आगामी निर्वाचनमा एमालेले हार्नै मिल्दैन : ओली


काठमाडौँ — प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आफ्नो पार्टीले हार्नै नमिल्ने बताएका छन् । आफ्नो पार्टीले निर्वाचन हार्दा देशले हार्ने भएकाले जित्नैपर्ने अवस्था आइपरेको अध्यक्ष ओलीको भनाइ छ ।

पार्टीको उपत्यका विशेष प्रदेश कमिटीले शुक्रबार भक्तपुरको बोडेमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले देशलाई हार्न नदिनका लागि पनि आफ्नो पार्टीले आगामी निर्वाचन जित्नैपर्ने भन्दै त्यसको तयारीमा जुट्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशनसमेत दिए ।
सत्तारुढ गठबन्धन र यसका नेताहरूले देशलाई दुगर्तिमा डुबाएको उल्लेख गर्दै अध्यक्ष ओलीले त्यसबाट देशलाई जोगाउन पनि आफूहरूले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा विजयी हुनुको विकल्प नभएको दोहोर्याए ।सत्तारुढ गठबन्धनका आबद्ध नेताहरूले आ–आफ्ना स्वार्थका लागि देशविरुद्ध जस्तासुकै कुकर्म गर्न पनि पछि नपर्ने आरोपसमेत उनले लगाए ।
‘मुख्य फोकसचाहिँ निर्वाचनको तयारीमा काम गर्ने हो । अहिलेको निर्वाचन हामीले हार्न मिल्दैन । आगामी निर्वाचनमा हामीले हार्नै मिल्दैन । नेकपा एमालेका लागि त केही छैन । प्रतिपक्षमा बस्छ । प्रतिपक्षमा बसेर जनताको पक्षमा आवाज उठाउाछ । देशको पक्षमा बोल्छ, आवाज उठाउाछ । राष्ट्रियताको पक्षमा, लोकतन्त्रको पक्षमा, स्वच्छताको पक्षमा, सुशासनको पक्षमा, विकासको पक्षमा बोल्छ । आवाज उठाईरहन्छ । यसलाई काम गर्न कार्य क्षेत्र सिद्धिने त होइन । तर, एमालेले हार्दा देश हार्छ । एमालेले जित्नैपर्ने कारण के छ भने देश जिताउनुपर्नेछ । देशलाई हार्न दिनुहुने छैन । एक वर्षमा यो परमादेशी गठबन्धन सरकारले देशलाई यसरी दुगर्तिमा लगेको छ । निर्लज्ज हुने गरी भ्रष्टाचारमा डुबाएको छ । यिनको कुनै गन्तव्य नै छैन,’ उनले भने ।
अध्यक्ष ओलीले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीले संगठित ढंगले इमान्दार प्रयास गर्न सके बहुमत प्राप्त गर्न सक्ने सम्भावना रहेको दाबी गरे । पार्टीको सरकार नढल्नका लागि पनि लागि आगामी निर्वाचनमा बहुमत चाहिने र त्यसका लागि इमान्दार प्रयास पार्टीका नेता, कार्यकर्ताले गर्नुपर्ने उनको भनाइ थियो ।
