विद्युत् खपत बढाउन प्राधिकरणको लगानी पूर्वाधार विकासमा केन्द्रित : घिसिङ- भिडियो - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विद्युत् खपत बढाउन प्राधिकरणको लगानी पूर्वाधार विकासमा केन्द्रित : घिसिङ

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् खपत बढाउन प्राधिकरणको लगानी विद्युतीय पूर्वाधार विकासमा केन्द्रित गरेको बताएका छन् । 

नेपाल विद्युतीय व्यवसायी महासंघले बिहीबार आयोजना गरेको ‘फिन इलेक्ट्रो टेक २०२२’ प्रदर्शनी कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक घिसिङले सरकार र प्राधिकरण विद्युतीय आवश्यक पूर्वाधार विकासका लागि लगानी केन्द्रित रहेको बताएका हुन् । उनले नेपालमा उत्पादन विद्युत् नेपालमा नै खपत बढाउनका लागि विभिन्न इभि एक्स्पोहरु भइरहेको पनि जनाए ।

घिसिङले विद्युत् खपतका लागि चार्जिङ स्टेसनहरु विस्तार र इन्डक्स कुकिङलाई प्राथमिकता दिँदै आएको बताए ।

विद्युत् प्रसारण, वितरण र सवस्टेशनको विकास नभई विद्युत् खपत बढाउन नसक्ने उनको भनाइ थियो । उनले प्राधिकरण गुणस्तरीय विद्युत् र चाहे जति विद्युत् सप्लाई गर्ने विद्युतीय पूर्वाधार निर्माण गर्ने चरणमा रहेको प्रस्ट पारे । घिसिङले गाउँगाउँमा सतप्रतिशत विद्युतीकरण गर्ने सरकारको नीति तथा कार्यक्रम अनुसार पूरा गर्ने चरणमा प्राधिकरण पुगेको दाबी गरे ।

उनले भने,‘विद्युत् प्रसारण वितरण र सवस्टेशनको विकास नभई धेरै विद्युत् खपतको अपेक्षा गर्न सक्दैनौं । विद्युतीय पूर्वाधार निर्माणमा प्राधिकरणको ठूलो लगानी भइरहेको छ । प्राधिकरण निरन्तर, गुणस्तरीय विद्युत् र चाहेजति विद्युत् सप्लाई गर्ने विद्युतीय पूर्वाधार निर्माण गर्ने चरणमा छौं ।'

उनले अबको २ वर्षपछि नेपालले विद्युत् आयात गर्नुपर्ने अवस्था नआउने बताए । उनले वर्षाको समयमा विद्युत् निर्यात गरिरहेको भन्दै विद्युत् निर्यात गर्नु सरकारको सफलता नभए तापनि खपत नभएको विद्युतलाई खेर फाल्नुभन्दा निर्यात गर्नु राम्रो भएको तर्क गरे । उनले विद्युत् खपत बढाएमात्रै मुलुकमा समृद्धि आउने भन्दै एक युनिक विद्युत् पनि खेर फाल्नु नहुने धारणा राखे ।

प्रकाशित : मंसिर २२, २०७९ १७:२८
प्रतिक्रिया
पठाउनुहोस्

‘आफ्नै बुबादेखि घृणा लाग्छ’

सम्झना रसाइली

तनहुँ — तनहुँकी १४ वर्षीया एक बालिकाले आफूलाई आफ्नै बुबादेखि घृणा लाग्ने बताइन् । ११ वर्षकै उमेरमा उनी पटकपटक आफ्नै बुबाबाट यौनजन्य हिंसाबाट पीडित हुन पुगेपछि बुबादेखि नै घृणा लाग्ने र भविष्यमा भेट्न पनि नचाहेको बताइन् ।

अहिले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेको छ । विभिन्न संघसंस्थाहरूले यस अभियानका विषयमा गोष्ठी, सेमिनार, सचेतनामूलक र्‍यालीसमेत प्रदर्शन गरी लैङ्गिक हिंसाविरुद्ध आवाज उठाएका छन् । तर, यस्ता आवाजहरु हाम्रै समाजभित्र पीडित बनेकाहरूसम्म पुग्न सकेका छैनन् ।

घरपरिवार र समाजको डरका कारण पीडितहरू पीडा लुकाउँदै बस्न बाध्य छन् । पीडित १४ वर्षीया बालिका ११ वर्षकै उमेरमा आफ्नै बुबाको घृणित कार्यबाट प्रताडित हुन पुगिन् ।बालिकाका बुबाले दुईवटा विवाह गरेका थिए । बालिका २ वर्षको हुँदा बुबाले छाडेर गएका थिए । उनी करिब ११ वर्षको हुँदा उनका बुबा फर्किएर त्यही परिवारमा सँगै बस्न थाले । आमासँगै सुत्ने बालिकालाई उनका बुबाले यौनजन्य हर्कत गर्न थाले । उनी सानै भएका कारण त्यो हर्कतको प्रतिवाद गर्न पनि सकिनन् र के भइरहेको छ भन्ने बुझ्न पनि नसकेको उनले सुनाइन् ।

दमौलीमा आयोजित एक कार्यक्रममा सहभागी भएकी बालिकाले आफू आफन्तबाटै यौनजन्य हिंसामा परेको बताएकी हुन् । करिब डेढ महिनासम्म घरपरिवारसँगै बसेका बुबाले चारपटकसम्म आफ्नो यौनाङ्ग चलाएको र यो कार्यले आफूलाई असहज महसुस हुनुका साथै मानसिक पीडासमेत भएको उनले सुनाइन् ।

‘म अहिले १४ वर्षकी भएँ । अझै पनि त्यो घटनाले मलाई सताइराख्छ र मन डराउँछ,’ उनले भनिन्, ‘त्यो समयमा बुबाले मेरो गोप्य अंग चलाएको थाहा पाएँ । डरले म केही बोल्न सकिनँ र सुतेको नाटक गरें । तर, त्यही घटनाले अझै पनि मलाई झस्काइराख्छ ।’

राती आफू सुतेजस्तो लागेपछि ३/४ दिनसम्म बुबाले संवेदनशील अंगहरूमा आफ्नो हात लाने गरेको बताउँदै उनले भनिन्, ‘के गरेको होला ? बुबाले मलाई माया गर्नुभएको होला कि के होला ? मलाई बुबाले छुँदा किन नराम्रो लाग्छ ? जस्ता प्रश्नहरू मेरो मनमा खेल्थ्यो । यो कुरा अरुलाई भन्दा मलाई के भन्छन् भन्ने लागेर पनि मैले आमा र अन्य कसैलाई भन्न सकिनँ । आज यहाँ भन्न पाउँदा मन हलुँगो भएको छ ।’

बायाँ आँखाबाट बगिरहेको आँसु पुस्दै उनले थपिन्, ‘बुबाले केही समयपछि घर छाडेर जाँदा आमाको अनुहारमा दुःख देखे पनि मलाई भने साह्रै खुसी लागेको थियो । आर्थिक अवस्था कमजोर भएकाले आमाले दैनिक ज्यालामजदुरी गरी हाम्रो पढाइ खर्च र घरव्यवहार चलाउनुहुन्छ ।’

रुम टु रिड (पढ्नका लागि कोठा) ले सञ्चालन गरेको बालिका शिक्षा कार्यक्रममा सहभागी भएपछि उनले आफ्नो मनको पीडा सुनाउन सक्षम भएकी हुन् । विद्यालयमा यौनजन्य हिंसा र दुर्व्यवहार रोकथाम तथा राम्रो छुवाइ र नराम्रो छुवाइका विषयमा सहजकर्ताहरूले सहजीकरण गरेपछि बालिकाले आफ्नो बुबाले गरेको हर्कत नराम्रो छुवाइ भएको बुझिन् ।

सो संस्थाले ५ वर्षदेखि जिल्लाका १२ वटा सामुदायिक विद्यालयमा बालिका शिक्षा कार्यक्रममा सञ्चालन गर्दै आएको छ । यस कार्यक्रममा विभिन्न विद्यालयका एक हजार ४५१ जना बालिकाहरू सहभागी छन् । कार्यक्रममा जीवनोपयोगी सीप तालिम, मेनटरिङ, अभिभावक भेला र कार्यक्रम सहयोग गरी ४ वटा कक्षा सञ्चालन गरिन्छ ।

यस्तै, सानैबाट बालबालिकालाई यौजन्य हिंसा र दुर्व्यवहारका विषयमा बुझाउन नसक्दा समाजमा यस्ता घटनाहरु घट्ने तर उजागार नहुँदा पीडितले पीडा झेल्दै जानुपर्ने र पीडकले उन्मुक्ति पाउने गरेको निर्मल माध्यमिक विद्यालयकी छात्रा दीपिका थापाले बताइन् ।

‘हामीले समाचारमा अझै पनि कति नाबालिगमाथि बलात्कार भएको घटनाहरू सुनिरहन्छौं । यस्ता घटना समाजमा हुन नदिनका लागि यौन शिक्षाका बारेमा विद्यालयस्तरमै बालबालिकालाई बुझाउन जरुरी छ,’ उनले भनिन्, ‘कक्षामा साथीभाइ बीच होस् या मेला महोत्सवमा जानअञ्जानमा बालिका/केटीका संवेदनशील अंगमा छुने प्रयास गरिन्छ र अधिकांश दिदीबहिनीले यो भोग्दै पनि आउनुभएको छ । यस्ता गलत क्रियाकलापको तत्कालै प्रतिकार गरी र दोषीलाई सजय दिए समाजमा यौनजन्य हिंसामा कमी आउने थियो ।’

यस्तै, जिल्ला प्रहरी कार्यालयमा चालु आर्थिक वर्षको कात्तिकसम्म दर्ता हुन आएका ९ वटा जबरजस्ती करणीका मुद्दामध्ये १६ वर्षमुनिका ५ वटा मुद्दा दर्ता भएका छन् । जबरजस्ती करणी उद्योगमा एउटा मुद्दा दर्ता भएको छ । आर्थिक वर्ष २०७८/०७९ मा जबरजस्तीकरणीको ३० वटा मुद्दा दर्ता भएकोमा १६ वर्षमुनिका १३ वटा मुद्दा, जबरजस्तीकरणी उद्योगको ९ वटा मुद्दा दर्ता भएकोमा १६ वर्षमुनिका ४ वटा र बाल यौन दुरुपयोगको २ वटा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भानु शर्माले बताए ।

यस्तै, आर्थिक वर्ष २०७७/०७८ मा जबरजस्ती करणीको २२ वटा मुद्दा दर्ता हुन आएकोमा १६ वर्षमुनिका १६ वटा मुद्दा, जबरजस्ती करणी उद्योगका ३ र बाल यौन दुरुपयोगका ५ वटा मुद्दा दर्ता भएका छन् । २०७८/०७९ मा एउटा मुद्दाबाहेक सबै मुद्दा अदालती प्रक्रियामा गइसकेको प्रहरी निरीक्षक शर्माले बताए । उनका अनुसार अरोपित व्यक्ति फरार भएको हुँदा मुद्दा अघि बढ्न सकेको छैन । जबरजस्ती करणी र बालयौन दुर्व्यवहारको घटना जिल्लामा बढ्दै गएको प्रहरीको तथ्यांकले देखाएको छ ।

यस्तै, जिल्ला अदालतको तथ्यांकअनुसार चालु आर्थिक वर्षमा दर्ता हुन आएका १११ मुद्दामध्ये १२ वटा मुद्दा जबरजस्ती करणीका छन् । आर्थिक वर्ष ०७८/०७९ मा दर्ता हुन आएका २०३ मुद्दामध्ये ३९ वटा मुद्दा बालयौन दुरुपयोग र जबरजस्ती करणीका रहेका छन् । जसमध्ये ३ वटा मुद्दाको फैसला भइसकेको छ । बाल यौन दुरुपयोगको ३ वटा मुद्दा दर्ता भएका छन् । जबरजस्ती करणीमा केही नाबालिगको पनि मुद्दा दर्ता हुन आएको अदातलको तथ्यांकमा देखिएको छ । जबरजस्ती करणीमा ५ मुद्दा हाडनाताभित्रको परेका छन् । अघिल्लो आर्थिक वर्षमा जबरजस्ती करणीमा पक्राउ परेका ५ जना बालकलाई बालसुधार केन्द्रमा पठाइएको छ ।

मुलुकी अपराध संहिता २०७४ दफा २२५ को उपदफा ३ अनुसार कसैले बालयौन दुरुप्रयोग गरेमा ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

प्रकाशित : मंसिर २२, २०७९ १७:१७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×