कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जनता माओवादीको हातमा देशको चाबी दिन चाहन्छन् : दाहाल

काठमाडौँ — नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले माओवादी केन्द्र आगामी प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा पहिलो कम्युनिष्ट पार्टी बन्ने दाबी गरेका छन् । स्थानीय तह निर्वाचनको सन्देश जनताले माओवादी पार्टीको हातमा देश सञ्चालनको चाबी दिन चाहेको देखिएको दाहालको भनाइ थियो । 

जनता माओवादीको हातमा देशको चाबी दिन चाहन्छन् : दाहाल

पोष्टबहादुर बोगटीको स्मृति दिवसमा काठमाडौं केन्द्रीय कार्यालयमा बिहीबार आयोजित कार्यक्रममा दाहालले पार्टी एकजुट भएर जानुपर्ने, पार्टीको निर्णयलाई सर्वोपरी राखेर अगाडि बढ्नुपर्ने बताएका हुन् । माओवादी कमजोर भएमा राष्ट्र कमजोर हुने र संविधान प्रतिगमनतिर जाने उनको भनाइ थियो । 'स्थानीय तहको सन्देश के हो भने जनता अहिले पनि माओवादी पार्टीको हातमा नै देशको चाबी दिन चाहन्छन्, देशको राजनीति कता लैजाने भन्ने कुराको फैसला माओवादीले गरोस् भन्ने चाहना छ जनताको,' उनले भने ।

स्थानीय तहमा पार्टी कार्यकर्ता एकढिक्का भएर नलागेको पनि दाहालको भनाइ थियो । स्थानीय तह निर्वाचनमा माओवादी नेता र कार्यकर्ताहरूले जति मिहिनेत गर्नुपर्ने, जति एकतावद्ध हुनुपर्ने हो, जति जनताको बीचमा जानुपर्ने हो त्यो हुन नसकेको भन्दै दाहालले गुनासो व्यक्त गरेका थिए । 'स्थानीय तहको निर्वाचनमा पार्टीभित्रको व्यवस्थापनलाई राम्रोसँग व्यवस्थापन गर्न सकेको भए देशको १ नम्बर कम्युनिष्ट पार्टी बन्ने वस्तुगत आधार क्लियर देखिन्छ । त्यो मनोगत मूल्यांकनको कुरा होइन । आन्तरिक व्यवस्थापन राम्रो नगर्दा जनताको साथ हुँदा पनि देशको पहिलो पार्टी बन्ने अवसर गुमायौँ । पार्टीले विधिगत उम्मेदवार खडा गरेपछि त्यो व्यक्ति रहँदैन, पार्टीले जित्ने वा हार्ने मुख्यकुरा हुन्छ । यो सानो कुरा सबैले बुझे माओवादी पार्टी प्रदेश र संघको निर्वाचनमा देशको पहिलो कम्युनिष्ट पार्टी बन्छ,’ उनले भने । स्थानीय तह निर्वाचनमा पार्टीभित्र देखिएको समस्या समाधान गर्नका लागि पार्टीभित्र छलफल भइरहेको उनले जानकारी दिए ।

दाहालले माओवादी कमजोर भए र माओवादी र जनताको सम्बन्ध सदृढ, सुमधुर हुन नसके मुलुक फेरि राजनीतिक संकटमा जाने दाहालको भनाइ थियो । प्रतिनिधिसभा विघटनलाई माओवादी कमजोर हुनुको परिणामसँग तुलना गरेका दाहालले भने, 'माओवादी पार्टी कमजोर भए, माओवादी र जनताको सम्बन्ध सदृढ, सुमधुर हुन सकेन भने कुनैपनि बेला संघर्ष र बलिदानबाट प्राप्त भएको उपलब्धि उल्ट्याउने षड्यन्त्र हुनसक्छ ।'

प्रकाशित : भाद्र ३०, २०७९ १६:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रदेश सरकारहरूले आगामी आर्थिक वर्षको बजेटमा घुमाउरो बाटोबाट सांसदहरुलाई बजेट दिने व्यवस्था गरेकोमा तपाईंको धारणा के छ ?