१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४०९

एमालेको पक्षमा जनमत ल्याउन कार्यकर्तालाई अध्यक्ष ओलीको निर्देशन

काठमाडौँ — नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी संघ र प्रदेशको निर्वाचनको जनमत एमालेको पक्षमा आउने वातावरण बनाउन निर्देशन दिएका छन् ।

एमालेको पक्षमा जनमत ल्याउन कार्यकर्तालाई अध्यक्ष ओलीको निर्देशन

शुक्रबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आगामी निर्वाचनमा एमालेको पक्षमा जनमत आउने वातावरण बनाउन निर्देशन दिएका हुन् ।

उनले जनता अलमलमा पर्नसक्ने भन्दै उनीहरुलाई अलमलबाट मुक्त गरेर एमालेको पक्षमा आउने वातावरण बनाउने जिम्मेवारी पार्टीका नेता, कार्यकर्ताहरुको काँधमा रहेको बताएका थिए ।

‘यस निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा, भयरहित परिस्थितिमा, भयरहित वातावरणमा हामीले सम्पन्न गर्नुपर्नेछ । यस निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष बनाउन हामीले प्रभावकारी भूमिका खेल्नुपर्दछ । यसका निम्ति हाम्रो सरकारसँग वार्ता, कुराकानी र दबाब । र त्यसै गरेर राज्यका निर्वाचनसँग सम्बन्धित विभिन्न अंग र निकायहरुसँग हामीले सम्वाद पनि गर्नुपर्छ । र बेठीक कुरा गर्नबाट उनीहरुलाई रोक्नु पनि पर्छ । जनतालाई अलमलबाट मुक्त गरेर एमालेको पक्षमा आउने वातावरण बनाउने जिम्मेवारी हाम्रो काँधमा छ । जनमत एमालेको पक्षमा, देशको पक्षमा, लोकतन्त्रको पक्षमा जनमत सिर्जना गर्ने, त्यस जनमतको त्यसैगरी रक्षा गर्ने, त्यस जनमतलाई कसैले गलत ढंगले दुष्प्रभावित गर्लान त्यसका निम्ति ध्यान दिने । त्यसका निम्ति विभिन्न प्रकारका तरिका र उपायहरु अवलम्वन गर्ने । त्यतातर्फ हामीले ध्यान दिनु जरुरी छ,’ अध्यक्ष ओलीले भने ।

केन्द्रीय कमिटी बैठकमा नवनिर्वाचित केन्द्रीय कमिटीका सदस्यहरुले शपथ ग्रहण गरेका छन् । बैठकमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन पेस गर्ने, सचिवालयका निर्णय अनुमोदन गर्ने, उम्मेदवारको छनोटको मापदण्ड तय गर्ने कार्यसूची रहेका छन् । त्यस्तै स्थानीय निर्वाचन छानबिन कमिटीको प्रतिवेदन, सदस्यता अभिलेख व्यवस्थापन, सल्लाहकार परिषद् र पार्टीका आयोगहरुका प्रतिवेदन पेस गर्ने लगायत कार्यसूची रहेको बताइएको छ ।

प्रकाशित : भाद्र १०, २०७९ १४:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?