१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

भक्तपुरवासीहरू श्रमदानबाटै उठाउँदैछन् सम्पदा

दिपेन्द्र रोक्का

काठमाडौँ — २०७२ सालको भूकम्पमा भत्किएको भक्तपुर तौमडीस्थित बेताल भजन (बेतः छेँ) घरको पुनर्निर्माण गर्न यतिबेला स्थानीहरू आफैं जुटेका छन् । गत असार १५ गतेबाट पुनर्निर्माण उपभोक्ता समितिसँग सहकार्य गर्दै आफ्नो सम्पदा पुनर्जीवित गर्न भक्तपुरवासी श्रमदान गर्दै गरेका भेटिन्छन् ।

भक्तपुरवासीहरू श्रमदानबाटै उठाउँदैछन् सम्पदा

उनीहरू बिहान १० बजेबाट भेला भइ साँझ अवेरसम्म छानो लगाउने काम गर्छन् । काम गरेको पैसा लिँदैनन्, बरु खाजा पनि घरबाटै ल्याएर बाँडेर खान्छन् । उनीहरूमध्ये कोही माटो मुछिरहेको, कोही इँटा र छानो लगाइरहेको देखेर भक्तपुर घुम्न आउने पर्यटकहरू पनि श्रमदानमा सघाउने गर्छन् । श्रमदान गरिरहेकी स्थानीय जानुकी दर्शनधारी आफ्नै इच्छा अनुसार धर्मका लागि यहाँ श्रमदान गर्न आएको बताउँछिन् । विगतका दिनहरूमा पनि भक्तपुरका विभिन्न सम्पदाहरूको पुनर्निर्माणमा स्थानीयहरू नै अग्रपंक्तिमा खटिएको बताउँछिन् उनी । २०७२ सालको भूकम्पपछि भक्तपुर नगरपालिकाले स्थानीयवासीहरूको सहकार्यमा पुनर्निर्माण उपभोक्ता समिति गठन गर्‍यो र स्थानीयहरू आफैं सहयोगी हात जुटाउँदै आफ्नो सम्पदा बचाउन लागिपरेका छन् । स्थानीय सत्य शर्मा इतिहासमा भूपतिन्द्र मल्लको पालामा बनेको ५ तले मन्दिर पनि स्थानीयहरूले यसरी नै काम गरेर ६ महिनामा सम्पन्न गरेको बताउँछन् । ' हामीहरूले हात बाँधेर केही नगरी बस्न जानेका छैनौं । सकेको श्रमदान मिलेर गर्छौं,' उनी सुनाउँछन् । स्थानीय उपभोक्ता समितिका अध्यक्ष रामेश्वर मचामसीका अनुसार स्थानीय र डाँफा भजनका गरी करिब ४०० जनाले श्रमदान गरेका थिए । २०७६ साल कात्तिक २९ मा जिल्ला उपभोक्ता समिति र नगरपालिकाको बजेटमा समावेश भएपछि स्थानीयवासीहरूको सहकार्यमा बेताल भजनको पुनर्निनिर्माणको काम अघि बढेको थियो । रामेश्वर मचामसीको अनुसार यसमा प्रयोग हुने काठको अभाव र लकडाउनले गर्दा काम अलि पछि सर्‍यो । तर अहिले उनीहरू हातमा हात मिलाएर १ महिनाभित्र मन्दिरको पुनर्निर्माण समापन गर्ने अठोटसहित काम गरिरहेका छन् । उनीहरूको यो कामले आफ्नो ठाउँ बनाउन अरुको मुख ताकिरहनु पर्दैन भन्ने राम्रो उदाहरण पनि दिएको छ ।

प्रकाशित : असार २३, २०७९ १६:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?