कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रधानसेनापतिलाई ओलीको प्रश्न- सरकारी कागजमा चलानी र मिति हातले लेख्ने प्रचलन हुन्छ ?

काठमाडौँ — अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)बारे प्रधानसेनापति प्रभुराम शर्माले संसदीय समितिमा दिएको अभिव्यक्तिको पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले संसद्‌को रोस्ट्रमबाट प्रश्न उठाएका छन् ।

प्रधानसेनापतिलाई ओलीको प्रश्न- सरकारी कागजमा चलानी र मिति हातले लेख्ने प्रचलन हुन्छ ?

प्रतिनिधिसभाको सोमबारको बैठकमा एसपीपीबारे आफ्नो संलग्नता नभएको दाबी गर्दै ओलीले सेनाले पत्रमा चलानी र मिति हातले लेखेको हो कि भन्ने आशंका गरे । एसपीपीसम्बन्धी पत्राचारमा तत्कालीन प्रधानमन्त्री तथा रक्षामन्त्री आफू रहेको र त्यसबारे आफूलाई अवगत नगराइएको बताएका थिए । 'सरकारी कागजपत्रहरूमा त्यस्तो चलानी नम्बर हेरफेर गरी पठाउने; मिति हातले लेख्ने; चलानी नम्बर पछि हातले लेख्ने यस्तो प्रचलन हुँदैन । तर‚ म प्रधानमन्त्री भइसकेपछि पत्र पठाइएको भनेर अहिले जुन आएको छ‚ त्यसको सत्यतथ्य आउनुपर्छ । यो सत्यतथ्य बाहिर ल्याउनुपर्छ,' प्रधानसेनापतिको अभिव्यक्तिलाई लक्षित गर्दै ओलीले सोधे, 'नेपाली सेनाले प्रचलन हो भनेको छ । यस्तो प्रचलन पनि हुन्छ र ? प्रचलनै हो भने प्रधानमन्त्री र रक्षामन्त्रीलाई पनि नबताउने प्रचलन पनि हुन्छ र ?'

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको असार ३ को बैठकमा प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनामा पत्रमा मिति हातले लेख्ने प्रचलन रहेको बताएका थिए । त्यतिबेला एसपीपीबारे दूतावासमा सेनाले पठाएको पत्रमा मिति हातले लेखिएको भनेर प्रश्न उठेको थियो । त्यसको जवाफमा प्रधानसेनापतिले भनेका थिए, 'टाइप नगरिकन हातले किन मिति लेखेको भन्नुभयो । हाम्रो आर्मीमा के चलन छ भने हजुर आज चिठी लेखेपछि आजै हुँदैन । मेरो अफिसमा हिजोदेखिका चिठी छन् । त्यसमा मिति खाली हुन्छ । जसले चिठीमा हस्ताक्षर गर्छ उसैले मिति लेख्ने चलन छ हजुर ।' एमाले वरिष्ठ उपाध्यक्षसमेत रहेका पूर्वरक्षामन्त्री ईश्वर पोखरेलले उठाएको प्रश्नमा प्रधानसेनापतिले उक्त जवाफ दिएका थिए ।

प्रकाशित : असार २०, २०७९ १९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?