चित्रवीरको संघर्ष- भिडियो - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चित्रवीरको संघर्ष

विप्लव भट्टराई

इलाम — ह्वीलचियरको भरमा एक्लो जीवन जीउनु सन्दकपुर गाउँपालिका–४ मावुका ३७ वर्षीय चित्रवीर गुरुङको बाध्यता हो । सदरमुकामबाट २५ किलोमिटर उत्तरको विकट गाउँका उनी धेरै पटक मृत्यु नजिक पुगे । ६ पटकको शल्यक्रिया पछि पुनर्जीवन पाएका चित्रवीरको संघर्ष सामान्य छैन । उनी हातमुख जोर्नका लागि फोटो खिच्ने, स्टेसनरी चलाउने गर्छन् ।

‘हरेक खाले समस्याको सामना गर्दै समाधान खोजिरहेको छु,’ उनले भने, ‘अब भने आफ्नै पौरखले गुजारा चलाउन सकिन्छ भन्ने हिम्मत पलाएको छ ।’ उनलाई महिना वा दुई महिनामा स्वास्थ्य उपचारका लागिका काठमाडौं धाउनुपर्ने र कुन बेला स्वास्थ्यमा समस्या आउँछ भन्ने टुंगो भन्ने हुँदैन ।

वडा कार्यालयको ठीक अगाडि उनको पसल छ । ह्वीलचियर गुडाउँदै पसलको सबै काम एक्लै गर्छन् । बुबाको पत्तो नभएका चित्रवीरले आमाको पनि अनुहार देख्न पाएनन् । विभिन्न शुभेच्छुक र गाउँपालिकाको सहयोगमा बनाइएको सानो कोठामा उनको पसल छ । त्यही सुत्छन् । ह्वीलचियरकै सहारामा करिब सय मिटर टाढाको तीनकुने चोक पुग्ने उनी अहिले भने त्यहाँसम्म पुग्न सक्दैनन् । उनको पसल अगाडिको बाटो भलले खोलेपछि ह्वीलचियर गुड्न सक्दैन । कम्तीमा हरेक मौसम सुहाउँदो बाटो बनाइदिएको भए हुने भन्ने उनलाई लागेको छ । उनीसँग स्थानीय सरकार र समाजसँग थुप्रै गुनासा छन् । समाजका हरेक अनियमिततामा प्रश्न उठाउने उनी आफैंप्रति भएको अन्यायको पनि खुलेरै विरोध गर्छन् । दैनिक जीवनयापनमा चित्रवीरलाई निरन्तर साथ दिइरहेका निर्मल गुरुङको परिवार उनलाई दीर्घकालका लागि जीउने ठोस आधार तयार गरिनुपर्नेमा जोड दिन्छन् । वार्षिक ४० हजार रुपैयाँभन्दा धेरै औषधिकै लागि खर्च गर्नुपर्ने उनी अहिलेको बासस्थान अस्थायी भएकाले स्थायी व्यवस्थाका लागि पनि भौंतारिँदै छन् ।

प्रकाशित : जेष्ठ २४, २०७९ १६:३४
प्रतिक्रिया
पठाउनुहोस्

टी बोर्डले बगानमै प्रशिक्षण दिने

विप्लव भट्टराई

इलाम — चिया खेतीको विस्तार एवं प्रवर्द्धनमा अपेक्षित काम गर्न नसकेको आरोप खेपिरहेको राष्ट्रिय चिया तथा कफी विकास बोर्ड यति बेला कृषकको बगानसम्म पुगेर आवश्यक प्राविधिक ज्ञान दिने अभियानमा लागेको छ ।

चियाको मुना पलाउन छाडेको यो सिजन काँटछाँटको हो । यही मौकामा टी बोर्डले जिल्लाका झन्डै ३ हजार चिया कृषकको बगानमा नै पुगेर प्रत्यक्ष रूपमा तालिम सञ्चालन गर्दै छ ।

हरेक ३० कृषक समूह बराबर २ जना अगुवा छानेर प्रयोगात्मक रूपमा तालिम सञ्चालनका लागि बोर्डले आवश्यक कृषक छनौट गरिसकेको छ । पुस २ देखि जिल्लाका ११ बगानमा एकैसाथ काटछाटको प्रक्रिया सुरु हुँदै छ । ‘अब बगानको जुन काम गर्ने समय हुन्छ त्यसैसम्बन्धी प्रयोगात्मक रूपमा कार्यक्रम सञ्चालन गरिनेछ,’ बोर्डका कार्यकारी निर्देशक विष्णु भट्टराईले भने, ‘यो अभियानमा आवश्यक विज्ञ प्राविधिकको व्यवस्था भइसकेको छ, भारतको दार्जिलिङबाट समेत प्राविधिक ल्याएर कृषकलाई चिया टिप्नेदेखि प्रशोधनसम्मका काममा दक्ष बनाउने हो ।’

चियालाई दीर्घकालीन विकास र बजारीकरणका लागि गुणस्तर सुधार पहिलो सर्त हो । यसका लागि चियाको बोटदेखि उपभोक्ताको ओठसम्मका प्रक्रियालाई ध्यान दिनुपर्ने विज्ञहरूको सुझाव छ । चियाको गुणस्तर सुधार गरेर अन्य देशमा निर्यात बढाउने विकल्पका लागि यहाँको चिया अर्गानिक र गुणस्तरीय भएको विश्वास दिलाउन जरुरी छ ।

यही भएर पनि पछिल्लो समय कृषकस्तरसम्मै पुगेर अर्गानिक प्रमाणीकरणदेखि नेपालको ट्रेडमार्क दिनेसम्मका काम गरिरहेको बोर्डको दाबी छ । अर्थोडक्स चियाको गुणस्तर वृद्धि गर्दै अन्तर्राष्ट्रिय वजारमा पहुँच बढाउन नेपाल सरकारबाट पहिलो पटक नेपाली चियाको दिगो निर्यात परियोजना सञ्चालनमा छ ।

यो परियोजनाअन्तर्गत बोर्डले गुणस्तर सुधारका लागि यो अभियान सुरु गरेको हो । परियोजनाले कृषकले भोग्नुपरेको मल, प्राविधिक ज्ञान, अर्गानिक प्रमाणिकरणमा हुने खर्च र झन्झट, हरियो पत्तीको उचित मूल्य निर्धारण जस्ता विषयमा देखिएका समस्या समाधान गर्न सहयोग पुग्ने विश्वास कृषकमा छ ।

‘यी समस्या समाधानकालागि बोर्डको अगुवाइ जरुरी छ,’ केन्द्रीय चिया सहकारीका महासचिव रविन राईले भने । कोरोना कालमा चियामा परेको असरका बारेमा पनि बोर्डले केही गर्नुपर्ने स्थानीय उद्यमी र कृषकको भनाइ छ ।

प्रकाशित : पुस १, २०७८ १०:२१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
थप केही भिडियोबाट
×