झुप्रीको “सम्झी रुना रुना...”- कला - कान्तिपुर समाचार

झुप्रीको “सम्झी रुना रुना...”

कान्तिपुर संवाददाता

काठमाडौँ — अछामकी झुप्री भण्डारीको स्वर र लयलाई गायन रियालिटी सो ‘दि भ्वाइस अफ नेपाल’को दोस्रो संस्करणमा पहिलोपल्ट सुन्दा निर्णायकहरू चकित बनेका थिए । सुदूरपश्चिमको मौलिक स्वर र कारुणिक पीडाभाव व्यक्त गरिएको नौलो गीतबाटै उनी डिजिटल अडिसनको पहिलो राउन्डमा छानिएकी थिइन् । ब्लाइन्ड अडिसनमा छनोट भए पनि उनी ब्याटल राउन्डबाट भने बाहिरिइन् । 

शोबाट बाहिरिए पनि दर्शकका मनमा छाएकी झुप्री गीतमार्फत फेरि फर्किएकी छन् । आफ्नै जीवनको यथार्थ कथाव्यथालाई गीतैमार्फत व्यक्त गर्ने झुप्रीले पहिलोपल्ट ‘सम्झी रुना रुना...’ बोलको गीत म्युजिक भिडियोसहित ल्याएकी छन् । बुधबार सार्वजनिक गीतको भिडियोमा झुप्रीकै घरको दृश्यका साथ उनलाई र उनका बाबु बलराम भण्डारी, आमा नामसरा देख्न सकिन्छ । गीतमा उनीसँगै कमल संघर्षका शब्द समावेश छन् । लय पाण्डव विष्टको रहेको छ भने एरेन्ज विनोद बजुरेलीले गरेका हुन् । भिडियो दिर्नेशन संघर्ष र वरुण रिजालले गरेका हुन् ।


जन्मजात दृष्टिविहीन र गरिबीकै कारण आधा जीवन निकै कष्टपूर्ण बिताएकी झुप्रीले काठमाडौं जाने, गीत रेकर्ड हुने कहिल्यै सोचेकी थिइनन् ।


नातेदार भाइ गजलकार संघर्षको सहायतामै उनले भ्वाइस अफ नेपालदेखि गीत रेकर्डसम्म यात्रा अगाडि बढाएकी हुन् । संघर्षले दिएको साथप्रति उनले आभार व्यक्त गर्दै अत्यन्तै खुसी भएको सुनाइन् ।

प्रकाशित : फाल्गुन १, २०७६ ०८:५३
प्रतिक्रिया
पठाउनुहोस्

समारोहमा सीमित थारू संस्कृति

दुर्गालाल केसी

दाङ — दाङ थारूहरूको बाहुल्य क्षेत्र हो । जिल्लाको पश्चिम–दक्षिण भेगको सुकौराकोटमा थारू राजा दंगिशरणले राज्य गरेको इतिहास छ । यही नामबाट गाउँपालिकाको पनि नामकरण गरिएको छ । दंगिशरण गाउँपालिकाको अध्यक्षमा पनि थारू समुदायकै भागिराम चौधरी निर्वाचित भएका छन् ।

दाङमा थारू समुदायलाई आदिवासी मानिन्छ । बर्दिया, कैलाली, कञ्चनपुरतिर दाङबाटै बसाइँसराइ गरेर गएका हुन् । जसलाई बुह्रान जाने भनिन्थ्यो । दाङमा जमिन्दारबाट सताइएपछि र उतातिर पर्याप्त जमिन पाइने भएपछि दाङका धेरै थारू बुह्रान गएका हुन् ।

थारू जातिको आफ्नै इतिहास र संस्कृति छ । आफ्नै भेषभूषा र गरगहनाले थारूको बेग्लै पहिचान दिन्छ तर अहिले बिस्तारै संस्कृति हराउँदै गएको छ । अन्य समुदायले कुनै औपचारिक कार्यक्रम गर्न थाले भने पनि थारू गरगहनाले सजिएकाको नाचगानलाई महत्त्व दिने गर्छन् । ‘आफ्नो संस्कृति भनेपछि माया लाग्छ । सधैं लगाएर हिँड्न सकिँदैन,’ घोराहीकी सुशीला चौधरीले भनिन्, ‘चाडपर्व र मेला–महोत्सवमा आफ्नो समुदायको पहिचान दिन लगाउने गर्छौं ।’ पुराना थारू महिलाले लगाउने ढुंग्रीमाला, चुरिया, मुन्द्री, मंग्या, मालाजस्ता परम्परागत गहना लगाएर युवा पुस्ता रमाउने गर्छ । धेरैजसो नयाँ पुस्तालाई त यस्ता गहनाको नामसमेत थाहा छैन । पुरुषले लगाउने भेग्वा, फेटा, काठका खराउजस्ता कपडा र सामान पनि अहिले हराइसके ।

थारू जातिको पहिचान दिने पुराना कपडा, गहना, दैनिक उपभोग्य सामान र भाषासमेत नयाँ पुस्ताका लागि आकर्षणको केन्द्र बन्न नसके पनि कहिलेकाहीं भए पनि इज्जत भने धानेका छन् । अन्य समुदाय र आधुनिकताको प्रभावले कला संस्कृति चाडपर्वमा सीमित भइरहेको थारू कल्याणकारिणी सभाका अध्यक्ष भुवन चौधरीले बताए । ‘नयाँ पुस्ता अन्य समुदायसँग घुलमिल भइरहेको छ । संस्कार पनि अरूबाटै सिकिरहेको छ,’ उनले भने, ‘औपचारिक कार्यक्रम, मेलापर्व र महोत्सवमा मात्रै आफ्नो भेषभूषा लगाउने चलन आएको छ । यसले संस्कृति बचाउन कठिन छ ।’ अन्य समयमा उपयोग नहुने भएकाले थारू भेषभूषा नियमित प्रयोगमा आउन नसकेको उनले बताए ।

पुराना गहना र कपडा गह्रौं भएकाले पनि नयाँ पुस्ताले त्यसलाई छोड्दै गएको थारू अगुवाहरूको भनाइ छ । थारू नाचमा गहना र भेषभूषाको महत्त्व भएकाले गीत र नाचसँग मात्रै देखापर्ने स्थिति आएको उनीहरूको गुनासो छ । दैनिक जीवनमा प्रयोग नभएपछि अहिले संरक्षणका लागि संकलन गर्ने र मेला महोत्सवमा प्रदर्शन गर्ने अवस्था आएको थारू गीत र नाचका जानकार घोराही उपमहानगरपालिका–१०, जलौराका चन्द्रप्रकाश चौधरीले बताए । ‘नियमित भेषभूषा लगाउने चलन हरायो । चाडपर्वमा पनि नलगाए त हाम्रो संस्कृति नै हराइहाल्छ,’ उनले भने, ‘सधैं नलगाए पनि आवश्यक पर्दा लगाउने गरेका छौं ।’

कला क्षेत्रमा लागेको युवा पुस्ता पनि परम्परागत संस्कृति झल्किने सामग्रीभन्दा बजार सुहाउँदो आधुनिकतामा रमाएको थारू कलाकार संघका अध्यक्ष शालिकराम चौधरीले बताए । ‘सबै श्रोता र दर्शक हाम्रो भाषा बुझ्दैनन्,’ उनले भने, ‘तैपनि, हामीले थारू संस्कृतिलाई नेपाली भाषामै भए पनि प्रस्तुत गर्ने प्रयास गरिरहेका छौं ।’

प्रकाशित : फाल्गुन १, २०७६ ०८:५१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×