काठमाडौँ — सन् १९५२ मा आजकै दिन (मे १३) मा जवाहारलाल नेहरू भारतको पहिलो जननिर्वाचित प्रधानमन्त्री बनेका थिए । भारतमा १९५१–१९५२ मा भएको आमनिर्वानमा भारतीय राष्ट्रिय कंग्रेस (आईएनसी) ले बहुमत प्राप्त गरेसँगै नेहरू प्रधानमन्त्री बन्न सफल भएका थिए ।
भारत १९४७ मा ब्रिटिस शासनबाट स्वतन्त्र भएको थियो । त्यसलगत्तै प्रधानमन्त्री बनेका नेहरू १९६४ मे २९ मा मृत्यु हुनुअघिसम्म भारतको प्रधानमन्त्री थिए ।
स्वतन्त्रता प्राप्त गरेसँगै भारतमा १९४९ नोभेम्बर २६ मा पहिलो संविधान जारी गरिएको थियो । उक्त संविधानको प्रावधानअनुसार भारतमा १९५१ अक्टोबर २५ देखि १९५२ फेब्रुअरी २१ सम्म पहिलो आमनिर्वाचन भएको थियो । लोकसभाका ४ सय ८९ सिटका लागि भएको चुनावमा आईएनसी ४५ प्रतिशत मतसहित ३ सय ६४ मा विजयी भएको थियो । ११ प्रतिशत मत पाएको सोसलिस्ट पार्टीले १२ सिट मात्र जितेको थियो ।
पहिलो आमनिर्वाचनमा ५३ वटा दलका र ५ सय ३३ स्वतन्त्र गरी एक हजार ९ सय ४९ उम्मेदवार प्रतिस्पर्धामा उत्रेका थिए । ६८ चरणमा भएको चुनावमा १७ करोड ३२ लाख १२ हजार ३ सय ४३ मतदाता थिए । भारतमा स्वतन्त्रतापछि १९५२, १९५७, १९६२, १९६७ र १९७१ मा भएका पाँच वटा आमनिर्वाचन लगातार आईएनसी विजयी भएको थियो ।
