छौं ।’

प्रकाशित : असार ९, २०७७ १४:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने/नगर्ने विवादले प्रतिनिधि सभा फेरि अवरुद्ध भएको छ । संसद् चलाउन के गर्नुपर्ला ?