कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सडकमै रञ्जना

सुशीला तामा‌ङ

(ललितपुर) — पाटनढोकाको गेटको आडैमा सेतो कागजमा रञ्जना लिपिका साधारण शब्दहरू कोर्न कोसिस गर्दै थिए ६१ वर्षीय रुपेश श्रेष्ठ । आफ्नो पुर्खाले बचाएको मौलिक लिपिबारे सुने पनि त्यसबारे अध्ययन गर्न उनले यसअघि कुनै चासो देखाएनन् । नेपालको ऐतिहासिक र नेवार समुदायसँग प्रत्यक्ष जोडिएको लिपि नजानेकोमा अहिले उनलाई पछुतो महसुस भयो र सिक्ने अठोट लिए ।

सडकमै रञ्जना

शनिबार पाटनढोकास्थित नेपाल लिपि गुठीले सडकमा नै गरिएको ‘रञ्जना लिपि’ कार्यशालामा श्रेष्ठ लगायत नयाँ पुराना पुस्ताका ५० भन्दा बढी सहभागीले रञ्जना आधारित भएर शब्द, अक्षर रचना, त्यसको संरचना, भाव, अस्तित्व र महत्त्व सिक्दै थिए । पाका उमेरका ६१ वर्षीय श्रेष्ठचाहिँ उमेर ढल्केर पनि केही शब्द सिक्ने मौका पाएकोमा दंग थिए । ‘अंग्रेजी भाषामा नाम लेख्ने मलाई आफ्नै लिपि आउँदैनभन्दा साह्रै लाजमर्दो महसुस भयो,’ उनले भने, ‘ढिलै भए पनि मौलिक भाषा र मातृभाषाको लिपिमा केही शब्द सिक्न पाएर खुसी छु ।’


कार्यशालामा बितेका चार दशकदेखि लिपि संरक्षणकै लागि निरन्तर अगाडि बढिरहेको गुठी र लिपि बचाउ अभियानमा लागेको ‘क्याली जात्रा समूह’ का अभियन्ताले लेखनमा सहभागीलाई सघाइराखेका थिए । आनन्द महर्जन, पूर्व मिस नेवा: सुनिता डंगोल, पवित्र कश:, अनिल स्थापित, पवनराजा महर्जनलगायतले रञ्जनाको लेखन संरचनाबारे ब्रस र रंगको सहायतामार्फत सिकाएनन् मात्रै, लिपिको सैद्धान्तिक पाटो र ऐतिहासिक पाटो पनि खुलाउँदै थिए ।


गुठीका सचिव कश:ले नेवार समुदायको भनेर चिनिने रञ्जना लिपिलाई नेपालको मौलिक सम्पदाको रुपमा आम मानिसमा चिनाउन र यसको विकास विस्तार गर्न कार्यशालाले सघाउ पुर्‍याउने बताए । नेपालमा यस लिपिलाई विस्तार गर्न नेवार समुदायले भूमिका खेलेकाले आम मानिसमा यो नेवारको मात्रै भन्ने भ्रम रहेको उनले खुलाए । उनका अनुसार छैटौं र सातौं शताब्दीतिर नेपालमा नै यो लिपिको उत्पत्ति भएको कथन छ । यसको पुनर्जागरण गर्न जरुरी रहेको बताउँदै चार दशकको दौरानमा नेपालमा १० हजार जनाले यस लिपि लेखनबारे ज्ञान भएको उनको अनुमान छ ।


लिपि उत्पत्तिबारे खुलाउँदै गुठीका उपाध्यक्ष स्थापितले लिच्छविकालमा नेपालको राजकुमारी भृकुटी तिब्बत गएपछि रञ्जना लिपिको प्रचार भएको ऐतिहासिक पक्ष सुनाए । उनका अनुसार नेपालमा कोठा र घरका आँगनमा सीमित लिपि भृकुटी गएपछि तिब्बतमा तीव्र रूपमा फैलियो । अहिले पनि तिब्बती तोरण र भित्ताहरूमा रञ्जना लिपि जताततै दखिने उनले जनाए । यसलाई आधार मान्ने हो भने पनि यस लिपिको मूल उद्गम थलो नेपाल नै हुनुपर्ने उनको अनुमान छ । ११ औं शताब्दीतिर विकास भएको आधार मान्ने धार्मिक ग्रन्थ पनि रहेको स्थापितले बताए । धर्मका ग्रन्थ लेख्न रञ्जना लिपिको विकास भएसँगै जनस्तरमा सामान्य कामकाज र आर्थिक कारोबारका लागि भने नेपाल लिपि र भूजिमोल लिपि विकास भएको उनको दाबी छ ।


नेपालमा १६ औं र १७ औं शताब्दीसम्म निकै प्रचलनमा रहेको रञ्जना लिपि महायानी बौद्ध धर्म मान्ने भारत, चीन, जापान, मंगोलियालगायत देशमा पनि प्रयोगमा छन् । नेपालमा पनि केही शिलालेख र अभिलेख र हाल कला विधामा पनि यसको प्रयोग बढ्दो छ । ‘क्याली जात्रा’ की प्रमुख अभियन्ता पूर्व मिस नेवा डंगोलले यसलाई नयाँ पुस्तामा लैजानुपर्ने आवश्यकता औंल्याइन् । ‘यो भाषाको रूपमा मात्र नभएर शैलीगत हिसाबमा पनि निकै सुन्दर छ,’ उनले भनिन्, ‘रञ्जना लिपिले संस्कृति, परम्परा, धर्म र मौलिक पहिचानलाई झल्काउँछ ।’ गैरनेवार पोखराका २३ वर्षिय कुशल पौडेल पनि कार्यशालाका सहभागी थिए । सुरुमा उनले रञ्जना लिपिलाई नेवार समुदायको लिपिका रूपमा बुझेका थिए । लिपिमा रहेको सुन्दर लेखन कलाले नै उनलाई आकर्षित गरेको थियो । ‘यो लिपि हामी सबैको रहेछ भन्ने बुझ्दै गएपछि थाहा पाएँ,’ उनले भने । मुलुकको पहिचानकै रूपमा रहेको यस लिपिबारे अनविज्ञ सबैलाई बुझाउने उनको उद्देश्य छ ।


रञ्जना लिपिको विकासका लागि गुठी तथा क्याली समूहले उपत्यकामा मात्र नभएर भोजपुर, झापा, नुवाकोट, काभ्रेलगायतका जिल्लामा पनि कार्यशाला सञ्चालन गर्दै आएको डंगोलले बताइन् । कार्यशालामा लिपिको आधारभूत संरचना, शैली, प्रयोग तथा महिमाबारे समूहले सिकाउँदै आएको छ । समूहले रञ्जना लिपि तथा नेपाल भाषाका रूपमा यसको एप बनाई प्रविधिमा समेत जोड दिएको छ । त्यस्तै समूहको अभियानले दैनिक जीवनमा प्रयोग गरिने कपडा तथा सामग्रीहरूमा समेत लेखेर रञ्जना लिपि विस्तार गर्ने काम गरिरहेको छ ।

आम मानिसलाई लिपि लेखनसँगै हाल मुलुकमा भेटिएका पुराना शिलालेखका अक्षर पढ्न र चिन्न सक्षम बनाउने कार्यशालाको पहिलो उद्देश्य रहेको उपाध्यक्ष स्थापितले बताए । यसपछि मात्र घरमा प्रयोग गरिने धर्म ग्रन्थ, साधना र तथा गोप्य मन्त्रमा रहेका लिपिहरू सजिलै बुझ्न सकिने उनको विश्वास छ ।

प्रकाशित : माघ १२, २०७६ ०८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?