कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

एसपीपी पास नहुँदा प्रधानमन्त्रीको अमेरिका भ्रमण रद्द भयो : अध्यक्ष नेपाल

'अहिले एमालेले हामीमाथि धेरै प्रहार गरिरहेका छैनन्, हामीले पनि प्रहार गर्नुहुँदैन'

काठमाडौँ — नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) रद्ध गरेकै कारण प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण रद्ध भएको दाबी गरेका छन् ।

एसपीपी पास नहुँदा प्रधानमन्त्रीको अमेरिका भ्रमण रद्द भयो : अध्यक्ष नेपाल

शुक्रबार काठमाडौंमा पार्टीको वाग्मती प्रदेश कमिटीको तेस्रो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एसपीपी रद्ध गरेकै कारण प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण रद्ध भएको दाबी गरेका हुन् ।

उनले एमसीसीलाई व्याख्यात्मक घोषणा गरेरमात्रै पास गर्नु नै ठूलो कुरा भएको बताएका थिए । व्याख्यात्मक घोषणासहित एमसीसी पास गर्दासमेत अमेरिकीहरूको नेपाल भ्रमण बढेको र तिब्बती शरणार्थी शिविरमा पुगेर सरकारी गाडी अघिपछि लगाउने काम गरिरहेको उनले बताए । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा नै एसपीपी नेपालमा आएको दाबी अध्यक्ष नेपालको थियो ।

‘हामीले एमसीसीलाई पनि यथास्थितिमा पास हुन दिएनौं । व्याख्यात्मकसँग जोड्यौं । इण्डोप्यासिफिकको अंग हुन्छ भने अस्वीकार गर्छौं भन्यौँ । यथास्थितिमा पास भएको भए नेपालको राजनीति थाहा छ ? व्याख्यात्मक टिप्पणी राख्दा अमेरिकीको लर्को लाग्न थालेको थियो, यहाँ आएर तिब्बती क्याम्पमा जान थाले । सरकारी गाडी अघि पछि घुमाउन थाले । नेपालको भूमिमा छिमेकी देशलाई संवेदनशील बनाएर काम हुनथाल्यो,' उनले भने, 'एसपीपी केपी ओली प्रधानमन्त्री भएकै बेला ल्याइएको थाहा भयो । त्यस्तो अवस्थामा शेरबहादुर प्रधानमन्त्रीले त्यसमा हामी अस्वीकार गर्छौं भनेपछि हुन लागेको अमेरिका भ्रमण पनि रद्ध भयो, थाहा छैन ?’

प्रदेश र संघीय निर्वाचनको मिति कुनै पनि समयमा घोषणा हुनसक्ने नेपालको भनाइ थियो । उनले अब चाँडै चुनावको मिति घोषणा हुने भएकोले चुनावको तयारी गर्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशनसमेत दिए । ‘जुन मंसिर महिनाको २ गते निर्वाचन भन्ने कुरा बाहिर आएको छ तर हामीले भनिसकेका छैनौं । तर अनुमान के छ भने संसदको अधिवेशन सकिनेबित्तिकै ४ महिनाअघि चुनावको मिति घोषणा गर्नुपर्ने भएको हुनाले मंसिरभन्दा पर जाने सम्भावना नभएको हुनाले चुनावको मिति कुनैपनि बेलामा घोषणा हुनसक्छ,' उनले भने, 'त्यो तयारीमा अहिलेबाट नै जुट्नुस् । अब तुरुन्तै चुनावको मिति घोषणा हुनसक्ने भएकोले प्रत्येक जिल्लाजिल्लामा नेताहरूको केन्द्रिकरण होस् ।’

नेपालले प्रमुख प्रतिपक्षी एमालेलाई प्रहार नगर्न पनि कार्यकर्ताहरूलाई भनेका छन् । उनले आफ्नो पार्टीमाथि एमालेले अहिले प्रहार नगरेको उल्लेख गर्दै एमालेलाई पनि प्रहार गर्नु उचित नभएको बताए । ‘अहिले निर्वाचनको परिणामले एउटा सन्देश दिएको छ । त्यो सन्देश भनेको एमालेभित्र हामी एउटा हैसियत भएको शक्ति थियौँ भन्ने हो । यत्रो ठूलो पंक्तिलाई बेवास्ता गर्दा सबैभन्दा धेरै नोक्शान एमालेलाई नै भएको छ,' उनले भने, 'पार्टीलाई उचाईमा पुर्याेउने क्षमता हामीमा छ । राष्ट्रिय राजनीतिमा हाबी हुनसक्ने खुबी हामीमा छ । अहिले एमालेले हामीमाथि धेरै प्रहार गरिरहेका छैनन् । हामीले पनि प्रहार गर्नुहुँदैन । राष्ट्रिय राजनीतिमा भएको हाम्रो हैसियतबाट निराश हुनुपर्ने अवस्था छैन ।’

एकीकृत समाजवादीमा जनतामाझ राम्रो छवी भएका नेताहरू रहेको र त्यसको उदाहरण पोखरा महानगरपालिका र हेटौंडा उपमहानगरपालिकामा देखिएको नेपालको भनाइ थियो ।

प्रकाशित : असार ३१, २०७९ १८:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चार दर्जनबढी पालिकाले असार १० भित्रै बजेट ल्याउन नसक्नुको मुख्य कारण के होला ?