खाद्यले बेच्‍न थाल्यो खसीबोका- भिडियो - कान्तिपुर समाचार

खाद्यले बेच्‍न थाल्यो खसीबोका

कान्तिपुर संवाददाता

काठमाडौँ — खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दसैंका लागि खसीबोका हिजोदेखि बेच्‍न सुरू गरेको छ । खाद्यका खसीबोकामा प्रतिकिलो ५० रुपैयाँसम्म सस्तो मूल्य तोकेको छ । कम्पनीका बिक्री वितरण विभाग प्रमुख भीम थापाका अनुसार खसीको बिक्री मूल्य प्रतिकिलो ६ सय ८० रुपैयाँ तोकिएको छ । उक्त मूल्यमा १० रुपैयाँ छुट दिइनेछ । त्यस्तै, च्याङग्रो मूल्य १२ सय ६० रुपैयाँ निर्धारण गरिएको छ । प्रतिकिलो १० रुपैयाँ छुटसहित उपभोक्ताले १२ सय ५० रुपैयाँमा किन्न पाउनेछन् ।

चौपाया खरिद बिक्री सेवा संघले मंगलबार लोकल खसीबोकाको मूल्य प्रतिकिलो ६ सय ८० देखि ७ सय १० रुपैयाँ तोकेको थियो । च्याङग्रा प्रतिकिलो १३ सय रुपैयाँ पर्ने संघले जनाएको छ । दसैंका लागि खाद्य कम्पनीसँगै व्यावसायिक संघ/संस्थाले पनि खसीबोका र च्याङ्ग्रा खरिद प्रक्रिया सुरु गरेका छन् । कम्पनीले दार्चुला, मकवानपुर लगायत स्थानबाट खसीबोका, च्याङ्ग्रा भित्र्याइरहेको छ भने व्यावसायिहरूले सल्यान, सुर्खेत, बैतडी, डडेलधुरा, मकवानपुर, रामेछापलगायत जिल्लाबाट खसीबोका ल्याउने तयारी गरेका छन् । सरकारले सहुलियत दरमा बिक्री गर्ने खसीबोकाको मूल्य प्रतिकिलो ६७० रुपैयाँ तोकेको छ । बुधबारदेखि बिक्री गर्ने गरी प्रतिकिलो ६८० रुपैयाँ निर्धारण गरिएकामा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सहुलियतस्वरूप थप १० रुपैयाँ छुट दिएर ६७० रुपैयाँ तोकेको हो ।

प्रकाशित : आश्विन १३, २०७९ १६:२०
प्रतिक्रिया
पठाउनुहोस्

नक्कली शरणार्थी बनाएर अमेरिका लैजाने गिरोह अझै सक्रिय

प्रलोभनमा नपर्न जिल्ला प्रशासनको आग्रह
कान्तिपुर संवाददाता

काठमाडौँ — जिल्ला प्रशासन कार्यालय, झापाले ‘भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने’ भन्दै रकम अशुल्ने गिरोहबाट सचेत रहन र यस्तो गैरकानुनी कार्यमा संलग्न नहुन पुनः सूचना जारी गरेको छ ।

‘हालैका दिनमा नेपाली नागरिकलाई शरणार्थी परिचयपत्र बनाएर अमेरिका, अष्ट्रेलियालगायत विभिन्न मुलुकमा पठाउने झुटा आश्वासन दिइ विभिन्न गैरशरणार्थीबाट मोटो रकम असुल्ने गरेको भन्ने विषयमा ध्यानाकर्षण भएको’ जनाउ दिँदै प्रशासन कार्यालयले यस्तो दण्डनीय कार्यमा नफस्न आग्रह गरेको छ ।

झापा–मोरङमा रहेका केही शरणार्थी र केही स्थानीयवासी समेतलाई नक्कली शरणार्थी परिचयपत्र बनाएर अमेरिका लगिने भन्दै एउटा गिरोहले करोडौं रुपैयाँ असुल गरिरहेको बारे काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले छानबिन गरिरहेको छ ।

प्रलोभन देखाएर गैरशरणार्थीलाई अमेरिका वा तेस्रो मुलुक लैजाने भन्दै गिरोहले बढीमा ५० लाख रुपैंयासम्म उठाउने गरेको प्रमाण बाहिर आइसकेको छ । राष्ट्रसंघीय शरणार्थी उच्चायोगले पनि भुटानी शरणार्थीलाई पुन: बसोबास गर्ने कार्यक्रम पूर्ण रुपमा स्थगित भइसकेकाले कुनै रुपका प्रलोभनमा नपर्न अनुरोध गर्दै आएको छ ।

जिल्ला प्रशासनले जारी गरेको सूचना अनुसार सन् २०२२ भित्र आफ्नो परिचयपत्रको म्याद पूरा हुने वा यस अवधिमा १६ वर्ष उमेर नाघेका भुटानी शरणार्थीलाई परिचयपत्र नवीकरण वा प्राप्तीका लागि शिविरमै आवश्यक प्रक्रिया सुरु गरेको छ । हाल झापाको दमक र मोरङको पथरी शरणार्थी शिविरमा गरी ६ हजार ३ सय ६५ शरणार्थी दर्तामा रहेका छन् ।

प्रकाशित : आश्विन १३, २०७९ १६:१४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×