कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दुई वर्ष भयो, चलाइएन बिजुली बस

मनोज पौडेल

लुम्बिनी — बुद्ध जन्मस्थल लुम्बिनीमा पर्यटकलाई सुविधा दिँदै वातावरण प्रदूषण कम गर्न ल्याइएका १९ विद्युतीय सवारीसाधन झण्डै दुई वर्ष हुन लाग्दा पनि सञ्चालन हुन नसकेर थन्किएका छ । सरकारी निकायबीच समन्वय अभाव र सञ्चालन मोडालिटी अन्योल हुँदा सवारीसाधन सञ्चालन हुन नसकेर थन्किएका छन् ।

दुई वर्ष भयो, चलाइएन बिजुली बस

खुला आकाशमुनि १४ ट्याक्सी र ५ विद्युतीय बस राखिए छन् । सवारीसाधन नचल्दा कतिपयका पाटपूर्जा र ब्याट्री बिग्रिएका छन् । धेरै सवारीसाधनका टायरका हावा फुस्किएका छन् । टायर दबेर बिग्रन थालेको छ । थन्काएर राख्दा समस्या थपिँदै जाने र टुटफुट हुने जोखिम बढ्दै गएको प्राविधिकहरू बताउँछन् । सवारीसाधन लुम्बिनी ल्याएको १६ महिनापछि गत फागुनमा लुम्बिनी प्रदेश यातायात व्यवस्था कार्यालय बुटवलले सवारीसाधान दर्ता गरेर नम्बर प्लेट दिएको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयको नाममा रहेका ती सवारीसधान लुम्बिनी विकास कोषको नाममा आएको छैन । कोषले मन्त्रालयलाई सवारीसाधन सञ्चालन कार्यविधि बनाएर दुई साताअघि दिएको छ । कार्यविधि स्वीकृत नहुँदा सवारीसाधन सञ्चालनको अन्योल बढेको छ । लुम्बिनीको दुई नम्बर गेटअघि फार्किङ गरी बस तथा ट्याक्सी राखिएका छन् । एसियाली विकास बैंकको अनुदान सहयोगमा क्लिन इनर्जी प्रोजेक्ट अन्तर्गत १३ करोडको लागतमा ट्याक्सी र बस भित्रिएका हुन् । सवारीसाधनका लागि लुम्बिनीमा बिजुली बस चार्जिङ स्टेसन पनि सञ्चालनमा ल्याइएको छ । उक्त प्रोजेक्ट अन्तर्गत १५ करोड लागतमा चार्जिङ स्टेसन बनाइएको हो ।

प्रकाशित : भाद्र २४, २०७९ १५:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?