२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

युद्ध हामीले हैन, पश्‍चिमा र युक्रेनले नै सुरु गरेका हुन् : भ्लादिमिर पुटिन

एजेन्सी

काठमाडौँ — रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले युक्रेन द्वन्द्वलाई शान्तिपूर्ण रुपमा समाधान गर्न चाहेको बताएका छन् । युक्रेन युद्धको एक वर्ष पुगेको अवसरमा रुसी संघीय संसद्लाई सम्बोधन गर्दै राष्ट्रपति पुटिनले युक्रेनको डोनबास क्षेत्रको द्वन्द्वलाई शान्तिपूर्ण माध्यममार्फत् समाधान गर्न चाहेको बताएका हुन् ।

युद्ध हामीले हैन, पश्‍चिमा र युक्रेनले नै सुरु गरेका हुन् : भ्लादिमिर पुटिन

शान्ति सम्झौतामा पश्चिमा मुलुकको प्रतिबद्धता झुटा सावित भएको पनि पुटिनले सम्बोधनका क्रममा भनेका छन् । साथै पुटिनले युक्रेनले जैविक र आणविक हतियार जम्मा गरेको पनि आरोप लगाए । 'हामीले शान्तिपूर्ण रूपमा समस्या समाधान गर्न सबै प्रयास गर्‍यौँ । तर हाम्रो पछाडि अर्कै दृश्य मञ्चन भइरहेको थियो,' पुटिनले सम्बोधनका क्रममा भने ।

पश्चिमाहरूले राजनीतिक हत्या र विश्वासघातको प्रयास गरेको पनि पुटिनले दाबी गरेका छन् । त्यस्तै उनले पश्चिमा मुलुक र युक्रेनले नै युद्ध सुरु गरेको आरोप लगाएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले छिमेकी युद्धग्रस्त देश युक्रेन भ्रमण गरेको केही घण्टामै रुसी राष्ट्रपति पुटिनले मंगलबार यस्तो प्रतिक्रिया दिएका हुन् ।

युक्रेन-रुस युद्धको एक वर्ष पुगेको अवसरमा बाइडेन युक्रेन पुगेका थिए । युक्रेन भ्रमणपछि उनी पोल्याण्ड भ्रमण गर्ने कार्यक्रम छ । पोल्याण्डको राजधानी वार्सा पुगेर उनले युक्रेन युद्धबारे सम्बोधन गर्ने बताइएको छ । यसैबीच बाइडेनको युक्रेन भ्रमणलाई 'अचानक' भनिएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।

यसबीचमा अमेरिकाले पटकपटक युक्रेनलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै आएको छ । साथै युद्धका लागि रुस जिम्मेवार रहेको भन्दै अमेरिकाले अन्तर्राष्ट्रिय मञ्चहरूमा रुसलाई दबाब दिँदै आएको छ ।

प्रकाशित : फाल्गुन ९, २०७९ १७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले संघीय संसद्‌मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम कस्तो लाग्यो ?