अब परिवर्तनकै लागि कुनै आन्दोलन आवश्यक छैन : नेम्वाङ- भिडियो - कान्तिपुर समाचार

अब परिवर्तनकै लागि कुनै आन्दोलन आवश्यक छैन : नेम्वाङ

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा एमालेका उपाध्यक्ष एवम् संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले नेपालमा अब परिवर्तनकै लागि कुनै आन्दोलन गर्न आवश्यक नरहेको बताएका छन् । उनले परिवर्तन चाहनेहरूले जनताको मन जितेर सहजैरुपमा मुलुकमा जुनसुकै खालको परिवर्तन पनि ल्याउन सक्ने बताए ।

नेपाल ल क्याम्पसको स्थापना दिवस समारोहमा बोल्दै नेम्वाङले नयाँ संविधान जारी भएपछि जनता सबैभन्दा शक्तिशाली भएको र जनताले चाहे संसद्‌बाटै जस्तोसुकै खालको परिवर्तन ल्याउन सक्ने बताए । उनले नेपालमा अब पहिलेको जस्तो पाँच–सात वर्षमै व्यवस्था परिवर्तन हुन्छ, अस्थिरता छ भनेर भन्नुपर्ने अवस्थाको अन्त्य भएको बताए ।

‘अब कसैले पनि परिवर्तनको लागि आन्दोलन गर्नुपर्दैन । जो परिवर्तन चाहनुहुन्छ, जनताको मन जित्नुस्, जनताको आशीर्वाद लिनुस् । संसदमा पुगेर संविधान संशोधन गरेर जुनसुकै प्रकारको परिवर्तन गर्न सकिन्छ,’ नेम्वाङले अघि भने, ‘अब व्यक्ति मन पर्दैन, व्यक्ति फेर्नुस् । पार्टी मन पर्दैन भने नयाँ पार्टी खोल्नुस् । तर व्यवस्था परिवर्तनका लागि, संविधान फेर्नका लागि कसैले पनि आन्दोलन गर्नुपर्दैन । संविधानले सहजै परिवर्तन गर्न सक्ने अधिकार दिएको छ । संविधानले जनतालाई सर्वशक्तिशाली बनाएको छ ।’

उनले नेपालको संविधान जारी भएको छ वर्षमै सर्वस्वीकार्य भएको बताए । ‘भारतले बनाएको संविधान सर्वस्वीकार्य हुन दश वर्ष लागेको थियो । दक्षिण भारतले संविधान बनेको दश वर्षपछि मात्रै संविधान स्वीकार गरेको थियो, तर हामी कहाँ छ वर्षमै संविधान सर्वस्वीकार्य भइसकेको छ,’ उनले भने ।

उनले अहिलेको संविधान जनताको चाहना बमोजिमको संविधान भएकाले पनि यसको कार्यान्वयन महत्त्वपूर्ण रहेको बताए । ‘यो संविधान पहिलो पटक जनता कानुनको स्रोत भएर बनाइएको संविधान हो । पहिले पहिले पाँच–दश वर्षमा व्यवस्था परिवर्तन हुन्छ भनेर भनिन्थ्यो । अब त्यस्तो अपेक्षा नगरे हुन्छ । नेपालमा अब त्यस्तो हुनेवाला छैन, किनकि यो नेपाली जनताको चाहना बमोजिम बनेको संविधान हो,’ उनले भने ।

प्रकाशित : असार १७, २०७९ १८:५८
प्रतिक्रिया
पठाउनुहोस्

सुरक्षित स्थानमा सारिदिन पहिरो पीडितको माग

सरिता श्रेष्ठ

धादिङ — गजुरी गाउँपालिका-२ चामबास बाह्रबिसेका २६ वर्षीय पञ्चमाया तामाङ ९ महिनाको बच्चा च्यापेर जिल्ला प्रशासन कार्यालय धादिङ आइपुगिन् । पहिरोले बस्ती नै जोखिममा परेपछि सुरक्षित बस्ने ठाउँको जोहो गरिदिन प्रमुख जिल्ला अधिकारीलाई आग्रह गरिन् ।

पहिरोबाट विस्थापित गजुरी गाउँपालिका-२ चामबास बाह्रबिसेका पीडितहरू प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाउँदै । तस्बिर : सरिता श्रेष्ठ/कान्तिपुर

‘पहिरोले घरजमिन चिराचिरा परेको छ; घरबारी कुन बेला लैजाने हो थाहा छैन,’ उनी भन्छिन्, ‘अस्थायी टहरामा कति दिन बस्नु ? पानी आउँदा चुहिएर आहाल हुन्छ; हुरी आउँदा उडाएर लैजान्छ । सीडीयो साप ! सुरक्षित ठाउँमा स्थायी बन्दोबस्त मिलाइदिनुपर्‍यो ।’

पहिरोले बस्ती नै जोखिममा परेपछि विस्थापित भएका पीडितहरूले बस्ती सारिदिन स्थानीय सरकारदेखि प्रदेश सरकार, केन्द्रमा समेत माग गरेका छन् । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साललाई ध्यानाकर्षणपत्र बुझाउँदै चामबास बाह्रबिसेवासीले ओत लाग्ने छहारीको बन्दोबस्त मिलाइदिन आग्रह गरेका छन् ।

पहिरोबाट चामबास बाह्रबिसेका २१ घरधुरी विस्थापित छन् । विस्थापितपछि नजिकैको चेपाङटारमा कोही टेन्टमा त कोही पुराना जस्ताको ट्रस्ट बनाएर बसिरहेका छन् ।

स्थानीय प्रशासनले टेन्ट उपलब्ध गराइदिएको छ । पानी परेका बेला टेन्टमा पानी छिरेर बस्ने ठाउँसमेत नहुने तामाङ बताउँछिन् । सर्प, गड्यौलालगायत जनावर बस्तीमै पस्छ । बालबालिकालाई राख्न सुरक्षित ठाँउ छैन ।

२०७६ साउन ५ गते पहिरो जाँदा चामबास बाह्रबिसेका धनमाया त्यो दिनलाई सम्झँदै आँखाबाट आँसु झार्छिन् । गजुरी गाउँपालिका-२ बाह्रबिसेस्थित आफ्नै घरमा बसिरहेका बेला एक्कासी हावाहुरीसहितको वर्षाले घर वरपरको माटो बगाउन थाल्यो; घर, जमिन चिराचिरा पर्न थाल्यो; ओत लाग्ने छहारी भासिन थालेपछि छिमेकीहरूको भागाभाग हुन थाल्यो । छिमेकीसहित धनमाया पनि अलि परको स्कुलमा ओत लाग्न पुगिन् । उनी त्यो दिन सम्झिँदै भन्छिन्, ‘एक्कासी हावाहुरी, पानीले माटो बगाउन थाल्यो; घर चिराचिरा पर्न थाल्यो; ज्यान बचाउन स्कुलको शरणमा पुग्यौं ।’

दुई रात स्कुलकै छहारीमा गुजारेका उनीहरूलाई जग्गा भाडा लिएर गजुरी गाउँपालिकाले बासको बन्दोबस्त मिलाइदिएको छ । तीन वर्ष पुग्नै लागिसकेको छ । बर्खामा हावाहुरी र घाम, हिउँदमा चिसोले सकस बेहोरिरहनुपरेको छ । जेठा छोरा रुद्रबहादुर लामा आफ्नी श्रीमतीसहित त्यही बस्तीमा अलग्गै बस्छन् । कान्छा छोराले कमाएर दिए खान पाउँछिन्‚ नत्र उनी भोकभकै हुन्छिन् ।

धनमायाको भन्दा कम्ता छैन सुनबहादुर तामाङको पनि पीडा । भूकम्पले बाह्रबिसेको घर भत्काइदियो; अनुदानमा बन्दै गरेको घरमा उनी बस्नसमेत पाएनन् । बाढीपहिरोले डाँडै बग्यो; समथर बाह्रबिसे टोल गह्रागह्रा बन्यो । बस्नै नसक्ने अवस्था पुगेपछि बाह्रबिसेको बस्ती नै छाडेर उनी बिहानीपम्प नजिकै पुगे । सुरुसुरुमा त आफन्तको घरमा शरण लिन पुग्थे तर कतिन्जेल आफन्तकोमा बस्न जानु ? रेडक्रसले टेन्ट उपलब्ध गराएपछि तत्कालका लागि ओत लाग्ने बास सुनिश्चित भयो । तीन वर्षदेखि एउटै टेन्टभित्र श्रीमती आइतमाया तामाङसहित ६ जनाको परिवारले जसोतसो गुजारा चलाइरहेका छन् ।

चाडै नै सुरक्षित बास र गाँसको बन्दोबस्त मिलाइदिने भन्दै सीडीयो, स्थानीय सरकार, प्रदेशका मन्त्रीहरू बस्ती अवलोकनसम्म पुगेका थिए । दयानीय अवस्था देखेर विभिन्न आश्वासन दिए तर तीन वर्ष पुग्नै लाग्यो; ती आश्वासन अहिले हात्ती आयो‚ हात्ती आयो फुस्सजस्तै भएको छ । स्थानीय चुनाव अघि गाँसबासको व्यवस्था मिलाइदिन्छन् कि भन्ने आशामा बसेका विस्थापितहरू अहिले निराश भएका छन् ।

बस्ती नै पहिरोले भासिएपछि यहाँका मानिसहरू अन्यन्त्र बसिरहेका छन् । उनीहरू विस्थापित भएसँगै खाद्यान्नको अभावसमेत भोगिरहेका छन् । उनीहरूका लागि अहिलेको मुख्य समस्या भनेको सुरक्षित आवास र खाद्य अभाव नै हो । खाद्यान्नको अभाव टार्न उनीहरूले ज्याला मजदुरीबाहेक अर्को विकल्प देखेका पनि छैनन् ।

उनीहरूका लागि हाललाई गजुरी गाउँपालिकाले भाडामा जग्गा उपलब्ध गराइदिए पनि त्यो दीर्घकालीन नहुने विस्थापितहरू बताउँछन् । उनीहरूले आफूहरूलाई सुरक्षित स्थानमा सारिदिन र जीविकोपार्जनका तालिमहरू प्रदान गरिदिन माग गरेका छन् ।

प्रकाशित : असार १७, २०७९ १८:५४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×