कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हिमाल हाँसेको...

सुशीला तामा‌ङ

काठमाडौँ — विश्वका पर्यटकलाई नेपालको प्राकृतिक तथा सांस्कृतिक सम्पदा चिनाउन अंग्रेजी नयाँ वर्ष २०२० देखि ‘नेपाल भ्रमण वर्ष २०२०’ सुरु भएको छ । राजधानीमा बुधबार ‘नेपाल भ्रमण वर्षको सुरुवात भईरहँदा बबरमलस्थित नेपाल आर्ट काउन्सिलमा भने हिमालहरू हाँसिरहेका देखिन्थे । सेता र पहेँला हिमालहरूले नेपाली सौन्दर्य दर्साइरहेको भान हुन्थ्यो ।

हिमाल हाँसेको...

अग्ला पडाडको खोंचतिरबाट बहेको कुहिरो, बिहानी घामको सुनौलो किरण, मध्याह्नको अधिकतम प्रकाश, लालीगुँरास फूलको सौन्दर्य, हरियाली खेतका फाँटहरूसँगै हिमाल जताततै सहयात्री बन्दै हाँसिरहेका थिए । यी सुन्दर हिमाल भने चित्रकार बिके नरबहादुरका कला सिर्जना हुन् । ‘द युट्युब सिरिज’ शीर्षकमा ग्यालरीमा जारी प्रदर्शनीअन्तर्गत चित्रकार बिकेले १ सय ५ वटा कलाकृति राखेका छन्, जसमा नेपालको प्राकृतिक सुन्दरतालाई निकै सुन्दर ढंगबाट उतारेका छन् । वाटर र एक्रेलिक माध्यममा तयार गरिएका उनका सबैजसो चित्रहरूमा हिमाल चित्रण छन् ।


प्रदर्शनी अवलोकन गर्न जोकोहीलाई पनि चित्रले मनमोहक दृश्य मात्र होइन, प्राकृतिक सौन्दर्यले भरिपूर्ण घान्द्रुकको मौलिक बस्तीसँगै मुस्ताङको कागबेनी तथा पहाडी कुनाकन्दरामा घुमिरहेको आभास हुन्छ । सगरमाथा होस् या अन्नपूर्ण हिमशृंखलाका दृश्य, सबै जीवन्त देखिन्छन् । अझ नौलो विषय त उनले एक दिनमा देखिने सबैजसो हिमालका झलकहरू चित्रमा उतार्ने कोसिस गरेका छन् । भर्खर घाम उदाएको बेला, ठिक्कको घाम, मध्याह्न, घाम अस्ताउन लाग्दा देखिने हिमालका स्वरूप उनका चित्रहरूमा हेर्न सकिन्छ । हरिया जंगलले ढाकिएको दुई पहाडको बीचबाट देखिने सेता हिमाल होस् या कालो पहाड नजिकैबाट बिहानी घामले सुनौलो रंगमा झल्केको हिमाल अत्यन्तै आकर्षित गर्ने खालका छन् ।


चिटिक्क खरले छाएको छानोसहितको स–साना घर, घरको आँगननजिकै पराल थुपारेको दृश्य, हरियो अन्नबालीसहितको कलाकृतिले वास्तविक नेपालको पहिचान झल्काउँछन् । चित्रमा घरको ठीक माथितिर अग्ला पहाडको खोंच हुँदै आइरहेको कुहिरो देख्दा मनमा गम्भीर भाव पैदा हुन्छ । मुस्ताङको प्राकृतिक दृश्यसँगै उनले त्यहाँको घरको बनोटसमेत चित्रमा देखाएका छन्, यो उनको अर्को विशेषता हो । विशेष गरी प्रकृतिलाई प्रमुख विषय बनाएर ल्यान्डस्केप चित्रकला नै अघि बढाइरहेका बिकेको यो १५ औं एकल प्रदर्शनी हो । कलामार्फत नै नेपालको प्राकृतिक सुन्दरतालाई चिनाउने उद्देश्यका साथ अगाडि बढिरहेको उनले बताए । दुई दशकभन्दा बढी उनको कला–यात्रामा प्रकृतिलाई उनले नजिकबाट नियालेको सुनाए ।


‘म घान्द्रुकलाई उतान मात्रै २२ पटक त्यहाँ पुगिसकेँ,’ उनले भने, ‘प्रकृतिलाई चित्रमा उतार्न काल्पनिक संसारभन्दा प्रत्यक्ष दृश्य अवलोकन गर्नु निकै आवश्यक छ ।’ उनका अनुसार कुनै स्थानको प्रकृति र परिवेशलाई अप्राकृतिक र अस्वाभाविक तरिकाले उतार्नु निकै गलत हो । घान्द्रुक सिरिजमा चित्र उतार्ने क्रम सम्झँदै उनले कुनै दृश्यका लागि दिनभरि कुची र रंग लिएर कुरिरहनुपर्ने सुनाए । भ्रमण वर्षमा आउने पर्यटकहरूका लागि पनि आफ्ना चित्रहरूले केही हदसम्म भए पनि सघाउ पुर्‍याउने सक्ने उनको विश्वास छ ।


चित्रहरू अवलोकनकै क्रममा भेट्टिएका चित्रकार रवीन्द्र श्रेष्ठले बिकेको चित्रहरूले सुन्दर दृश्यका साथै यर्थात् नेपाललाई समेत बोकेको दाबी गरे । बिकेले नेपाल चिनाउन प्रकृति मात्र नभएर अर्को ठोस प्रमाण बुद्धलाई पनि लिएका छन् । उनको चित्रकला प्रदर्शनी यही शनिबारसम्म जारी रहनेछ ।




प्रकाशित : पुस १७, २०७६ ०९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?