डेंगी नियन्त्रणलाई सरकारले प्राथमिकता दिन सकेन : गगन थापा- भिडियो - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

डेंगी नियन्त्रणलाई सरकारले प्राथमिकता दिन सकेन : गगन थापा

कान्तिपुर संवाददाता

काठमाडौँ — सत्तारुढ प्रमुख दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले महामारीको रुपमा फैलिएको डेंगी नियन्त्रणका लागि सरकारले चालेका कामकारबाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन् । कोरोना महामारीबाट सिकेर सरकारले आवश्यक तयारी नगरेकोमा उनको असन्तुष्टि थियो ।

मंगलबारबाट काठमाडौंमा सुरु भएको नेपाल चिकित्सक संघको दोस्रो राष्ट्रिय सम्मेलनमा पूर्वस्वास्थ्यमन्त्रीसमेत रहेका थापाले स्थानीय सरकारले समेत डेंगी महामारी नियन्त्रणका लागि प्राथमिकता दिन नसकेको गुनासो गरे ।

कोभिडपछि पर्याप्त मात्रामा स्वास्थ्य क्षेत्रमा बजेटको व्यवस्था गरे पनि सरकारले आपतकालका बेला रोग नियन्त्रणका लागि आवश्यक संरचनाहरूको भने निर्माण गर्न नसकेको उनको भनाइ थियो ।

काठमाडौंमा सीमित रहेको डेंगी रोग देशभर फैलिने क्रममा रहेको उल्लेख गर्दै महामन्त्री थापाले त्यसको नियन्त्रणका लागि तीनवटै तहका सरकारले गम्भीरतापूर्वक काम गर्नुपर्ने बताए ।

‘कोभिडबाट अहिले डेंगीको बेलामा आउँदा खासै धेरै कुराहरू सिक्न सकिएनछ हामीले । स्थानीय सरकारको तयारीको बारेमा हामीले हेर्‍यौं भने, प्राथमिकताका सन्दर्भमा हामीले हेर्‍यौं भने अथवा यत्रो ठूलो प्रकोपको रुपमा आइसकेपछि यो खाली स्वास्थ्य मन्त्रालयको मात्रै विषय होइन । हामीसँग रातारात आपतकालीन समयमा काम गर्ने संरचनाहरू छ कि छैन ? यो काठमाडौंमा मात्रै सीमित भएको कुरा देशभर फैलने क्रममा जुन छ । कोभिडबाट सिकेर सरकारले आवश्यक तयारी नगरेको देखियो । कोभिड लगत्तै नेपाल सरकारको निर्णय, त्यतिबेलाको बजेट आदिलाई हेर्ने हो भने पनि सरकारले स्वास्थ्य संरचनाहरूको निर्माणमा खासै चासो दिएको देखिएन वा सिक्न चाहेन ।’

महामन्त्री थापाले रोग लाग्नै नदिने गरी स्वास्थ्य क्षेत्रमा सचेतना जगाउने गरी राजनीतिक दलहरूले पनि आगामी निर्वाचनको एजेण्डा बनाउनुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित : आश्विन ४, २०७९ १८:३७
प्रतिक्रिया
पठाउनुहोस्

नेपाल लाइफले सुरु गर्‍यो क्यूआर पेमेन्ट प्रणाली

कान्तिपुर संवाददाता

काठमाडौँ — क्यूआर भुक्तानी सेवा उपलब्ध गराउने नेपाल लाइफ एक मात्र जीवन बीमा कम्पनी बनेको विज्ञप्तीमा उल्लेख छ। अब नेपाल लाइफका देशैभरिका शाखा तथा उपशाखाहरूबाट डाइनामिक क्यूआरको माध्यमबाट भुक्तानी गर्न सकिनेछ ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ई–सेवासँगको सहकार्यमा डाइनामिक क्यूआर पेमेन्ट प्रणाली सञ्चालनमा ल्याएको छ । कम्पनीका नेसनल सेल्स हेड उमापति पोखरेलले डाइनामिक क्यूआरको माध्यमबाट आफ्नो तथा आफ्नो परिवारको प्रिमियम भुक्तानी गरी सेवाको सुचारु गरेका थिए । डाइनामिक क्यूआरको माध्यमबाट २ लाख रुपैयाँसम्मको भुक्तानी गर्न सकिने जनाइएको छ ।

देशभरका ६० भन्दा बढी बैंक, सहकारी र लघुवित्त स‌ंस्था तथा मोबाइल वालेट एप्लिकेसनबाट रकम भुक्तानी गर्न सकिने भनिएको छ । आधुनिक प्रविधिको प्रयोगबाट ग्राहकलाई सहज र सरल सेवा प्रदान गर्न कम्पनी लागिपरेको र आउने दिनहरूमा पनि डिजिटल रुपान्तरणको अभ्यासलाई जारी राख्ने प्रमुख कार्यकारी अधिकृत प्रविणरमण पराजुलीले बताएका छन् ।

प्रकाशित : आश्विन ४, २०७९ १८:२८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×