कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०९

आर्थिक अभावमा दिल्लीको अफगान दूतावास बन्द

कान्तिपुर संवाददाता

नयाँदिल्ली — भारतमा रहेको अफगानिस्तानको दूतावासले आइतबारदेखि आफ्नो कामकाज बन्द गरेको जनाएको छ । दूतावासले भारत सरकारका तर्फबाट समर्थनमा कमी भएको तथा कर्मचारी र आवश्यक कार्य संसाधनको अभावले कार्यालय बन्द गर्नुपर्ने स्थिति आएको बताएको छ ।

आर्थिक अभावमा दिल्लीको अफगान दूतावास बन्द

दिल्लीमा रहेको अफगान दूतावास बन्द हुने चर्चा केही दिनयता चल्दै आएको बेला दूतावास स्वयंले विज्ञप्ति जारी गरेर त्यसको पुष्टि गरेको हो । २०२१ को अगस्टमा तालिवानले अफगानिस्तानको सत्तामाथि नियन्त्रण लिएको थियो । तर, दिल्लीस्थित दूतावासका अधिकारीहरू तालिवानभन्दा अगाडिका सरकारबाटै नियुक्त भएका थिए । तालिवान सरकारले पनि दिल्लीस्थित दूतावासमाथि आफ्नो नियन्त्रण कायम गर्न सकेको थिएन । भारतले तालिवान नेतृत्वको सरकारलाई मान्यता दिइसकेको छैन । तालिवान नेतृत्वमा आएपछि भारत सरकारले नै दिल्लीस्थित दूतावासलाई बजेटलगायतको सहयोग गरेर टिकाएको थियो । तर, भारत सरकारले त्यसमा कटौती गर्दै लगेपछि आर्थिक अभाव देखाएर दूतावासले पनि कर्मचारी कटौती गर्दै आएको थियो ।

अफगानिस्तान दूतावासले आफ्नो कामकाज बन्द गर्ने विषयमा शनिबार भारत सरकारलाई पत्र लेखेर जानकारी गराइसकेको छ । साथै, सामाजिक सञ्जालमार्फत दूतावासले धेरै सोच विचारपछि दूतावास बन्द गर्ने निर्णय लिएको जनाएको छ । दूतावास रहेको देशका तर्फबाट सहयोगमा कमी हुनु, अफगानिस्तानमा निर्वाचित वैध सरकार नहुनु र कर्मचारी तथा अन्य संसाधनहरूको कमीले काम गर्ने स्थिति नरहेको अफगानिस्तान दूतावासले भनेको छ । त्यही तीन कारणले दूतावासको सबै कामकाज बन्द गर्नुपर्ने स्थिति बनेको दूतावासले बताएको छ । भारत सरकारलाई सम्पूर्ण सम्पत्ति हस्तानान्तरण नभएसम्म अफगानी नागरिकका लागि अत्यावश्यक कन्सुलर सेवा चालु रहने भनेको छ ।

तत्कालीन तालिवान सरकारको बर्खास्तीपछि सन् २००२ मा भारतमा अफगान दूतावास खोलिएको थियो । झन्डै २० वर्षपछि फेरि तालिवानले सत्ता आफ्ने हातमा लिएपछि उक्त दूतावास संकटमा पर्दै गएको थियो । भारतले तालिवान सरकारका तर्फबाट कर्मचारी पठाइने विषयलाई अस्वीकार गरेपछि पुरानै सरकारका तर्फबाट पठाइएका कर्मचारीहरूले दिल्लीमा दूतावास चलाएका थिए । तालिवान सरकारसँग उनीहरूको सम्बन्ध राम्रो थिएन ।

प्रकाशित : आश्विन १५, २०८० ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?