२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३६४

पूर्वको पालम, पश्चिमको ठाडी

देवेन्द्र भट्टराई

काठमाडौँ — पूर्व ताप्लेजुङको हाङ्देवा निवासी सुनिता केदेम लाबुङ र पश्चिम कन्चनपुर निवासी डिक्रा बादीको चिनारी भने एकअर्कामा मिल्दो छ—दुवै गायक हुन्, दुवै आफ्नो भेग र जातजाति सम्झाउने रैथाने गायक ।

पूर्वको पालम, पश्चिमको ठाडी

कीर्तिपुरमा सम्पन्न संगीत उत्सवमा भाग लिन बोलाइएका अतिथि गायकमध्ये सुनिताले पालम र हाक्पारे सुनाएर आफ्नो भौगोलिक तथा जातीय पहिचानलाई उँचो बनाइन् भने डिक्राले सुदूरपश्चिममा चल्ने देउडा र ठाडी भाका गाएर स्रोतालाई मन्त्रमुग्ध पारिन् । ‘इकोज इन द भ्याली’ संस्थाले आयोजना गरेको उत्सवमा सहभागी भएर आइतबार घर फिर्नै लाग्दा कान्तिपुरसँग कुराकानी गर्दै डिक्राले भनिन्—‘आर्थिक र सामाजिक रुपमै निकै पछि परेका बादी समुदायको पीर सुनाउन पनि म काठमाडौं आएकी हुँ, आज हाम्रै क्षेत्रका प्रधानमन्त्री (देउवा) भए पनि बादीको कुरा कहींकतै सुनिएको छैन ।’

हाङ्देवाकी सुनिता भने पालम गायनको विश्वव्यापी प्रतियोगितामा प्रथम बनेर चिनारीमा छाएकी हुन् । उनका बुझाइमा, मूलधारको भाषाका रुपमा नेपालीमा गाइएका वा लेखिएका गीत संगीतलाई मात्रै राज्यले स्थान दिएको स्थिति छ । पालम, हाक्पारेजस्ता अमूल्य सम्पत्तिका बारेमा राज्य तहबाट कहींकतै सरोकार नराखिएकोमा सुनितालाई चित्त बुझेको छैन । ‘मुन्धुम पद्धति, हाक्पारे र पालमजस्ता इतिहास भएका गायन शक्तिका बारेमा हामीले आफ्नै तहमा मात्रै जगेर्ना, संरक्षण र प्रवद्र्धन गर्न सकेका छौं । यसमा संस्थागत भरथेग हुनै बाँकी छ’, सुनिता भन्छिन् ।

पूर्व र पश्चिमका दुवैजना यी प्रतिभाले अझै पनि अवसर तथा स्रोतसाधनको पहुँच राजधानी (काठमाडौं) केन्द्रित रहेकोमा साझा धारणा सुनाए । ‘हामी पनि काठमाडौंमै बसेर आफ्नो गायकीलाई निरन्तरता दिन सकेमा उपलब्धि पनि राम्रै हात पर्ने थियो होला,’ उनीहरुले भने—‘तर, मोफसलको कुनोमा बसेर हामीले गाएको वा बोलेको आफ्नै लागि मात्रै हो कि जस्तो लाग्छ ।’


प्रकाशित : चैत्र १३, २०७८ १८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लगानी सम्मेलन-२०२४ मा सरकारले 'सोकेस' मा राखेका परियोजनाहरूको सूची कस्तो लाग्यो ?