कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

दसौं राष्ट्रिय खेलकुदका लागि ६० करोड

राष्ट्रको प्रतिष्ठा बढाउने खेलाडीलाई प्रोत्साहन र नेपालका मौलिक खेललाई विशेष प्रवर्द्धन गरिने

काठमाडौँ —  सुर्खेतमा यसै वर्ष हुने १० औं राष्ट्रिय खेलकुदका लागि नेपाल सरकारले ६० करोड रुपैयाँ विनियोजन गरेको छ । संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले २०८१/८२ को बजेट प्रस्तुत गर्दै अबको राष्ट्रिय खेलकुदका लागि उक्त रकम विनियोजन गरेका हुन् । 

दसौं राष्ट्रिय खेलकुदका लागि ६० करोड

सरकारले युवा तथा खेलकुद मन्त्रालयलाई ३ अर्ब ५० करोड रुपैयाँ छुट्याएको छ । चालु आर्थिक वर्षमा भन्दा यो रकम ६३ करोडले बढी हो । कुल बजेटमध्ये १ अर्ब ३० करोड खेलकुद पूर्वाधार निर्माण र प्रतियोगिता आयोजनाका लागि खर्च गरिने बताइएको छ । बजेट भाषणमा महिलाको सहभागिता बढाउनुका साथै ओलम्पिक र एसियाली खेलकुदमा बलियो सहभागिताका लागि राष्ट्रिय टोलीको तयारी गरिने पनि जनाइएको छ ।

यस्तै खेलकुद प्रतियोगितामा उत्कृष्ट नतिजा हासिल गरी राष्ट्रको प्रतिष्ठा बढाउने राष्ट्रिय टोलीका खेलाडीलाई प्रोत्साहन गरिने र नेपालका मौलिक खेल डन्डीबियो र बाघचाललाई विशेष प्रवर्द्धन गरिने उल्लेख छ । आधुनिक प्रविधिसँग जोडिएको ई–स्पोर्ट्सको अन्तर्राष्ट्रिय प्रतियोगिताको आयोजना, कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको स्तरोन्नति र फाप्ला क्रिकेट रंगशाला निर्माणका लागि तीव्रता दिइने बजेट वक्तव्यमा उल्लेख छ ।

साथै सरकारले काठमाडौंको मूलपानी क्रिकेट मैदान र विराटनगरको गिरिजाप्रसाद कोइराला रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा निर्माण गर्न बजेट विनियोजन गरिएको जनाएको छ । भरतपुरमा निर्माणाधीन गौतम बुद्ध रंगशाला संघ, प्रदेश र स्थानीय तहको साझेदारीमा निर्माण कार्य अगाडि बढाइने जनाइएको छ ।

खेल पूर्वाधारतर्फ १ अर्ब ३० करोड रुपैयाँ विनियोजन गरिएको छ । शिक्षकलाई खेलकुदको तालिम दिएर विद्यालयमा खेलकुद प्रवर्द्धन गरिने र बालबालिकाको उमेरगत खेलकुद प्रतियोगिता सञ्चालन गरिने उल्लेख छ । त्यस्तै प्रतिभावान् बालबालिकालाई खेल छात्रवृत्तिको व्यवस्था मिलाइने र खेलकुद पूर्वाधारको निर्माणमा निजी क्षेत्रको संलग्नता बढाई खेलकुद अर्थतन्त्र बढाइने कुरा पनि बजेट वक्तव्यमा समावेश गरिएको छ ।

प्रकाशित : जेष्ठ १६, २०८१ ०६:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×