कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

टुँडिखेलमा काँठे भाका

दुई दशकअघि लोकप्रिय गीतसंगीत उत्थान गर्न महोत्सव
सुशीला तामा‌ङ

काठमाडौँ — काँठ क्षेत्रको मौलिक कला, संस्कृति, परम्परा र परिवेश समेटेर बनेका काँठे लोकगीत ५० देखि ६० को दशकको मध्यसम्म निकै लोकप्रिय थिए । ५० को दशकयता नै नवराज घोरासैनी, घमेश दुलाल, सीता थापा, इन्दिरा गुरुङ, गीतादेवी, रेशम थापा, भोजराज काफ्लेलगायत गायकले यस विधालाई निकै माथि उठाउने काम गरे ।

टुँडिखेलमा काँठे भाका

लोकगीतका सम्राट् मानिने कुमार बस्नेत र गायक अम्बर विरही गुरुङले स्थापित गरेको लोकगीतलाई यी सर्जकले मलजल गरे । घोरासैनीको ‘गमलाका जई...’, ‘चाँगुनारायण थान...’, ‘घुम्तीनिर लेट भयो...’ द्वन्द्वकालको स्मरण गराउने काफ्लेको ‘भन्नु नभाको...’ जस्ता काँठे लोक भाकालाई जनमानसले अझै पनि उत्तिकै रुचाउँछन् ।

काठमाडौं उपत्यका आसपासका काँठ क्षेत्रमा मेलापात, घाँसदाउरा, पर्वमा गाइने लोक भाकाकालाई स्थापित गर्न रेडियो नेपालले निकै ठूलो भूमिका खेलेको देखिन्छ । लोकगायक बस्नेत लोकगीतलाई बाउबाजेको सम्पत्तिका रूपमा दाबी गर्छन् । १० को दशकको अन्त्यदेखि नै उनले लोकगीत गाउन थालेका थिए । छ दशकको सांगीतिक यात्रामा बस्नेतले धेरै लोकगीत गाए ।


पछिल्लो समयमा लोकगीतले फिल्ममा समेत बलियो उपस्थिति जनाइरहे पनि काँठे लोकभाका भने अझै पनि कमै सुनिन्छन् । यस्तो अवस्थामा काँठ क्षेत्रको कला, संस्कृति, परम्परा, लोकभाकाको संरक्षण र संवर्द्धनका लागि डीएआर मुभिज एन्ड फिल्म्स्ले राजधानीको टुँडिखेलमा शुक्रबारदेखि पाँचदिने ‘प्रथम राष्ट्रिय काँठे लोकदोहोरी महोत्सव’ सुरु गरेको छ । महोत्सवमा मुलुकभरिका ७४ समूहले सहभागिता जनाएका छन् ।


थुप्रै गायक–गायिकाले काँठे भाकामै दोहोरी प्रतिस्पर्धा गरिरहेका छन् । महोत्सवको पहिलो दिन रसुवाबाट सानु धमला र काठमाडौंबाट राजु दंगालले प्रतिस्पर्धा गरेका थिए । दोस्रो दिन नुवाकोटबाट सावित्री श्रेष्ठको महिला मित्र र काठमाडौंबाट कल्पना तामाङको पुरुष मित्रले ‘चाँगुनारायण थान...’ काँठे भाकामा देशको भ्रष्टाचार, विकृत बन्दै गएको राजनीति, फितलो कानुन र सिमाना अतिक्रमणसम्मका प्रसंग उठान गरेर दोहोरी प्रस्तुत गरे । महोत्सवको तेस्रो दिन आइतबारसम्म दुई दर्जनभन्दा बढी प्रतिस्पर्धीले विभिन्न काँठे लोकभाकामै दोहोरी प्रतिस्पर्धा गरिसकेका छन् । मुलुकका विभिन्न भागबाट आएका गायिकागायिकाले काँठे भाकामा माया, प्रेम, मुलुकको राजनीतिक विसंगति, विकृति, खस्किँदै गइरहेको न्याय प्रणालीलाई विषयवस्तु बनाएका छन् ।


टिम ‘ए’ र ‘बी’ गरी विभाजन गरिएको ३७ समूहबाट दुवै समूहका महिला र पुरुषले दोहोरी प्रतिस्पर्धा गर्ने महोत्सवका संयोजक नमराज ढुंगानाले बताए । उनका अनुसार प्रतिस्पर्धामा पहिलो चरणमा ७४ समूहमार्फत् बनेका ३७ समूहबाटै ३२, १६, ८ र ४ समूहमा घटाउँदै उत्कृष्ट एक समूहको छनोट गरिनेछ । प्रतिस्पर्धा छनोटका लागि निर्णायक छनोट समितिको अध्यक्षमा गायिका सीता थापा, संयोजकमा गायक नवराज घोरासैनी र निर्णायक मण्डल सदस्यमा विरही गुरुङ, हरि थापा, घमेश दुलाल छन् ।


शुक्रबार प्रतियोगितासँगै विभिन्न जिल्लाबाट आएका डेढ दर्जनभन्दा बढी समूहले झाँकीसमेत प्रदर्शन गरेका थिए । रसुवाको टोलीले प्रस्तुत गरेको घोडा नाच, धादिङबाट लामा नाच, काभ्रेबाट माझी र ट्याकुली नाच, काठमाडौंबाट कुमारी र आरती नाच, दोलखाबाट बिगु नाचलगायत डेढ दर्जनभन्दा बढी समूहको झाँकी प्रस्तुतिको रौनक भिन्न देखिएको थियो ।


महोत्सवमा सहभागी लोकगायक बस्नेतले लोकगीतमा आफूलाई गाइनेको रूपमा चिनाए । विविधताले भरिएको मुलुकमा लोकगीतमा हाम्रै लोकपरम्परा र लय आउने भएकाले यसलाई माया गर्न उनले सबैलाई आग्रह गरे । यसप्रति राज्यले गरेको बेवास्ताप्रति खिन्न हुँदै उनले भने, ‘नेपाली भाषा हाम्रो सम्पत्ति र संस्कृति हो । यसैलाई लोकगीतले बोकेर आएको छ ।’


माधव थापाको परिकल्पना रहेको महोत्सवले काँठ क्षेत्रको लोकसंगीतलाई मात्र नभएर समग्र कला, संस्कृतिलाई उठाउनसमेत महत्त्वपूर्ण भूमिका खेल्ने गायक घोरासैनीको विश्वास छ । काँठे लोकगीतले मौलिकताको झल्को दिएको सुनाउँदै उनले यसको मर्म कहिल्यै नमासिने जिकिर गरे । हालै मात्र सार्वजनिक भएको उनको काँठे लोकभाका गीत ‘मिरमिर कपालैमा...’ को प्रसंग निकाल्दै उनले आफू अझै पनि यही लोकभाकाको संरक्षण र विस्तारमा लागेको सुनाए । ‘महोत्सवबाट म कति खुसी भएको हुँला,’ उनले उत्साहसाथ भने ।


मंगलबार सकिने महोत्सवमा पहिलो, दोस्रो र तेस्रो समूहलाई क्रमशः ३ लाख, दुई लाख र १ लाख रुपैयाँ पुरस्कार प्रदान गरिनेछ भने सान्त्वना पुरस्कारस्वरूप ५० हजार रुपैयाँ दिइनेछ । त्यस्तै उत्कृष्ट गायकगायिकाले १० हजार रुपैयाँ प्राप्त गर्ने महोत्सवको संचार संयोजक चन्द्रमणि गौतमले जनाए ।

प्रकाशित : फाल्गुन १९, २०७६ ०९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?