सबै मिलेर काठमाडौंलाई विश्वकै उत्कृष्ट सहर बनाऔं : नवनिर्वाचित मेयर साह- भिडियो - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सबै मिलेर काठमाडौंलाई विश्वकै उत्कृष्ट सहर बनाऔं : नवनिर्वाचित मेयर साह

कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर वालेन्द्र साहले स्थानीय तहमा आफ्नो जितलाई विजय नभएर कामको सुरुवातको रुपमा लिएको बताएका छन् । शुक्रबार काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा निर्वाचन आयोगले महानगरको निर्वाचन परिणाम घोषणा कार्यक्रममा मेयर साहले उक्त कुरा बताएका हुन् ।

'आजबाट यसलाई विजयभन्दा पनि कार्यको सुरुवातको रुपमा लिएका छौं । हामी अबका दिनमा भिजन, एजेन्डालाई कार्यान्वयन र सम्पन्न गर्नेतिर लाग्नेछौं,'साहले भने ।काठमाडौं महानगरपालिकाकाका मतदातालाई उनले परिवारका रुपमा लिएको र काठमाडौंलाई सुन्दर सहर बनाउन सबैको सहकार्य आवश्यक रहेको बताए । 'हामी महानगरवासी सबै एकै परिवार हौैं । हामी सबै मिलेर काठमाडौंलाई देशकै मात्र नभएर विश्वकै सुन्दर, उत्कृष्ट सहर बनाउनलाई मिलेर सहकार्य गर्ने आशा राखेको छु,'साहले भने । स्वतन्त्रबाट उठेका साहले कांग्रेसकी सिर्जना सिंह र एमालेका केशव स्थापितलाई हराउँदै मेयरमा निर्वाचित भएका हुन् । साहले ६१ हजार ७६७ मत ल्याएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सिंहले ३८ हजार ३४१ मत ल्याइन् । स्थापितले ३८ हजार ११७ मत ल्याए । साहले सिंहको भन्दा २३ हजार ४२६ मत बढी पाएका छन् ।

प्रकाशित : जेष्ठ १३, २०७९ ०९:४४
प्रतिक्रिया
पठाउनुहोस्

रमाउँदै चिम्पु र चम्पा

चम्पामा चुलबुले तर लजालु स्वभाव छ, चिम्पु भने बालबालिका देखेपछि बल्ड्याङ खेल्ने गर्छ
गोविन्द पोखरेल

काठमाडौँ — कोक्रोदेखि खेलौनाका सबै सामान छन् । मच्चिने डोरी, टायरदेखि फुटबलसम्म । घरी डोरीमा झुन्डिन्छन्, घरी कोक्रोमा मच्चिन्छन् । जावलाखेलस्थित सदर चिडियाखानाको सुविधासम्पन्न ‘घर’ मा रमाइरहेका चिम्पु र चम्पाको स्वभाव साना बालबालिकाको चुलबुलेपनभन्दा फरक देखिन्न । चम्पा पोथी र चिम्पु भाले चिम्पान्जी हो । चम्पामा चुलबुले तर लजालु स्वभाव छ । बच्चाहरूलाई देखेपछि चिम्पु भने बल्ड्याङ खेल्ने गर्छ ।

नयाँ खोरमा राखिएपछि आगन्तुकलाई खुसी बनाउन चिम्पु सिपालु छ । अहिले चिडियाघरको मुख्य आकर्षण बनेका चिम्पु र चम्पा हेर्न आगन्तुकहरूको भीड लाग्ने गर्छ । ‘यिनीहरू यतिको खुसी भएको मैले पहिलोपटक देखेँ । एक महिनामै आनीबानीमा निकै परिवर्तन देखियो,’ उनीहरूको हेरचाहमा खटिएका रामकाजी पहारीले भने, ‘बच्चाहरू देख्यो भने चिम्पु धेरै खुसी हुन्छ । बच्चा जता जान्छन् ऊ त्यतै जाँदै रमाउन खोज्छ ।’

वैशाख ९ देखि चिपान्जीलाई अवलोकनका लागि राखिएको छ । खेल्न र दौडन ठूलो ठाउँ पाएकाले एक महिनामै उनीहरूमा धेरै परिवर्तन देखिएको छ । यी चिम्पान्जीलाई ५ वर्ष चिडियाखानाको वन्यजन्तु अस्पतालमा राखिएको थियो ।

तस्बिरहरू : दीपक केसी/कान्तिपुर

त्यहाँ खोर साँघुरो भएकाले उनीहरूका लागि ४ हजार १४० वर्गमिटरको क्षेत्रफलमा सुविधा सम्पन्न इन्क्लोजर निर्माण गरिएको हो । एसी जडित सिसाको खोरमा करिब ८० लाख खर्च भएको चिडियाखानाले जनाएको छ । उनीहरूको हेरचाहका लागि मात्रै वार्षिक १५ लाखभन्दा बढी खर्च हुन्छ ।

चिडियाखानाकी प्रमुख रचना शाहले विशेष खोर निर्माण गरिएको बताइन् । ‘पहिला उमेर पनि सानो थियो, एउटा सानो खोरमा थिए,’ उनले भनिन्, ‘अब ५ वर्षका भइसके । खेल्ने ठाउँ पनि ठूलो चाहिने भएकाले सुविधासम्पन्न खोर बनाइएको हो ।’ खोरमा ८ वटा एसी जडान गरिएको छ । २० एमएमको सिसा लगाइएको छ भने खेल्नका लागि छुट्टै स्थान छ । चिम्पान्जी मानिसभन्दा निकै बलवान् भएकाले मजबुत किसिमका संरचना बनाइएको हो । खोरमा दुईवटा ठूला कोठा छन् भने छुट्टै होल्डिङ एरिया पनि छ ।

२०७४ सालमा चिडियाखानामा ल्याउँदा चम्पाको उमेर करिब एक वर्ष र चिम्पु ६ महिनाको थियो । त्यसबेला चम्पाको तौल करिब ४ केजी र चिम्पुको साढे ३ केजी थियो । अहिले चम्पा २२ केजी र चिम्पु २० केजीको भएको छ । दुवैको स्याहार र हेरचाहका लागि चिडियाखानाले एक जनालाई ढुक्कै केयर टेकरका रूपमा खटाएको छ ।

सुरुमा चम्पा र चिम्पुको अवस्था नाजुक थियो । अहिले उनीहरू दैनिक ४/५ केजी खाना खान्छन् । सिनियर क्युरेटर गणेश कोइरालाका अनुसार खानपिनमा स्याउ, मेवा, खरबुजा, अंगुर, गाँजर, बदाम, ब्रोकाउली दिने गरिएको छ ।

वन्यजन्तु अस्पतालमा हुँदा चिम्पु र चम्पालाई पहारी हात समातेर खोर बाहिर निकाल्थे । अहिले उनीहरू आफैं बाहिर निस्कन्छन् र इन्क्लोजोरभित्रैको चौरमा लडीबुडी गर्दै रमाउँछन् । मानिसको बच्चाजस्तै उनीहरू यतिबेला बढ्ने क्रममा छन् । शारीरिक बनावटमा विस्तारै परिवर्तन हुन थालेको छ । यिनीहरूलाई हेर्दा ठ्याक्कै चकचके बालकजस्तै आनबानी देखिने ५ वर्षदेखि हेरचाह गर्दै आएका पहारीले बताए । ‘चल्नेवर्ने उनीहरूलाई जातैले दिएको हो । झगडा गर्दैनन्, खेल्दा ख्यालठट्टा गर्छन्,’ पहारीले कान्तिपुरसित भने, ‘एउटाले खेल्दा ड्याप्प एक झापड हानिदिन्छ, अर्को भाग्छ ।’

चम्पा खोरको धुरी चढ्न सक्छे, चिम्पुमा अझै आँट आएको देखिन्न । खोरमाथि टाँगिएको डोरी चम्पा वारपार गर्न सक्छे, चिम्पुमा त्यो भरोसा छैन । ‘सानो पनि भएर होला, ऊसँग कन्फिडेन्ट पनि छैन, डराउँछ पनि,’ पहारीले भने ।

नयाँ खोरमा राखेपछि उनीहरूको हेरचाहका लागि पहारी ढुक्कै २० दिन त्यही बसे । ३९ वर्षीय पहारीले आफ्ना सन्तालाई जस्तै गरी स्याहार सुसार गरेर हुर्काइरहेका छन् । अहिले त्यहाँ बस्दैनन् तर बिहान साढे ९ बजे आइपुग्छन् । उनी आउँदा दुवै उठेर खेलिरहेका हुन्छन् । मानिसहरू बिहान उठ्दा जसरी नै हाई काढ्छन्, आङ तान्छन् । बिहान साढे ९ बजे उनीहरूलाई एक/एकवटा स्याउ र केरा दिइन्छ । १० बजे ल्याक्टोजिन र सेरलेस दिइन्छ । ११ बजे फलफूल, १ बजे दूध, सेरलेस र फलफूल दिइन्छ । ३ बजे ब्रेड/बिस्कुट र स्याउ तथा ५ बजे तरकारी र ब्रोकाउलीको ‘मेनु’ छ ।

शारीरिक बनावट बढ्दो अवस्थामा रहेकाले उनीहरूलाई दैनिक ५ पटकसम्म खाना दिने गरिएको पहारीले बताए । उनका अनुसार साँझ पर्न थालेपछि इन्क्लोजरको कुनामा गएर बस्छन् । त्यहाँ उनीहरूलाई सुत्नका लागि पराल बिछ्याइएको छ । दुवै सँगै सुत्छन् । सुतेको ठाउँमा अहिलेसम्म दिशापिसाब नगरेको उनले सुनाए ।

चम्पा र चिम्पु अब नेपालमै

चिम्पान्जी नेपालमा पाइने वन्यजन्तु होइन । नाइजेरियाको जंगलबाट अवैध तस्करी गरेर नेपाल हुँदै भारत लैजाने क्रममा प्रहरीले उद्धार गरी चिडियाखानालाई २०७४ सालमा बुझाएको थियो ।

लठ्याउने औषधि दिएर सामान राख्ने डिब्बामा लुकाएको अवस्थामा प्रहरीले फेला पारेको थियो ।

तस्बिर : इलिट जोशी/कान्तिपुर

नेपाल संकटापन्न जंगली बासस्थान तथा जीवजन्तुका प्रजातिको अन्तर्राष्ट्रिय व्यापार महासन्धि (साइटिस) को पक्षराष्ट्र भएकाले पर्याप्त प्रमाण जुटाएर कुनै सरकारी निकायले माग दाबी गरे हालसम्म लागेको खर्च व्यहोरेर चिम्पान्जी फिर्ता लैजान सक्छ । प्रकृति संरक्षण कोषले यी चिम्पान्जीको डीएनए परीक्षणसमेत गराएको थियो । तर, वास्तविक बुबाआमा पत्ता लाग्न सकेनन् ।

तस्बिर : इलिट जोशी/कान्तिपुर

सरकारले साइटिस अभिसन्धिअन्तर्गत प्रमाण पुर्‍याएर आउने मुलुकलाई यी चिम्पान्जी फिर्ता दिने भन्दै आएको थियो । तर, पर्याप्त प्रमाण कतैबाट नआएपछि मध्य अफ्रिकाको साभाना क्षेत्रमा पाइने यी चिम्पान्जी अब नेपालमै बस्नेछन् । साइटिसले प्रजातिहरूको ओसारपसारमा बन्देज लगाएको छ ।

प्रकाशित : जेष्ठ १३, २०७९ ०९:१६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×