अन्नपूर्णको काखैमा खयरबाराह- भिडियो - कान्तिपुर समाचार

अन्नपूर्णको काखैमा खयरबाराह

कान्तिपुर संवाददाता

काठमाडौँ — अन्नपूर्ण हिमालको पश्चिमर्फ फेदीमा अवस्थित खयरबाराह ताल म्याग्दीको प्रसिद्ध धार्मिक पर्यटकीय गन्तव्यको रुपमा चिनिन्छ । अन्नपूर्ण गाउँपालिका ५ पाउद्वार गाउँको सिरानमा पर्ने खयरबाराह समुद्र सतहदेखि ४ हजार ७ सय ७० मिटर उचाइमा अवस्थित छ । खयरबाराहका लागि पोखरेबगरसम्म गाडीमा पुगेपछि पहिलो रात पाउद्वारगाउँमा बास बस्दै दोस्रो रात खोप्रा, तेस्रो रात खयरखोला/नौलोवन र चौथो बिहान खयरबाराह पुगिन्छ । अधिकांश तीर्थयात्रीहरू बिहान खयरबाराहमा पूजा गरी चौथो दिन खोप्रामा फर्कने गर्छन् ।

मगर समुदायको ‘कुमार केटो’ पुजारी हुने यस मन्दिरमा हरेक वर्ष जनैपूर्णिमामा मेला लाग्ने गर्छ । धार्मिक पर्यटकीय गन्तव्यको रुपमा चिनिएको अन्नपूर्णको काखमा पछिल्लो समय आन्तरिक पर्यटकहरू जाने क्रम बढ्दो छ । नागी–महरे–खोप्रा–खयरबाराह सामुदायिक पर्यापदमार्ग प्राकृतिक सौन्दर्यमा रमाउन चाहने साहसिक पर्यटकका लागि पनि उपयुक्त मानिन्छ । खोप्रा पर्यापदमार्गमा आउने साहसी पर्यटकहरू कालीदह, खयरबाराह ताल हुँदै बाराह हिमालको फेदीबाट निलगिरि हिमाल पार गरी मनाङको तिलिचो तालसम्म पनि पुग्ने गर्छन् ।

प्रकाशित : श्रावण ३१, २०७९ २०:२६
प्रतिक्रिया
पठाउनुहोस्

एउटै चुनाव चिह्न लिनेको कानुनी हैसियत : पार्टी अलग, संसदीय दल एउटै

प्रकाश धौलाकोटी

काठमाडौँ — चुनावको मिति नजिकिँदा दलहरूबीच चुनावी तालमेलमात्रै होइन, एउटै चुनाव चिह्न लिएर निर्वाचनमा भाग लिनेसम्मको समझदारी बनेको छ । फरक–फरक एजेन्डा बोकेर स्थापित दलहरू निर्वाचनमा भने एउटै चुनाव चिह्न लिएर भाग लिने भएका छन् । दलहरूले समानुपातिकतर्फ सिट प्राप्त गर्न तीन प्रतिशत मत ल्याउनैपर्ने कानुनी व्यवस्थाका कारण एउटै चुनाव चिह्नको उपाय रोजेका छन् ।

राष्ट्रिय दल बन्न समानुपातिकतर्फ तीन प्रतिशत मत र प्रत्यक्षतर्फ कम्तीमा एक सिट जित्नैपर्ने कानुनी व्यवस्था छ । तीन प्रतिशत मत नपाए समानुपातिकतर्फ सिटको भाग नै लाग्दैन ।

कानुनीरुपमा भने एउटै चुनाव चिह्न लिएर निर्वाचनमा भाग लिएपछि दल अलग–अलग नै रहन्छन्, तर संसद् भित्र भने फरक दलको हैसियत रहने छैन । राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४९ ले दुई वा सोभन्दा बढी दलले एकल चुनाव चिह्न लिई निर्वाचनमा भाग लिन पाउने, र त्यसरी एउटै चुनाव चिह्नबाट निर्वाचन दुई वा सोभन्दा बढीका दलबाट प्रतिनिधित्व गर्ने सदस्यहरू एउटै संसदीय दलको सदस्य हुने व्यवस्था गरेको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया एउटै चुनाव चिह्नबाट निर्वाचनमा भाग लिएपछि संसद्भित्र पनि एउटै दलको हैसियत हुने बताउँछन् । ‘एउटै चुनाव चिह्नबाट निर्वाचनमा भाग लिनु भनेको पार्टी एकीकरण होइन, दलीय हैसियत अलग–अलग नै हुन्छ । तर, संसद्भित्र भने एउटै संसदीय दल हुन्छ, संसदीय कानुनले एउटै दलकारुपमा व्यवहार गर्छ,’ उनले भने ।

केही प्रमुख दलसहित साना राजनीतिक दलहरूले आगामी निर्वाचनमा एउटै चुनाव चिह्न लिएर भाग लिने गरी आयोगमा दल दर्ता गरेका छन् । एउटै चुनाव चिह्न लिने गरी आयोगमा तीन वटा समूह दर्ता छन् । मंगलबारमात्रै पुष्पकमल दाहाल नेतृत्वको नेकपा माओवादी केन्द्र, बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी र बामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानले एउटै चुनाव चिह्न लिएर निर्वाचनमा भाग लिने गरी आयोगमा दल दर्ता गराएका छन् ।

जनमत पार्टी र दलित जनजाति पार्टीले पनि एउटै चुनाव चिह्न लिएर चुनावमा भाग लिने गरी दल दर्ता गरेका छन् । स्रोतका अनुसार रमेश खरेल नेतृत्वको सुशासन पार्टी, स्वागत नेपाल नेतृत्वको उन्नत लोकतान्त्रिक पार्टी, पुण्य प्रसाईं नेतृत्वको सचेत नेपाली पार्टीले पनि एउटै चुनाव चिह्न लिने गरी दल दर्ता गरेका छन् ।

त्यस्तै समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी र नेकपा राष्ट्रवादीले पनि एउटै चुनाव चिह्नमा निर्वाचनमा भाग लिने जानकारी गराएका दल दर्ता गरेका छन् ।

आगामी चुनावका लागि दल दर्ता गर्ने समय मंगलबारसम्ममा ८४ वटा दल दर्ता भएका आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

उनका अनुसार एउटै चुनाव चिह्न लिएर लड्ने दलबारे राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४९ ले प्रष्ट व्यवस्था गरेको छ । ऐनको व्यवस्थाअनुसार एउटै चुनाव चिह्नबाट निर्वाचनमा भाग लिने दलले चुनाव चिह्न छान्न पाउँछन् । त्यसकालागि दुई वटा विकल्प छन्– पहिलो, एउटै चुनाव चिह्न लिएर भाग लिने सहमति गर्ने दलमध्ये ठूलो दलको चुनाव चिह्न प्रयोग गर्ने । र दोस्रो, समझदारीमा आयोगले दिएका विकल्पमध्ये कुनै चुनाव चिह्न लिएर संयुक्तरुपमा निर्वाचनमा भाग लिने ।

आयोगमा अहिले दर्ता भएका तीन समूहमध्ये सबै पहिलो विकल्पबाट चुनाव चिह्न रोजेका छन् ।

यसरी दुई वा सोभन्दा धेरै दलले एउटै चुनाव चिह्नबाट संयुक्तरुपमा निर्वाचनमा भाग लिएपनि उम्मेदवार कुन दलबाट हो भन्ने उल्लेख गर्नुपर्ने ऐनमा व्यवस्था छ । तर, संयुक्तरुपमा निर्वाचनमा सहभागी भएपछि संसद्मा भने ती दलले अलग–अलग भूमिका पाउँदैनन् । उनीहरूको एउटामात्रै दलीय हैसियत हुन्छ ।

ऐनको दफा ४९ (२) मा भनिएको छ, ‘दुई वा सोभन्दा बढी दल संयुक्त रूपमा निर्वाचनमा सहभागी भएकोमा त्यस्ता दलमध्ये सबैभन्दा बढी सिट प्राप्त गर्ने दलको नाममा एउटा मात्र संसदीय दल गठन हुनेछ । र यसरी संयुक्त रुपमा निर्वाचनमा सहभागी भएका अन्य दलका पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने सदस्यहरू सोही संसदीय दलको सदस्य भएको मानिनेछ ।’

ऐनअनुसार एउटै चुनाव चिह्न लिन आवेदन दिने दलले समानुपातिकतर्फ उम्मेदवारको बन्द सूचीसमेत एउटामात्रै बुझाउन पाउनेछन् । चुनाव चिह्न लिएको आधारमा संसदीय दल गठन हुने छ । पहिलो विकल्प प्रयोग गरेर चुनाव लिएको अवस्थामा त्यही दलको नाममा संसदीय दल गठन हुने व्यवस्था छ भने दोस्रो विकल्प प्रयोग गरेर चुनाव चिह्न लिएको भए सदस्यहरूले नै संसदीय दलको नाम निर्धारण गर्ने ऐनको व्यवस्था छ । संसदीय दलका सदस्यलाई दलले जारी गरेको हृवीप लाग्नेछ । अन्यथा त्यस्तो सदस्यले दल त्याग गरेको मानिने ऐनमा उल्लेख छ ।

आयोगका अनुसार ऐन जारी हुँदा देखि नै यस्तो व्यवस्था कार्यान्वयनमा छ । २०७४ को निर्वाचनमा पनि हृदयेश त्रिपाठीले नेकपा एमालेको ‘सूर्य’ चुनाव चिह्न प्रयोग गरेर चुनाव लडेका थिए ।

प्रकाशित : श्रावण ३१, २०७९ २०:२५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×